हरबार खाना चार
कथा
रोहितले आमासँग खाजाखान पैसा माग्यो । तर आमाले दिनु भएन । ऊ निराश हुँदै झोला बोकेर स्कुल हिड्यो । उसले खाजाको टिफिनबक्स घरमै छोड्यो ।
‘रोहित खाजा त घरमै छोडेर गयौ नि ।’ आमा खाजाको डब्बा बोक्दै रोहितको पछाडिपछाडि दौडनु भो । तर उसले झोक्किदै भन्यो,
‘यस्तो जाबो खाजा लान्न म । ...साथीहरूले स्कुलमा कस्ता दामी खाजा ल्याउँछन् । आफू भने सधैँ झुर खाजा बोक्दै स्कुल जानुपर्ने । साथीहरूको अगाडि खाजा झिकेर खान पनि लाज । आफै खानुस् ।...लान्न म त्यस्तो खाजा ।’
‘के रहेछ त्यस्तो दामी खाजा बाबु ? भन त । म पनि त्यस्तै दामी तिमीलाई मनपर्ने खाजा बनाइदिउँला नि ।’ आमाले हाँस्दै भन्नुभो ।
‘साथीहरूले कस्तो लोभी तँ? तेरो आमा त स्कुलमा पढाउनुहुन्छ ? उहाँको त तलब आउँछ नि । मम्मीसँग पैसा माग्न सक्दैनस् भन्छन् ।’ रोहितले ठुस्कदै भन्यो
‘साथीहरूले भन्दैमा किन निराश हुने? केटाकेटीको कुरा छिनमा एकथरी, छिनमा अर्को थरी । बाहिरको खाना पोषिलो स्वस्थकर हुन्न भनेर पो मैले भ्याइनभ्याइ खाजा तयार गर्छु तिमीलाई बुझ न ।’ आमाले सम्झाउने कोसिस गर्नु भो ।
‘बुझ्दिन म । म यो खाजा लादै लान्न । खानुस् आफैँ ।’ यति भन्दै आमाको हातबाट हात फुस्काउँदै रोहित अगाडि बढ्यो ।
आमा निरास हुँदै घर फर्कनु भो ।
हाफटाइमको घन्टी बज्यो । केटाकेटीहरू कक्षा कोठाबाट हाँस्दैँ जिस्कदै बाहिर निस्के कोही क्यान्टिनतिर गए । कोही आफूहरूले साथमा ल्याएको चटपटे, चाउचाउ, बिस्कुट, डोनट चिप्स जस्ता खाजा झोलाबाट झिकेर खान थाले । रोहितलाई उसको बेस्ट साथी राजुले क्यान्टिनबाट ल्याएको समोसा खान बोलायो । तर अरुको खाजा खान उसलाई मन लागेन ।
ऊ कक्षाकोठामै बसिरह्यो । उसलाई नरमाइलो लागिरह्यो । ‘सबैका आमा पैसा दिन्छन् । अनि मिठोमिठो खान्छन् । मेरो आमा भने कस्तो लोभी ? साथीहरूको कुरा सही हो नि सधैँसधैँ घरको खाना के खानु? अबदेखि म आमाले दिएको खाजा खान्न । आमाले भनेको पनि मान्दिन ।’ रोहितले आमासँग चित्त दुखायो ।
स्कुलबाट घरमा पुग्दा उसलाई खुब भोक लागेको थियो । भोककै कारण रीस पनि उठिरहेको थियो । ऊ सरासर भान्सामा गयो । कचौरामा चनाको तरकारी देख्यो । त्यो थालमा खनायो । चिउराको बट्टा खोलेर २ मुठी चिउरा हालेर खायो । भोकको बेला खुब मीठो लाग्यो त्यो खाजा । खाजा खाएर ऊ कोठामा गई सुत्यो ।
साँझ आमाले रोहहितलाई खाना खान बोलाउनु भो । तर ऊ आएन ।
आमा उसलाई बोलाउन कोठामा पुग्नु भो ।
‘खाना खान हिँड बाबु । भोक लागेन? आज खाजा पनि लगेनौ । के खायौ स्कुलमा ?’ आमाले टाउको मुसार्दै सोध्नुु भो ।
‘केही नि खाइन । ...सबैले स्कुलमा कस्तो-कस्तो खाजा ल्याउँछन् । आफूभने सधैँ झारे खाजा खाएर बस्नु पर्ने । मैले भन्द्याछु , अब म स्कुलमा खाजा बोक्दै जान्न । खाजा पनि खान्न । म भोक्कै बस्छु
आमाले हाँस्दै सोध्नु भोः ‘लौ किन नि? सबैले स्कुलमा ल्याउने के रहेछ त्यस्तो कस्तो-कस्तो खाजा?’
रोहित एकछिन बोलेन । अनि रुन्चे स्वरमा भन्यो ‘साथीहरू स्कुलमा बिस्कुट, डोनट, चाउचाउ, कुरकुरे खान्छन् । मज्जाले औँला चाटछन् । कोही क्यान्टिमा जान्छन् मिठोमिठो खान खान । आफूभने सधैँ घरबाट खाजा बोक्दै माग्नेले जस्तो खाजा खानुपर्नेे ।’
‘बच्चाहरूलाई बजारिया खाजा मीठो त लाग्छ । तर त्यो स्वास्थ्यका लागी राम्रो हुँदैन । त्यस्तो खाजा खाने बालबालिक बलिया हुँदैनन् । उनीहरूको शरीर कमजोर हुन्छ । दिमाग पनि राम्ररी विकास हुँदैन । हाइट पनि बढ्दैन । यस्ता बालबालिकालाई रोगले चाँडो समाउँछ ।’
‘तिमी त कति राम्रो छौ । हेर चिल्लो गाला । हाइट अनुसारको तौल छ । सर म्याडमहरूले तिमीलाई हिरो भन्नुहुन्छ । तिमी हिरोजस्तो हुनुको कारण पोषिलो खाना खाएर हो । बुझेको छौ?’
रोहित घोप्टो परेर आमाका कुरा सुनिरह्यो ।
‘डाक्टरहरूले आजकल ‘हरबार खाना चार’ भन्ने कुरा सुझाउँदै सुझाउँदै आएका छन् । त्यसो भनेको के हो बुझेको छौ?’
‘पोषिलो खानेकुरा खाएमा शरीर बलियो हुन्छ । स्वस्थ भएपछि शाररीक मानसिक बृद्धि बिकास राम्रोे हुन्छ । रोग लाग्दैन ।’
सबै उमेरका मानिसले खासगरी बालबालिकाले दिनदिनै प्रोटिन, कार्वोहाइड्रेड, मिनरल्स र भिटामिन सी पाइने खानेकुरा खानुपर्छ । यी कुरा कस्ता खानेकुरामा पाइन्छ तिमीलाई थाह छ?’
‘था छैन ।’ ठुस्किएको भाकामा रोहितले भन्यो
‘सुन म भन्छु : भात, आलु पिँडालु,सक्करखन्ड, तरुल जस्ता खानेकुरामा कार्बोहाइडे्ड पाइन्छ । कार्बोहाइड्रेडले शरीरमा शक्ति दिन्छ । शक्ति आएपछि धेरै काम गर्न सकिन्छ । पढदा अनि खेल्दा थकाइ पनि लाग्दैन सकिन्छ ।’
‘दाल, चना गेडागुडी, माछामासु अन्डामा प्रोटिन पाइन्छ । प्रोटिनले शरीर बलियो बनाउँछ यसले शरिरको बृद्धिविकासमा मद्धत पुर् याउँछ । यस्तो खाने बच्चाको अग्ला हुन्छन् । शरीर पनि निरोगी मोटोघाटो हुन्छ ।’
‘अनि हरियो सागपात, तरकारीमा मिनरल्स् हुन्छ । यसले रोगबाट लडने क्षमता बढाउँछ ।’
‘कागती अमला, सुन्तला जुनार जस्ता चिजमा भिटामिन सी पाइन्छ । यसले खाना पचाउन मद्दत गर्छ । खाजा खाँदा घरमा बनाएको ताजा रोटी, चना, आलु भटमास मकै बदाम चिउरा जस्ता कुरा स्वास्थ्यका लागी धेरै राम्रो हुन्छ । ल मैले तिमीलाई खान दिने कुरा यस्तैयस्तै खाले हैनन त? किन दिने रहेछु यस्ता खाने कुरा अब बुझ्यौ ?’
‘...अनि खान राम्रो नहुने कुराहरू भए बजारमा किन बेच्छन त ?’ रोहितले सोध्यो
‘व्यापारीले त आफूले कसरी धेरै पैसा कमाउने भन्ने कुरा मात्र सोच्छन् । त्यसैले बुद्धिमानहरूले बजारका जंक खानेकुरा आफ्ना नानीबाबुलाई खुवाउँदैनन् । नबुझेका वा बेफिक्रका, आमाबुबाले मात्र बच्चाहरूलाई बजारिया जंक खाने कुरा दिन्छन् ।’
रोहितलाई आमाका कुरा राम्रो लाग्यो । ऊ खुसीले उफ्रदैै भान्सामा गयो । खाना खायो । अनि होमवर्क सकेर सुत्यो ।
भोलिपल्ट त फेरी आमाले भनेका सबैकुरा बिर्सियो रोहितले । स्कुल जाने बेला खाजा लान्न भन्दै झेक्किएर हिड्योे ।
स्कुल छुट्टी हुने बेलातिर राजु रिङटा लाग्यो भन्दै टाउको समाएर कक्षा कोठैमा ढल्यो । कक्षाकोठामा पढाउँदै गर्नु भएकी जानुका मिस आत्तिदै ऊ सामु पुगेर मसारमुसुर गर्न लाग्नु भो । कक्षाका केटाकेटीहरू सबै ऊ नजिक झुम्मिए। जानुका मिसले सबैलाई आ-अफनो बेन्चमा बस्न भन्नु भो । अनि त सबै आ-आफनो सिटमा बस्न गए । स्वास्थ्य तथा विज्ञान विषयको सर, हेडसर, सबै राजु नजिक आउनु भो।
राजु अझैँ उठेर बस्न सकेको थिएन । एकछिन पछि त एम्बुलेन्स क्वाई क्वाइ कराउँदै स्कुलमा आयो । सरहरूले उसलाई एम्बुलेन्समा हालेर अस्पताल लग्नु भो । स्कुल छुट्टी भयो तर राजु फर्केन । रोहितलाई धेरै नरमाइलो लागिरह्यो । ‘राजु मर्यो भने त हाम्रो मिल्ने साथीसँग कहिलल्यै खेल्न पाइन्न । भगवान उसलाई बचाइदिनु है ? रोहित घर फर्कदा साथीहरूसँग कुरा गरिरह्योे ।
घरपुग्दा रोहित निरास थियो । आमालाई देख्ने वितिक्कै उसले रुन्चे डराएको स्वरमा हतारहतार स्कुलमा राजु बिरामी भएर अस्पताल लगेको कुरा सुनाया्े ।’
राजुलाई अस्पताल लगेकोले मलाई त कस्तो डर लाग्यो । अब राजुलाई के हुन्छ आमा?’
‘ए हो ? कमजोर छ त्यो बच्चो त्यसैले बरोबर बिरामी परिरहन्छ ।’
‘राजु अब स्कुल आउँछ आमा?’ रोहितले आमालाई सोध्यो ।
रोहित निराश हुँदै पटकपटक आमालाई यही प्रश्न सोधिरह्यो । आमाले उसको डराएको अनुहार मुसार्दै सम्झउनुु भो ‘आउँछ नि किन नआउनु? कमजोर बच्चा सामान्य बिरामी हुदाँ पनि सिकिस्त हुन्छन् ।
यस्ता बच्चालाई विशेष उपचार चाहिन्छ । राजुपनि धेरै कमजोर भएकै कारण बरोबर विरामी परिरहन्छ । त्यसैलेत स्वास्थ बलियो राख्न खानपिनमा ध्यान पु¥याउनु पर्छ ।’ रोहित राजुलाई संझदै आमाका कुरा सुनिरह्यो । साँझ खाना खाएर ऊ छिटै सुत्यो ।
भोलिपल्ट रोहित स्कुलजान तयार भयो । बिरामी परेको कुरा सम्झिएर ऊ धेरै दुःखी भयो । स्कुलको झोला बोक्दै उसले सोध्यो ‘आमा मेरो खाजा रेडी छ?’
‘रेडी छ रोहित । राख झोलामा । मेरो छोरा त कति समझदार छ । त्यसैले त हिरो छ ।’ आमाको हातबाट खाजाको टिफिनबक्स लिएर झोलामा हाल्दै रोहित मुसुक्क हाँस्यो, र भन्यो खासमा त स्कुलमा सर मिसहरूले पनि बजारिया खाजा नखाऊ नै भन्नु हुन्छ । अब त म साथीहरूले कस्तो खाजा खान्छस तँ भनेछन् भने तिनलाई ‘बजारिया खाजा महङ्गा मात्र हुँदैनन् स्वास्थ्यका लागि धेरै हानीकारक हुन्छन् ।
त्यसैले मत मेरो आमाले तयार गरिदिनु भएको घरको पोषिलो खाजा नै खान्छु । मलाई त स्वास्थ्य कमजोर पारेर अस्पताल जान, औषधि खान मन छैन । राजुलाई पनि मैले जस्तै घरैबाट ल्याउने गर है साथी भन्छु ।
सिर्जना शर्मा
तपाईँको अभिमत