महिनावारी सुकेपछि महिलामा आउन सक्छन् धेरै समस्या, खानपानमा ध्यान दिए सहज हुने
महिनावारीका कारण नेपाली समाजमा महिलाले भोगेको सास्ती र विभेदको शृंखला लामो छ। महिनावारीलाई पाप र धर्मसँग जोडेर हेर्ने हाम्रो समाजले महिलाको स्वास्थ्यसँग जोडेर हेर्न थालेको धेरै भएको छ।
महिनावारी सुरु हुँदा मात्रै होइन महिनावारी सुक्दा पनि महिलाले उस्तै सास्ती खेप्नु पर्ने हुन्छ। महिनावारी सुरु हुने क्षण, उमेर र त्यसपछिका असहजता तथा महिनावारीको समयमा खानुपर्ने पोषिलो खानाका बारेमा धेरै बहस हुने गरेको छ । तर महिनावारी रोकिने समयका बारेमा भर्खरै मात्र चर्चा हुन्छ ।
महिनावारी सुरु भएजस्तै महिनावारी सुक्नु पनि सामान्य शारीरिक प्रक्रिया हो। जब महिलामा अण्डाशयले हर्मोन उत्पादन गर्न बन्द गर्छ, तब महिनावारी रोकिन्छ।
औसत महिलाको महिनावारी ४७ देखि ५० वर्षको हाराहारीमा रोकिन्छ। १ वर्षसम्म महिलामा महिनावारी भएन भने त्यसलाई रजोनिवृत्ति (मेनोपज) भनिन्छ।
कतिपय महिलाको कम उमेरमै महिनावारी रोकिन्छ। ५० वर्षभन्दा कम उमेरका महिलामा महिनावारी रोकिएको खण्डमा समयपूर्व रजोनिवृत्ति भएको भनिने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.प्रियंका त्रिपाठी बताउँछिन्।
ललितपुरकी तारा भण्डारीको महिनावारी रोकिएको ५ वर्ष भयो। अहिले उनको उमेर ४७ वर्ष भयो। समयअगावै महिनावारी रोकिएपछि उनलाई जिउमा बल नभएजस्तो हुने, थकाइ लाग्ने, औडाहा हुने, चिसो पसिना आउने, राती निन्द्रा नपर्ने, अरू मानिस बोल्दा झिजो लाग्ने गर्छ।
उनी भन्छिन्, ‘आँखा कमजोर हुँदै गएको छ। पहिला मीठो लाग्ने खाना पनि नमीठो लाग्नेरहेछ। हाडजोर्नी दुख्ने गर्छ।’ तारा जस्तै महिनावारी सुकेका अथवा रजनोवृत्ति भएका कतिपय महिलामा एस्ट्रोजन हर्मोनको कमीले हाडजोर्नी खिइने, ओस्टियोपोरोसिस अर्थात् हड्डी कमजोर हुने र सामान्य दुर्घटनामै भाँच्चिने स्त्रीरोग विशेषज्ञ डा.रीना श्रेष्ठ बताउँछिन्।
उनका अनुसार महिनावारी सुकेका समयमा देखिने समस्या र खानपानका विषयमा बहस नहुँदा कतिपय महिलामा डिप्रेसनको समस्या समेत देखिने गर्छ।
रजोनिवृत्तिपछि महिलामा विभिन्न खाले स्वास्थ्य जटिलता देखिने विशेषज्ञहरूको भनाइ छ। किशोरावस्थादेखि नै खानपान र जीवनशैलीमा ध्यान नदिने महिलामा महिनावारी रोकिएपछि हड्डी खिइने र हड्डी कमजोर हुने समस्याले सताउने गरेको चिकित्सक बताउँछन्।
समयमै ध्यान नदिने हो भने महिनावारी रोकिएपछि हुने समस्या समाधानमा लाग्न कठिन हुने चिकित्सक बताउँछन्। यसको रोकथामका लागि समयदेखि नै उपयुक्त खानपान र व्यायाम गर्नुपर्ने हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा.प्रकाशमान श्रेष्ठको सुझाव छ।
‘हिँड्नुपर्छ, दौडिनुपर्छ र खेल्नुपर्छ’ डा. श्रेष्ठ सुझव दिन्छन् ‘केरा र ब्रोकाउलीजस्ता खानेकुरा खानुपर्यो बिहानको घाममा २० मिनेट जति बस्दा प्रचुर मात्रामा भिटामिन डी पाइन्छ।’
महिलाको यो अवस्थाका बारेमा नेपालमा अहिलेसम्म कुनै औपचारिक अध्ययन, अनुसन्धान भएको छैन। त्यसैले महिनावारी रोकिएका महिलाले खानु पर्ने पोषणका बारेमा पनि त्यति धेरै अध्ययन नभएको चिकित्सकहरू बताउँछन्।
हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा.सरोजकुमार सुवालका अनुसार महिलाले किशोरावस्थादेखि नै क्याल्सियमयुक्त खानेकुरा खानु पर्दछ। जसले गर्दा महिनावारी सुकेपछि उनीहरुको हड्डीमा देखिने समस्या कम हुन्छ।
यसले हड्डीलाई बलियो बनाउने भएकाले यस्ता खानेकुरा जरुरी हुन्छ। शरीरमा क्याल्सियमको कमी हुन नदिन दूध, मासु, अण्डा, माछा, फलफूल खान डा.सुवालको सुझाव छ।
रजोनिवृत्तिपछि धेरै महिलामा डिप्रेसनको समस्या समेत देखिने गरेको छ। त्यसैले महिनावारी सुकेका महिलाका परिवारले महिनावारी सुरु भएका किशोरीका परिवारझैँ सचेत हुनुपर्ने स्त्री रोग विशेषज्ञ डा.त्रिपाठीको सुझाव छ।
‘यो बेलामा महिलामा शारीरिक तथा मानिसक परिवर्तनहरु देखिन्छन्’ त्रिपाठी भन्छिन्, ‘जसका कारण रजोनिवृत्ति भएका महिलाहरुको कुरा सुन्ने, उनीहरुलाई बुझ्ने र उनीहरुका समस्या सामाधान गर्ने प्रयास परिवारका सदस्यहरुले गर्नुपर्छ। आफन्तहरुले रजोनिवृत्ति भएका महिलाहरुमा सकारात्मक उत्प्रेरणा दिने गर्नुपर्छ।’
डा. त्रिपाठीका अनुसार उनीहरुको वार्षिक जाँच गर्ने जस्तैः भिटामिन ‘डी’ को स्तर, क्याल्सियम डेक्सा स्क्यान, मेमोग्राम आदि गराउने कुरामा ध्यान दिनुपर्छ।
यसका साथै रजोनिवृत्तिपछि महिलालाई पिज्जा, बर्गर लगायतका फास्टफुडबाट टाढा रहन चिकित्सकको सुझाव छ। यस्ता खानेकुरामा अजिनोमोटोको प्रयोग बढी मात्रामा हुने गर्छ। यसले हड्डीलाई कमजोर बनाउनुका साथै मस्तिष्कलाई समेत सुस्त बनाउँदै लान्छ।
महिनावारी सुकेर डिप्रेसनको सिकार भएका महिलाका लागि आहारा नै औषधि हुने मनोविद् गोपाल ढकाल बताउँछन्। उनी भन्छन्, ‘सबैखाले डिप्रेसनका बिरामीका लागि आहार औषधि हो।’
प्रोटिन, भिटामिन, बोसो, कार्बोहाइड्रेड, खनिज पदार्थ, पानीजस्ता तत्व मानव शरीरका लागि आवश्यक छन्। आम मान्छेले जस्तै रजोनिवृत्ति भएकी महिलाले पनि जस्तो खाना खायो मन पनि त्यस्तै हुने ढकाल बताउँछन्।
सन्तुलित खानपानले रजोनिवृत्तिपछि महिलामा देखिने मानशिक समस्या समाधान हुने उनको भनाइ छ। ‘नोरोड्रेनालाइन, सेरोटोनिन, डोपामाइन नामक तीन न्युरोट्रान्समिटर्सले हाम्रो मानसिक स्वास्थ्यमा महत्वपूर्ण भूमिका निभाउने गर्छ।
यी न्युरोट्रान्समिटर्सको उत्पादन तथा कार्यप्रणालीमा भिटामिन्स तथा मिनरल्स लगायतका खनिज पदार्थको महत्वपूर्ण भूमिका हुन्छ’ उनी भन्छन् आहारमा पोषण तत्वको कमीले मानसिक स्वास्थ्य विग्रने सम्भावना उच्च हुने हुँदा यो समय महिलाले यस्ता पौष्टिक तत्वको सेवन जरुरी छ।
रजोनीवृत्ति भएका महिलाले माछा, मासु, अण्डा, चिज, दूध, दही, पालकजस्ता खाना खानु पर्ने जनस्वास्थ्यविद् अरुणा उप्रती बताउँछिन्। ‘सन्तुलित रुपमा माछा खानाले मस्तिष्क स्वस्थ हुन सहयोग पुग्छ’ उनी भन्छिन्, ‘विभिन्न किसिमका भिटामिन बी ले सेरोटोनिन, नरइपिनेफ्रिन, अक्सिटोसिन, डोपामिन खुसिदिने मस्तिष्क रसायन उत्पादन गर्न सहयोग गर्छ।
जसको अभावमा मानसिक सन्तुलनमा समस्या उत्पन्न हुन्छ।’ गाजर, मटर, आँप, अंगुर, प्याजजस्ता फलफूल तथा हरियो सागसब्जी सन्तुलित मात्रामा प्रयोग गर्न उप्रती सुझाव दिन्छिन्।
महिनावारीको समयमा जस्तै रजोनीवृत्तिपछिको समयमा पनि कतिपय महिलाको पाठेघरमा दुखाइ महसुस हुन्छ। यस्ता महिलाले म्याग्नेसियम युक्त खानेकुराहरू खानु पर्ने पोषणविद् अस्मिता ढुंगाना बताउँछिन्। ‘म्याग्नेसियमले पाठेघरको मांसपेशीहरूलाई आनन्द बनाउँछ र दुखाइ कम गर्न पनि सहयोग गर्छ' ढुंगाना भन्छिन् 'म्याग्नेसियम युक्त खानेकुराहरू ओट्स, बदाम, दही, माछा, ब्रोकाउली, गाजर र फलफूलहरू जस्तै केरा, किवी, मेवा, जामुन आदि हुन्।'
महिनावारी सुकेपछि धेरै महिलामा पेट फूलेको महसुस हुने र हातखुट्टा बाउँडिने समस्या देखिन्छ। धेरैले भोक नलाग्ने समस्या रहेको बताउने गरेको चिकित्सकको भनाइ छ।
मोपोजपछि महिलाले हल्का खाना र कम प्रशोधन गरिएको खाना खानु पर्ने ढुंगाना बताउँछिन्। काँक्रो, तर्बुजा, खर्बुजा, केरा, अनार आदिको सेवन गर्नु पर्ने उनको सुझाव छ।
राधिका अधिकारी
तपाईँको अभिमत