कोरोनाबारे ट्रम्पको भ्रामक पोस्ट : फेसबुकले हटायो, ट्विटरले लुकायो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस(कोभिड–१९) सँग सम्बन्धित पोस्ट फेसबुकले हटाएको छ । ट्विटरले चेतावनीसहित लुकाएको छ ।
कोरोना संक्रमण देखिएपछि तीन दिन अस्पताल बसेर सोमबार ह्वाइट हाउस फर्किएका ट्रम्पले मंगलबार फेसबुक र ट्विटरमा कोरोना भाइरस अति सामान्य रहेको भन्ने आशयको पोस्ट गरेका थिए । स्टाटसमा ट्रम्पले कोभिड–१९ एक सामान्य फ्लूभन्दा कम घातक रहेको बताएका थिए ।
‘फ्लूको सिजन आइरहेको छ । भ्याक्सिनको उपलब्धताका बाबजुद हरेक वर्ष फ्लूबाट करिब १ लाखको मृत्यु भइरहेको छ’ ट्रम्पले लेखेका थिए, ‘के हामीले देश बन्द गरिरहेका छौँ ?, होइन हामीले यससँगै ज्युन सिकिसकेका छौँ, हो त्यसैगरी हामीले कोभिडसँगै बाच्न पनि सिकिरहेका छौँ ।’
ट्रम्पले कोभिड धेरै जनघनत्व भएको ठाउँमा कम घातक रहेको दावी पनि आफ्नो पोस्टमा गरेका थिए ।
कोभिड–१९ बारे गरिएका अन्य गलत पोस्ट हटाउने नीति अनुसार नै ट्रम्पको स्टाटस पनि हटाएको फेसबुकका सञ्चार नीति प्रबन्धक एन्डी स्टोनले बताएका छन् ।
‘हामीले कोभिड–१९ को गम्भीरताबारे गलत जानकारी हटाइदिन्छौँ, यसलाई पनि हटाइसकेका छौँ’ स्टोनले भनेका छन् ।
ट्रम्पले यही कुरालाई ट्विटरमा पनि पोस्ट गरेका थिए । ट्विटरले कोरोना भाइरसका बारेमा भ्रामक र गलत सूचना प्रवाह गर्ने ट्रम्पको यो सूचना ट्विटरको नियम विपरित भएको जानकारी दिएको छ । चेतावनीसहित त्यो ट्विटलाई लुकाएको छ ।
जानकारी र चासो राख्नेका लागि ट्विट हेर्न भने छुट दिएको छ । ट्रम्पले यसअघि गरेको कोभिडबारेका गतल जानकारीसहितका थुप्रै पोस्ट ट्विटरले हटाइसकेको छ ।
तपाईँको अभिमत