कपडा व्यापारीबाट अहेब हुँदै विशेषज्ञ डाक्टरसम्म
डा.प्रवीण कुमार गिरीलाई लाग्छ जीवन–अनौठा संयोगहरूको संगम हो। परिस्थितिसँग डोरिँदै जाँदा कता पुगिन्छ थाहा हुँदैन। सानै उमेरदेखि व्यापारमा रमाउनुभएका प्रवीणलाई समयले विशेषज्ञ चिकित्सक बनायो।
स्कुल पढ्दासम्म पसले
महेन्द्रनगरमा प्रवीणका बुबाले फेन्सी पसल चलाउनुहुन्रुथ्यो। काम गर्नसक्ने भएदेखि नै बुबालाई सहयोग गर्न पसलमा बस्नुपर्थ्यो। स्कुल नभएका बेला प्राय पसलमै बस्नुहुन्थ्यो ।
हाइस्कुल पढ्दासम्म उहाँ एक अनुभवी व्यापारी भइसक्नुभएको थियो।
धेरै सम्पन्न परिवार नभए पनि अरुको भन्दा राम्रै थियो। एक्लो छोरा, बुबाको व्यवसाय छँदै थियो। यसैलाई सम्हालेर बस्ने लक्ष्य थियो उहाँको।
छोरालई गरिखान पसल छँदैछ, अन्त किन पठाउनु, अरु पेशामा किन लगाउनु, भन्ने थियो बुबा आमालाई पनि।
एसएलसी अघिसम्म उहाँको भष्यिको बाटो कोरिइसकेको थियो–बुबाको पेशा सम्हाल्ने, व्यापरमै राम्रो गर्ने।
२०५२ सालमा एसएलसी पास गरेपछि के पढ्ने कहाँ पढ्ने भन्ने ? भन्ने खोजी गर्दागर्दै सीएमए पढ्न थाल्नुभयो। सीएमए पढिसकेपछि उहाँलले लोकसेवा परीक्षा दिनुभयो। छोराले सरकारी जागिर खानेभएपछि बुबाआमाले पनि रोक्नुभएन।
पहिलो पटकमै नाम निकाल्न सफल हुनुभयो। २०५६ सालबाट उहाँ सरकारी जागिरे हुनुभयो, अहेबका रुपमा।
करिब ३ वर्ष प्रवीणले तीन जिल्लाका स्वास्थ्यचौकीमा काम गर्नुभयो। अहेब स्वास्थ्य चौकीको प्रमुख हुन्थ्यो। बैतडी, भक्तपुर र काभ्रेका दुर्गम क्षेत्रमा पुगेर काम गर्नुभयो।
स्थायी सरकारी जागिर थियो। परिवारको आर्थिक अवस्था पनि राम्रै थियो। थप सोचिरहनुपर्ने, धेरै तनाव लिइरहनुपर्ने आवश्यता नै थिएन। प्रवीणलाई यत्तिले चित्त बुझेन। त्यसपछि उहाँले बाटो मोड्नुभयो।
जागिर छाडेर चीनतिर
भक्तपुरमा रहँदा एक दाजुले उहाँलाई डाक्टर बन्ने इच्छा छैन ? भनेर प्रश्न गर्नुभएको थियो। डाक्टर बन्ने सकिन्छ भनेर उहाँले सोच्नु भएकै थिएन। ‘डाक्टर भनेको धेरै ठूलो मान्छे हो जस्तो लाग्थ्यो’ डा.प्रवीण भन्नुहुन्छ, ‘हामी जस्तो मान्छे डाक्टर बन्न सक्छ जस्तो लागेकै थिएन।’
बन्न पाए बन्न सके त किन इच्छा नहुनु’ प्रवीणले ती दाजुलाई जवाफ दिनुभयो।
उहाँले डाक्टर बन्न सकिने बाटो देखाएपछि त्यो बाटोमा पो लाग्नुपर्छ कि भन्ने सोच आएको थियो। त्यो इच्छा प्रवीणको मनबाट हटेन बरु झांगिदै गयो।
जागिरकै बीचमा पढाइ अगाडि बढाउँदै आइएसी पनि पास गरिसक्नुभएको थियो।
सरुवा भएर उहाँ काभ्रेको दाप्चा स्वास्थ्यचौकीमा पुग्नुभएको थियो। त्यहाँ केही काम गर्दागर्दै उहाँको मनमा डाक्टर बनेरै छाड्ने अठोट आयो।
त्यसपछि चीनमा एमबीबीएस पढ्न जान प्रक्रिया थाल्नुभयो लाग्नुभयो। सबै व्यवस्था मिलाएर जागिरबाट राजीनामा दिई २०५८ चैत्रमा उहाँ चीन लाग्नुभयो, नयाँ भविष्य खोज्नका लागि।
फेरि अघि बढ्ने रहर
५ वर्ष चीनमा पढेर प्रवीण नेपाल फर्किनुभयो। त्यो बेला इन्टर्नसिप नेपालमै गर्ने चलन थियो। इन्टर्नसिप सक्काएर मेडिकल काउन्सिल लाइसेन्स परीक्षा पास गरी करिब एक वर्षपछि उहाँ आधिकारिक डाक्टर बन्नुभयो।
लाइसेन्स लिएपछि सुरुमा आफ्नै घर रहेको शहर महेन्द्रनगरमा गएर एक सामुदायिक अस्पताल खोल्ने काममा संलग्नु हुनुभयो।
त्यसको व्यवस्थापन आफैँले गर्नुभएको थियो। सम्भावनाका नयाँ मार्गहरू खोज्नु डा.प्रवीण राजधानी काठमाडौं छिर्नुभयो।
चीनमा एमबीबीएस पढ्दा १५–१६ लाख जति खर्च भएको थियो। केही आफैँले जागिरबाट कमाएको पैसा थियो। केही घरबाट र केही ऋण लिएर एमबीबीएस पढ्न जानुभएको थियो। डा.प्रवीणलाई खर्च गरेर एमडी पढ्न मन थिएन। छात्रवृत्ति पाए पढ्ने सोच बनाउनुभयो।
काठमाडौं छिरेपछि कान्ति बाल अस्पतालमा काम गर्दै छात्रवृत्तिका लागि आवेदन दिँदै गर्नुभयो। सुरुका २ वर्ष डा.प्रवीणले रेडियोलोजीमा आवेदन दिनुभएको थियो। छात्रवृत्ति पाउनुभएन।

कान्तिमा उहाँ आइसीयूमा काम गर्नुहुन्थ्यो। त्यहाँ काम गर्दाको महत्व छुट्टै रहेको डा.प्रवीणले पाउनुभयो। ‘आइसीयूमा भर्ना भएको बिरामी निको भएर डिस्चार्ज हुँदा अर्कै आनन्द आउँदो रहेछ’ डा.प्रवीण भन्नुहुन्छ।
त्यसपछि आइसीयूसँगै सम्बन्धित विषयमा एमडीका लागि आवेदन दिने निष्कर्षमा पुग्नुभयो। कान्तिमा एनेस्थेसिया विभागमा काम गरेको हुनाले तेस्रो वर्ष आवेदन दिँदा एनेस्थेसियोलोजीमा दिुनभयो। नभन्दै यो पटक छनोट हुन सफल हुनुभयो। छात्रवृत्तिमा एमडी पढ्न फेरि चीन लाग्नुभयो।
एमडी पढेर सन २०१४ मा सालमा डा.प्रवीण नेपाल फर्कनुभयो।
कर्णालीको यात्रा
नेपाल फर्किएर विशेषज्ञ चिकित्सकको लाइसेन्स लिएपछि एनेस्थेसियोलोजिस्टको रुपमा वीर अस्पतालमा काम सुरु गर्नुभयो । त्यही बेला भर्खरै स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान प्रस्ताव आयो।
प्रतिष्ठानका तत्कालीन उपकुलपति, शिक्षाअध्यक्षले डा.प्रवीणलाई कर्णाली जान प्रस्ताव गर्नुभयो।
‘नयाँ जन्मिएको संस्था केही गरेर देखाउनुपर्छ, तपाई हामीले नगरे कसले गर्छ भनेर उप्रेरित गर्नुभयो’ डा.प्रवीण सुनाउनुहुन्छ।
केही समय अगाडि मात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन मेडिकल डाइरेक्टर डा.विकल्प पोखरेलको विमान दुर्घटनामा ज्यान गएको थियो। यो घटनापछि कोही पनि विशेषज्ञ डाक्टर दुर्गम जान आँट गर्दैनथ्यो।
पहिला अहेब भएर दुर्गमा काम गरिसकेकाले डा.प्रवीणलाई डाक्टरको रुपमा पनि दुर्गममा काम गर्ने इच्छा थियो।
यही इच्छा र आग्रहले उहाँलाई कर्णाली पुर्यायो।
जिल्ला अस्पतालबाट अञ्चल अस्पताल हुँदै प्रतिष्ठान बनेको उक्त अस्पतालको अवस्था निकै दयनीय थियो। राम्रो भवन थिएन। अप्रेसन कोठाको अवस्था पनि निकै झुर थियो। बिरामी पनि खासै आउँदैनथे।
त्यहाँ पुगेको एकसतापछि डा.प्रवीण यो ठाउँमा बस्नुहुँदैन, फर्किनुपर्छ भन्ने निष्कर्षमा पुग्नुभयो।
फेरि उहाँको मनले भन्यो–त्यत्रो संकल्प बोकेर आएइएको छ। त्यसै कहाँ जानु ? यसरी नै सबै डाक्टर दुर्गमबाट फर्किए भने यहाँकाले उपचार कसरी पाउँछन् ?
‘त्यसपछि जे जस्तो भएपनि यहीँ बस्छु भन्ने आँट आयो’ डा.प्रवीण सुनाउनुहुन्छ।
बिस्तारै त्यहाँको अप्रेसन कोठादेखि लिएर अन्य विभाग पनि परिस्कृत हुँदै गयो। ३०० शय्याको भवन बन्यो। अरु सहकर्मी पनि थपिँदै गए। अनि सहज लाग्न थाल्यो।
अहिले कर्णाली प्रतिष्ठान नेपालकै एक अब्बल अस्पतालको रुपमा विकसित भइसकेको डा.प्रवीण बताउनुहुन्छ। एमडी हुँदै
एमबीबीएस पढाइ समेत सुरु भइसकेको छ। दुर्गममा रहेर स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा राम्रो योगदान दिने संस्थाको रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देखिएको छ।
यसलाई यो अवस्थामा पुर्याउन धेरैको योगदान रहेको उहाँ बताउनुहुन्छ।
सुरुमा विश्वास दिलाउनै कठिन
पूर्वाधार, जनशक्ति नभएको अवस्थामा आम मानिसको विश्वास जित्नुपर्ने थियो। त्यहाँ पनि विशेषज्ञ सेवा पाइन्छ, विशिष्ट खालको उपचार हुन्छ भनेर कसैले विश्वासै गर्दैनथे।
डा.प्रवीण सुरुवाती दिनको एक घटना सुनाउनुहुन्छ।
गोरखा जिल्लाका एकजना कर्णालीमा शिक्षण पेसा गर्नुहुने रैछ। हात भाँच्चिएकाले नेपालगन्ज जानका लागि राति जुम्ला आएर बास बस्नुभएछ। राति धेरै नै हात दुखेछ। स्थानीयले कर्णाली प्रतिष्ठानमा जान सुझाव दिएछन्। दुखाइ कम गर्नका लागि प्राथमिक उपचार गर्न भनेर ती शिक्षक पत्नीको साथमा प्रतिष्ठान आउनुभयो।
त्यसपछि हामीले भन्यौँ, ‘तपाई किन नेपालगन्ज जानुहुन्छ ? यहीँ अप्रेसन हुन्छ। सुरुमा त उहाँले विश्वास नै गर्नुभएन।
पछि सबै टिम सँगै राखेको कुरा गरेपछि अप्रेसन गर्न तयार हुनुभयो।
यस्तो दुर्गम ठाउँमा आएर यस्तो सेवा दिनुभएको रहेछ मलाई त अझै पनि विश्वास लागेको छैन भन्नुभयो।
धन्यवाद भनेर हौसला दिनुभयो।
यसैगरी विस्तारै स्थानीयमा विश्वास जित्दै गएको डा.प्रवीण बताउनुहुन्छ।
सर्जन नहुँदा अप्रेसन गर्नुपर्यो
डा.प्रवीण एनेस्थेसियोलोजिस्ट। उहाँको काम अप्रेसनका लागि बिरामी बेहोस् बनाउने हो। तर आपत परेका बेला बिरामीको अप्रेसन समेत गर्नुपरेको उहाँ सुनाउनुहुन्छ।
२०७२ साउनतिर प्रदेश सदरमुकाम कता जुम्लामा राख्नुपर्ने माग गर्दै जुम्लामा प्रदर्शन भएको थियो। प्रहरीसँगको झडप भयो।
त्यहाँ कर्फ्यू लाग्यो। आन्दोलनमा घाइते भएका सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइयो। ती मध्ये ६–७ जनाको अवस्था गम्भीर थियो। कसैको घाँटीका कसैको खुट्टामा कसैको छातीमा गोली लागेको थियो।
प्रतिष्ठानमा त्यहाँ काम गरिरहनुभएका एमडीजिपी र सर्जन बाहिर जानुभएको थियो। सिनियर विशेषज्ञ चिकित्सकमा प्रवीण एकजना मात्रै हुनुहुन्थ्यो।
प्राथमिक उपचार चाँही एक्लैले दिनुभयो। एक जनाको छातीमा गोली लागेर गम्भीर अवस्था थियो। रगतै रगत थियो ज्यान जाने अवस्था थियो।
एमबीबीएसमा सिकेको ज्ञानका कारण उपचार गरेर ती घाइतेको ज्यान बचाएको डा.प्रविन सुनाउनुहुन्छ। ‘सरकारले उहाँहरूलाई उद्धार गरेर नेपालगन्ज लगे पनि सुरुमा ज्यान बनाउने काम हामीले गर्यौँ’ डा.प्रवीण भन्नुहुन्छ।
त्यही बेलामा मुगुबाट एक गर्भवती महिला बच्चा जन्माउन नसकेपछि ३ दिनसम्म बोकेर ल्याइयो। बच्चाको जिउ बाहिर निस्किएको थियो। टाउको चाँही भित्रै थियो।
कर्फ्यू लागेको छ। बाहिर पठाउन सक्ने अवस्था पनि थिएन।
‘अब के गर्ने अन्योल भयो। अप्रेसन गर्ने डाक्टर छैनन्। केही नगरौँ गर्भवती महिलाको ज्यान जाने’ डा.प्रवीण घटना सुनाउनुहुन्छ, ‘अप्रेसन गर्न आफूले पनि हिम्मत गर्नुपर्ने भयो। बच्चा ३ दिन हिडाएर ल्याएको हुनाले बाहिर निस्किएको जिउ कुहिइसकेको थियो। गनाइरहको थियो।
टाउको धेरै ठूलो भएर अड्केको रहेछ। छिटै बच्चा ननिकाले आमाको ज्यान जाने अवस्था भयो।
अनि मैले परिवारसँग कुरा गरेँ–हेर्नुस् म अप्रेसन गर्ने डाक्टर होइन। बेहोस् बनाउने डाक्टर हो। तर कर्फ्यू छ। अन्त लाने उपाय छैन। त्यत्तिकै छाड्यो भने ज्यान जान्छ। एमबीबीएस पढ्दा अप्रेसनमा सहयोगीको भूमिका निभाएका हुन्छौँ। त्यो गर्दा केही ज्ञान लिइएको हुन्छ। कतिपय कुरा एनेस्थेसियोलोजिस्टका नाताले सर्जनले अप्रेसन गरेको देखिरहेका हुन्छौँ। हामीलाई त्यसको बारेमा केही अनुभव हुन्छ। तपाईहरू गर भन्नुहुन्छ भने म आँट गर्छु।’

कुनै उपाय नभएकाले मिल्न सक्ने गर्नुहोस् भनेर बिरामीका आफन्तले भन्नुभयो। अनि डा.प्रवीणले आफ्नो नेतृत्वमा जुनियर भाइहरूको सहायता लिएर अप्रेसन गर्नुभयो। ती महिलालाई बचाउन सफल हुनुभयो।
‘मैले त्यो ठिक गरेँ कि गरिन थाहा छैन’ डा.प्रवीण भन्नुहुन्छ, ‘मेडिकल इथिक्स अनुसार त म सर्जन थिइन।’
भारतमा फेलोसिप
अहेब हुँदै विशेषज्ञ डाक्टर बनेपनि डा.प्रवीणलाई थप अगाडि बढ्ने धोको पूरा भएन। क्रिटिकल केयरमा थप विज्ञता हासिल गर्ने इच्छा जाग्यो।
डब्लुएफएसए(world federation of societies of anesthesiologist's) संस्थाले भारतको तामिलनाडुस्थित क्रिस्टियन मेडिकल कलेज भेलोरमा क्रिटिकल केयरमा फेलोसिप गर्न छात्रवृत्ति दिन्थ्यो।
डा.प्रवीणले दुई पटक पटकसम्म आवेदन दिँदा मौका पाउनुभएन तेस्रो पटकमा उक्त कलेजमा फेलोसिप गर्न मौका पाउनुभयो। २०१८ देखि १०१९ सम्म उहाँले त्यहाँ गएर थप विज्ञता हासिल गर्नुभयो।
सुरुमा कर्णाली प्रतिषठनमा लेक्चरर पदमा नियुक्त हुनुभएको थियो। अहिले सहप्राध्यापक र एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर विभागको प्रमुख हुनुहुन्छ।
जिम्मेवारी उतै भएपनि २०७८ साल चैतदेखि भने डा.प्रवीण कीर्तिपुर अस्पतालको आइसीयू विभागमा कार्यरत हुनुहुन्छ।
डा.प्रवीणले हजार भन्दा बढीको संख्यामा बिरामीलाई बेहोस् बनाएर उठाउनुभएको छ।
‘एनेस्थेसिया भनेको निकै चुनौतीको कुरो हो। दुर्गममा साधन स्रोत र जनशक्तिको अभावकाबीच काम गर्दा निकै कठिन भयो।’ उहाँ सुनाउनुहुन्छ ।
‘बुबाकै पेशा सम्हालेर जीविकोपार्जन गर्छु सोचेको थिएँ, अहेब बनेँ। डाक्टर हुनै कल्पनै थिएन विशेषज्ञ डाक्टर बनियो। आफ्नै जीवनयात्रा फर्केर हेर्दा भावुक भएँ' डा.प्रवीण भन्नुहुन्छ' जीवन त अनौठो पो रहेछ।'
केदार गौतम
तपाईँको अभिमत