अनलाइन शिक्षाले बालबालिकामा बढायो टाढाको नदेख्ने समस्या
मायोपिया

विभिन्न अध्ययन तथा अनुसन्धानले जन्मजात मात्रै होइन हाम्रो वातावरण (पढ्ने, खेल्ने, काम गर्ने) अवस्थाले पनि असर गर्दा पनि आँखा कमजोर हँुदो रहेछ भन्ने देखाएका छन् ।
आज अक्टुवर १४ विश्व दृष्टि दिवस । यस वर्ष आँखालाई माया गरौं भन्ने नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैछ । नेपालमा अहिले १ लाख २० हजार जनामा अन्धोपनको समस्या रहेको छ । अन्धोपनको प्रमुख कारणमा मोतीविन्दुको हिस्सा ६५ प्रतिशत रहेको छ । नेपालमा अन्धोपनको दर सन् १९८१ मा ०.८४ प्रतिशत रहेकोमा सन् २०११ सम्म आइपुग्दा ०.३५ प्रतिशतमा झरेको छ ।
विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन आइएपिबीले संयुक्त रुपमा प्रत्येक वर्ष अक्टुवर १४ का दिन विश्व दृष्टि दिवस मनाइदै आएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २२० करोड मानिसहरु दृष्टिदोष र दृष्टिविहिनताको समस्याबाट प्रभावित छन् ।
त्यसमध्ये ३ करोड ९० लाख मानिसमा अन्धोपनको समस्या छ भने १०० करोड मानिसमा आँखाको उपचारको पहुँच पुग्न सकेको छैन । विश्वमा कुल दृष्टिविहिनमध्ये करीब ६५ प्रतिशत मानिस ५० वर्षउमेर माथिका छन् । नेपालमा भने पछिल्लो समय बालबालिकाहरुमा दुरदृष्टि(मायोपिया)को समस्या बढ्दै गएकोप्रति चिकित्सकहरु चिन्तित छन् । मायोपिया भनेको के हो? मायोपिया हुनुका कारण र यसबाट कसरी जोगिने भन्ने विषयमा हामीले मायोपियाबारे विभिन्न अध्ययनमा सहभागी हुँदै आउनुभएका नेपाल आँखा अस्पतालका अध्यक्ष एवं नेत्रविशेषज्ञ डा. गोपाल प्रसाद पोखरेलसँग कुरा गरेका छौँ ।
दुरदृष्टि(मायोपिया) भनेको कस्तो समस्या हो ?
नजिकको सबैकुरा स्पष्ट र राम्रोसँग देखिने तर टाढाको वस्तु, मानिस लगायत देख्न, चिन्न र ठम्याउन नसक्नुलाई दुरदृष्टिको समस्या भनेर बुझिन्छ । बुझने गरि भन्नुपर्दा टाढाको देख्न समस्या हुनु हो ।
मायोपियाको जोखिममा कुन उमेरसमूह या मानिसहरु रहन्छन् ?
विशेषगरी यो बालबालिकामा देखिने आँखो समस्या हो । बच्चाहरु ९ वर्षको भइसक्दा यो समस्या बिस्तारै देखिन थाल्छ र १७/१८ वर्षसम्म बढ्दै जान्छ । पछिल्ला केही वर्षयता नेपालमा बालबालिकाहरुमा दुरदृष्टिको समस्या बढिरहेको छ ।
बाहिरी गतिविधिमा धेरै समय बिताउने र घरैमा बस्ने बालबालिकाहरु माथि गरिएको एक अध्ययनले के देखायो भने मायोपियाको समस्या घरभित्र बस्नेहरुलाई धेरै हुने गर्छ ।
बालबालिकामा यो समस्या देखिनुका कारण के हुन् ?
पहिला पहिला मायोपियालाई वंशाणुगत देखिने आँखाको समस्या भनिन्थ्यो । कसैलाई जन्मजात पनि हुन्छ भने कसैलाई उमेर बढ्दै जाँदा आँखाको कमजोरी थपिदै यो समस्या देखिने गरेको छ ।
पहिला–पहिला बच्चाहरुमा दुरदृष्टि जन्मजातै हुने गरेको पाइन्थ्यो । जसका बाबुआमाले मोटो चश्मा लगाउँछन् उनीहरुको छोराछोरीलाई मात्रै यो समस्या हुन्छ भनिन्थ्यो तर विभिन्न अध्ययन तथा अनुसन्धानले जन्मजात मात्रै होइन हाम्रो वातावरण (पढ्ने, खेल्ने, काम गर्ने) अवस्थाले पनि असर गर्दा पनि आँखा कमजोर हँुदो रहेछ भन्ने देखाएका छन् ।
आजभोली मायोपियाको कारणमा वंशाणुगत कम र वातावरणीय असर धेरै देखिन थालेको छ । हाम्रो आँखाको गोलाईको डायमिटर २४ मिलिमिटर हुन्छ । विभिन्न किसिमका अंगहरुले आँखाभित्र इमेज बनाएपछि छाँया देखिन थाल्छ । यदि आँखाको आकारनै ठुलो भयो भने स्वत मायोपिया हुन्छ । तर त्यतिले मात्रै होइन आँखा नजिकै धेरै काम गरिरहँदा पनि टाढाको नदेखिने समस्या बढ्छ ।
अहिले अधिकांश बालबालिकाहरुमा स्मार्ट फोनमा भिडियो गेम खेल्ने, सिनेमा हेर्ने क्रम बढेको छ, यो नै मायोपिया निम्त्याउने प्रमुख समस्या हो । स्मार्ट फोनमा उनीहरु घण्टौं समयसम्म झुम्मिरहँदा आँखालाई सुख्खा बनाउँछ, यसपछि बिस्तारै बिस्तारै टाढाको नदेख्ने समस्या बढ्दै जान्छ ।
यसको मतलव कोठाभित्र धेरै समय बिताउने बच्चाहरुमा यो समस्या देखिन्छ ?
हो । यो अध्ययन र अनुसन्धानले पुष्टि गरिसकेको छ कि घरभित्रै धेरै समय बिताउने बालबालिकाहरुमा टाढाको देख्ने समस्या धेरै देखिन्छ । अष्ट्रलियामा झण्डै २० वर्ष अगाडि मायोपियाबारे एक अध्ययन भएको थियो । बाहिरी गतिविधिमा धेरै समय बिताउने र घरैमा बस्ने बालबालिकाहरु माथि गरिएको एक अध्ययनले के देखायो भने मायोपियाको समस्या घरभित्र बस्नेहरुलाई धेरै हुने गर्छ ।
घरमानै बसेर किताव, मोवाइल, ल्यापटप, ट्याबमा व्यस्त हुने बालबालिकालाई टाढा देख्न समस्या परेको त्यो अध्ययनको निष्कर्ष थियो । धेरैजसो समय आँखा नजिकैको गतिविधिमा बिताउने बालबालिकाहरुलाई दुरदृष्टिको समस्या देखिने सम्भावना अधिक रहने त्यो अध्ययनले देखायो । त्यसपछि अष्ट्रलियामा दिनको २ घण्टा घरबाहिर पार्कहरुमा लैजानैपर्ने नियम जारी भयो ।
१५/१६ वर्षसम्मका बालबालिकाहरुलाई बाहिरी गतिविधिमा सामेल गराउनैपर्छ । घरभन्दा बाहिरको वातावरणमा पनि बालबालिकाहरुलाई सहभागी गराइयो भने मायोपियाको जोखिम न्यून रहन्छ । त्यसैले बालबालिकाहरुलाई ५ वर्षको उमेरदेखि बाहिरी गतिविधिमा सहभागी गराउनुपर्छ त्यसबारे आमावावुको ध्यान जान जरुरी छ ।
जुन बच्चाले धेरै समय पढ्नमा विताउँछ, नजिकैको गतिविधिमा रमाउँछ । बाहिरी खेलकुदका गतिविधिमा सहभागी हुँदैनन्, कोठामै धेरै समय बस्ने बालबालिकाहरुलाई मायोपियाको समस्या छिटै देखिने रहेछ । ९ वर्ष हुँदाहुदै मायोपिया देखिन्छ । त्यसपछि १६/१७ वर्षको उमेरपछि केही मत्थर हुन्छ ।
वयस्कलाई देखिदैन ?
मायोपिया बालबालिकाको उमेरबाट सुरु हुन्छ तर त्यसको असर भने वयस्कसम्म देखिन्छ । बच्चा जन्मिने बित्तिकै केही पनि देख्दैन । उसले सुन्छ मात्रै । सुन्ने भएकाले आवाज र स्वरले बच्चाले आमालाई चिन्छ । बच्चा ३ महिना भएपछि उसले उज्यालो अध्याँरो छुट्याउन सक्छ । ६ महिना भएपछि बल्ल मानिसहरुको अनुहारहरु देख्न थाल्छ ।
६ वर्षसम्म बच्चाको आँखाको पुरा विकास हुन्छ । त्यसैले ६ वर्ष पुग्नुभन्दा अगाडि बालबालिको अनिवार्य आँखाको परीक्षण गर्नुपर्छ । प्रकृतिले २ वटा आँखा दिएको छ २ मध्ये एक आँखा कमजोर छ भने स्वस्थ रहेको अर्काे आँखाले कमजोर आँखालाई झनै कमजोर बनाउँदै अल्छी बनाइदिन्छ । एउटा आँखा अल्छी भएपछि टेडो हुन्छ र विकास हुँदैन ।
दुरदृष्टि कम भयो भने १७/१८ वर्षको उमेरसम्म बढ्दै जाने सम्भावना हुन्छ । मायोपिया कति बढ्छ भन्ने चाँही वंशाणुगत हुन्छ । बावुआमालाई कोही एकजनालाई मायोपिया बढि थियो भने बच्चालाई पनि त्यो समस्या बढी हुन सक्छ । मायोपिया हुँदा आँखाको साइज बढ्दै जान्छ ।
मायोपिया वंशाणुगतभन्दा वातावरणले प्रभाव पारेको छ । वंशाणुगत छ भने चश्माले पनि काम नगर्ने हुन सक्छ । दृष्टि पर्दामा थप रोगहरु आउँछ । त्यस्ता मान्छे अन्धो पनि हुन सक्छ तर अन्धो नै हुनु भनेको एकदमै दुर्लभ कुरा हो ।
नेपालमा मायाेपियाबारे अध्ययनहरु भएका छन् ?
२२ वर्ष अगाडिको कुरा हो । झापा जिल्लाको एक गाउँमा मायोपियाबारे अध्ययन गर्दा त्यहाँका बच्चाहरुमा २ देखि ३ प्रतिशत मायोपियाको समस्या देखियो । तर सोही अध्ययन धनी इलाका, विद्यालयहरु धेरै भएको काठमाडौंका नाम चलेका विद्यालयहरुमा गर्दा यहाँका बालबालिकामा १६ प्रतिशतसम्म मायोपियाको समस्या देखियो । त्यसमा पनि धेरै महिलामा समस्या देखियो ।
यसरी मायोपियाको कारण खोज्दा, जो आमा वुवा पढेलेखेका छन्, जो आमा वुवाले चश्मा लगाएका छन् उनीहरुको छोराछोरीमा पनि यो समस्या धेरै देखियो । त्यसपछि हामीले के निष्कर्ष निकाल्यौ भने जुन बच्चाले धेरै समय पढ्नमा विताउँछ, नजिकैको गतिविधिमा रमाउँछ । बाहिरी खेलकुदका गतिविधिमा सहभागी हुँदैनन्, कोठामै धेरै समय बस्ने बालबालिकाहरुलाई मायोपियाको समस्या छिटै देखिने रहेछ । ९ वर्ष हुँदाहुदै मायोपिया देखिन्छ । त्यसपछि १६/१७ वर्षको उमेरपछि केही मत्थर हुन्छ ।
महिलामा किन यो समस्या बढी देखिएकाे पाइयाे ?
कारण एउटै हो,जुन माथि भनिसकेको छु । जो व्यक्ति धेरैसमय घरभित्रैको गतिविधिमा व्यस्त रहन्छ । मोवाइल टिभिमा व्यवस्त हुनेको अलवा घरभित्रै रहेर अन्य काम गर्नेहरुलाई पनि मायोपियाको समस्या बढी देखिन्छ । प्राय धेरै महिलाहरुले घरभित्रै बढी काम गर्नुपर्ने बाध्यता अहिले पनि छ । पुरुषहरु धेरै समय घरबाहिरको काममा बिताउँछन् ।
केही दिन अगाडि म एउटा वैंकमा गएको थिएँ । त्यहाँ २० जना कर्मचारी मध्ये १६ जना महिला थिए । उनीहरुमध्ये १२ जना महिलाले चश्मा लगाएका थिए पुरुषहरु एक जनाले पनि लगाएका थिएनन् । यसको मतलव धेरै समय आँखा नजिकको काम गर्नेलाई टाढाको नदेख्ने समस्या हुन्छ र उनीहरुले चश्मा लगाउनुपर्दछ ।
नेपालको सन्दर्भमा मायोपियाको अवस्था कस्तो छ ?
नेपालमा यही गतिमा बढिरह्यो भने अबको २०/३० वर्षमा मायोपिया ४० प्रतिशतमाथि पुग्छ । यो भनेको भयावह अवस्था हो । कोरोना महामारीको समयमा बालबालिकाहरुमा मायोपियाको समस्या बढिरहेको छ । अनलाइन शिक्षाले बालबालिकामा मायापियाको समस्या देखिसकेको छ । एक डेढ वर्षको अन्तरालमा यो समस्या ह्वात्तै बढेको छ ।
आजकल नेपाल आँखा अस्पतालमा ल्याइने बालबालिकाहरुमा यही समस्या देखिने गरेको छ । जो बालबालिका बढी समय अनलाइन कक्षा अथवा कोठामा मात्रै समय बिताउँछ उनीहरुलाई यो समस्या देखिएको छ । हामीले यसबारे थप अध्ययन गर्दैछौं । अनलाइन कक्षा कति घण्टा गर्दा कस्तो असर देखियो भन्ने अध्ययन हामी गर्दंैछौ । एउटा सानो मोवाइलमा पुरै किताव पढ्नु निकै सकसपूर्ण हो नै । लामो समयसम्म स्मार्ट फोन, ग्याजेटमा हेरिरहँदा आँखा सुख्खा बनाउँछ । बच्चाहरु आँखा पोल्यो भन्दै रुन्छन् यो भनेको टाढाको हेर्न समस्या हुन थालेको हो । नेपालमा अनलाइन कक्षाले मायोपियाको समस्यालाई बढाउन सघाइरहेको छ ।
अन्य देशहरुमा मायोपियाको अवस्था कस्तो पाउनुभएको छ?
कोरिया, जापानमा मायोपियाको समस्या अधिक छ । त्यहाँ ४५ प्रतिशतसम्म मायोपियाको समस्या देखिरहेको छ । त्यहाँ विहान ८ वजे विद्यालय पुगेका बालबालिकाहरु बेलुका १० बजे घर आउने गर्छन् । स्कुल, ट्युशन क्लास भन्दा समय बित्छ । छिटो छिटो पास गरेर विश्वविद्यालयमा अध्ययन गर्ने प्रतिष्पर्धाले त्यहाँका बालबालिकाहरुको ध्यान पढाइमा मात्रै हुन्छ ।
आँखा किताव, मोवाइल, ल्यापटप र ट्यावमा मात्रै हुँने भएकाले उनीहरुमा यो समस्या बढी छ । मैले मायोपियाको सम्वन्धमा ११ वटा देशमा अध्ययन गरेको छु । चीनमा २, भारतमा २, साउथ अफ्रिका, मलेसिया, ब्राजिल लगायतका देशमा अध्ययन गर्दा ती सबै देशमा मायोपियाको समस्या देखियो ।
समस्या प्रतिशतमा फरकफरक देखिएपनि बालबालिकामा दुरदृष्टिको एउटै समस्या देखियो । चीनमा २ वटा अध्ययन भएको थियो । एउटा अध्ययन गोन्जाऊ शहर र अर्काे गोन्जाऊकै एउटा गाउँमा अध्ययन गर्दा त्यहाँ पनि गाउँका बालबालिकामा कम र शहरकोमा बढी देखियो । यो २० वर्ष अगाडिको कुरा हो । शहरमा ५ देखि १५ वर्षका बालबालिकाहरुलाई ४५ प्रतिशतभन्दा बढी मायापियाको समस्या देखिँदा गाउँमा १५ प्रतिशतमात्रै देखियो ।
मायोपियाको समस्या गाउँमा भन्दा बढी शहरमा किन देखियो ?
गाउँघरमा अहिलेपनि बालबालिकाहरु हिँडेरै जाने गर्छन् । आधाघण्टा, एक घण्टाको बाटो हिडेर विद्यालय जाँदा उसले बाहिरी वातावरणलाई पनि देख्छ तर शहरका बालबालिकाहरु घर आँगनबाटै बसमा जान्छन् । बसभित्रको भित्रै विद्यालय पुग्छन्, त्यसपछि कक्षा भित्रको भित्रै हुँदै फेरि बसमै घरमा आउँछन् र घरमा आएपछि पनि मोवाइल, किताव,ट्यावमात्रै हेरिरहन्छन् । त्यसैले शहरका बालबालिकाहरुमा मायोपियाको समस्या बढी हुने सम्भावना रहन्छ ।
मायोपियाको उपचार छ?
यसको उपचार छैन । चश्मा लगाएर टाढाको देख्न सहयोग लिने हो । चश्मा पनि सस्तो, नेपालमै उपलव्ध भएका र सजिलो खालको प्रयोग गर्नुपर्छ । कन्ट्याक्ट लेन्स लगाउन सकिन्छ तर प्रयोगकर्ताले आफ्नो आँखाको हिफजत गर्नुपर्छ । नेपालको वातावरणीय अवस्थाका कारण कन्ट्याक्ट लेन्सको प्रयोग उपयुक्त छैन ।
अप्रशेन पनि गर्न सकिन्छ तर यसको अप्रेशन १८ वर्ष उमेर भएपछि मात्रै गर्न मिल्छ र यो निकै मँहगो पनि छ । अप्रेशन गरेपछि पनि साधारण किसिमको चश्मा प्रयोग गर्नपर्ने हुनसक्छ ।
बच्ने उपायहरु कस्ता छन् ?
अनलाइन कक्षा जति बढ्दै जान्छ त्यतिनै मायोपिया बढ्छ । त्यसैले अब मोवाइलमा भन्दा ठुलो स्क्रिनमा हेरेर बेला बेलामा ब्रेक लिदैं पढ्ने वातावरण नमिलाए मायोपिया ठुलो समस्या देखिनेछ ।
केही हप्ता अगाडिमात्रै चीनमा बच्चाहरुका लागि एउटा नियम लागू गरियो । त्यहाँ अहिले समार्टफोन, आइप्याड लगायतका ग्याजेटमा हप्ताको २ दिन त्यो पनि २ घण्टामात्रै हेर्न मिल्ने नियम छ । त्यसैगरि यहाँ पनि त्यस्तै नियम लगाउनेतर्फ सोच्नुपर्छ साथै सानो मोवाइल स्क्रिनको साटो ठुलो स्क्रिनमा अलि टाढाबाट हेरेर पढने/पढाउने व्यवस्था गर्नुपर्छ ।
घरभित्रै धेरै नबस्ने । बाहिरी गतिविधिमा पनि सामेल गर्ने गराउने गर्नुपर्छ । किनभने जति नजिकैको वस्तु हेर्यो त्यति नै टाढाको नदेख्ने हुन सक्छ ।
यसैगरी अप्रशेन पनि गर्न सकिन्छ तर यसको अप्रेशन १८ वर्ष उमेर भएपछि मात्रै गर्न मिल्छ र यो निकै मँहगो पनि छ । अप्रेशन गरेपछि पनि साधारण किसिमको चश्मा प्रयोग गर्नपर्ने हुनसक्छ । वंशाणुगत लागेको मायोपियालाई रोक्न सकिदैंन तर वातावरणीय कारणलाई भने नियन्त्रण गर्न सकिन्छ । आँखा नजिकैको काम कम गर्ने, पढ्दा केही समय ब्रेक गर्ने, बाहिरी गतिविधिलाई बढाउनुपर्छ ।
वंशाणुगत समस्मा भएका बालबालिकामध्ये प्रत्येक सयमा १५ प्रतिशतलाई चश्मा लगाउन पर्छ । बालबालिकाले एकपटक चश्मा लगाएपछि उनीहरुको उमेर १८ वर्षपुग्दासम्म प्रत्येक वर्ष चश्माको जाँच गराउँनुपर्छ । चश्मा फेर्नपर्ने हुन सक्छ त्यसैले चश्माको जाँच गराउनुपर्छ ।
तपाईँको अभिमत