डब्लूएचओ नेपाल र स्वास्थ्य पत्रकार मञ्चबीच सडक सुरक्षाबारे अन्तरक्रिया : उचित हेलमेटको प्रयोगबाट मृतक र घाइतेको सङ्ख्या घटाउन सकिने
नेपालमा मोटरसाइकलको दुर्घटनाको सङ्ख्या अन्यको तुलनामा धेरै देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार मोटरसाइकलको दुर्घटना ५७ प्रतिशत देखिएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपाल र स्वास्थ्य पत्रकार मञ्च नेपालबीच शुक्रबार भएको अन्तरक्रियामा डब्लूएचओ नेपालका जनस्वास्थ्य सल्लाहकार डा. गाम्पो दोर्जीले यस्तो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो । उहाँले सडक दुर्घटनामध्ये दुई पाङ्ग्रे सवारी साधन अत्यधिक भएको भन्दै यसको न्यूनीकरण र दुर्घटनाबाट हुने मृत्यु तथा चोटपटक घटाउन सकिने बताउनुभयो ।
उहाँका अनुसार मोटरसाइकलमा सवार सबैले अनिवार्य चिउडोसमेत छेक्ने उचित किसिमको हेलमेट प्रयोग गरे मृत्यु र चोटपटक कम गर्न सकिन्छ ।
डब्लुएचओ नेपालका मानसिक रोग विशेषज्ञ डा केदार माराहट्ठाले सञ्चार र सञ्चारमाध्यमको जिम्मेवारी तथा सडक सुरक्षासम्बन्धी जनचेतना फैल्याउन, नीति निर्माण र सडकमा सुरक्षित व्यवहारको प्रवर्द्धनमा खेल्न सक्ने भूमिका बारे प्रस्तुति दिनुभएको थियो ।
त्यस्तै ट्राफिक सुरक्षा परिषद्का सदस्य सुरजकुमार प्रधानले कानुनबमोजिम मोटरसाइकलमा सवार सबैले अनिवार्य हेलमेट प्रयोग गर्नुपर्ने बताउनुभयो । ‘मोटरसाइकलमा पछाडि बस्नेले पनि अनिवार्य हेलमेट प्रयोग गर्नुपर्ने कानुन छ’, उहाँले भन्नुभयो, ‘यसको कार्यान्वयनको सुरुवात ल क्याम्पसका शिक्षक र विद्यार्थीबाट गर्न सकिन्छ ।’
विश्व सडक सुरक्षा सप्ताहका अवसरमा अन्तरक्रियाको आयोजना गरिएको थियो । सप्ताह हरेक वर्ष १२ देखि १५ मेसम्म मनाइने गरिन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत