डेंगीको लक्षण ४० देखि ८० प्रतिशतमा देखिँदैन, कस्तो अवस्थामा सङ्क्रमितलाई अस्पताल लैजाने ?

एआई निर्मित तस्बिर ।
डेंगी सङ्क्रमित ४० देखि ८० प्रतिशतमा लक्षण नदेखिने गरेको विज्ञहरूले बताएका छन् । सोमबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपाल र स्वास्थ्य पत्रकार मञ्च नेपालका बीच भएको ‘डेंगी रोकथाम तथा सचेतनामा सञ्चार अन्तरक्रिया कार्यक्रम’मा बोल्नुहुँदै विज्ञहरूले यस्तो बताउनुभएको हो ।
डब्लूएचओ नेपालका उपेक्षित उष्णप्रदेशीय रोग राष्ट्रिय पेसागत अधिकारी डा. शाक्यले धेरैजसो डेंगी संक्रमितमा लक्षण नदेखिने बताउनुभएको हो । उहाँका अनुसार लक्षण नदेखिएका सङ्क्रमित व्यक्तिबाट पनि डेंगी सर्न सक्छ । यसका लागि सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
‘४० देखि ८० प्रतिशत सङ्क्रमितमा लक्षण नदेखिन सक्छ’, उहाँले भन्नुभयो, ‘तर लक्षण नदेखिदैमा सङ्क्रमण सर्दैन भन्ने हुँदैन ।’ उहाँले डेंगी निर्मूल गर्न कठिन हुने भन्नुहुँदै योसँगै जिउन सिक्नुपर्ने बताउनुभयो ।
सुरुवातमा कोरोना भाइरस खतरनाक भएपनि पछि सामान्य हुँदै गएझैँ डेंगी पनि रोकथाम मात्र गर्न सकिने उहाँको धारणा थियो ।
कस्ता लक्षण देखिए अस्पताल जाने ?
डेंगु सङ्क्रमण हुनेबित्तिकै अस्पताल जानु नपर्ने डा. शाक्यले बताउनुभयो । धेरैजसो डेंगी घरमै आराम गरेर निको हुने हुने उहाँको भनाइ थियो । यद्यपि कतिपय अवस्थामा भने अस्पताल लैजानुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार निम्न अवस्थामा सङ्क्रमितलाई अस्पताल लैजानुपर्छ :
– गिजाबाट रगत बगेमा,
– तारन्तार बान्ता भएमा वा बान्तामा रगत देखिएमा,
– छटपटाहत तथा चिडचिडापन भएमा,
– छिटोछिटो स्वास भएमा वा थारै हिँड्दा पनि स्वाँस्वाँ भएमा,
– एक्कासी सहन नसक्ने गरी पेट दुखेमा ।
डेंगी नियन्त्रण गर्न ‘फग’ उत्तम उपाय होइन
डेंगी नियन्त्रणका लागि धुवाँ (फग) लगाउनु उत्तम उपाय नभएको डब्लूएचओ नेपालका जिव विशेषज्ञ शिशिर पन्तले बताउनुभयो । फग लगाउनु अन्तिम उपाय रहेकाले डेंगी नियन्त्रणको सबभन्दा राम्रो उपाय सरफाई गर्नु रहेको उहाँको भनाइ छ । फग लगाउँदा अन्य वातावरणीय असर हुने तथा वयस्क लामखुट्टे मात्र मर्ने भएकाले यो उत्तम उपाय नभएको हो ।





हेल्थपाटी
तपाईँको अभिमत