बालबालिकामा संक्रमण बढ्दै, अधिकांशलाई अक्सिजन आवश्यक
काठमाडौं । गत साल नेपालमा कोरोना भाइरस(कोभिड–१९) को पहिलो लहर आउँदा त्यसबाट बालबालिका नगन्य मात्रै प्रभावित थिए । कोरोना पहिलो लहरमा खतराको सूचीमा नरहेका बालबालिका दोस्रो लहरको शिकार भइरहेका छन् । दोस्रो लहरले उग्ररुप लिइरहँदा बालबालिकामा पनि संक्रमण बढ्दो छ ।
झन संक्रमणको तेस्रो लहर आयो भने बालबालिकालाई कसरी बचाउने भन्ने चिन्ता हुने थालेको छ । वयस्कलाई संक्रमणको मारबाट रोक्न खोप लगाइँदै आएको छ । थपका लागि पनि खोपको व्यवस्था गर्ने चर्चा भइरहेको छ । तर विश्वमा अहिले कोरोनाका जति खोप विकास भएका छन् । ती १६ वर्षमाथि उमेरका लाई मात्रै लक्षित छ ।
अमेरिका, क्यानडा तथा सिंगापुरले १२ देखि १५ वर्षसम्मका बालबालिकाका लागि बायोएन टेक कम्पनीले उत्पादन गरेको फाइजर खोप लगाउन सुरु गरिसकेका छन् ।
भारतमा केही स्कूले बालबालिकाले आफ्ना लागिखोपको माग गर्दै सामाजिक सञ्जालमा चलाएको अभियान अहिले भाइरल भइरहेको छ । भारतमा Save Kids With from Third Wave, Pfizer for Indian Kids जस्ता अभियान सुरु भइसकेको छ ।
यता हाम्रोमा भने बालबालिकाका लागि खोपको त परको कुरा संक्रमित बालबालिकाका अस्पतालमा बेड, आइसीयू, भेन्टिलेटर नपाउने अवस्था छ । नेपालमा पनि कोभिड–१९ को अति संक्रामक नयाँ भेरियन्ट फेला परेको पुष्टि भइसकेको छ । नयाँ भेरियन्ट सबै उमेर समूहमा अति छिटो फैलन सक्ने विषयले बालबालिका थप जोखिममा परेका छन् । पछिल्लो साता बालबालिकामा संक्रमण र मृत्यु दरपनि बढेको देखिएको छ ।
संक्रमित भएर विभिन्न अस्पतालमा उपचारत बालबालिकाको अवस्था देखेर अन्यलाई पनि तनाव थपेको छ । आफ्ना बालबालिकालाई संक्रमणका नयाँ भेरियन्ट र नयाँ लहरबाट कसरी जोगाउने भनेर अभिभावकलाई चिन्तित बनाइरहेको छ ।
उसै नेपालको स्वास्थ्य प्रणाली कमजोर छ । त्यसमा पनि बालबालिकाको लागि राम्रो उपचार व्यवस्था भएका अस्पतालहरु कम मात्रै छन् । हजारौंँका संख्यामा बालबालिका कोभिड–१९ बाट संक्रमित भएभने अवस्था अकल्पनीय हुने चिन्तामा बाल स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका विज्ञहरु नै छन् ।
बालबालिकामा नयाँ भेरियन्टको कोरोना संक्रमण दर यही गतिमा बढेमा ठूलो समस्या सिर्जना हुनसक्ने डाक्टर प्रेरणा कंसाकार बताउनुहुन्छ । कंसाकार कार्यरत पाटन अस्पतालमा कोरोना संक्रमित बालबालिकाका लागि जम्मा ३ वटा आइसियु बेड र १०, ११ वटा मात्र बेड छुट्याइएको छ ।
बिहीबार साँझसम्म पाटन अस्पतालमा ६ जना बालबालिका उपचाररत छन् । डा. कंसाकारका अनुसार अहिले धेरै जसो संक्रमित बालबालिकालाई अक्सिजनको सर्पोटमा नै राख्नुपर्ने अवस्था छ ।
कोरोनाको पहिलो लहरबाट पाठ सिक्दै अस्पताल र जनशक्तिको क्षमता अभिवृद्धि गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेपनि अक्सिजनको अभावले उपचारमा असर गरेको उहाँको अनुभव छ ।
बालबालिकाका लागि छुट्टै अस्पतालको कमी रहेका कारण पनि संक्रमण दर वृद्धि भएमा कयौं बालबालिका उपचारबाट वञ्चित हुनसक्ने भन्दै बेलैमा ध्यान दिनुपर्नेमा कंसाकारको जोड छ । अस्पतालमा एक संक्रमित बालकको उपचारका लागि भक्तपुरको सिद्धि हस्पिटल पठाउनु परेको र त्यहाँ पनि आइसियु बेड नहुँदा समस्या झेल्नुपरेको डा. कंसाकारले जानकारी दिनुभयो ।
कोरोना संक्रमित बालबालिकामा ज्वरो आउने, पेट दुख्ने, शरीरमा डाबर देखिने, श्वास–प्रश्वासमा समस्या हुने, झाडापखाला लाग्नेजस्ता लक्षण पाइएको कान्ति बाल अस्पतालका निर्देशक डा.आरपी बिच्छाले बताउनुभयो ।
बिहिबार साँझसम्म कान्ति बाल कोरोना संक्रमित भएर उपचार गरिरहेका बालबालिकाको संख्या १२ जना रहेको निर्देशक बिच्छाले जानकारी दिनुभयो।अन्य १७ जनालाई संक्रमणको आशंकामा छुट्टै वार्डमा राखिएको छ ।
कोरोनाको दोस्रो लहर चलेपछिको एक महिनाको अवधिमा मात्रै कान्तिमा ६३ जना कोभिडका बिरामी बालबालिका भर्ना भएका थिए । यसमा ३ जनाको मृत्यु भएको निर्देशक डा.बिच्छाले बताउनुभयो । संक्रमित भएर आउने बालबालिकाको संख्या बढ्दै गएकोले कान्तिमा थप बेडको व्यवस्थाका तयारी थालिएको उहाँले जानकारी दिनुभयो ।
नेपालमा पछिल्लो समय कुल संक्रमितमध्ये १० प्रतिशत बालबालिका रहेको स्वास्थ्य मन्त्रालयको तथ्याकं छ । बालबालिकामा संक्रमणदर यही रफ्तारले बढ्दै गए अस्पतालले धान्न मुस्किल पर्ने कान्ति बाल अस्पतालका निर्देशक बिच्छाको भनाइ छ।
कोरोनाको पहिलो लहरमा २ देखि ३ प्रतिशत मात्र बालबालिका संक्रमित भएका थिए । चिकित्सकहरुका अनुसार संक्रमणको पहिलो लहरमा बालबालिकामा सामान्य रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने लक्षण श्वास–प्रश्वाससँगै पाचन प्रणालीमा पनि समस्या देखिएको छ।
उनीहरूलाई अरुची, पेट दुख्ने, पखाला लाग्ने, वान्ता आउने समस्या देखिएको छ । कतिपय बालबालिकालाई ज्यान दुख्ने, शरीरमा डाबर देखिनेसमेत भएको डा. बिच्छाले जानकारी दिनुभयो ।
संक्रमित बालबाललिकामा ज्वरो आउँदैमा, रुघाखोकी लाग्दैमा, पेट दुख्दैमा, वा पखला चल्दैमा आत्तिनु भने नहुने उहाँ बताउनुहुन्छ ।
‘सिटामोल र झोलिलो पदार्थ खुवाएर बच्चालाई घरमै उपचार गर्न सकिन्छ’ डा.विछा भन्नुहुन्छ, ‘श्वास–प्रश्वासमा समस्या देखिन थाल्यो भने विशेष ध्यान दिई जाँचगर्नु पर्छ’
पल्स अक्सिमिटरको सहायताले रगतमा अक्सिजनको मात्रा नाप्ने र समस्या बढ्दै गएमा भने अस्पताल ल्याउन ढिला नगर्न उहाँको सुझाव छ । ‘बालबालिकामा इम्युनिटी मजबुत बनाउन पोषणयुक्त खाना खुवाउनु पर्छ। पर्याप्त निन्द्रा र शारीरिक व्यायम पनि अपरिहार्य हुन्छ’ डा.बिच्छाको भनाइ छ, ‘झोलिलो खानेकुरा खुवाइ राख्ने, स्वास्थ्यकर्मीको परामर्शमा लक्षण अनुरुप सिटामोल वा पुनर्जलीय पदार्थ खुवाउन सकिन्छ’ बालबालिकालाई संक्रमण हुन नदिनु नै सबैभन्दा उत्तम उपाय भएको उहाँ बताउनुहुन्छ।
बालबालिका नै हाम्रो परिवार, समाज र राष्ट्रका भविष्य भएकाले उनीहरुको बारेमा विशेष चासो राख्नु पर्नेमा उहाँको जोड छ ।
शाेभा घिमिरे
तपाईँको अभिमत