पुरुषत्व गुम्ने डरले महिलामाथि थोपरिन्छ स्थायी बन्ध्याकरण
पोखराका एक ४० वर्षीय पुरुषले श्रीमतीलाई स्थायी बन्ध्याकरण गर्न आग्रह गरे । उनकी श्रीमतीले श्रीमानलाई नै स्थायी बन्ध्याकरण गर्न सुझाव दिइन् । त्यसपछि ती पुरुष रीसले चुर भए।
'हामी पुरुषले बन्ध्याकरण गर्ने हो ? पुरुषले बन्ध्याकरण गराउँदा कमजोर भइँदैन् । हामी बाहिर कमाउन जानुपर्छ, कमजोर भइयो भने कसरी कमाउने ? कसरी परिवार पाल्ने ? ' यस्ता थुप्रै प्रश्न उनले श्रमतीसामु तेर्स्याए।
बन्ध्याकरण गर्ने काम महिलाको हो, पुरुषले बन्ध्याकरण गर्यो भने पुरुषत्व गुम्छ भन्ने भ्रम उनमा छ। यी दम्पतीका तीन सन्तान भइसकेपछि छन् । आफूले बन्ध्याकरण गराउन उचित नहुने भन्दै ती व्यक्तिले बन्ध्याकरणका लागि श्रीमतीलाई दवाव दिने गर्छन्।
यो एउटा उदाहरण मात्रै हाम्रो समाज यस्ता धेरै पुरुषहरु छन्–जो आफू बन्ध्याकरण गर्न चाहँदैनन् ।
हाम्रो समाजमा परिवार नियोजनको दायित्व महिलाको मात्रै भएको सोचाइ पुरुषको संख्या निकै ठूलो छ।
त्यसैले नेपालमा स्थायी बन्ध्याकरणको भार महिलामै थोपारिने गरेको छ ।
स्वास्थ्य कार्यालय कास्कीमा रहेको २०७८ श्रावणदेखि फागुन सम्मको तथ्यांक हेर्ने हो स्थायी बन्ध्याकरणको दायित्य कसरी महिलामा थोपरिएको छ स्पष्ट देख्न सकिन्छ।
८ महिनाको अवधिमा महिला स्थायी बन्ध्यारण (मिनिल्याप) गराउनेमा महिला २४२ छन् । पुरुष स्थायी बन्ध्याकरण ( भ्यासेक्टोमी) गराउने ८२ जना मात्रै देखिन्छन्।
बन्ध्याकरण गराउन पुरुष अघि सर्दैनसर्ने स्वास्थ्य कार्यालय कास्कीका परिवार नियोजन निरीक्षक नरबहादुर सारु बताउनुहुन्छ।
हाम्रो समाजमा परिवारको हरेक निर्णयमा पुरुषको हात हुने भएकाले धेरैजसो महिलाले नै बन्ध्याकरण गर्नुपर्ने अवस्था रहेको सारुको भनाइ छ।
कतिपय अवस्थामा बाध्य भएर पनि महिलाहरुले बन्ध्याकरण गराउने गरेको उहाँ बताउनुहुन्छ।
यो कास्कीमा मात्रै नभएर स्थायी र अस्थायी साधन दुवैको प्रयोग पुरुषले भन्दा महिलाले बढी गर्ने गरेको अध्ययनहरुले देखाउँछ।
कास्कीको तथ्यांक हेर्दा भ्यासेक्टोमी गराउने पुरुषभन्दा मिनील्याप गराउने महिलाहरुको संख्या तीन गुणा बढी देखियो।
घिल्ल्लो तीन महिनाको अवधिमा ३२ जना पुरुषको स्थायी बन्ध्याकरण गराएको परिवार नियोजन कार्यालय कास्कीले जानकारी दिएको छ।
परिवार नियोजन कार्यालयका अनुसार भ्यासेक्टोमी गराउने पुरुषहररुको उमेर २५ वर्षदेखि ५० वर्षभन्दा माथिका समेत छन्।
धेरै पुरुषहरुले बन्ध्याकरण भनेको ठूलो अप्रेसन हो भन्ने सोच्ने गरेको परिवार नियोजन कार्यालयका कास्की शाखा प्रमुख नवराज तिवारी बताउनुहुन्छ।
पुरुषले बन्ध्याकरण गर्न अनाकानी गर्दा महिलाहरु अनावश्यक रुपमा अस्थायी साधन प्रयोग गर्न बाध्य हुनुपरिरहेको तिवारीको भनाइ छ।
महिलाले प्रयोग गर्ने अस्थायी साधनहरु पिल्स, इम्प्लान्ट, कपर टी आदि हर्मोन र हर्मोनरहित छन् ।
दुवैले कुनै न कुनै तरिकाले महिला स्वास्थ्यमा असर पर्ने उहाँ बताउनुहुन्छ। ‘महिलाहरुले पाखुरामा राख्ने इम्प्लान्ट भन्दा पनि पुरुषहरुको भ्यासेक्टोमी गराउन सजिलो छ’ तिवारी भन्नुहुन्छ, ‘भ्यासेक्टोमी मात्र ५ मिनेटको काम हो । तर महिलाका लागि गरिने परिवार नियोजनका साधनहरुको प्रतिक्रिया लामो समय रहन्छ । महिला स्वास्थ्यमा असर ल्याउने किसिमका पनि हुन्छन्।’
तिवारीका अनुसार कार्यालयमा यसअघि बन्ध्याकरण गराउनेहरु खुसी र सन्तुष्ट छन्। उनीहरु आफूले समयमै बन्ध्याकरण नगराएकाले श्रीमतीलाई धेरै दुःख भएको भन्दै पश्चाताप मान्ने गर्छन्।
श्रीमतीलाई दुखः दिनुभन्दा आफैँ स्याथी बन्ध्याकरण गर्न अघि सर्ने पुरुष पनि छन् ।
स्थायी बन्ध्याकरण गराएका पोखराका ४१ वर्षीय पुरुष श्रीमतीलाई दुखः नहोस् भनेर स्थायी बन्ध्याकरण गराएको बताउनुहुन्छ।
‘सन्तानको चाहना पुरा भइसक्यो, श्रीमतीसँग सल्लाह गरेरै गरेको हुँ’ उहाँ भन्नुहुन्छ, ‘अब श्रीमतीलाई कति दुःख दिने भनेर भ्यासेक्टोमी गरेँ।’
महिला र पुरुष बन्ध्याकरणमा फरक
स्त्रीरोग विशेषज्ञ डा. प्रेमराज पंगेनीका अनुसार महिलाका लागि भन्दा पुरुषका लागि बन्ध्याकरण सरल र सहज हुन्छ । महिलाको मिनील्याप भनेको सानो अपरेशन भएपनि पेट नै खोल्नुपर्ने हुन्छ। जसले गर्दा इन्फेक्सनको जोखिम महिलालाई बढी हुन्छ। पुरुष बन्ध्याकरणमा त्यो हुदैँन ।
भ्यासेक्टोमी गर्दा पुरुषको अण्डकोषमा सानो घाउ बनाएर शुक्रकीट नलीलाई छालाबाट बाहिर निकालेर बाँधेर काटिन्छ ।
यसले पुरुषलाई कमजोरी गराउँदैन । अप्रेशन गरेको ३ महिनासम्म अरु अस्थायी साधन प्रयोग गर्नुपर्दछ । अनिवार्य रुपमा ३ महिनापछि वीर्य परीक्षण गराउनुपर्छ ।
त्यसपछि वीर्यमा शुक्रकीट छ छैन हेरेर मात्रै अप्रेशन सफल भयो/भएन यकीन गरिन्छ।
महिलाको बन्ध्याकरण अलि जटिल हुन्छ। मिनिल्याप गर्दा नाइटोमुनि सानो शल्यक्रिया गरी पाठेघरको अण्डावाहिनी नलीलाई बाँधेर काटिन्छ । त्यसपछि पनि १ हप्तासम्म घाउ सफा गरिरहनुपर्छ। पानी पर्न दिन हुँदैन। कहिले कहीँ घाउ पाक्ने जोखिम रहन्छ ।
पुरुष बन्ध्याकरणले यौन सन्तुष्टि कम हुने अथवा पुरुषलाई शारीरिक रुपमा असर पुग्ने गतल बुझाइ समाजमा रहेको डा.पंगेनी बताउनुहुन्छ।
यो पूर्णरुपमा गलत बुझाइ रहेकोले भ्यासेक्टोमीपछि पनि पुरुष उत्तिकै स्वस्थ हुने उहाँले स्पष्ट पार्नुभयो।
यदि भ्यासेक्टोमी गरिसकेको पुरुषको शुक्रकीट नली पुनः जोड्न पनि मिल्ने डा पंगेनी बताउनुहुन्छ। ‘रिर्भसल सर्जरीको प्रक्रिया दुवै महिला र पुरुषमा सम्भव छ तर प्रक्रियामा पुरुषका लागि जटिलता आउँदैन तर महिलाका लागि निकै जटिल हुन्छ’ डा.पंगेनीले भन्नुहुन्छ।
गर्भपतन गराउनेको संख्या बढ्दो
अनिच्छित गर्भधारणका कारण गर्भपतन गराउनेको संख्या पनि बढ्दो छ ।
परिवार नियोजन कार्यालय कास्की शाखामा मात्रै सन २०२२ को तीन महिनाको अवधिमा २४८ जनाले गर्भपतन गराएका छन्।
यसमा सबैभन्दा कम १५ वर्ष सबैभन्दा बढी ५० वर्ष सम्मका महिला रहेको कार्यालयले जानकारी दिएको छ ।
यस्तै स्वास्थ्य कार्यालय कास्कीको गत वर्षको ८ महिनाको तथ्यांकअनुसार मेडिकल र सर्जिकल दुवै गरी गर्भपतन गराउने २० वर्ष माथिका २ हजार १६४ जना महिला छन् ।
२० वर्षभन्दा कम उमेरका २७९ जना रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
यस तथ्यांक मध्ये कास्कीमा गर्भपतन गराएका किशोरी तथा महिलामध्ये १८ जनालाई गर्भपतन पश्चात जटिलता देखिएको थियो ।
गर्भपतन गराउनु पर्ने धेरै कारणहरु मध्ये एउटा महत्वपूर्ण कारण पुरुषले स्थायी बध्याकरण नगराउनु रहेको डा.लक्ष्मी पौडेलको भनाइ छ।
पुरुषले कण्डम प्रयोग गर्नु सबैभन्दा सुरक्षित र हानिरहित भएपनि कण्डमको प्रयोग नहुदाँको अवस्थामा अनिच्छत गर्भ बस्ने सम्भावना बढी हुने डा.लक्ष्मी बताउनुहुन्छ।
उहाँका अनुसार महिलाका लागि अस्थायी साधनहरु विकल्पका रुपमा सजिलो भएपनि नियमित रुपमा यी साधनहरुको प्रयोगले महिला स्वास्थ्यमा असर पर्छ।
सन्तानको इच्छा पूरा भइसकेकाले जुनसुकै उमेर भएपनि भ्यासेक्टोमी गराउन डा.लक्ष्मीको सुझाव छ।महिलाको मिनिल्याप गर्नु भनेको पेटबाट बच्चा निकाल्ने सरहकै अपरेशन रहेको उहाँ बताउनुहुन्छ ।
त्यसमा पनि कतिपय मोटो महिलामा पेटमा बोसो भरिएको हुने हुनाले अण्डाबाहिनी नली नै फेला पार्न कठिन हुन्छ। यसले गर्दा अप्रेसन अझै जटिल हुन जान्छ।
त्यसैले पनि महिलाको स्वास्थ्यलाई ध्यान दिँदै पुरुषको भ्यासेक्टोमी पहिलो विकल्प हुनुपर्नेमा डा.लक्ष्मी बताउनुहुन्छ।
उमा आलेमगर
तपाईँको अभिमत