बालबालिकामा पनि आउँछ आत्महत्याको सोँच, ख्याल गरौं उनीहरूको मानसिक स्वास्थ्य (भिडियो)
विज्ञहरूका अनुसार साना बालबालिकामा पनि आत्माहत्याको सोँच आउँछ । विभिन्न कारण उनीहरूमा मानसिक समस्या हुने र जीवनको अन्त्य नै सबै कुराको समाधान हो भन्ने निष्कर्षमा उनीहरू पुग्ने गर्छन् । बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विशेषज्ञ डा. अरूराज कुँवरका अनुसार पाँच प्रतिशत बालबालिकाले यस्तो सोँच राख्ने गरेको भेटिएको छ । त्यस्तै नेपालमा मानसिक समस्याबाट लगभग १५ प्रतिशत बालबालिका गुज्रिरहेका छन् । उनीहरूलाई केही केही मानसिक स्वास्थ्य उपचारको आवश्यकता पर्छ ।
प्रस्तुत छ, उनै डा. कुवँरसँग बालबालिका तथा किशोकिशोरीहरूको मानसिक स्वास्थ्य अवस्था, उपचार एवम् रोकथामका बारे गरिएको कुराकानी :
नेपालमा बाल तथा किशोरावस्थाको मानसिक स्वास्थ्यको अवस्था कस्तो छ ?
केही वर्ष अगाडिसम्म बालबालिका तथा किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य अवस्थाको पहिचान हुँदैनथ्यो । आजभोलि मानसिक स्वास्थ्य अवस्थाको पहिचानको दर बढिरहेको छ । २०१५ सालमा कान्ति बाल अस्पतालमा बाल तथा किशोरकिशोरीहरूलाई मानसिक स्वास्थ्य सेवा सुरु गर्दा ६ महिनामा करिब ६ सय बालबालिकाहरू उपचारको पहुँचमा आए । गत वर्षसम्म आइपुग्दा यो संख्या बढेर १२ हजार पुगेको छ ।
संख्यात्मक रूपमा हेर्दा मानसिक स्वास्थ्य सेवाको पहुँचमा आउने बालबालिका एवं किशोरकिशोरीहरू बढेको देखिएपनि जति संख्यामा मानसिक स्वास्थ्य समस्या देखिरहेको छ, त्यो गतिमा सन्तोषजनक रूपमा सेवा प्रवाह गर्न सकिएको छैन ।
विभिन्न तथ्यांक हेर्दा नेपालमा कुल जनसंख्याको करिब १० देखि १५ प्रतिशत अर्थात् १५ लाख बालबालिकालाई मानसिक स्वास्थ्य सेवाको सहयोगको खाँचो छ । यो तथ्यले साना नानीहरूमा पनि देखिने मानसिक समस्या र यसप्रतिको बेवास्ताले समाजमा कस्तो असर पार्न सक्छ भनेर उजागर गर्छ ।
काठमाडौं बाहिर मानसिक स्वास्थ्य सेवाको पहुँच पुगेको छैन । देशव्यापी रूपमा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन ढिला गर्नु हुँदैन । किनकि बालबालिकाको मानसिक समस्या समयमै समाधान नगरे, तिनीहरूका जीवनका महत्त्वपूर्ण पक्षहरू जस्तै, अध्ययन, सम्बन्ध, समग्र विकासमा नकारात्मक प्रभाव पार्न सक्छ। यसो हुँदा परिवारले मात्रै होइन राज्यले पनि क्षति व्यहोर्नुपर्ने हुन्छ ।
बालबालिकामा कस्ता– कस्ता समस्याहरू देखिन्छन् ?
बालबालिकामा दुई प्रकारका मानसिक स्वास्थ्य समस्या देखिन सक्छ । विकासोन्मुख (बुद्धि विकासको समस्या, अटिजम, चकचक गर्ने, पढ्न लेख्न नसक्ने), किशोरावस्थामा एन्जाइटी, डिप्रेशनको समस्या देखिन्छ । हालै गरिएको राष्ट्रिय स्वास्थ्य सर्वेक्षणअनुसार ५ प्रतिशत बालबालिकामा आत्मघाती (आत्महत्याको सोँच आउने) समस्या देखिने गरेको छ ।
बालबालिकामा मानसिक स्वास्थ्य समस्या छ भनेर कसरी पहिचान गर्ने ?
यदि कोही बालबालिकाहरूमा उमेर अनुसार उसको व्यवहार छ कि छैन, बोल्ने, अरूसँग घुलमिल हुन्छ/हुँदैन, पढ्न लेख्नमा कतिको ध्यान दिन्छ ? यस्ता आनीबानीमा अभिभावकले ध्यान दिनुपर्छ ।
कुनै बालबालिकाको व्यवहारमा उतारचढाव आयो भने अर्थात् नियमित व्यवहार भन्दा फरक देखिन थाल्यो भने कतै उसको मानसिक स्वास्थ्यमा समस्या देखिएको त होइन भनेर सचेत हुनुपर्छ । जस्तै; कुनै बालबालिका कम बोल्ने, अरूसँग धेरै घुलमिल नगर्ने, धेरै बोल्ने, एक्लै बस्ने, दुःखी हुने, रोइरहने, रिसाउने, रातभर नसुत्ने जस्ता व्यवहार देखाउँछन् ।
ठूलालाई जस्तै बालबालिकामा एन्जाइटी, डिप्रेशन, साइकोसस जस्ता समस्या देखिन्छन् । मानसिक समस्या देखिनुमा वंशाणुगत, वातावरणको प्रभाव रहन्छ । परिवारका सदस्यस्हरूलाई डिप्रेशन, एन्जाइटी जस्ता समस्या छ भने बालबालिकामा पनि सोही समस्या देखिन सक्ने सम्भावना रहन्छ ।
परिवारमा कसैलाई पनि मानसिक स्वास्थ्य समस्या छैन तरपनि बालबालिकामा त्यसको असर देखिन सक्छ । यो वातावरणको प्रभावले देखिने समस्या हो । जस्तै तनावपूर्ण वातावरणले पनि बच्चाको मानसिक स्वास्थ्यमा समस्या देखिन सक्छ ।
गएको वर्ष ९ वर्षको बच्चाले पनि आत्महत्या गरेको पाइएको छ । बच्चाले म अब किन बाँच्नु जस्तो कुरा गर्यो भने अभिभावक सचेत हुनुपर्छ र तुरुन्तै मनोपरामर्शकर्ता एवं चिकित्सककहाँ लैजानपर्छ ।
मानसिक स्वास्थ्य समस्या कुनै पनि व्यक्तिलाई हुनसक्छ । बालबालिकामा देखिने लक्षणहरू फरक देखिन सक्छ । ठूलाले आफूलाई परेको पीडा बताउन सक्छन् तर बालबालिकाले त्यसलाई बताउन सक्दैनन् ।
बालबालिकाले आफ्नो समस्या भन्न नसक्ने हुँदा उनीहरूको व्यवहारलाई बढी ध्यान दिनुपर्छ । ठूलाले जसरी बालबालिकाहरू भावना व्यक्त गर्न सक्दैनन् । त्यसैले बालबालिकाको व्यवहारमा उतारचढाव आयो, बोल्दै नबोल्ने बच्चा एकदम धेरै बोल्न थाल्यो, बोलिरहने बच्चा एकदम चुप र उदास रहन थाल्यो, ध्यान केन्द्रित गर्न नसक्ने भयो भने उनीहरूलाई मानसिक स्वास्थ्यमा केही समस्या रहेको भनेर बुझ्नुपर्छ ।
बालबालिकामा मानसिक स्वास्थ्यमा केही समस्या छ भने व्यवहारमा भन्दा बढी शारीरिक लक्षणहरू देखिन्छन् । एन्जाइटी भएका बालबालिकामा धेरै पेट दुख्ने, वाककाकी लाग्ने, बान्ता हुने जस्ता लक्षणहरू देखिन्छन् । डिप्रेशन भएका बालबालिकाहरू रुने, कराउने, रिसाउने, झगडा गर्ने गर्छन् ।
अभिभावकहरूले बालबालिकाहरूलाई कस्ता– कस्ता समस्या देखिएर अस्पताल ल्याउने गरेका छन् ?
धेरैजसो बच्चा समयमा नबोल्ने, उमेरअनुसार व्यवहार नदेखाउने, अरू व्यक्तिसँग घुलमिल गर्न नसक्ने, वुद्धि विकास नभएका बालबालिकाहरूलाई ल्याइने गरेको छ । विद्यालयमा राम्रो पढ्न नसकेको, पढ्नमा ध्यान केन्द्रित नभएको, बेहोस भइरहने, आत्मघाती सोँच बनाउने गरेका बालबालिका पनि उपचारमा अभिभावकले ल्याउने गर्नुभएको छ ।
बाल मानसिक स्वास्थ्य सेवामा भएका प्रयासहरू के–के छन् ?
कान्ति बालअस्पताल र मानसिक अस्पताल पाटनमा मानसिक स्वास्थ्य हेर्न छुट्टै वार्ड स्थापना भएको छ । यो बाल मानसिक स्वास्थ्य सेवाको सुरुवाती अवस्था हो । सरकारले बालबालिकाको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर आवश्यक कदम चाल्न जरुरी छ । मानसिक स्वास्थ्य सेवालाई देशव्यापी पुर्याउनुपर्छ । पहुँच नभएका स्थानमा सेवा विस्तार गर्न अब ढिला गर्न हुँदैन ।
बाल मानसिक स्वास्थ्यमा सरकारको लगानी कस्तो छ ?
निराशाजनक छ । हामीसँग कार्यक्रम, नीति तथा योजना छन् तर जुन स्तरमा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । अहिले कुल बजेटको ५ प्रतिशत हिस्सा स्वास्थ्यमा छ । स्वास्थ्यको कुल बजेटको १ प्रतिशत जति लगानी मानसिक स्वास्थ्यमा छ । अनि १ प्रतिशत भन्दा कम लगानी बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्यमा छ ।
म एउटा उदाहरण दिन चाहन्छु, मैले मानसिक समस्या देखिएको एक बच्चालाई ८ वर्षदेखि नियमित जाँच गरिरहेको छु । अहिले उसले मास्टर्स गरेर आफूले सिकेको ज्ञान र सीपअनुसार काम गरिरहेको छ । समयमा उपचार पाउन सकेको कारण उसको ऊर्जावान समय खेर गएन ।
परिवार, समाज, राज्यलाई उसले सहयोग गरिरहेको छ । भन्नुको तात्पर्य, समयमै मानसिक स्वास्थ्य समस्याको पहिचान भएका कारण अहिले ऊ काम गर्न सक्ने भयो । ऊ बौद्धिक अपांगता हुनबाट जोगियो । बेलैमा समस्या पहिचान हुनसक्दा त समाधान पनि निस्कने रहेछ नि !
सरकारले गाउँ–शहर सबै ठाउँमा मानसिक स्वास्थ्य सेवाहरू पुर्याउन विशेष योजना बनाउन जरुरी छ । विद्यालयमा मानसिक स्वास्थ्य परामर्शदाताहरू नियुक्त गर्ने, शिक्षक र अभिभावकलाई प्रशिक्षण दिने, र समुदायमा जनचेतना फैलाउने कार्यहरूबाट बालबालिकाको भविष्य उज्यालो बनाउन सकिन्छ ।
बालबालिका देशको गहना हुन् । उनीहरूमा आजको लगानीले भोलिको उज्यालो भविष्य सुनिश्चित गर्छ । यदि बालबालिकाको शारीरिक, मानसिक, र बौद्धिक विकासमा समयमै ध्यान दिएर लगानी गर्यौँ भने उनीहरू सक्षम, सशक्त, र समाजका जिम्मेवार नागरिक बन्न सक्छन्। तर, यदि हामीले उनीहरूको स्वास्थ्य, शिक्षा, र समग्र हितलाई बेवास्ता गर्यौँ भने भविष्यमा यसको ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ ।
सरकारले बाल मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेमा के कस्ता उपलब्धि हासिल होला ?
बाल मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न सके नेपालको कुल ग्राहस्थ उत्पादन (जिडीपी)मा ५ प्रतिशतसम्म फरक पर्छ । अहिले एक आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादन वर्षको ५ प्रतिशत छ । आर्थिक, सामाजिक र भावनात्मक क्षेत्रमा सकारात्मक असर पुग्छ । अनुसन्धानहरूले के देखाएका छन् भने एक बालबालिकामा एक डलर लगानी गर्दा भविष्यमा उसबाट ५ डलर बराबरको प्रतिफल पाइन्छ ।
तपाईँको अभिमत