बाढी,पहिरो र डुबानका कारण २४६ जनाको मृत्यु, १८ जना बेपत्ता
असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानमा परि २४६ जनाको मृत्यु भएको छ ।
साथै १८ जना बेपत्ता र १७८ जना घाइते भएका छन् ।
यो तथ्यांक गृहमन्त्रालयले असोज २० गते राती ८ ३० सम्म संकलन गरेको विवरणको हो । मृतक मध्ये १७६ जनाका आश्रित परिवारलाई “विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०७७” बमोजिम राहत रकम उपलब्ध गराइएको र प्रभावित परिवारहरुलाई नगद सहायता तथा राहतसामग्री वितरण गर्ने कार्य जारी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार केन्द्रीय विपद गोदाम घरमा रहेको राहत सामग्रीहरु जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराईएको छ ।
आपतकालीन राहत, पुनर्निर्माण र पुनर्स्थापनाको कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले हिजो असोज २० गते गृहमन्त्री सहितको एक टोलीले ललितपुर जिल्लाका विपद् प्रभावित केही स्थानको स्थलगत अनुगमन गर्नुका साथै जिल्ला विपद् व्यवस्थापन समिति ललितपुरका पदाधिकारी र जनप्रतिनिधिहरुसँग छलफल र अन्तरक्रिया गरी राहत र पुनर्निर्माणको कार्यलाई गति दिन निर्देशन दिइएको छ ।
विभिन्न राजमार्गका अवरुद्ध सडक खण्डहरुको अवरोध हटाई वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको पनि मन्त्रालयले जनाएको छ।
हेल्थपाटी
तपाईँको अभिमत