लामखुट्टेको लार्भा मार्ने औषधि 'बायो लार्भिसाइड'ले गर्नसक्छ डेंगु नियन्त्रण
महामारीका रुपमा देशभर फैलिएको डेंगु नियन्त्रणका लागि लामुखुट्टेको लार्भा नष्ट गर्ने कुरा उठिरहेको छ। धेरै तिर लामुखुट्टेको लार्भा नष्ट गर्ने अभियान पनि चलिरहेका छन्।
अहिलेको अभियानमा लामखुट्टेका वासस्थान जमेको पानी पोख्ने, नष्ट गर्ने तरिका सिकाइएको छ। अभियानमा पनि त्यही तरिका अपनाइएको पाइन्छ।
लामखुट्टेको लार्भा नियन्त्रणका लागि बायो लार्भिसाइड विषादी उपयुक्त हुने विज्ञहरुले सुझाव दिएका छन्।
नेपालमा लामखुट्टेको लार्भा मार्ने जैविक औषधि भित्र्याइएको छ। भारतीय कम्पनी अजय बायोटेकले 'बायोडर्ट एम' नामको बायो लार्भिसाइड नेपाली बजारमा ल्याएको छ।
अजय बायोटेकका नेपाल प्रतिनिधि रुनाल तामाङले यो बायो लार्भिसाइडले एडिज, क्यूलेक्स र एनोफिलिस तीन वटै जातका लामखुट्टेको लार्भा मार्ने जानकारी दिनुभयो।
यस कारण यसको प्रयोगले डेंगु मात्रै नभएर लामखुट्टेको टोकाइबाट सर्ने मलेरिरया, चिकुन्गुनिया, फिलारिया, जीका जस्ता रोगको नियन्त्रणमा पनि मद्दत गर्छ।
तामाङमा अनुसार यो नेपालमा प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ।
भारत, बंगलादेश, श्रीलंका, थाइल्याण्डलगायत थुप्रै अफ्रिकी मुलुकमा यसको प्रयोग भइसकेको छ।
यसले लामखुट्टेको लार्भालाई मार्छ कि मार्दैन भनेर स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रयोग गरेर समेत हेरिएको तामाङले बताउनुभयो।
तामाङमा अनुसार अजय बायोटेकले नेपालमा ल्याएको बायोडर्ट एम नामको बायो लार्भिसाइड पाउडर र झोल दुवैमा उपलब्ध छ।
यो एक लिटर पानीमा ३५ देखि ४० ग्रामको दरले मिलाउनुपर्छ।
पानीको सतहमा यो छर्किनुपर्छ। एक किलो बायो लार्भिसाइडले १२ कठ्ठा बराबरको क्षेत्रफललाई पुग्छ।
एक हेक्टर जमिनमा सबैतिर पुग्ने गरी छर्नु परेको खण्डमा १० केजी वा १० लिटर बायो लार्भिसाइड २०० लिटर पानीमा मिलाएर छर्कनु पर्छ।
नेपालमा आउँदा एक केजीको मूल्य ३१ सय भारतीय रुपैयाँ अर्ताथ करिब ५ हजार नेपाली रपैयाँ पर्छ।
बायो लार्भिसाइडबारे विज्ञको मत के छ ?
यो पूर्णरुपमा जैविक विषादी रहेको त्रिभुवन विश्वविद्यालयको रसायन विज्ञानका सह–प्राध्यापक डा.अच्युत अधिकारीले जानकारी दिनुभयो।
उहाँका अनुसार बायो लार्भिसाइड एक किसिमको कीणाटुयुक्त विषादी हो। ३० वर्षपहिले लामखुट्टेका मरेका लार्भाबाट निकालेर यसको विकास गरिएको हो।
एकैपटक धेरै लामखुट्टेको लार्भा मरेको पाइएपछि तिनलाई मार्ने कीटाणुलाई निकालेर बायो लार्भिसाइडको विकास गरिएको अधिकारीले जानकारी दिनुभयो।
पानीको सतहमा छरेपछि यो कीटाणूूलाई लामखुट्टेको लार्भाले खान्छन्। लार्भाले यो पचाउन सक्दैन। त्यसपछि लार्भालाई पक्षघात हुन्छ।
२४ देखि ७२ घण्टाभित्र लार्भाको मृत्यु हुन्छ।
लार्भाले यो पचाउने कोसिस गर्छ तर यसबाट उत्पाद हुने टक्सिनलाई लामखुट्टेको लार्भाले पचाउन सक्दैन। त्यस कारण उसको मृत्यु हुन्छ।
यो जैविक भएकाले अन्य विषादीले जस्तो मान्छे या अरु जनावरलाई असर गर्दैन।
आफूले गरेको अध्ययनमा पाएअनुसार यो औषधि मिसाएको पानी मान्छेले पिउँदा समेत कुनै असर नगर्ने डा.अधिकारीको दावी छ।
बायो लार्भिसाइडलाई भाले लामखुट्टेमा प्रवेश गराएर लामखुट्टे नियन्त्रण गर्ने तरिकाबारे वैज्ञानिकहरुले अध्ययन गरिरहेको अधिकारीले जानकारी दिनुभयो।
उहाँका अनुसार भाले लामखुट्टेमा बायो लार्भिसाइड ट्रान्सफर गराएर पोथी लामखुट्टेमा पुर्याउने। त्यसपछि पोथीले पार्ने अण्डामै संक्रमण गराउन सके लार्भा नबनीकनै नष्ट हुनसक्छ भनी अध्ययन भइरहेको छ।
बायो लार्भिसाइड लामखुट्टेको लार्भा नियन्त्रणका लागि धेरै देशमा प्रयोग भइरहेको अधिकारीले जानकारी दिनुभयो।
आफूलाई यसको मूल्य अलि महंगो लागेको तर सबै हिसाबबाट डेंगु नियन्त्रणमा यो प्रभावकारी हुने उहाँको भनाइ छ।
स्वास्थ्य विज्ञ डा. जेडी ठाकुरले पनि लार्भा नियन्त्रणमा बायो लार्भिसाइड निकै उपयुक्त हुने बताउनुभयो। श्रीलंका, थाइल्याण्ड, भारतको लखनउलगायतका ठाउँमा यसको प्रयोग भएको आफूले देखेकाले उपयुक्त हुने डा.ठाकुरको भनाइ छ।

डेंगु नियन्त्रणका लागि लामखुट्टे नष्ट गर्न लार्भा नष्ट गर्नु सबैभन्दा उपयोगी उपाए भएको उहाँ सुनाउनुहुन्छ।
जमेको स्थीर पानीमा बायो लार्भिसाइड छर्किएर लार्भा नष्ट गर्दा प्रभावकारी हुनसक्ने उहाँको सुझाव छ।
बायो लार्भिसाइडबारे त्रिभुवन विश्वविद्यालयमा २ वटा पीएचडी भइरहेको पनि ठाकुले जानकारी दिनुभयो।
इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मसासिनीले लामखुट्टेको वृद्धि रोक्न बायो लार्भिसाइड धेरै उपयोगी रहेको बताउनुभयो।
बालोलोजिकल भएकाले मान्छेको स्वास्थ्यमा कुनै असर नगर्ने, अन्य देशले समेत प्रयोग गरेकाले यसले राम्रो काम गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
एडिज जातको लामखुट्टे निकै चलाख रहेकाले सन्तान उत्पादनका लागि अनेकौँ विकल्प खोज्ने गरेको डा.मरासिनी सुनाउनुहुन्छ। डेंगु नियन्त्रणका लागि यसको लार्भा नष्ट गर्नु पर्ने भएकाले बायो लार्भिसाइड उपयुक्त हुने उहाँको तर्क छ।
डेंगुबाट जनताहरु यति धेरै आक्रान्त हुँदा पनि तीन तहका कुनै पनि सरकारको गम्भीर नभएको गुनासो डा.मरासिनीले गर्नुभयो।
‘धेरैका सिंगै परिवार नै डेंगुले बिरामी छन्। ७५३ स्थानीय तह, ७ प्रदेश, १ संघीय सरकार कसैको पनि एक नम्बर प्राथमिकतामा यो परेजस्तो लाग्दैन’ डा मसासिनी भन्नुहुन्छ।
हेल्थपाटी
तपाईँको अभिमत