गाजा सिटीमा इजरायलको बम वर्षा : हजारौँ प्यालेस्टाइनी विस्थापित
गाजा सिटीमा पछिल्ला दुई वर्षयता सबैभन्दा भीषण इजरायली आक्रमणको चपेटामा परेको छ । निरन्तर बम तथा गोलीबारीका कारण हजारौँ बासिन्दा आफ्नो घरबार छोडेर सुरक्षित स्थानतिर भागिरहेका छन् । संयुक्त राष्ट्रसंघका महासचिवले यस आक्रमणलाई “भयानक” भन्दै निन्दा गरेका छन् ।
“गाजा जलिरहेको छ,” इजरायलका रक्षामन्त्री इजराइल काट्जले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । गाडीको लामो लाइन, अस्वार गाडामा घरायसी सामग्री, र सानो झोला बोकेर दक्षिणतर्फ लागेका बासिन्दाको दृश्य धुवाँ मडारिएका भग्नावशेषबीच देखिएको छ ।
युद्धको प्रारम्भिक चरणमै कतिपयले गाजामा रहिरहने प्रतिबद्धता गरेका थिए । तर, ठुला भवनदेखि घर तथा नागरिक संरचना विनाश गर्ने तीव्र आक्रमणका कारण अब जोसँग यात्रा गर्ने क्षमता छ, उनीहरू दक्षिणतर्फ पलायन भइरहेका छन्। तर त्यहाँ पनि सुरक्षित क्षेत्र हुने कुनै ग्यारेन्टी नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मंगलबार मात्र इजरायली सेनाले कम्तिमा ९१ जनाको ज्यान लिएको गाजा स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । एउटा विस्फोटले त समुद्र किनारको बाटो हुँदै भागिरहेका सर्वसाधारण बोकेको गाडीमै प्रहार गरेको छ।
कम्तिमा १७ वटा आवासीय भवन ध्वस्त भएका छन्, जसमा तुफ्फाह टोलको ऐबकी मस्जिद पनि इजराययली विमान आक्रमणमा परेको छ।
आकाशबाट बम खसाउँदै गर्दा, सेनाले उत्तर, दक्षिण र पूर्वी गाजामा पनि विस्फोटकले भरिएका रोबोट पठाएर क्षेत्र विनाश गरेको छ।
यसै महिना, युरो-मेडिटरानियन मानवअधिकार निगरानी समूह (Euro-Med Monitor) ले सेनाले १५ वटा यस्ता रोबोट प्रयोग गरेको जनाएको थियो। तीमध्ये प्रत्येकले करिब २० आवासीय युनिट ध्वस्त गर्न सक्ने क्षमता राख्छ।
हेल्थपाटी
तपाईँको अभिमत