बच्चालाई दिनदिनै मोबाइल दिनु लागूपदार्थ दिए बराबर हुन्छ (भिडियो)
आजकाल बालबालिकामा मोबाइल फोन ज्यादै चलाउने समस्या ठूलो रोगको रुपमा देखा परेको छ । बालबालिकालाई मोबाइल दिनदिनै दिनु भनेको दिनदिनै लागूपदार्थ दिनुजस्तै रहेको बाल मनोचिकित्सक अमित झाले बताउनुभयो ।
हेल्थपाटीसँगको कुराकानीमा डा.झाले लागूपदार्थको लत जस्तै मोबाइलको लत लाग्ने जानकारी दिनुभयो ।
‘त्यसमा धेरै कुरा हुन्छ, सबै कुरा रमाइलो नै हुन्छ, कुनै कुरा रमाइलो लागिरहेको छ भने डोपामिन हर्माेन उत्पान्न हुन्छ । नियमित यसरी डोपामिन निस्कँदा एउटै खालको व्यवहार निरन्तर भइरहन्छ’ डा झा सुनाउनुहुन्छ ।
उहाँका अनुसार ६ वर्षसम्म उमेरको बालबालिकालाई सकभर टिभी, मोबाइल चलाउन दिँनै हुँदैन। सामान्य भिडियोकल हरु छ भने दिन नत्र नदिने । सँगै बसेर २० मिनेट ३० घण्टा टिभी हेर्न, फिल्म हेर्न, कार्टुन हेर्न दिँदा केही फरक पर्दैन । तर एक्लै नदिएकै राम्रो ।
अहिले पढाइ लेखाइको काम पनि डिजिटल माध्यमबाट हुने त्यो प्रयोजनका लागि बालबालिकालाई मोबाइल तथा डिजिटल डिभाइस दिनैपर्ने हुन्छ । यस्तो कुरामा भने रोक लगाउछु भनेर पनि सम्भव नहुने डा. झा बताउनुहुन्छ। ६ देखि १२ वर्ष सम्मका सिकाइ र क्लासको प्रयोगका लागिबाहेक १ घण्टा टिभी तथा मोबाइल चलाउन दिन उहाँको सुझाव छ । तर एक्लै रमाइलो गर्न दिन हुँदैन । १२ देखि १८ वर्षको बालबालिकालाई पनि पढाइ–लेखाइको प्रयोजनबाहेक एक डेढ घण्टा मोबाइल चलाउन दिन उहाँको सुझाव छ ।
त्यसरी दिँदा पनि पूरै एक–डेढ घण्टा भन्दा पनि बीच–बीचमा विश्राम गरेर हेर्न दिनु उपयुक्त हुने डा.झाले बताउनुभयो ।
साताको कुनै दिन ब्रत बसे जस्तै एकदिन इन्टरनेट फ्रि डे राख्ने उहाँको सुझाव छ । ‘त्यो दिन आफैँले पनि नचलाउने र उनीहरुलाई पनि चलाउन नदिने’ झा भन्नुहुन्छ ।
डा.झाका अनुसार किशोर-किशोरीमा इन्टरनेट गेमको समस्या हुन्छ । उनीहरुले हिंसात्मक खेल खेल्ने गर्छन् । आफ्नो बालबालिकाले उमेर उपयुक्त खेलहरु खेलिरहेका छन् कि छैनन् हेर्नुपर्छ । त्यो खेलमा कति वर्षको लागि भनेर रेटिङ राखेको हुन्छ । यसरी इन्टरनेट तथा मोबाइल गेम खेल्दा एक्लै कोठाभित्र बसेर खेल्न दिन नहुने पनि उहाँले बताउनुभयो । बाहिर सबैले देख्ने ठाउँमा बसेर मात्रै खेल्न दिनुपर्छ ।
आजको दिनमा बालबालिकाको अभिभावकत्व निभाउन निकै गाह्रो हुने डा.झा सुनाउनुहुन्छ । इन्टरनेटको दुनियामा त्यसलाई पूरै चलाउन दिँदै दिन्न भनेर नसकिने उहाँको भनाइ छ । परिस्थिति अनुसार आफूलाई ढालेर अघि बढ्नुको विकल्प नरहेको पनि उहाँ बताउनुहुन्छ
'हामी कहाँ पनि अभिभावकहरू भन्न आउनुहुन्छ आजकालको बालबालिका केही भन्यो कि डिप्रेसन नै हुन्छ । केही भन्यो कि रोइहाल्छ कराइ हाल्छ भनेर' डा.झा सुनाउनुहुन्छ।
मोबाइलबिना खाना नै खान नसक्ने बालबालिका लाई के गर्ने ?
त्यस्तो अवस्थामा त्यो बानी बिस्तारै घटाउँदै लैजानुपर्ने उहाँको सुझाव छ ।
'आफूले पनि खाने बेलामा टिभी मोबाइल नहेर्ने, एकै ठाउँमा सबै बसेर खाने खानाको बारेमा मात्रै कुराकानी गर्ने गर्दा राम्रो हुन्छ । हामीलाई पनि हतार हुने भएकाले मोबाइल देखाएर खान दिँदा छिटो खाने भएकाले हाम्रो सजिलैका लागि उनीहरुलाई मोबाइल दिइरहेका हुन्छौँ' डा. झा भन्नुहुन्छ, त्यसको सट्टा अन्य कुरामा भुलाउँदै जस्तो बाहिरको दृश्य देखाउँदै वा अन्य केही देखाएर भुलाउन सकिन्छ।'
टिभी मोबाइल हेरेकै कारण बालबालिकालाई अटिजम हुन्छ भन्ने नहुने डा.झाले स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार अटिजम भएका बालबालिकामा सामाजिक घुलमिलमा अप्ठेरो हुने हुन्छ । बालबालिकाले राम्रोसँग आँखा नमिलाउने, राम्रोसँग कुराकानी नगर्ने, अरुलाई हेरेर नमुस्कुराउने, एक्लै बसिराख्ने, एकोहोरो हुने, एकै खालको व्यवहार गरिराख्ने, एकै खालको कुरा खेल्न एउटै कुरामा आकर्षित भइराख्न, जिउ, हात हल्लाउने गर्छन् । यी सबै अटिजमका लक्षण हुन् । अटिजमका लक्षण बढ्न सक्छ । तर टिभी, मोबाइलले नै अटिजम ल्याउने भन्ने हुँदैन।
टिभी, मोबाइल धेरै प्रयोग गरेका कारण माथि उल्लेखित अटिजमका केही लक्षण भने देखिने सक्ने डा.झाको भनाइ छ । यस्तोमा मोबाइल हेर्न कम गराउनुपर्ने पनि उहाँले बताउनुभयो।
यदि बच्चामा उमेर अनुसार बोली तथा व्यवहारको विकास नभएको अवस्थामा भने मोबाइल चलाउन दिनै नहुने उहाँले बताउनुभयो। उमेर अनुसार अन्य सबै प्रक्रिया सामान्य भएका बालबालिकालाई पनि केही समय चलाउन दिँदा ठूलो असर नहुने डा.झाको भनाइ छ।
मोबाइल, टिभीमा बढी समय खपत गर्दा जुन रुपमा सामाजिक व्यवहारको विकास हुनेपर्ने हो, त्यो हुनै नसक्ने उहाँले जानकारी दिनुभयो ।
बालबालिकालाई बाहिरको कुरामा बढी व्यस्त हुने अवस्था बनायो भने इन्टरनेट तथा मोबाइलको लत कम हुने पनि उहाँले जानकारी दिनुभयो ।

हेल्थपाटी 
तपाईँको अभिमत