तौल बढाउनका लागि पशुपंक्षीमा एन्टिबायोटिकको दुरुपयोग (भिडियो)
नोभेम्वर १८ देखि एन्टिमाइक्रोबियल रेसिस्टेन्सबारे सचेनामूलक सप्ताह चलिरहेको छ । एन्टिबायोटिकको दुरुयोगका कारण एन्टिमाइक्रोबियल रेसिस्टेन्सको समस्या बढिरहेको छ । एन्टिमाइक्रोबियल रेसिस्टेन्स के हो ? यसलाई कसरी रोक्न सकिन्छ भन्ने लगायतका विषयमा जैविक विज्ञ डा.सन्तोष दुलालसँग कुराकानी गरेका छौं । उहाँसँग गरिएको कुराकानी संक्षिप्त अंश
माइक्रोबियल रेसिस्टेन्स
माइक्रोबियल रेसिस्टेन्स - एएमआर (प्रतिजैवि प्रतिरोध) भन्नाले जीवाणुले शरीरमा संक्रमण गर्दा औषधिको प्रयोग गरिन्छ, त्यो औषधिको प्रभाकारीता नष्ट हुनु वा औषधिहरुले ती जिवाणुलाई मार्न छा्ड्यो अथवा औषधिका कारण रोग निको नहुने अवस्थालाई बुझिन्छ । जीवाणुहरु पृथ्वीमा लामो समयदेखि बाँचिरहेका छन् ।
उनीहरु आफू बाँच्नका लागि प्राकृतिक रुपमा आफ्नो आनुवाष्णिक कोषको संरचनालाई परिवर्तन गर्न सबल र बलियो हुन्छन् । सुष्म जिवाणुहरु औषधिको प्रभावकारितालाई कमजोर बनाएर बाँच्न खोज्छन् । एन्टिबायोटिक औषधिको दुरुपयोगले जिवाणुहरु आफ्नो गुण छिटो छिटो परिवर्तन गर्न सक्रिय हुन्छन् ।
जिवाणु सक्रिय हुँदा एन्टिमाइक्रोबियल रेसिस्टेन्स तिव्र रुपमा बढिरहेको छ । एन्टिबायोटिक एकदमै शक्तिशाली र संवेदनशील औषधी हुन् । एन्टिबायोटिक जीवन बचाउन प्रयोग हुने औषधि हुन् । ब्याक्टेरिया, भाइरस, ढुँसी र परजीविबाट हुने रोगको विरुद्ध प्रयोग हुन्छन् । ती औषधिहरु दुरुपयोग बढिरहेको छ, जथाभावी प्रयोग हुँदा सुष्म जिवाणुले पचाउन थालेका छन् । हामीले जथाभावी औषधि किनेर खाने र खाद्यमा पनि एन्टिबायोटिक प्रयोग भइरहँदा एन्टिमाइक्रोबियल रेसिस्टेन्सको समस्या बढिरहेको छ ।
दोस्रो विश्वयुद्धताका पेनेसिलिन औषधिको जब विकास भयो, यसले लाखौं मानिसलाई जीवनदान गरेको छ । एन्टिबायोटिक औषधिले क्षयरोग, कुष्ठरोग निको भएका छन् । तर चिकित्सक एवं स्वास्थ्यकर्मीको सल्लाह बिना मनलाग्दी रुपमा एन्टिबायोटिक औषधि किनेर खाने चलन व्याप्त छ ।
अनावश्यक र आवश्यकभन्दा बढी खाँदा एन्टिबायोटिक औषधिको दुरुपयोग बढिरहेको छ । एन्टिबायोटिक औषधि चकलेट जसरी किनेर खाने चलन छ । सामान्य रुघाखोकी लागेमा मेडिकलमा गएर एजिथ्रोमाइसिन मागेर खाने चलन व्याप्त छ । एन्टिबायोटिक औषधि कहिले किन खाने, कसरी खाने भन्ने सवालमा जनचेतना कमी छ ।
औषधि पसलेहरुले पनि चिकित्सकहरुको प्रिस्क्राइव विना बेच्न नपाइने व्यवस्था छ तर उनीहश्रले बेचिरहेका छन् । प्रयोग भइरहेको एन्टिबायोटिकमा ५० प्रतिशत मानिसले चिकित्सकको सल्लाहबिना आफैले किनेर खाइरहेको अध्यनले देखाएको छ । कतिपय अवस्थामा चिकित्सकहरुले प्रयोगशाला परीक्षण विना हचुवाको भरमा एन्टिबायोटिक लेखिदिने प्रवृत्ति पनि छ । एन्टिबायोटिक आवश्यकता नभएको बेला लेख्न नुहने विषयमा चिकित्सकहरु सर्तक हुनपर्ने छ ।
औषधि हाम्रो पिढीँलाई मात्रै नभई आउने सन्ततीको लागि पनि जोगाउन पर्छ । हामीले नयाँ पिढीलाई एन्टिमाइक्रोबियल औषधिहरू संरक्षण गरी जीवनदान दिनेतर्फ ध्यान दिनपर्छ । विगत ३० वर्षमा नयाँ एन्टिबायोटिक विकास बन्ने प्रक्रिया सुस्त छ । यो अवस्थामा हामीले भएका एन्टिबायोटिकलाई जोगाउन पर्नेछ ।
यसका लागि आम मानिसको व्यवहारमा परिवर्तन गराउन सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । पशुपक्षीको तौल बढाउन जथाभावी र अनुचित एन्टिमाइक्रोबियलको अत्यधिक प्रयोग हुनु, पशु चिकित्सकको परामर्स र प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक दिनु, उचित पशुपक्षीको रोग संक्रमणको निदान र उपचार नहुनु, पशुपक्षी पालनमा सरसफाइ र स्वच्छताको कमी हुनु, गुणस्तरीय खाद्य उत्पादन अभ्यास लागू नगर्नु, शिक्षा र चेतनाको कमी हुनु, एन्टिमाइक्रोबियल औषधिहरूको प्रयोगको अनुगमन र निगरानी नहुनु, एन्टिबायोटिक प्रयोगका लागि उपयुक्त नियम–कानुनको तर्जुमा नहुनु र भएका नियम–कानुनको समेत उचित कार्यान्वयन नहुनु एन्टिमाइक्रोबियल रेसिस्टेन्सको बढ्नुको मुख्य कारणहरु हुन् ।
तौल वृद्धिका लागि पशुपंक्षीमा एन्टिबायोटिकको प्रयोग आवश्यकताभन्दा बढी भइरहेको छ । कुखुरा पालनमा एन्टिबायोटिक औषधिको प्रयोग बढी भइरहेको पाइएको छ । तौल वृद्धिको लागि कोलेस्टिन औषधि जुन औषधि एन्टिबायोटिक समूहमा अन्तिम विकल्पको रुपमा छ, जुन प्रतिवन्धित छ तर विभिन्न ब्राण्डको नाममा यो औषधिको प्रयोग अहिलेपनि भइरहेको छ । त्यही कुखुराको मासु, अण्डा खाँदा कुखरामा प्रयोग भएका कोलेस्टिन एन्टिबायोटिक औषधि मानव शरीरमा प्रवेश गर्नसक्छ ।
नजानी - नजानी शरीरमा प्रवेश गरेको जिवाणु, कोलेस्टिनको प्रतिरोधी भएर आउन सक्छ । जसका कारण भविष्यमा रोग लागिहाल्यो भने कोलेस्टिनले काम नगर्न सक्छ र पछि एन्टिमाइक्रोबियलको प्रभावकारिता नष्ट भएर सामान्य चोटपटकको घाउबाटै संक्रमण भएर ज्यान जान सक्छ । पशुपक्षी र कृषि–खाद्य उत्पादनमा एन्टिमाइक्रोबियलको दुरुपयोग भइरहँदा अन्डा, मासु, दूध, सागसब्जी र फलफूलबाट जानी–नजानी शरीरमा प्रतिरोधी जीवाणु विकास हुन्छ र एन्टिबायोटिकले जिवाणु विरुद्ध काम गर्न छोड्छ ।
मानिसले जथाभावी आफैंले किनेर खाँदा त्यो औषधि दिसा पिसावबाट कृषिमा पुग्न सक्छ । पशुपंक्षी पालन गर्दा आवश्यकभन्दा बढी एन्टिबायोटिक खुवाउँन हुँदैन ।
कुखुराको सुली, पशुपंक्षीको दिसा-पिसावको माध्यमबाट कृषिमा जाँदा त्यहाँ उत्पादित फलफुल, दुध, सागसब्जी खाँदा शरीरमा केही मात्रामा भएपनि एन्टिमाइक्रोबियल आइपुग्न सक्छ । केही अध्ययनहरुका अनुसार कुखुरापालनमा एन्टिबायोटिकको प्रयोग आवश्यकभन्दा बढी भएको देखाएका छन् ।
प्रतिजीवि प्रतिरोधको चुनौती मानव स्वास्थयमा मात्र नभई पशुपंक्षी र कृषिमा पनि छ । पशुपालनमा एन्टिबायोटिकको प्रयोगबारे नीति एवं नियमन हुन जरुरी छ । पहिलो र दोस्रो समुहका एन्टिबायोटिकले काम गर्न छाडेको विभिन्न वैज्ञानिक अध्ययनले देखाएको छ । एएमआर रेसिस्टेन्सलाई नियन्त्रण गर्न गुणस्तरीय खाद्यवस्तुहरु खानपर्छ । एन्टिबायोटिक मानव स्वास्थ्यमा मात्र नभई पशुपंक्षी, वातावरण र कृषिमा पनि प्रयोग भइरहेको छ ।
कहिलेकाँही आफैले मेडिकलमा किनेर खाने, त्यो औषधि अन्य परिवार र छिमेकीलाई खान दिन्छौ यो भनेको एन्टिबायोटिकको दुरुपयोग हो । कहिलेकाँही बिरामी भएकै बेला एन्टिबायोटिक नखाने समस्या पनि छ । एन्टिबायोटिक चाहिने बेलामा मात्रै चिकित्सक र स्वास्थ्यकर्मीको प्रिस्क्राइवमा मात्रै खानपर्छ । मानव, पशुपक्षी, खाद्य उत्पादनमा एन्टिमाइक्रोबियलको व्यापक अनुचित र अनियन्त्रित प्रयोगले बहुप्रतिजैविक प्रतिरोधीको समस्या निम्त्याउने खतरा देखाउछ ।

हेल्थपाटी
तपाईँको अभिमत