उपचारमा लाखौँ असुल्ने निजी अस्पताल, पार्किङमा पनि हात फैलाउँछन्
सरकारी अस्पतालमा मात्रै होइन पार्किङका समस्या निजी अस्पतालमा पनि छन्। केही निजी अस्पतालले सेवाग्राहीलाई निशुल्क पार्किङको व्यवस्था गरेका छन् भने केहीले शुल्क लिने गर्छन्।
हामीले काठमाडौं उपत्यकामा रहेका केही निजी अस्तपालमा पार्किङको अवस्थाबारे जानकारी लिएका छौँ।
बिरामीको उपचार गर्दा एक दिनको लाखौँसम्म असुल गर्ने अस्पतालले पार्किङका नाममा बिरामी र बिरामीका आफन्तबाट १०–२० रुपैयाँका लागि पनि हात फैलाइरहेको पाइएको छ।
ह्याम्स अस्पताल

मण्डिखाटारमा रहेको ह्याम्स अस्पतालमा बिरामीको चाप निकै हुन्छ । तर यहाँ दुईपांग्रे र चारपांग्रे कुनैपनि सवारी पार्किङ गरेको शुल्क तिर्नुपर्दैन । यहाँ एक पटकमा ३५ वटा गाडी र १०० भन्दा बढी मोटरसाइकल पार्किङ गर्न मिल्ने ठाउँ छ । ओपीडीमा जाँच गर्न आउने सेवाग्राही, बिरामी भेट्न आउने आफन्त सबैले यहाँ निशुल्क पार्किङ गर्न पाउने व्यवस्था छ। हेम्स अस्पतालमा हेलिकप्टरमा बिरामी ल्याएर ल्याण्ड गर्ने समेत व्यवस्था छ ।
कोरोना महामारीका बेला यस अस्पतालमा हेलिकप्टरबाट बिरामी ल्याइएको बारे निकै चर्चा पनि भएको थियो ।
काठमाडौं मेडिकल कलेज अस्पताल
काठमाडौं सिनामंगलमा रहेको यस अस्पतालभित्र पार्किङ गर्ने ठाउँ छैन । तर ठिक पारिपट्टी पार्किङस्थल छ । यहाँ दुईङुग्रे र चारपाङ्ग्रे दुवै खालका सवारी पार्किङ गर्ने व्यवस्था गरिएको छ।

अन्य निजी अस्पतालमा भन्दा केएमसीमा बिरामीको चाप अध्याधिक हुन्छ । अस्पतालमा जाँचका लागि आउने बिरामी र भर्ना भएका बिरामीलाई भेट्न आउने आफन्त सबैले यहाँ पार्किङ गर्न पाउछन् । तर बिरामीको बहनामा अन्य व्यक्तिहरू आएर घण्टौंसम्म सवारी पार्किङमा राख्दा हैरान भएको सुरक्षा गार्डहरूको भनाइ छ ।
सुरक्षा गार्डका अनुसार पार्किङमा आउनेलाई अस्पताल आएको होकि हैन भनेर सोध्ने गरिन्छ । सबैले अस्पताल नै आएको भन्छन् । तर उनीहरू अन्तै कतै आएका हुन्छन् । यसले गर्दा वास्तविक सेवाग्राहीलाई समस्या पर्छ । अस्तपालको जाँच पुर्जी देखाएर मात्रै सवारी पार्किङ गर्न पाउने नियम राख्नुपर्ने माग सुरक्षा गार्डहरूको छ ।
मेडिसिटी
ललितपुरको भैँसेपाटीमा रहेको मेडिसिटी अस्पताल नेपालमा महँगो अस्पतालमध्येको एक हो । यहाँ छिर्दा कुनै तारे होटलमा छिरेको जस्तो अनुभव हुन्छ । पार्किङ गर्नका लागि अस्पतालभित्रै प्रशस्तै ठाउँ पनि तर निशुल्क पार्किङ गर्न पाइँदैन । दुईपाङ्ग्रे सवारीले १० रुपैयाँ र चारपाङ्ग्रेले २० रुपैयाँ प्रतिघण्टा शुल्क तिर्नुपर्छ । अस्पतालका एक कर्मचारीका अनुसार यसरी पार्किङको शुल्क लिन थालिएको एक वर्ष भयो ।

सुरक्षा गार्डका अनुसार दिनमा करिब ५०० जति दुईपाङ्ग्रे र ३०० वटा जति चारपाङ्ग्रे सवारी यहाँ पार्किङका लागि आउँछन् ।
यहाँ जाँच गर्न आउने बिरामी हुन् वा भर्ना भएका बिरामीका आफन्त हुन् कसैले पनि पार्किङ शुल्कमा छुट पाउँदैनन् । बिरामी कुर्न आएर घण्टौँसम्म, रातभर समेत बस्नुपर्ने हुन्छ। उनीहरूले सवारी पार्किङ गरेको शुल्क धेरै हुन्छ । तर नतिरी सुखै छैन । चर्काे उपचार शुल्क लिएर पनि पार्किङ शुल्कसमेत तिर्नुपर्ने भन्दै थुप्रै सेवाग्रहीहरू किचकित गर्ने गर्छन् ।
‘खै यति धेरै शुल्क तिरेर जचाएपछि पार्किङको पैसा नलिनुपर्ने हो’ अस्पतालबाट गाडी लिएर निस्कँदै गर्नुभएको एक सेवाग्राही गुनासो गर्नुहुन्छ, ‘व्यापारी हुन् पाएसम्म असुल्न किन छाड्थे?’

हजारौँ, लाखौँ तिरर उपचार गरिरहँदा सय, पचास पार्किङ शुल्क तिर्नु ठूलो कुरा नभएपनि बिरामीबाट पार्किङ शुल्क उठाउन यत्रो अस्पताललाई लाज लाग्नुपर्ने ती सेवाग्राही बताउछन्।
अस्पतालमा आउने बिरामीलाई शपिङ मलमा सामान किन्ने जाने ग्राहक जसरी व्यवहार गर्न नहुने उहाँको भनाइ छ।
अरुलाई लिएपनि पनि अस्पतालमा जाँच गरेका तथा बिरामी भर्नाको पुर्जी देखाउने पार्किङको शुल्क लिन नहुने माग सेवाग्राहीको छ।
नर्भिक
देशका भिआपी र सम्पन्न व्यक्तिहरू बिरामी हुनेवित्तिकै पुग्ने अस्पताल हो थापाथलीको नर्भिक अस्पताल। यहाँ हिँडेर, सार्वजनिक सवारी चढेर यात्रा गर्नेहरू बाध्यात्मक अवस्थामा बाहेक कमै पुग्छन् । नर्भिकमा जाने सबैजसो निजी सवारी साधन लिएर गएका हुन्छन् । अस्पतालभित्र सवारी लिएर छिर्नेवित्तिकै सुरक्षागार्डले सिटी फुकिहाल्छन् । अस्पतालभित्र पार्किङ छैन ।

दिउँसोको समयमा त दुईजना सुरक्षा गार्डको काम नै अस्पतालभित्र छिर्ने सवारीलाई पार्किङस्थल देखाउने हुन्छ । उनीहरू निकै दौडादौडमा देखिन्छन् । अस्पतालबाट निस्किएर अलिपर गल्लीभित्र पार्किङस्थल तोकिएको छ । पहिलो पटक आउने सेवाग्राही पार्किङ गर्ने ठाउँ खोज्दैमा हैरान हुन्छ । सवारी पार्किङ गरेर अस्पतालमा हिँड्दै आउन करिब ५ मिनेट लाग्छ । सवारी पार्किङ गरेबापत दुईपाङ्ग्रेले घण्टाको १५ र चारपाङ्ग्रेले ३५ रुपैयाँ तिर्नुपर्छ ।
नर्भिकमा ओपिडी टिकटको शुल्क ८०० रुपैयाँ छ । भर्ना बिरामी एकरात राखेको अवस्था हेरर लाखसम्म तिर्नुपर्छ । पार्किङस्थलमा खटिएका कर्मचारीका अनुसार कतिपय सेवाग्राही शुल्क लिएको भनेर आक्रोशित हुन्छन् । ‘अस्पतालमा त्यत्रो पैसा तिरेर पनि पार्किङ निशुल्क दिन नसक्ने ?’ एक सेवाग्राही प्रश्न गर्नुहुन्छ, ‘अझै यति धेरै हिड्नु परिरहेको छ।’
यसअघि सेवाग्राहीका सवारी अस्पतालभित्रैको अण्डरग्राउण्डमा पार्किङ गर्ने सुुविधा थियो । अहिले त्यो पार्किङस्थल बनाउन लागेकाले बाहिर व्यवस्था गरिएको हो । अस्पतालभित्रको पार्किङ बन्न अझै केही महिना लाग्ने एक कर्मचारी बताउनुहुन्छ । ती कर्मचारीका अनुसार बाहिर पार्किङस्थल भएकाले मात्रै शुल्क उठाइएको भने होइन । अस्पतालको अण्डरग्राउण्डमा पार्किङस्थल हुँदा पनि शुल्क उठाउने गरिएको थियो।
पार्किङ निशुल्क गर्नुपर्छ भन्ने माग अस्पतालका केही कर्मचारीबाटै उठेपनि अस्पताल व्यवस्थापनले पार्किङको शुल्क उठाउँदै आएको एक कर्मचारीको गुनासो छ ।
केदार गौतम
तपाईँको अभिमत