प्रत्यारोपण विज्ञान प्रतिष्ठान स्थापनामा सम्बन्धित निकायको ध्यान जानेमा विश्वास छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विज्ञान प्रतिष्ठानको रूपमा विकसित गर्नुपर्ने बताउनुभयो । सोमबार केन्द्रमा १५०० जनाको मिर्गौला प्रत्यारोपण गरिएको उपलक्ष्यमा भएको विशेष समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।
‘प्रत्यारोपण विज्ञान प्रतिष्ठान निर्माण गर्न सम्बन्धित निकायको ध्यान जानेमा विश्वास छ’, उहाँले भन्नुभयो ।
त्यस्तै राष्ट्रपति पौडेलले मानव अङ्ग खराब भइरहेका प्रति चिन्ता व्यक्त गर्दै खानपान र जीवनशैली परिवर्तन गर्नुपर्ने भनाइ राख्नुभयो । ‘हाम्रो खानपान र जीवनशैलीका कारण अङ्ग फेलियर भइरहेको छ’, उहाँले भन्नुभयो, ‘यसमा सुधार गर्न जरुरी देखिन्छ ।’
उहाँले केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको कार्यदक्षता र दृढताका कारण छोटो समयमा १५०० मिर्गौला प्रत्यारोपण सफल भएको भन्दै प्रशंंसा पनि व्यक्ति गर्नुभयो ।
समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले चाहे जति काम गर्न नसकेको स्विकार गर्नुभयो । काम गर्न धेरै बाँकी रहेको भन्नुहुँदै मानव अङ्ग प्रत्यारोपणलाई सचेतना अभियानमार्फत् थप प्रचार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा विस्तार तथा भौतिक संरचना समेत विस्तार गर्दै लैजानुपर्ने उहाँको धारणा थियो । पछिल्लो समय चार प्रदेशमा पनि प्रत्यारोपण सेवा विस्तार गरिएको र बाँकी तीन प्रदेशमा पनि क्रमशः विस्तार गरिने बताउनुभयो ।
छोटो समयमै १८० डिग्रीको फड्को मारेको दाबी गर्नुहुँदै केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रलाई प्रतिष्ठानमा रूपान्तरण गर्न माग गर्नुभयो । आफ्नो कार्यकाल अब दुई साता मात्र बाँकी रहेको भन्नुहुँदै अब आउने व्यवस्थापनले अझ सशक्त रूपमा कार्य सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा दुई साताअघि मात्र मिर्गौला दान गर्नुभएकी शान्ति गुरुङले अङ्गदान गर्न पाउँदा र अरूको खुसी देख्न पाउँदा गर्व लागेको बताउनुभयो । अङ्गदान जीवनदान भएको भन्नुहुँदै उहाँले खेर जाने अङ्ग दान गरेर ‘पुण्य’ कमाउन आग्रह गर्नुभयो ।
त्यस्तै कलेजो प्रत्यारोपित शङ्कल्प खड्काले मस्तिष्क मृत्यु भएकाबाट आफूले कलेजो प्राप्त गरेको स्मरण गर्नुहुँदै विकासभन्दा मानव जीवन पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभयो ।
केन्द्रमा हालसम्म १५०२ जनाको मिर्गौला प्रत्यारोपण गएिको छ भने ३५ जनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत