बच्चामा क्षयरोग : कारण, लक्षण र अभिभावकले ध्यान दिनुपर्ने कुराहरू

बालबालिकामा क्षयरोग (टिबी) एक महत्वपूर्ण र जटिल स्वास्थ्य समस्या हो । यसका कारण, लक्षण र रोकथामका उपायहरू वयस्कहरूको भन्दा फरक हुन सक्छन् ।
खासगरी बालबालिकामा वयस्कहरूलाई झैँ खोकी लाग्दैन । जसले गर्दा रोगको आशंका गर्न अभिभावकलाई कठिनाइ हुनसक्छ । त्यसैले अन्य लक्षणहरूमा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।
बालबालिकामा क्षयरोग लाग्ने कारणहरू
बालबालिकामा क्षयरोग प्रायः अरू व्यक्तिहरूबाट सर्ने गर्दछ। उनीहरू प्रायः आफैँ बाहिर जाँदैनन्; उनीहरू वयस्क व्यक्तिहरूसँग मात्र बाहिर जान्छन्, जसबाट पनि रोग सर्ने सम्भावना हुन्छ। यदि घरमा कुनै व्यक्तिलाई क्षयरोग छ भने, बालबालिकामा रोग सर्ने सम्भावना धेरै हुन्छ।
बालबालिकाको रोगसँग लड्ने क्षमता (रोग प्रतिरोधात्मक क्षमता) कम भएकाले पनि क्षयरोग चाँडै सर्ने हुन्छ ।
बालबालिकामा देखिने क्षयरोगका लक्षणहरू
बालबालिकामा क्षयरोगका लक्षणहरू वयस्कहरूमा देखिने लक्षणहरू भन्दा फरक हुन्छन्। खोकी नलाग्न सक्छ । वयस्कहरूमा खोकी लाग्ने र खकार आउने मुख्य लक्षण भए पनि बालबालिकामा खोकी नलाग्न सक्छ। उनीहरूमा ज्वरो आउन सक्छ। त्यस्तै सुस्त वृद्धि विकास पनि बालबालिकामा हुने क्षयरोगको लक्षण हो । क्षयरोग लाग्दा बालबालिका अत्यधिक रुने समस्या पनि हुन्छ । उनीहरू सुस्त हुने तथा अल्छी हुने हुनसक्छन् ।
वयस्कमा जस्तै बालबालिकामा पनि फोक्सोको क्षयरोग नै बढी हुन्छ । यद्यपि, बालबालिकाले खकार निकाल्न नसक्ने (उनीहरूले खकार निल्ने) भएकाले यसको निदान गर्न गाह्रो हुन्छ। त्यसकारण, आजकाल बालबालिकामा क्षयरोग पत्ता लगाउन दिशाको जाँच (Stool Test) गरिन्छ।
अभिभावक वा आमाबुवाले ख्याल गर्नुपर्ने कुराहरू
बालबालिकालाई क्षयरोगबाट बचाउन र यसको व्यवस्थापन गर्न अभिभावकले निम्न कुराहरूमा ध्यान दिनुपर्छ:
प्रिभेन्टिभ थेरापी (Preventive Therapy):
– यदि घरमा कसैलाई क्षयरोग छ भने, बालबालिकाको स्क्रिनिङ (जाँच) गर्नुपर्छ।
– यदि बालबालिकामा क्षयरोग देखिएन भने पनि उपचार गर्नुपर्छ, जसलाई 'प्रिभेन्टिभ थेरापी' भनिन्छ।
– यो थेरापीमा हप्ताको एकपटक औषधि १२ हप्तासम्म (तीन महिना) खुवाइन्छ। यसले बालबालिकालाई क्षयरोग लाग्नबाट बचाउन मद्दत गर्छ।
– नेपालभरका ६,२०० भन्दा बढी डट्स सेन्टरहरूबाट यो सबै औषधि निःशुल्क रूपमा उपलब्ध छ।
मास्कको प्रयोग
– यदि सानो बच्चा दूध खाने अवस्थामा छ र आमालाई क्षयरोग छ भने, आमाले अनिवार्य रूपमा मास्क लगाउनुपर्छ।
– घरमा अरू कुनै व्यक्तिलाई क्षयरोग छ भने, उनीहरूले पनि मास्क लगाउनुपर्छ। बच्चाले मास्क लगाउन नसक्ने भएकाले जसलाई रोग लागेको छ, उसैले मास्क लगाउनु पर्छ।
स्वच्छ र हावादार वातावरण
– बच्चा बस्ने कोठामा राम्रोसँग घाम आउनुपर्छ ताकि क्षयरोगका कीटाणुहरू छिट्टै मर्छन्।
– कोठामा राम्रो भेन्टिलेसन (हावाको आवतजावत) हुनुपर्छ ताकि कीटाणुको आद्रता घट्छ र रोग सर्ने सम्भावना कम हुन्छ।
हात धुने
बच्चालाई छुनु अघि राम्रोसँग हात धुनुपर्छ, जसले रोग सर्ने सम्भावना कम गर्छ।
रोग प्रतिरोधात्मक क्षमता बढाउने
– बच्चालाई प्रोटिनयुक्त र राम्रो पौष्टिक खाना खुवाउनुपर्छ।
– नियमित शारीरिक क्रियाकलाप र व्यायाम पनि रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि महत्त्वपूर्ण हुन्छ।
भीडभाडबाट बच्ने
– क्षयरोगबाट बच्नका लागि सबैभन्दा पहिले भीडभाड भएको ठाउँमा नजाने।
– यदि जानै परेमा मास्क लगाउने र हात स्यानिटाइज गर्ने।
(यो सामग्री राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका प्रमुख कन्सल्ट्यान्ट डा. नवीनप्रकाश साहसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको हो ।)
तपाईँको अभिमत