संसारका आधा जनसंख्यालाई छैन अत्यावश्यक स्वास्थ्य सेवा
सन्दर्भ : विश्व स्वास्थ्य दिवस

आज विश्व स्वास्थ्य दिवस । सन १९४८ मा विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)को स्थापना भएको दिन अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसका रुपमा मनाइने गरिन्छ ।
विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य दिवस २०२४ को नारा ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने दिएको छ ।
संसारभर लाखौँ व्यक्तिको स्वास्थ्यको अधिकार खतरामा पर्दै गएको डब्ल्यूएचओको भनाइ छ ।
अत्याधिक कार्बन उत्सर्जनका कारण, जलवायु परिवर्तन भइरहेको छ । वायु प्रदूषणका कारण स्वच्छ हावा लिने व्यक्तिको अधिकार नै खोसिएको डब्ल्यूएचओले भनेको छ।
डब्ल्यूएचओका अनुसार भित्री तथा बाहिरी वायु प्रदूषणका कारण प्रत्येक ५ सेकेण्डमा एक व्यक्तिले ज्यान गुमाइरहेका छन् ।
विश्वका करिब १४० देशले स्वास्थ्यलाई अधिकारका रुपमा संविधानमा उल्लेख गरेको डब्ल्यूएचओ जनाएको छ । तर त्यसका लागि आवश्यक कानुन निर्माण गर्न र कार्यान्वयनका लागि उदासीन देखिएको आरोप छ ।
२०२१ मा निकालिएको आँकडाअनुसार संसारभर साढे ४ अर्ब अर्थात विश्वका करिब आधा जनसंख्याले अत्यावश्यक स्वास्थ्य सेवा पूर्णरुपमा पाउन सकेका छैनन्।
यस प्रकारका चुनौतीहरुलाई संबोधन गर्नका लागि यस पटकको नारा ‘मेरो स्वास्थ्य मेरो अधिकार राखिएको डब्ल्यूएचओले जानकारी दिएको छ ।
डब्ल्यूएचओका अनुसार यो नारा छनोट गर्नुको उद्देश्य गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र सूचनामा सबैको पहुँच पुगोस् भन्ने रहेको छ ।
साथै सुरक्षित खानेपानी, स्वच्छ हावा, उचित पोषण, गुणस्तरीय आवास, मर्यादित काम र स्वास्थ्य अनुकुल वातावरणीय अवस्था र स्वतन्त्रतामा सबैको अधिकारको रक्षा गर्नु पनि यो नारा छनोट गरिएको डब्ल्यूएचओको भनाइ छ।
तपाईँको अभिमत