किन देखिन्छ पिसाब थैली र मिर्गाैलामा पत्थरी ? कसरी बच्ने ? (भिडियो)
पत्थरी विभिन्न खाले हुने भएपनि मिर्गाैलाको पत्थरी धेरै हुने भतरपुर अस्पतालमा कार्यरत युरोलोजिस्ट डा.सम्पन्न चुँडालले जानकारी दिनुभयो।
नेपालमा यो आम समस्याको रुपमा रहेको डा.चुँडाल बताउनुहुन्छ । नेपालमा उपचारको सहज पहुँच नभएकाले पत्थरीको ढुंगा ठूलो भएपछि उपचारमा आउनेको संख्या धेरै रहेको उहाँको भनाइ छ ।
पत्थरी देखिएर अप्रेसन गर्नुपर्छ भनेर पठाएका बिरामी फलोअपमा नआएर मिर्गाैला बिग्रिएपछि मात्रै आउने गरेको पनि डा.चुँडालले सुनाउनुभयो ।
दुई हप्ता–तीन हप्तापछि बोलाएका बिरामी मिर्गौला बिगारेर आउनुहुन्छ’ डा.चुँडाल भन्नुहुन्छ, ‘मलाई त दुख्न छाड्यो ठिक भयो होला भनेको मिर्गाैला नै बिग्रेछ भन्दै २–४ महिना आउनुहुन्छ ।’
मिर्गाैला र पिसाब थैलीको पत्थरी भनेको के हो ? कस्ता व्यक्ति यसको जोखिममा हुन्छन् ? यसबाट बच्न के–के गर्नुपर्छ ? यसबारे हेल्थपाटीसँगको कुराकानीमा डा.सम्पन्न चुँडालले दिनुभएको जानकारी तल प्रस्तुत छ।
युरोलोजीमा ३ थरीको पत्थरी हेरिन्छ । मिर्गौलाको पत्थरी, पिसाब नलीको पत्थरी र पिसाब थैलीको पत्थरी।
यसमा पनि सबैभन्दा धेरै बिरामीहरु मिर्गाैलाको पत्थरी भएर आउनुहुन्छ । मिर्गाैलाको पत्थरी पिसाब नलीमा जान्छ । पिसाब थैलीमा चाहिँ मिर्गौलाको पत्थरी पनि आउनसक्छ अथवा पिसाबथैलीमा आफैँ पनि बन्न सक्छ । त्यो चाहिँ प्रोस्टेट भएको बिरामी, पिसाब अलिकति नखुलेर, जमेर पत्थरी बन्ने गर्छ । अथवा धेरै लामो समयसम्म पिसाबको पाइप राखेको छ भने बन्न सक्छ ।
कसरी बन्छ पत्थरी ?
पत्थरीको बन्ने मुख्य कारण शरीरमा पानीको कमी हो । पिसाबमा पत्थरी बनाउने क्रिस्टल हुन्छन् । पानीको कमी भयो भने क्रिस्टलको मात्रा बढी हुन्छ । त्यसले पत्थरी बनाउछ ।
त्यसमा अरु मेटाबोलिक कारणहरु पनि हुन्छन् । पत्थरी बनाउने तत्वहरु कसैको पिसाबमा बढी गइरहेको हुन्छ । जस्तो क्याल्सियमको मात्रा रगतमा बढी भयो भने हाइपरक्याल्सिेमिया भन्छौँ । यसो हुँदा पिसाबमा बढी क्याल्यिम जान्छ । यसले पत्थरी बन्न सक्छ ।
अर्काे कारण खानपिन हो । नुन बढी खाने, चिल्लोहरु बढी खाने, मोटोपना, मधुमेह जस्ता कारणले पनि पत्थरी बन्न भूमिका खेल्छ ।
पत्थरीको बिरामी मुख्यगरी दुखाइ भएर अस्पताल आउनुहुन्छ । कसैकसैलाई दुखाइ नभइकन सामान्य अवस्थामा भिडियो एक्सरे गर्दा पनि देखिन्छ ।
मिर्गौलाको पत्थरी हुँदा कोखामा दुख्ने हुन्छ । कसैलाई चाहिँ संक्रमण भएर ज्वरो आएर पनि अस्पताल आउनुहुन्छ ।
उपचार कसरी गर्ने ?
पत्थरीको उपचार कसरी गर्ने भन्ने कुरा त्यसको आकार हेरेर हुन्छ । सानो छ भने मिर्गाैला फुलेको छैन, मिर्गौलामा अवरोध गरेको छैन भने जान्छ कि भनेर औाषधि खाएर धेरै पानी खाएर अलि दिनसम्म, केही सातासम्म पर्खन मिल्छ ।
ठूलो छ, मिर्गौला फुलेको छ भने यो जोखिम हुन्छ । मिर्गौलामा ठूलो पत्थरी र पिसाब नलीमा अड्किएको पत्थरीले मिर्गाैला बिगार्ने जोखिम हुन्छ । जतिसक्यो चाँडो अप्रेसन गर्नुपर्छ ।
कतिसम्मको अप्रेसन गर्नुपर्दन भन्दा यति नै साइज भन्ने हुँदैन तर दुखाइ नभएको बिरामीमा १०–१५ एम एम सम्मको चाहिँ कुर्न सकिन्छ भन्ने हुन्छ ।
पत्थरीले कस्ता जटिलता निम्त्याउँछ ?
पत्थरीले मिर्गाैला बिगारेर बिरामीहरु आउनुहुन्छ । पत्थरी छ अप्रेसन गर्नुपर्छ भनेर दुई हप्ता–तीन हप्तापछि बोलाएका बिरामी मिर्गौला बिगारेर आउनुहुन्छ । मलाई त दुख्न छाड्यो ठिक भयो होला भनेको मिर्गाैला नै बिग्रेछ भन्दै २–४ महिना आउनुहुन्छ ।
कसै–कसैको पहिला एउटा मिर्गौला निकालेको र अर्काेमा पत्थरी भयो भने अवस्था जटिल हुनसक्छ । डायलासिस चाहिने हुन्छ । मुख्य कुरा दुखाइ नै नभइकन पनि मिर्गौलामा पत्थरी हुनसक्छ । सचेत हुनुपर्छ । उपचारमा भनेअनुसार गर्नुपर्छ अप्रेसन चाहिन्छ भनेको भए अप्रेसन गर्नुपर्छ । नत्र कतिको फरकमा बोलाइएको छ त्यो समयमा आएर हेर्नुपर्छ पत्थरी गयो कि गएन ?
अप्रेसन गरेका बिरामी के–के सावधानी अपनाउने ?
मिर्गौलामा देखिएको पत्थरी उपचार वा अप्रेसन गरेर हटाएपनि फेरि बन्ने सम्भावना हुन्छ । अरु बिरामी भन्दा पत्थरी बन्ने सम्भावना ५० प्रतिशत बढी हुन्छ । १० वर्षसम्म हामीले फलोअप गर्यौँ भने ५० प्रतिशतमा फेरि पत्थरी बनेको अनुसन्धानहरुले देखाएको छ ।
खानपिनमा पानी धेरै खाने, नुन कम खाने , माछा, मासु कम खाने, नियमित फलोअपमा आएर पत्थरी बनेको छ कि छैन हेर्नुपर्छ ।
पिसाब २ लिटर हुने गरी पानी खानु पर्यो नुन धेरै चर्काे नखाने , यो सबै पत्थरीलाई काम लाग्ने हो । युरिक एसिडको कारणले भएको पत्थरी छ भने युरिक एसिड बढ्ने कुरा खानु भएन ।
मिर्गौलामा बन्ने ढुंगा क्याल्सियमबाट नै बनेको हुन्छ । धेरैजसो चाहिँ क्याल्सियममा अरु तत्व मिसिएर बनेको हुन्छ । एक्सरे र सिटी स्क्यानमा कडा देखिने भएकाले ढुंगा नै भनेको ।
पहिला–पहिला चाहिँ ढुंगा ठूलो नै हुन्थ्यो । अहिले भिडियो एक्सरेहरु गरिरहने भएकाले सानो हुँदै थाहा हुन्छ । प्राय । चिरेर ठूलो ढुंगा निकाल्दा डल्लो नै आउँछ । प्लाव पारेर फुटाएर निकाल्दा चाहिँ टुक्रा–टुक्रा भएर आउँछ । १०–१२ सेन्टिमिटरसम्मको हामीले निकालेका छौँ ।
कस्तो समस्या भएका व्यक्ति युरिक एसिड भएको बिरामी रगतमा भएको युरिक एसिड पिसाबमा जान्छ र ढुंगा बनाउछ । महुमेह भएको, मोटोपना भएको बिरामीमा पत्थरीको जोखिम बढी हुन्छ । गर्मी ठाउँमा काम गर्नेहरु जसको पसिना धेरै आउँछ तर समय–समयमा पानी खान पाउँदैन उनीहरुलाई पनि जोखिम हुन्छ ।
नेपालमा समयमै उपचार सेवा पाउने अवस्था छैन । बेला–बेलामा परीक्षण गर्ने पनि हुँदैन । ढुंगा ठूलो भइसकेपछि आउने बिरामी पनि हुन्छन् । विकसित देशतिर नेपालमा जस्तो ठूलो–ठूलो ढुंगा भेटिँदैन प्राय।

हेल्थपाटी
तपाईँको अभिमत