कोरोनोको ओमिक्रोन भेरियन्ट २४ देशमा, डेल्टाभन्दा कयौँ गुणा संक्रामक
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले फेरि विश्वलाई चिन्तित बनाएको छ । यो भेरियन्ट २३ वटा देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जानकारी दिएको छ । संगठनका प्रमुख टेड्रोस अधानोमले बुधबार मिडिया ब्रिफिङका क्रममा २३ वटा देशमा नयाँ भेरियन्ट देखिएको पुष्टि गर्नुभएको हो । केस बढ्दै जाँदा अन्य देशहरुमा ओमिक्रोन फेला पर्न सक्नेतर्फ उहाँले सचेत गराउनुभयो ।
आज भारतमा पनि २ जनालाई संक्रमण पुष्टि भएको छ । यो सँगै ओमिक्रोन फेला परेको देश २४ पुगेको छ । हालसम्म २४ देशमा २१३ जनालाई ओमीक्रोन भेरियन्ट पुष्टि भएको छ ।
जसमा भारतमा २, अमेरिकामा १, अष्ट्रेलियामा ७, आष्ट्रियामा १, बेल्जियममा १, बोत्सवानामा १९, ब्राजिलमा २, क्यानाडामा ६,चेक रिपव्लिकमा १, डेनमार्कमा ४, फ्रान्समा ९, जर्मनीमा ९, हङकङमा ४, इजरायलमा ४, इटलीमा ९, जापानमा २, नेदरल्याण्डमा १६, नाइजेरियामा ३, नर्वेमा ३, पोर्चुगलमा १३, साउदी अरबमा १, स्प्ेनमा २, दक्षिण अफ्रिकामा ७७, स्वीडेनमा ३ र बेलायतमा २२ केस रहेका छन् ।
पछिल्लो समय अफ्रिकी मुलुकमा पहिलो पटक पाइएको कोरोनाको ओमिक्रोन भेरियन्ट निकै तीव्र रूपमा फैलिन सक्ने बताइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ‘भेरियन्ट अफ कन्सर्न’ का रूपमा घोषणा गरेपछि विश्वका धेरै मुलुकहरूले सावधानी अपनाएका छन् ।
केही दिनअघि मात्र पहिलो पटक पुष्टि भएको ओमिक्रोन हालसम्म दुई दर्जन बढी मुलुकमा देखा परिसकेको छ । यसअघि निकै संक्रामक भनिएको डेल्टा भेरियन्टले विभिन्न मुलुकमा ठूलो असर पारेको थियो । त्यसले नेपालमो पनि दोस्रो लहर ल्याएको थियो । भारतमा पहिलो पटक पुष्टि भएको डेल्टाले लाखौँ मानिसको मृत्यु समेत भइसकेको छ । ओमिक्रोन डेल्टाभन्दा पनि कयौँ गुणा संक्रामक रहेको विज्ञहरूले बताएका छन् ।
अहिले ओमिक्रोनबारे मानिसहरू चिन्तित भएका छन् । फेरि लकडाउनसम्मको कल्पना आम मानिसले गर्न थालेका छन् । के ओमिक्रोन डेल्टा भेरियन्टभन्दा खतरनाक छ त ?
ओमिक्रोन कहाँ कहिले देखा पर्यो ?
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट २४ नोभेम्बर २०२१ म दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको हो । डब्लूएचओका अनुसार परीक्षणका लागि ९ नोभम्बरमा लिइएको नमुनामा ओमिक्रोन पुष्टि भएको थियो । यो पुष्टि भएको एक सातामै विश्वका करिब दुई दर्जन मुलुकमा फैलिसकेको छ । ओमिक्रोन अमेरिकाको क्यालिफोर्नियाका एक व्यक्तिमा पनि पुष्टि भइसकेको छ ।
यसअघि भारतमा भेटिएको डेल्टा भेरियन्ट २०२० को अक्टोबरमा पहिलो पटक पुष्टि भएको थियो । यसले धेरै मुलुकमा कोरोनाको नयाँ लहर निम्त्याएको थियो भने भारतमा ठूलो मानवीय क्षति गरेको थियो ।
ओमिक्रोनमा कति म्यूटेशन ?
ओमिक्रोन भेरियन्टमा डेल्टा भेरियन्ट भन्दा धेरै म्यूटेशन रहेको विज्ञहरूले बताएकाक छन् । यसमा ५० म्यूटेशन भएको बताइएको छ । ३० म्यूटेशन त ‘स्पाइक प्रोटिन’ मै भएको छ । स्पाइक प्रोटिनकै माध्यमबाट मानिसको शरीरमा कोरोना भाइरस प्रवेश गर्ने बताइएको छ । योभन्दा अगाडि डेल्टा भेरियन्टमा १८ म्यूटेशन रहेको थियो । ओमिक्रोनको रिसेप्टर बाइन्डिङ डोमेन पनि १० म्यूटेशन भइसकेको बताइएको छ, जबकी डेल्टाको २ म्यूटेशन भएको थियो ।
के ओमिक्रोनविरुद्ध भाइरस काम लाग्दैन त ?
यस विषयमा हालसम्म कुनै अध्ययन भइसकेको छैन । कतिपय संक्रमितहरू पूर्ण मात्रामा खोप लगाइसकेका रहेकाले यसले खोपको असर कम हुने अनुमान कतिपयले गरिरहेका छन् । यसको स्पाइक प्रोटिनमा ३० म्यूटेशन भएकाले पनि खोपको असर कम पर्न सक्ने कतिपय विज्ञहरूको भनाइ रहेको छ । तर वैज्ञानिक अध्ययन भइनसकेकाले यसै भन्न सकिने अवस्था भने छैन ।
ओमिक्रोन कति खतरनाक ?
ओमिक्रोन भेरियन्टको आर भ्यालू डेल्टाको भन्दा करिब ६ गुणा बढी रहेको बताइएको छ । डेल्टा भेरियन्टको आर भ्यालू ६ देखि ७ रहेको थियो । यसको मतलब हो एक डेल्टा भेरियन्ट संक्रमित व्यक्तिले ६ देखि ७ जनामा सजिलै संक्रमण फैलाउन सक्थ्यो । यसरी हेर्दा ओमिक्रोन संक्रमित एक व्यक्तिले ३५ देखि ४५ जनासम्मलाई संक्रमण सार्न सक्छ । त्यसैले ओमिक्रोनलाई निकै खतरनाक भेरियन्ट मानिएको छ ।
यद्यपि हालसम्म ओमिक्रोनको फैलावट धेरै नभइसकेकाकाले यसको मृत्युदर तथा अस्पताल भर्ना दर कति हुन्छ थाहा भइसकेको छैन । हालसम्म यसबाट संक्रमितको ज्यान गइसकेको छैन । तर डेल्टाभन्दा निकै संक्रामक रहेकाले यसलाई नियन्त्रण गर्न नसके डेल्टा भेरियन्टले पुर्याएको क्षतिभन्दा अधिक क्षति हुन सक्नेप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । डेल्टा भेरियन्टमा १०८ प्रतिशत संक्रमित अस्पताल भर्ना गर्नुपर्ने, २३५ प्रतिशत अस्पताल भर्ना भएकालाई आईसीयूमा राख्नुपर्ने तथा मृत्युदर १३३ प्रतिशत बढेको थियो ।
के लक्षण फरक छ ?
कसैले ओमिक्रोनको लक्षण फरक रहेको बताए पनि यसमा वैज्ञानिक पुष्टि नरहेको डब्लूएचओले जनाएको छ । यसमा पनि डेल्टा भेरियन्टझैँ स्वाद नआउने, गन्ध थाहा नपाउने, ज्वरोलगायतका लक्षण रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत