नेपालमा यी व्यक्तिहरुलाई लगाइने छैन कोरोना विरुद्धको खोप
खोप कार्य सञ्चालन सम्बन्धि गाइडलाइन मन्त्रिपरिषद्मा
काठमाडौं । नियामक निकायले कोरोना विरुद्धको एउटा खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिएसँगै नेपालीहरु खोपको व्यग्र प्रतिक्षामा छन् । औषधि व्यवस्था विभागले भारतमा निर्मित 'कोभिशिल्ड'लाई आपत्कालिन प्रयोगको अनुमति दिइसकेको छ ।
खोप व्यवस्थापन प्राविधिक तयारी समितिको रायसहित परिवार कल्याण महाशाखा,बाल स्वास्थ्य तथा खोप शाखाले नेपालमा कोरोना खोप आइसकेपछि उक्त खोप कार्यक्रम सञ्चालन गर्न गाइडलाइन तयार गरेको छ । उक्त गाइडलाइन मन्त्रिपरिषद्मा पठाइएको छ ।
गाइडलाइनमा खोप कस्ता व्यक्तिलाई दिइने, नेपालको पूर्वाधार अनुसार कुन खोप उपयुक्त हुने, खोप कार्यक्रमका लागि कति खर्च हुने लगायतका विषय समेटिएको समितिका संयोजक डा.श्यामराज उप्रेतीले जानकारी दिनुभयो । ‘उक्त गाइडलाइन, खोप आइसकेपछि खोप कार्यक्रम कार्यान्वयन गर्न बनेको हो,उप्रेतीले भन्नुभयो ।’
भण्डारणको हिसाबले विश्वमा ३ किसिमका खोपहरु प्रयोगमा छन् । भण्डारणका लागि २ देखि ८, माइनस २० र अर्काे माइनस ७० डिग्री तापक्रम भएको कोल्डचेन प्रणालीको व्यवस्था हुन जरुरी छ । नेपालमा २ देखि ८ डिग्रीमा भण्डारण गर्ने पूर्वाधार पहिला देखिनै छ ।
नेपालको ७२ प्रतिशत जनसंख्यालाई खोप दिने योजना सरकारको छ । पहिलो चरणमा २० प्रतिशत जनसंख्यालाई खोप दिने तयारी छ । कोरोना नियन्त्रण तथा व्यवस्थापनमा खटिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी,सुरक्षाकर्मी खोपको पहिलो प्राथमिकतामा परेका छन् ।
खोप शाखा प्रमुख डा.झलकशर्मा गौतमले खोप सञ्चालन गर्ने सम्बन्धमा गाइडलाइन मन्त्रिपरिषद्मा पठाइएको जानकारी दिनुभयो । उहाँले कोरोना खोप दिन नहुने अवस्थाबारे ४ वटा मापदण्ड बनाइएको बताउनुभयो । उहाँका अनुसार १४ वर्षभन्दा कम उमेर, गर्भवती, स्तनपान गराइरहेकी महिला र एलर्जीको समस्या भएका व्यक्तिहरुलाई खोप दिइनेछैन ।
‘अहिलेसम्म निर्माण भएका कोरोना विरुद्धको खोप १४ वर्षभन्दा मुनिका बालबालिका, गर्भवती र स्तनपान गराइरहेका व्यक्तिहरुमा परीक्षण नभएकाले नेपालमा पनि सो समूहका व्यक्तिहरुलाई खोप नदिने तय भएको छ, गौतमले भन्नुभयो, एलर्जीका समस्या भएका व्यक्तिहरुलाई पनि खोप दिइने छैन ।’
विभिन्न देशहरुमा कोरोना खोप लगाएपछि केहीलाई एलर्जीको समस्या देखिएपछि नेपालले पनि पहिला देखि नै एलर्जीको समस्या भएका व्यक्तिहरुलाई खोप नदिने रणनीति बनाएको हो ।
खोप ल्याउनका लागि भण्डारण तथा व्यवस्थापनका लागि दु्रत गतिमा गृहकार्य भइरहेको गौतमले बताउनुभयो । उहाँले कोरोना खोप कार्यक्रम सञ्चालनका लागि ८ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी भएको जानकारी दिनुभयो ।
तुलसा घिमिरे
तपाईँको अभिमत