सिनियर डाक्टरले जुनियर डाक्टरलाई सिकाउने कि हप्काउने ?

पहिले–पहिले प्रायगरी शहरी क्षेत्रका र धनाढ्य व्यक्तिका छोराछोरीले मात्रै डाक्टर पढ्ने अवसर पाए । अहिले जस्तो सामान्य परिवारका छोराछोरीले पढ्ने कुरा कल्पना बाहिरको विषय थियो।
एसएलसी पास गर्न त हम्मे हुने जमानामा डाक्टर पढेकोहरूको चुरीफुरी नहुने कुरै भएन। अहिलेका ५०–६० उमेरका धेरै प्रोफेसरहरूमा एक खालको घमण्ड छ।
गण्डकी मेडिकल कलेजमा एमबीबीएस सकेर इन्टर्न गरिरहनुभएका एक जुनियर डाक्टरको भनाइ हो यो ।
नेपालको स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा जुनियरलाई कराएन, थर्काएन भने यिनले हेप्छन्, टाउकोमा टेक्नछन् भन्ने सोचाइ हावी रहेको उहाँको भनाइ छ ।
विशेष गरी मेडिकल कलेजमा पढाउने पुराना प्रोफेसरहरूले म पनि समय अनुसार अपडेट हुनुपर्छ, सिकाइमा परिवर्तन गर्नुपर्छ, मैले आफ्नो व्यवहार र पढाउने शैलीमा परिवर्तन गर्नुपर्छ भन्ने कुरा मनन गर्न नसकेको ती विद्यार्थीको आरोप छ ।
मेडिकल कलेजहरूले पनि सिनियरहरूले जे भन्यो त्यही मान्नुपर्छ । शिक्षकले जति पेले पनि सहनुपर्छ भनेर सिकाउने उहाँ बताउनुहुन्छ।आर्मी शासन भन्दा कम नभएको उहाँको तर्क छ।
अस्पतालमा इन्टर्न गर्दा सिनियरहरूको अक्षर बुझ्दै बुझिएन भन्यो भने पनि गाली, नबुझेर उत्तर लेख्न नसक्दा पनि गाली खानुपर्ने गुनासो यी विद्यार्थीको छ।
'अक्षर बुझ्ने गरी लेख्नुपर्छ भन्ने रियलाइज नगर्ने उल्टै विद्यार्थीलाई गाली गर्ने परिपाटी छ'विद्यार्थी भन्नुहुन्छ।।
विज्ञ डाक्टरहरूले आफ्नो कमजोरी लुकाउन जुनियर तथा आवसीय डाक्टरहरूलाई दोषी देखाउने गरेको आरोप पनि यी इन्टर्न डाक्टरले लगाउनुभयो
उहाँले एक उदाहरण यसरी प्रस्तुत गर्नुभयो
कन्सलटेन्टको अण्डरमा रेजिडेन्ट डाक्टरहरू हुन्छन् । केही महिना अगाडिको घटना हो, कन्सलटेन्ट डाक्टर र बिरामीबीच केही विवाद भएछ । त्यो झोकमा कन्सलटेन्ट डाक्टरले बिरामीलाई डिस्चार्ज गरदेऊ भनेर रेजिडेन्ट डाक्टरलाई अह्राएछ। बिरामीको अवस्था डिस्चार्ज गर्न नमिल्ने देखेर रेजिडेन्ट डिस्चार्ज गर्नुभएनछ ।
पछि उहाँले उल्टै मैले डिस्चार्जका लागि भनेकै छैन भनेर बेस्सरी जुनियरलाई गाली गर्नुभएछ। यसरी आफ्नो गल्तीलाई ढाकछोप गर्न जुनियरलाई दोषी देखाउने प्रवृत्ति छ।
अब समय फेरिइसकेकाले सिनियरबाट गल्ती हुनै सक्दैन भन्ने भ्रम त्याग्नुपर्ने उहाँको भनाइ छ ।
‘अहिले प्रविधिमैत्री समयमा आफ्नो स्वास्थ्य समस्याबारे बिरामी तथा आफन्त स्वयंले पनि खोजेर, अध्ययन गरेर प्रश्न उठाउँछन् । मेडिकल पढेको जुनियर डाक्टरको त के कुरा ?’ ती इन्टर्न डाक्टर भन्नुहुन्छ, सही कुरा भए मनन् गर्ने, गलत भए यो यस कारण गलत हो भनेर सिकाउने काम सिनियरको हो। गाली गर्ने, हकार्ने होइन ।
सरकारी अस्पतालहरूमा लोकसेवा खुलाएर युवालाई प्राथमिकतामा दिनुपर्ने भनाइ उहाँको छ । यसो भएमा वर्षौँदेखि जरो गाडेर बसेका सिनियर डाक्टरको घमण्ड केही भएपनि मत्थर हुने ती विद्यार्थी बताउनुहुन्छ।
सिकाउने भन्दा गाली गर्ने धेरै
'जुनियरलाई सिकाउन खोज्नेहरू पनि छन्। सिक्न खोज्नेलाई हतोत्साहित बनाउने पनि छन्' काठमाडौंकै एक सरकारी अस्पतालमा काम गर्दै आउनुभएका एक मेडिकल अफिसरको सिनयर डाक्टरबारे आफ्नो धारणा यसरी सुनाउनुहुन्छ।
बंगलादेशमा एमबीबीएस पढ्नुभएका ती डाक्टर
बंगलादेशमा एमबीबीएस पढ्नुभएका ती डाक्टर सिनियर–जुनियर विभेद इन्टर्नसीपदेखि विशेषज्ञ डाक्टरसम्म रहेको बताउनुहुन्छ।
बंगलादेशमा चाँही इन्टर्नसीप गर्दा प्रोफेसरहरूले राम्रो सिकाएको उहाँको अनुभव छ । बाहिर जाने जनशक्ति राम्रो बनाएर पठाउनुपर्छ भनेर पनि त्यहाँ मेहनतले सिकाएको ती डाक्टरले जानकारी दिनुभयो।
नेपालमा चाँही प्रोफेसरलाई सिकाउने फुर्दस नै नभएको उहाँको बताउनुहुन्छ।
‘सुरु–सुरुमा कसैले कसैलाई केही सिकाउने वाला छैन । १०–१५ जनाको टिम हुन्छ । खासमा सिकाउने काम प्रोफेसरको हो । तर उहाँहरूलाई त्यो फुर्सदै हुँदैन । नेपालका प्रोफेसरहरू ५–६ वटा अस्पतालमा काम गरिरहेका हुन्छन् । शिक्षण अस्तपालमा बसेर सिकाउने चान्स एकदमै कम छ’ ती मेडिकल अफिसर भन्नुहुन्छ।
इन्टर्नसिप गर्नेमा पनि सिनियर र जुनियर हुन्छ । त्यसमा पनि सिनियरले जुनियरलाई बेस्सरी पेलाउने गरेको उहाँ सुनाउनुहुन्छ। ‘आफू केही गर्दैनन्। पेपर लेखाउनेदेखि सबै काम जुनियरलाई लगाउँछन्।’
उहाँका अनुसार प्रायगरी मेडिकल कलेजमा बिरामी हेर्ने रेजिडेन्स डाक्टर हुन्छन् । ३५-४० घण्टा ड्युटी गरेको हुन्छ ।उनीहरूले सुत्नुकी, आफू पढ्नु कि, इन्टर्नसीपमा आएको जुनियर डाक्टरलाई सिकाउनु ?
डाक्टर बनिसकेपछि सुरुमा उहाँले काठमाडौंको एक चर्चित निजी अस्पतालमा काम गर्नुभयो । त्यहाँ केही सिनियर डाक्टरहरू निकै सहयोगी पाएको ती डाक्टरले सुनाउनुभयो । धेरै जना चाँही जुनियरलाई हेप्नैपर्छ भन्ने खालको रहेको उहाँको भनाइ छ।
नसिकाउने उल्टै तैँले गरिखाँदैनस्, यस्तो पाराले कसरी हुन्छ भनेर निराश बनाउने खालका कन्सल्टेन्ट पनि धेरै भोगेको ती मेडिकल अफिसर बताउनुहुन्छ।
सिनियरहरूमा एक त सिकाउनै मन नहुने । मन हुँदैहुँदै पनि धेरै तिर काम गर्ने भएकाले सिकाउने समय नै नहुने गरेको उहाँको बुझाइ छ।
‘सिकाउनुको सट्टा तिमीहरूलाई केही आउँदै–आउँदैन, पढ्दै, पढ्दैनौ भनेर हेप्ने काम गर्छन्’ उहाँ भन्नुहुन्छ।
मेडिकल अफिसर भनेको जनरल वार्डको इन्चार्जको रुपमा हुन्छ । अकस्मात केही आइपर्यो भने हेर्ने त मेडिकल अफिसरले हो । कन्सल्टेन्ट त आउँदैन । यस्तो बेलामा सानो कुरामा पनि नसोधी केही निर्णय गर्यो भने कडा गाली खाएको अनुभव रहेको उहाँ सुनाउनुहुन्छ
‘एक पटक वार्डमा रहेको एउटा बिरामीलाई १०४ ज्वरो आयो । आधा रात थियो । सिटामोल दिएँ । भोलिपल्ट कन्सल्टेन्ट आएर किन मलाई नसोधी सिटामोल दिएको भनेर बिरामीकै अगाडि बेस्सरी हपार्नुभयो।'
बिरामीकै अगाडि यसरी गाली गर्दा आफू निकै अपमानित महसुस गरेको ती डाक्टर सुनाउनुहुन्छ।
‘बिरामीले यो जान्दै नजान्ने डाक्टर पो रहेछ भनेर सोच्दैन ?’ उहाँ भन्नुहुन्छ, ‘सधैँ बिरामीसँगै रहने त हामी हो नि । बरु छुट्टै बोलाएर सम्झाउन सकिँदैनथ्यो ? ’
डाक्टरलाई डाक्टर भनेर बोलाउँदा समेत गाली खाएको अनुभव उहाँ यसरी सुनाउनुहुन्छ ।
‘सन २०१६ तिरको कुरा हो । त्यो निजी अस्पतालमा वीर अस्पतालका एक कन्सल्टेन्ट काम गर्नुहुन्थ्यो । रातिको ड्यूटीमा थिएँ । डाक्टर भनेर सम्बोधन गर्दै फोन गरेँ । भोलिपल्ट राउण्डमा आउँदा हपार्नुभयो ।
उहाँले सोध्नुभयो–हिजो मलाई फोन गर्ने तिमी नै हैन ? मैले भने–हो। उहाँले कडा स्वरमा भन्नुभयो–म तिम्रो डाक्टर हो ? अबदेखि सर भन्ने गर । कस्ता–कस्ता केटाकेटी आउँछन् ।
निजीको तुलनामा सरकारी अस्तपालमा सिनियरले जुनियरलाई सिकाउने गरेको ती मेडिकल अफिसर बताउनुहुन्छ। तर पनि अस्तपालहरूमा सिनियरले जुनियरलाई पेल्ने प्रचलन धेरै नै रहेको उहाँ स्वीकार्नु हुन्छ ।
मेडिकल अफिसरलाई पेल्ने त छँदैछ । विशेषज्ञ भएर जाँदा समेत सिनियर कन्सल्टेन्टले उसै गरी पेल्ने गरेको आफूले देखेको उहाँ सुनाउनुहुन्छ।
जुनियरमाथि धेरै इगो राख्ने, जुनियरलाई हेप्ने डाक्टरहरू सर्जरी टिममा भएको आफूले पाएको यी मेडिकल अफिसरको भनाइ छ।
‘तँलाई केही आउँदैन मलाई मात्रै आउँछ । भन्नेमा सर्जरी टिममा हुन्छ’ मेडिकल अफिसर भन्नुहुन्छ ।
एमडी/एमएस गरिसकेकाहरू पनि सिनियर मेडिकल अफिसरको रुपमा काम गर्नुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ।
विशेषज्ञ भएर गएका डाक्टरलाई काम गर्न आउने भएपनि सिनियरले गर्न नदिने गरेको, यसलाई केही आउँदैन जस्तो व्यवहार गरेर हेप्ने, पेल्ने गरेको अनुभव चिकित्सकहरू सुनाउनुहुन्छ।
सिनियरलाई पनि त सबै कुरा थाहा हुँदैन तर आफूलाई थाहा छैन भन्ने कुरा उनीहरूले कहिल्यै स्वीकार गर्न नचाहने जुनियर डाक्टरहरूको आरोप छ।
बिरामीको २४ घण्टाको अवस्था त कि त्यहाँको मेडिकल डाक्टरलाई थाहा हुन्छ । कि नर्सलाई थाहा हुन्छ । राउण्डका बेला सिनियर र जुनियार डाक्टरको छलफल हुनु जरुरी हुन्छ तर यहाँ यस्तो चलन छैन । कन्सल्टेन्टहरू ५–१० मिनेट राउण्डमा आएर निर्देशन दिएर मात्रै जाने गरेको डाक्टरहरू सुनाउनुहुन्छ।
राउण्डका बेला ड्यूटीमा बसेको जुनियर डाक्टरको राय लिने काम बाहिरतिर हुने गर्छ’ एक चिकित्सक भन्नुहुन्छ, ‘उपचारका बारेमा छलफलपछि निष्कर्ष निकालिन्छ । तर यहाँ राउण्डका बेला जुनियरसँग छलफल परामर्श गर्ने प्रचलन छँदै छैन भन्दा पनि हुन्छ । सिनियर आउँछ आफ्नो निर्णय सुनाउँछ जान्छ।'
एक त ठूलो खर्च गरेर पढेका डाक्टरहरू ३०–४० हजारको जागिरमा सीमित हुनुपर्छ । कतिले त्यही पनि पाइराखेका हुँदैनन् । त्यसमा पनि सिनियरले निरुत्साहित गराउँदा धेरै डाक्टर डिप्रेसनको शिकार समेत हुने गरेको एक मेडिकल अफिसर बताउनुहुन्छ।
'आर्मी, पुलिसमा जस्तै देख्नेवित्तिकै तनक्क तन्किएर जुनियरले सलाम गर्दियोस् जस्तो ठान्ने धेरै सिनियर डाक्टर हुनुहुन्छ' ती डाक्टर भन्नुहुन्छ।
धेरै डाक्टर विदेश पलायन हुँदैछन्
‘शिक्षकहरूसँग ज्ञान चाँही हुने तर त्यो ज्ञान उचित तरिकाले हामीलाई दिएको अनूभूति भएन' नेपाल आर्मी कलेजमा एमबीबीएस गरेर अहिले विदेश जाने तयारीमा रहनुभएका एक डाक्टर भन्नुहुन्छ।
धेरै जसो विषयमा आफैँ अभ्यास गरेर र गल्ती गरेर सिकेको उहाँ बताउनुहुन्छ ।
‘सिकाउने भन्दा पनि आफैँ सिक भनेर छाडिदिने प्रवृत्ति धेरै पाइयो । केही सिनियर कन्सल्टेन्ट चाँही निकै सहयोगी हुनुहुन्थ्यो’ ती डाक्टर भन्नुहुन्छ।
काम गर्ने शिलशिलामा भने सिनियरको हस्तक्षेप नभएको उहाँको अनुभव छ । ‘जे गर्नु राम्रो गर्नू भन्ने थियो । बिरामीलाई राम्रो उपचार दिनू भन्ने थियो।’
मेडिकल अफिसरको रुपमा त्रिवि शिक्षण अस्पतालमा काम गर्दा राम्रो सहयोग पाएको उहाँको अनुभव छ ।
‘वातारण राम्रो थियो । उपचारमा आफूले जानेका कुरालाई आफैँ गर्न छाडिन्थ्यो । नजानेका कुरा सोधेर गरिन्थ्यो।’
अहिले काठमाडौंकै एक निजी अस्पतालमा काम गरिरहनुभएका ती मेडिकल अफिसरले निजीमा टिचिङको ठ्याक्कै उल्टो व्यवहार पाएको बताउनुभयो ।
‘निजीमा यसको उल्टो हुन्छ। कुनै औषधि लेख्नुपर्दा, ड्रेसिङ गर्दा सिनियरलाई सोध्नै पर्छ। राउण्डको बेलामा आएर बिरामीकै अगाडि गिज्याउने, किन गरिनस् भनेर र्याख, र्याख पार्ने सिनियरहरू पनि हुन्छन्’ उहाँ आफ्नो अनुभव यसरी सुनाउनुहुन्छ।
कुनै औषधि सिफारिस गर्दा पनि उहाँहरूको ब्राण्डबाहेक राख्यो भने गाली खानुपर्ने ती डाक्टरको अनुभव छ ।
‘डाक्टर बन्ने धेरै मान्छे स्कुल देखि नै अरु विद्यार्थी भन्दा राम्रै पढ्दै आएको हुन्छ । उसलाई पहिलेदेखि नै अरु भन्दा म धेरै जान्ने छु भन्ने खालको इगो चाँही हुन्छ । तँ भन्दा म के कम भन्ने हुन्छ । अनि सिनियर डाक्टरमा त त्यो झन बढी हुन्छ’ उहाँ भन्नुहुन्छ।
सिकाउनु पर्ने कुरा नसिकाउने त्यो भएन भनेर पेल्ने मात्रै गर्ने काम धेरै सिनियरबाट हुने गरेको उहाँ बताउनुहुन्छ।
मेडिकल अफिसर स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएपनि उनीहरूलाई त्यो अनुभूति हुने वातावरण नभएको यी मेडिकल अफिसर स्वीकार गर्नुहुन्छ।
‘पढ्न त्यत्तिकै खर्चिलो, पढेपछि काम पाउन उस्तै गाह्रो र पाएपनि कमाइको अवस्था दयनीय छ’ उहाँ भन्नुहुन्छ, ‘ यही भएर धेरै डाक्टर, नर्सहरू विदेशमै जान चाहन्छन्।’
अहिलेको अवस्था हेर्दा अबको ५–१० वर्षभित्रमा नेपालबाट ठूलो संख्यामा डाक्टरहरू पलायन हुने यी डाक्टरको बुझाइ छ ।
सिनियरले जुनियरसँग इगो राख्नु हुँदैन : डा.कार्की
बंगलादेशमा एमबीबीएस गर्नुभएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की नेपालमा सिनियर–जुनियर डाक्टरको विभेद कम रहेको बताउनुहुन्छ ।
भारत बंगलादेशमा यो संस्कार बढी रहेको उहाँको भनाइ छ ।
‘बंगलादेशमा त सिनियर–जुनियर सँगै बसेर कुरा गर्ने, खाजा खाने कुरा कल्पना नै गर्न सकिँदैन थ्यो’ डा.कार्की भन्नुहुन्छ।
पहिला भारतमा शिक्षकले विद्यार्थीलाई राउण्डका बेला मुख छाड्ने । जुनियर डाक्टरलाई तरकारी किन्न लगाउने, गाडी धुन लगाउनेसम्म संस्कार रहेको उहाँले जानकारी दिनुभयो ।
मेडिकल साइन्स कडा मेहनत गर्नुपर्ने विषय भएकाले यसमा अनुशासन हुनुपर्ने हुँदा जुनियरले सिनियरलाई सम्मान गर्ने कुरा सामान्य भएको डा. कार्की बताउनुहुन्छ।
जुनियर डाक्टरले सिनियरबाटै सिक्ने भएकाले सिनियरलाई सम्मान, आदर गर्नु जुनियर डाक्टरको कर्तव्य भएको उहाँको बुझाइ छ ।
अस्पतालमा बस्ने बिरामीलाई हेर्ने मुख्य व्यक्ति मेडिकल डाक्टर नै भएकाले उसलाई पोख्त बनाउने, खार्ने काम सिनियरले गर्नुपर्ने डा.कार्की बताउनुहुन्छ ।
साथै सिकाउने सिक्ने कुरामा कडा हुनैपर्छ भन्ने धारणा उहाँको छ।
‘मानौ म बिरामी भएर इमर्जेन्सीमा जानु पर्यो । त्यहाँ मलाई बचाउने त त्यही मेडिकल अफिसर नै हुन्छ नी’ डा.कार्की भन्नुहुन्छ, ‘उसलाई मैले कति राम्रो सिकाएको छु त्यही अनुसारको उपचार पाउने हो।’
सिकाइका बेला हरेक कुराको निर्णय गर्दा मलाई सोध भनेर सिनियरले भन्दा त्यसलाई नराम्रो मान्न नहुने डा.कार्कीको भनाइ छ। सोधेका बेलामा कन्सल्टेन्स उपलब्ध हुँदैन, फोन उठाउँदैन भने चाँही त्यो सिनियरको कमजोरी भएको उहाँ बताउनुहुन्छ।
‘सुरु–सुरुमा भर्खर पढेर आएको, आफूलाई के–के न आउँछ जस्तो पनि लाग्छ । तर सिनियरले वर्षाैँ काम गरेर अनुभव लिएको हुन्छ’ डा.कार्की भन्नुहुन्छ, ‘त्यो कुरा मेडिकल अफिसरहरूले मनन गर्नुपर्छ।’
सिकाउने नाममा जुनियर डाक्टरलाई हतोत्साही बनाउने, बिरामीको अगाडि गाली गर्ने जस्ता काम भने गर्न नहुने डा.कार्की बताउनुहुन्छ।
‘सिकाउने नाममा बिरामीको अगाडि बेइज्जत गर्ने, हर्ट गर्ने, इगो साध्ने, मानसिक तनाव दिने खालको वातावरण चाँही हुनुहुँदैन’ उहाँ भन्नुहुन्छ, ‘बिरामीको अगाडि थुक्क यति पनि आउँदैन भन्दा बिरामीले समेत नपत्याउने हुन्छ।’
बरु कोठाभित्र ल्याएर एक्लै राखेर सम्झाउने, गाली नै गर्नुपर्ने भएपनि भाषा सही प्रयोग गरेर गर्नुपर्छ भन्नेमा डा. कार्की सहमत हुनुहुन्छ।
तर कसैले पेशा नै छाड्ने बनाउने, आत्महत्या गर्नुपर्ने बनाउने कुरा चाँही दुखद् भएको उहाँ बताउनुहुन्छ।
जुनियरले सिनियरलाई सम्मान गर्ने र सिनियरले जुनियरलाई माया गरेर सिकाउने काम गर्नुपर्ने उहाँको भनाइ छ।
‘कतिपय कुरा त सिनियरले हात समातेरै सिकाउन पनि झन्झट मान्न नहुने डा.कार्की बताउनुहुन्छ।
‘हरेक कुरा आफू भन्दा सिनियर, अनुभवीबाट सिक्ने हो । सिकाइ कहिल्यै सकिँदैन । गुरुले चेलालाई गर्ने व्यवहारमा द्रोणाचार्यले अर्जुनलाई गर्ने व्यवहार र एकलब्यलाई गर्ने व्यवहार जस्तो विभेद हुनुभएन’ डा.कार्की भन्नुहुन्छ।
सिनियर पनि यस्तो चरण पार गरेर आउने भएकाले आफू सिनियर हुनुको दुरुपयोग गर्न नुहने उहाँको तर्क छ।
‘एक तहसम्मको अनुशासनमा राख्ने कुरा ठिक हो । एक तहसम्म आफ्नो सिनियरलाई गुरु थापेर सम्मान गर्नैपर्छ । तर त्यो भन्दैमा विद्यार्थीलाई सिध्याउने गरी व्यवहार गर्न पाइँदैन’ उहाँको निष्कर्ष छ ।
उपचारका क्रममा जुनियरले दिएको सुझाव सिनियरले इगो लिएर नमान्ने गर्न नहुने डा.कार्कीको भनाइ छ । ‘उसले भनेको कुरा सिनियरले सुन्ने गर्नुपर्छ’ उहाँ भन्नुहुन्छ, ‘ठिक रहेछ भने त्यसलाई स्वीकार्नु पर्छ । गल्ती रहेछ भने यो यस्तो होइन यस्तो हो भनेर सही कुरा सिकाउनुपर्छ।’
सिनियर जुनियर डाक्टरबीचको खालड पुर्न नेपाल चिकित्सक संघ पनि लागि परेको डा.कार्कीले जानकारी दिनुभयो ।
आफू नेपाल चिकित्सक संघमा महासचिव हुँदा जुनियर र सिनियर डाक्टरको खालड टुटोस् भनेर जुनियर डक्टर कमिटी भनेर गठन गरेको उहाँले जानकारी दिनुभयो।
‘यसो हुँदा जुनियर डाक्टरले पनि चिकित्सक संघको कार्यलयमा आउने वातावरण बनोस्, उनीहरूले आफ्ना समस्या सिनियर डाक्टरलाई भन्न सकुन् । सिनियरसँग खुलेर अन्तरक्रिया गर्न सकुन भनेर जुनियर कमिटी बनाएका हौँ’ डा.कार्कीले सुनाउनुभयो ।
कामका सिलसिलामा सिनियरले तँ चुप लाग् भनेर उसलाई इग्नोर गर्नु ठिक नभएको डा. म तेरो हाकिम हुँ । मैले जे भन्छु त्यही गर भनेर हिड्दा खेरी समस्या हुन्छ।
कतिपय अवस्थामा संस्थाहरूको नेतृत्व गर्ने क्रममा पनि जुनियर डाक्टरहरू नेतृत्वमा पुग्दा सिनियर नटेर्ने कुरामा कुरा सत्य रहेको डा. कार्कीको भनाइ छ।
निजामतीमा तहअनुसारले अनुशासन हुने भएकाले त्यहाँ जुनियरलाई हाकिम मान्नुपर्ने अवस्था धेरै ठाउँ रहेको उहाँले जानकारी दिनुभयो ।
‘यस्तो बेला सिनियरलाई काम अह्राउन गाह्रो भएपनि नियमअनुसार सिनियरलाई पनि अह्राउनु पर्ने सिनियरले मान्नुपर्ने हुन्छ’ डा.कार्की भन्नुहुन्छ, ‘सिनियर आफू भन्दा तल्लो तहमा भएपनि उहाँहरूलाई आफू हाकिम हुँदा पनि सर नै भनेर सम्बोधन गर्छौँ ।’
तह जे भएपनि पढ्दा, पढाउँदा, काम गर्दा जो कोही सिनियर, जुनियर हुने भएकाले यो स्वभाविक भएको उहाँको भनाइ छ ।
काम गर्न, गराउन खासै अप्ठ्यारो नहुने भएपनि कतिपय अवस्थामा अलि कडै भएर प्रस्तुत हुनुपर्दा भने केही समस्या हुने डा.कार्की बताउनुहुन्छ।
बेलायतमा सिनियरले जुनियरलाई हेप्दैनन् : डा.कैनी
बेलायतको एनएचएस अस्पतालमा १५ वर्ष अस्पताल व्यवस्थापकको रुपमा काम गरेर फर्कनुभएका डा.बच्चुकैलाश कैनी नेपालमा जस्तो अनुभवीहरूले जुनियरलाई हेप्ने प्रवृत्ति उता नदेखेको बताउनुहुन्छ।
‘१५ वर्ष काम गर्दा त्यहाँ अनुभवीहरूले हेप्ने, सिनियरले जुनियरलाई प्रोत्साहित नगर्ने जस्ता दृश्य मैले देखिन’ डा.कैनी भन्नुहुन्छ, ‘पदीय, पेशागत, अग्रज र अनुभवीको हिसाबमा त्यहाँ कसैलाई पनि फरक–फरक व्यवहार भएको देखिँन।
अस्पतालमा कसैले ठूलो आवाजमा बोले भने, सिनियरले जुनियरलाई हप्कीदप्की गरेमा, आत्मसम्मानमा चोट पुर्याएमा तुरुन्तै कारबाही गर्न मिल्ने कानुन त्यहाँ रहेको डा.कैनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो व्यवस्था स्वास्थ्यमा मात्रै नभई सबै क्षेत्रमा लागू हुन्छ।
बिरामीले डाक्टर, नर्स या अन्य कुनै कर्मचारी तथा अस्पतालका स्वास्थ्यकर्मीले बिरामी या उनीहरूका आफन्तलाई गर्ने व्यवहारका सम्बन्धमा उस्तै र एउटै नियम छ । यहाँ यी दुवै पक्षमा समान व्यवहार छ।
आफू अहिले कार्यरत अस्पताल नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा स्टीक अफ भन्ने अभियान नै चलाएको डा.कैनी बताउनुहुन्छ।
‘कसैले कसैलाई गालीगलौज गर्न पाइँदैन, आत्मसम्मानमा चोट पुर्याउन पाइँदैन’ उहाँ भन्नुहुन्छ, ‘मेरो अस्पतालमा कोही कर्मचारीको आत्म सम्मानमा चोट पुर्याएको, एउटा विभागको मान्छेले अर्को विभागको मान्छेलाई हेपेको, नटेरेको, श्रम शोषण गरेको भए मलाई भन्नु भनेको छु।’
बेलायतमा देखिएको समान व्यवहार यहाँ पनि कार्यान्वयन गर्नु जरुरी देखेर यस्तो नियम बनाएको डा.कैनी बताउनुहुन्छ।
‘त्यहाँ सिइओ भनेर ज्यू–ज्यू गर्दैनन् । म सिइओ हुँदा वार्डतिर निरीक्षणमा गएका बेला यदि मैले कोट लगाएर गएँ भने, घडी लगाएर गएँ भने त्यहाँका नर्सले नियम पालना गर्नुहोस् भनेर सजिलै भन्ने गर्थे’ डा.कैनी आफ्नो अनुभव सुनाउनुहुन्छ।
डा.कैनीका अनुसार त्यहाँ सबैलाई नियम बराबर हुन्थ्यो, बिरामीको आफन्त होस् या अस्पतालको मालिक या हाकिम।
नेपालमा अस्पतालमा बिरामी भेट्न जाँदा पालना गर्नुपर्ने नियम बनाए पनि कसैले नटेर्ने डा.कैनी सुनाउनुहुन्छ।
‘यहाँ यदि मैले कोट नै लगाएर गएछु भने पनि जुनियरले गलत भयो भन्ने आँट गर्दैनन् । सिइओ या सिनियर भनेर उल्टै आत्तिएर नमस्ते भन्छन् । अरु नियम व्यवस्था पालनातर्फ सोच्ने चलन छैन’ डा.कैनी भन्नुहुन्छ।
सिनियर गलत हुनै सक्दैन भन्ने गलत सोचले नेपालमा ज्वरो गाडेको डा.कैनी बताउनुहुन्छ। ‘सिनियरले जे भन्यो त्यही मात्र सही हुन्छ । संस्थागत रुपमै यो संस्कार र बुझाई बिल्कुलै गलत छ’ कैनी भन्नुहुन्छ, ‘अस्पतालमा एउटा विभागका कर्मचारीले अर्को विभागका कर्मचारीलाई नटेर्ने, नचिनेको जस्तो व्यवहार गर्ने प्रवृति धेरै देखिन्छ।’
यहाँ मान्छे पिच्छेका सम्बोधन हुने समस्या हरेक क्षेत्रमा रहको डा.कैनीको भनाइ छ । ‘कसैलाई हजुर, कसैलाई तपाई, कसैलाई तिमी, कसैलाई तँ अनि कसैलाई बक्सियोस् नै भन्नुपर्छ’ डा.कैनी भन्नुहुन्छ, ‘कार्यालय, संस्था तथा अस्पतालमा देखिने संस्कार संस्थागत रुपमा भएको गलत परिपाटीको हो।’
नियम, व्यवस्था बनाएर संस्थागत रुपमै अहिले चलिरहेको गलत संस्कारलाई निरुत्साहित गर्नुपर्ने धारण उहाँको छ ।
‘संविधानमै विभेद गर्न पाइँदैन भनिएको छ तर व्यवहारमा त्यसो छैन। बेलायतमा तल्लो र माथिल्लो सबै कर्मचारीबीच समान व्यवहार हुन्छ । त्यहाँ अफिस जाने भनिदैन काममा जाने भन्छन् तर यहाँ अफिस जाने भनिन्छ ।’
सिक्ने फेजमा भएको जुनियरलाई प्रोत्साहित गर्नुको सट्टा हतोत्साही बनाउने जुन परिपाटी छ, त्यसले यो पेशाप्रति वितृष्णा जगाउन मद्दत गरिरहेको डा.कैनी बताउनुहुन्छ।
यो पनि पढ्नुहोस् : डाक्टर बन्न मेडिकल कलेज छिर्नेवित्तिकै र्यागिङको टेन्सन , शिक्षकको गाली
तपाईँको अभिमत