दुईवटा झट्काले हानेपछि कोरोना खोप लगाउन मारामार

वीर अस्पताल(पुस२९) र सिभिल अस्पताल(पुस३०)मा कोरोना खोप लगाउन आउनेको भीड।
एउटा नेपाली उकान छ नि–‘जब पर्यो राति, अनि बुढी ताती’ मतलब समय घर्किएपछि मात्रै जाँगर आउने। यो उखान हामी नेपालीको संस्कार नै बनेको छ। गर्नैपर्ने कामलाई सुरुमा प्रशस्त समय हुँदा ध्यानै नदिने, अन्तिममा आपत पर्न लागेपछि मारामार।
वीर अस्पताल र निजामति कर्मचारी अस्पतालमा हरेक दिन कोरोना खोप दिन थालेको १ महिना भइसकेको छ। एकसता अघिसम्म खोप केन्द्रमा खोप लगाउनेहरू फाट्टफुट्ट मात्रै आउँथे। अहिले खोप लगाउनका लागि मारामार देखिएको छ।
केहीदिन अघिसम्म खोपबारे चासो नै नदेखाएकाहरू अहिले खोपकै लागि घटौँ लाइन बसिरहेका छन्। खोप देखि डराउनेहरू , खोप नलगाए पनि के हुन्छ र ? म लगाउँदिन भन्नेहरु, लगाउँला नी, पाइहाल्छ नी भनेर आलटाल गर्नेहरु, खोप लगाउन जाने फुर्सद भएन भन्नेहरू अहिले सबै काम छाडेर खोप केन्द्रमा झुम्मिएका छन्।
सजिलै खोप पाउनका लागि खोप केन्द्रमा चिनेको मान्छे खोज्ने र भनसुन गर्नेहरू समेत प्रशस्तै छन्।
२ मिनेटमा खोप लगाएर फर्कन पाउने थाहाँ हुँदाहुँदै पनि नआउनेहरू अहिले रातिदेखि ५–७ घण्टा लाइन बसेर धैर्य गर्न सकिरहेका छन्।
खोप केन्द्रमा आएकाको कुरा सुन्दा दुईवटा झट्काले हानेपछि मात्रै अहिले उनीहरू तातेका हुन्।
पहिलो झट्का : देशमा कोरानो महाामारीको नयाँ लहर सुरु भयो। काठमाडौंमा त झन ह्वात्तै संक्रमण बढेको छ। यसमा नयाँ भेरियन्ट ओमीक्रोनको समेत त्रास छ थपिएको छ। खोप नलगाउनेलाई बढी जोखिम हुने कुरा जताततै छाएको छ।
दोस्रो झट्का : सरकारले अब सार्वजनिकस्थलमा जान र सेवा लिन कोरोना खोप लगाएको कार्ड देखाउनु पर्ने नियम ल्याएको छ। यो नियम माघ ७ गतेबाट लागू हुने भनिएको छ।
नयाँ महामारीमा कोरोना लागेर मरिने पो होकि ? र खोप कार्ड नभएकै कारण कतै जानै नपाइने पो होकि भन्ने झट्का दिमागमा परेपछि मात्रै खोपका लागि दौडिएको देखिन्छ।
कसैलाई खोपको डर, कसैले भ्याएनन्
बिहीबार वीर अस्पतालको नयाँ भवनमा रहेको खोपकेन्द्र पुग्दा खोप लगाउने ठाउँमा निकै घुइँचो थियो। त्यहाँ भेरोसेल खोप मात्रै दिइएको थियो।
पहिला डराएर खोप नलगाउनु भएकी भगवती गजमेरले बिहीबार वीर अस्पतालमा भेरोसेल खोप लगाउनुभयो। काँडाघारीमा बस्ने भगवतीको न्यूरोडमा अफिस छ। उहाँले खोपबारे थाहा नपाएर वा पहुँच नभएर खोप नलगाउनु भएको होइन। खोप लगाएर मरिने पो होकी भन्ने डरले खोप नलगाएको उहाँ बताउनुहुन्छ।
अहिले लगाउनै पर्ने भएको र लगाउने अरुलाई केही नभएकाले देखेर खोप लगाएको उहाँको भनाइ छ। ‘पहिलो डर थियो खोप लगाउँदा केही भइहाल्ने पो होकी जस्तो लाग्थ्यो। अब त लगाउनै पर्ने रे, धेरैले लगाइसकेको छन्। मैले पनि लगाएँ आज’ भगवती भन्नुहुन्छ।
अब खोप नलगाउनेलाई हिँडडुल गर्नै अप्ठेरो हुन्छ भन्ने भएपछि मात्रै लगाउन आएको भगवती बताउनुहुन्छ। खोप लगाउने केही बिरामी परेको र विदेशतिर खोप लगाएका कारण मृत्यु भएको भन्ने समाचार सुनेर भगवतीलाई डर लागेको थियो।
खोप कार्ड नभई हिड्न नपाउने डरले खोपप्रतिको उहाँको डर भगायो।
६० वर्षीय भक्तिविलास उपाध्याय पनि खोप पाइन्छ कि भनेर आउनुभएको थियो। सोलोखुम्बुका उपाध्यायले गत जेठ महिनामा सोलोखुम्बमै कोभिशिल्ड खोपको पहिलो डोज लगाउनुभएको थियो।
त्यसपछि लामो समय उक्त खोप गाउँमा गएन। असोजमा काठमाडौं आउनुभएका उहाँले यता कता खोप दिन्छ भन्ने खोजी नै गर्नुभएन। अहिले संक्रमण फेरि बढ्न थालेपछि खोपको खोजीमा उपाध्याय आउनुभएको थियो।
वीर अस्पतालमा खोप दिएको कुरा सञ्चार माध्यामबाट थाहा पाएर आएको उहाँ बताउनुहुन्छ। कोरोना घटिरहेकोले पनि अर्काे डोज खोप लगाउने जाँगर नचलेकाले खोजी नगरेको उपाध्याय स्वीकार्नुहुन्छ।
स्तानक तह पहिलो वर्षमा अध्ययनरत अस्मिता राईले निकै संघर्ष गरेर खोप लगाउनुभयो। यसअघि व्यस्त भएकोले खोप लगाउन नपाएको अस्मिताले भनाइ छ। खोपबारे बुझ्न केही पटक अस्तपालहरुमा फोन गर्दा नलागेको र अहिले फोन लागेकाले आएको उहाँ बताउनुहुन्छ।
बिहीबार दिउँसोसम्म वीरको खोप केन्द्रमा खोपका लागि भन्दै आउने क्रम चलिरहेको थियो। खोप केन्द्रमा सुरक्षामा खटिएका सुरक्षागार्ड, त्यहाँ वरपर रहेका स्वास्थ्यकर्मीहरू खोपका विषयमा सोध्नेको प्रश्नको उत्तर दिन व्यस्त थिए।
धेरै युवाहरू विदेश जानका लागि भन्दै जोनसोन खोप खोज्न आउका थिए। कोही पहिलो पटक खोप लगाउन आएका थिए। कोही दोस्रो डोजका लागि। दुई जना वृद्धावृद्धा चाँही दुवै डोज खोप लगाएको कार्ड बोकेर तेस्रो डोज दिएको होकी भनेर आएको भन्दै हुनुहुन्थ्यो। पछि आउनेलाई आज पालो नआउने भन्दै फर्काइएको थियो।
खोप केन्द्र वरपर भेटिएका वीर अस्पतालका स्वास्थ्यकर्मीका अनुसार ५–६ दिनअघि सम्म त्यहाँ सुनसान हुन्थ्यो। खोप लगाउन कोही आउँछ कि भनेर स्वास्थ्यकर्मीहरू कुरेर बसिरहेका हुन्थे।
‘नेपालीहरू न परे अन्तिम अवस्थामा मात्रै तात्छन्, त्यही भएको हो, अस्ति–अस्ति आइदेउ खोप लगाइदेउ भन्नुपर्थ्यो’ खोप लगाउने ठाउँमा हेर्न आएको बताउने एक स्वास्थ्यकर्मीले भन्नुभयो।
सिलिभमा रातिदेखि लाइन
करिब एक महिनादेखि हरेक दिन कोरोना खोप उपलब्ध गराउनेमा नयाँबानेश्वरको निजामति कर्मचारी (सिभिल) अस्पताल पनि पर्छ। पहिले–पहिले निश्चित दिन तोकेर खोप दिने बेलामा यहाँ खोप लगाउनेको लामै लाइन हुन्थ्यो। पछि नियमित खोप दिन थालेपछि भने सुनसान थियो।
सिभिलमा पनि ३–४ दिनदेखि खोप लगाउनेका ओइरो लागेको छ। खोपका लागि यहाँ रातिदेखि नै लाइन बस्नुपर्ने अवस्था भएको छ।
बानेश्वमै घर भएका रोजेश श्रेष्ठ एक साताअघि आउनु भएको भए १ मिनेट पनि लाइन बस्नुपर्दैन थियो। शुक्रबार उहाँले अहिले ७ घण्टा लाइन बसेर सिभिल अस्पतालमा खोप लागउनु भयो।
साढे १० बजे खोप लगाएर निस्किनु भएका रोजेश आफू साढे ३ बजेदेखि लाइन बसेको जानकारी दिनुभयो। पहिला बेवास्ता गरेर खोप लगाउन नआउँदा अहिले दुख पाएको उहाँ बताउनु हुन्छ। ‘पहिले मतलब लागेन अहिले लगाउनै पर्छ भन्ने भएपछि लगाउन आएको धेरै दुख पाइयो।’
कुवेत जाने तयारीका लागि रोल्पाबाट काठमाडौं आउनु भएका सिजल परियार पनि खोपबारे बुझ्न सिभिल आउनु भएको थियो। विदेश जाने तयारी गरिरहेकाले उहाँले गाउँमा गएका भेरोसेल, कोभिशिल्ड खोप लगाउनु भएन। जान्नेसुन्नेले त्यो खोप लगाए विदेश जाने पाइँदैन भनेकाले नै नलगाएको सिजलको भनाइ छ।
उहाँ जोनसोन खोप पाइन्छ कि भनेर बुझ्न आउनुभएको थियो। ‘जोनसोन खोप यहाँ दिन्छरे भनेर आको राति २–३ बजेदेखि नै लाइन बस्नुपर्ने रैछ। अब भोलि आउँछु’ सिजल भन्नुहुन्छ।
भोलि शनिबार खोप नपाइने भन्ने सुनेपछि उहाँ आइतबार सबेरै लाइन बस्ने आउने तयारीमा हुनुहुन्छ।
आलोकनगर बस्ने जमुना खड्का भने खोप लगाउनै पर्छ र यहाँ खोप पाइन्छ भन्ने थाहा पाएर पनि आउनु सक्नु भएको थिएन। दुर्घटनामा पनुभएकी उहाँ बैशाखीको सहारामा खोप केन्द्र आउनु भएको थियो।
जमुनाले ३ महिना पहिला भेरोसेल खोप लगाउनुभएको थियो। दुर्घटनामा परेपछि खोप लगाउन ढिला भयो । निको भएपछि जान्छु भन्दाभन्दै महामारीको अर्काे लहर सुरु भयो। अब त लगाउनै पर्छ भनेर आउनु भएकी उहाँ अलमलमा परेर बस्नुभएको थियो।
उहाँका आफन्तले सुरक्षाकर्मीलाई आग्रह गरेपछि लाइन नबसी खोप लगाउने व्यवस्था गरिदिए।
सिभिलमा खोपका लागि बिहान ८ बजेपछि ७०० जनालाई टोकन दिइरहेको छ। टोकन पाउनका लागि सर्वसाधारणहरू राति २–३ बजेदेखि नै लाइन बसेका थिए।
यहाँ लगाउनेको इच्छा अनुसार यहाँ जोनसोन र भेरोसेल रोजेर दिइएको थियो ।
खोप केन्द्रमा आएका दुई जना युवाहरू खोप भन्ने कुरा नै पहिलो पटक लगाएको भन्दै थिए। केही हुने होकि भनेर डर मानिरहेका थिए।
स्वास्थ्य मन्त्रालयलगायत सबैजसोले खोप लगाउन निरन्तर आग्रह गर्दा पनि उदासिन भएका सर्वसाधारणहरू नयाँ लहर र खोड कार्डको झट्काले तातेका छन्।
खोप केन्द्रमा देखिएको भीडभाडले संक्रमण थप फैलने जोखिम देखिन्छ।
शुक्रबार सिभल अस्पतालमा एक स्वास्थकर्मी भन्दै हुनुहुन्थ्यो, ‘नेपालीहरुलाई लाइन नबसीकन कुनै काम गरेको चित्तै बुझ्दैन, नत्र हिजो अस्ति नै आइ हाल्थे नि। ती स्वास्थ्यकर्मीका अनुसार खोपका लागि भीड लाग्न थालेको ४ दिन मात्रै भयो।
केदार गौतम
तपाईँको अभिमत