यसकारण झर्छ कपाल, कपालको आयु कति ? (भिडियो)
कपाल धेरै कारणले झर्ने गर्दछ। वंशाणुगत कारण पनि कपाल झर्ने समस्या देखिन्छ। महिला र पुरुषमा कपाल झर्नुको कारण फरक -फरक हुने छाला तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा.इशा पौडेल कोइरालाले बताउनुभयो।
तनाव, विभिन्न रोगको असर र स्याहार नगरेका कारण पनि कपाल झर्ने समस्या देखिने उहाँको भनाइ छ।
महिलामा भिटामिनहरूको कमी, पोषणको कमी, औषधिको प्रयोग, गर्भावस्थामा हुने हर्माेनको कारणले कपाल झर्ने उहाँको भनाइ छ।
डा.इशाका अनुसार स्याहार नगरेका कारण कपाल झर्ने समस्या देखिएको छ भने उपचार गरेपछि कपाल फेरि पहिलाको जस्तै गरी पलाउँछ। कुनै रोगको असरका कारण कपाल झरेको छ भने कपाल पलाउँदैन।
कपाल झर्ने समस्याको उपचार
डा. कोइरालाका अनुसार कपाल झरेको समस्याको उपचार गर्दा सर्वप्रथम के कारणले कपाल झरेको छ त्यो पत्ता लगाउन आवश्यक हुन्छ। कपाल झरेको कारण पत्ता लागेपछि सोहीअनुसार उपचार र औषधिको प्रयोग गर्नुपर्छ ।
कपालको पनि जीवनचक्र हुन्छ, 'डा. इशा भन्नुहुन्छ ‘एउटा रौंको आयु ३ वर्षसम्म हुन्छ। दिनमा सय वटा रौंसम्म झर्नुलाई सामान्य मान्नुपर्छ।'
अनेकथरी केमिकल प्रयोग गर्दा, कलर गर्दा, स्ट्रेट गर्दा पनि कपाल झर्नेतर्फ उहाँले सचेत गराउनुभयो।
कपाल प्रत्यारोपण के हो ?
धेरै कपाल झरेर टाउकोमा एकदम पातलो रुपमा कपाल छ भने त्यो अवस्थामा व्यक्तिको चाहनाअनुसार कपाल प्रत्यारोपण गर्न सकिन्छ।कपाल प्रत्यारोपण सौन्दर्यका लागि गरिने उहाँले बताउनुभयो।
डा. इशाका अनुसार टाउकोको विभिन्न भागमा एन्ड्राजेन रिसिप्टर हुन्छ। रिसिप्टरमा हर्माेनका कारण कपालको जरा सुकाउँदै लैजान्छ। हर्माेनले असर गरेर अगाडिपट्टीको कपालको जरा सुकाउँछ। टाउकाको अगाडिको भागको कपाल झर्छ, पछाडि भागको कपाल त्यति झर्दैैन।
कपाल प्रत्यारोपण टाउकोको अन्य भागमा रहेको कपाललाई उखालेर नभएको भागमा रोप्ने प्रक्रियालाई कपाल प्रत्यारोपण भनिन्छ। त्यसैले टाउकोमा कपाल धेरै खाली भएपछि भन्दा अगाडि नै कपाल रोप्न राम्रो हुने उहाँको सुझाव छ। कपाल प्रत्यारोपण २० वर्षभन्दा माथि उमेरका व्यक्तिले गर्न मिल्ने उहाँ बताउनुहुन्छ।
कपालमा चायाँ किन पर्छ ?
माला सिजिया फरफर भन्ने ढुसीले गर्दा कपालमा चाया पर्छ। अरु कसैको काइयो, हेल्मेट प्रयोग भयो भने पनि चाया पर्छ। सके दिनमा एकपटक नसेके एकदिन बिराएर कपाल सफा गर्नुपर्छ।
कोराटिनले कपाललाई फाइदा गर्छ ?
केराटिन भनेको एक प्रकारको प्रोटिन हो। कपालमै रहेको प्रोटिन हो। केराटिन गर्नु राम्रो हो, केराटिन मात्रै लगाउँदा कपाललाई फाइदाजनक हुन्छ। तर केराटिन आफैँमा हानिकारक होइन। केराटिन गर्दा कपाल स्ट्रेट गर्दा आइरन गर्दा, केमिकलहरू प्रयोग गरिन्छ तर दीर्घकालीन रुपमा त्यसको असरले कपालको र खुइलिने, हाँगा फाटिने, कपाल टुक्रिने जस्ता समस्या देखिन्छन्।
सानैमा कपाल किन फुल्छ ?
अहिले कपाल सेतो हुनु आम समस्या बन्दै गएको छ। उमेर बढ्दै गएपछि मात्र फुल्ने कपाल अहिले कम उमेरमै फुल्न थालेको छ। २० वर्षभ्न्दा कम उमेरका व्यक्तिको कपाल फुल्यो भने असामान्य हो।
अनुहारको सौन्दर्यका लागि कपालको महत्वपूर्ण भूमिका रहेको हुन्छ। सामान्यतया उमेर ढल्किदै गएपछि कपाल फुल्न थाल्छ। कपाल फुल्नुलाई बुढ्यौलीको संकेत पनि मानिन्छ।
तर, आजभोलि कपाल उमेरै नपुगी फुल्न थाल्छ। यस्तो किन हुन्छ ? उमेरै नपुगी कपाल फुल्नुका कारणहरू के-के छन् ? यसबारे हामीले छाला तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा.इशा पौडेल कोइरालासँग कुरा गरेका छौँ।
कपालमा देखिने समस्या, समाधानका विषयमा छाला तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा.इशा पौडेल कोइरालासँग गरिएको कुरानकानी यस भिडियोमा ।
हेल्थपाटी
तपाईँको अभिमत