तनावले मधुमेहमा पार्छ असर, कसरी गर्ने यसको व्यवस्थापन?

मानव विकाससँगै विभिन्न समस्याहरू सँगसँगै जोडिएर आइरहेका छन् । व्यक्तिले हरेक दिन कामको तनाव, परिवार, साथीभाइ तथा अन्य विभिन्न कामको चाप लिइरहेको हुन्छ । त्यस्तो चापसँगै उसले शारीरिक अभ्यास वा व्यायाम गर्ने समय पाउँदैन । जसका कारण मधुमेह जस्ता रोगको शिकार भइरहेको हुन्छ । तनावले मधुमेहलाई अझ बढावा दिन्छ ।
तनाव हुँदा ग्लूकोज नियन्त्रणमा राख्न समस्या पर्छ । मधुमेह हुँदा त्यस्तो ग्लूकोजलाई ऊर्जामा बदल्न शरीरले सक्दैन । यसले मधुमेहलाई झन बढावा दिन्छ । ग्लूकोजको मात्रा बढ्दै जान्छ ।
तनावले मधुमेहमा कसरी असर गर्छ ?
तनावले हरेक मानिसलाई फरक तरिकाले असर गरेको हुन्छ । तनावका कारण मानसिक रूपमा मात्र नभई शारीरिक रूपमा पनि असर पारिरहेको हुन्छ ।
टाइप २ मधुमेह भएका मानिसमा मानसिक तनाव छ भने टाइप १ मधुमेहका मानिसलाई भन्दा फरक असर देखिन्छ । यस्तो तनाव बढ्दा रगतमा ग्लूकोज वा चिनीको मात्रा पनि बढ्ने हुन्छ ।
कुन समयमा कस्तो अवस्था थियो भन्ने कुराको जानकारी लिनुपर्छ । यस्तो जानकारीले रगतमा चिनी वा ग्लूकोजको मात्रा घटे बढेको थाहा हुन्छ । अनि तनाव बढ्दा त्यसको मात्रा कति बढ्यो भन्ने कुरा पत्ता लगाउन सजिलो हुन्छ । त्यसैले नियमित परीक्षण गर्न जरुरी हुन्छ ।
तनाव हुँदा कस्तो लक्षण देखिन्छ ?
तनाव मानसिक रूपमा हुने हुँदा कहिलेकाहीँ यो बाहिरी सतहमा देखिँदैन । तर कतिपय अवस्थामा यो शारीरिक रूपमै देखिन्छ । तनाव बढ्दै जाँदा टाउको दुख्ने, मांशपेसी दुख्ने, धेरै सुत्ने वा धेरै कम सुत्ने हुनु, बिरामी भएजस्तो महसुस हुने, थाकेको महसुस हुने लगायतका लक्षण देखिन्छन् । त्यस्तै तनाव हुँदा उदास र निरस हुने, दिक्क लाग्ने, त्रासको महसुसस हुने हुन्छ ।
कतिपय व्यक्ति साथीभाइ, परिवारबाट अलग रहने, खाना धेरै खाने वा एकदमै कम खाने, रिसाउने, मादक पदार्थ पिउने तथा सूर्तीजन्य पदार्थको सेवन गर्न थाल्ने लगायतका व्यवहार पनि तनाव हुँदा गर्ने देखिन्छ ।
तनावको मात्रा कसरी कम गर्ने ?
तनाव हुँदा दैनिक जीवनयापनमै नकारात्मक असर पर्ने हुन्छ । त्यसैले नियन्त्रणमा राख्नुपर्छ । यसका लागि ध्यान वा योग गरेर मानसिक तनाव कम गर्नुपर्छ । त्यस्तै भावनात्मक तनावहरू घटाउने गर्नुपर्छ । मनमा खेल्ने तर्कवितर्क हटाउन शान्त वातावरणमा लामो लामो स्वास लिँदै छोड्नुपर्छ ।
शारीरिक व्यायाम तनाव कम गर्ने अर्को उपाय हो । हरेक दिन योगा वा अन्य किसिमका शारीरिक अभ्यास गर्ने गर्नुपर्छ । यसो गर्दा मुटुसँग सम्बन्धित रोगको जोखिम पनि कम हुन्छ । यसैगरी पारिवारिक समस्याको समाधान समयमै गर्ने, बाहिर नयाँ ठाउँमा घुम्न जाने गर्नुपर्छ । यसले कामको चाप पनि घट्छ ।
तपाईँको अभिमत