'मलाई देखेपछि मान्छेहरू कोरोना भाइरस आयो भनेर डराउँथे'
सबैतिर उज्यालो घाम सफा बाटो, छेउछाउमा घर जानेको लर्काे छ । बजारहरु नयाँ चमकका साथ खुलेका छन् । सपिङ गर्नेहरुको घुँइचो देखिन्छ । त्यो भीडलाई देख्दा लाग्छ कोभिड १९ बाट मुक्ति मिलिसकेको छ ।
यसले दुखपछि सुख जस्तै दशैं आएको छ । विगत २ वर्षदेखि दशैंमा विदा नमिलेका सँगै काम गर्ने साथीहरुलाई यसपाली विदा मिलेको छ । टाढाका टाढका साथीहरु आ-आफ्नो गाउँ फर्किसके दशैंका लागि । साथीहरु तपाईको घर नजिक छ अष्टमीका दिन मिलाएर जानुस् है भन्नुहुन्छ ।
म आज घर जाने तयारीमा छु । पोहोर साल पनि म नवमीको दिन बिहान गएको थिएँ । मेरो घर नुवाकोट हो ।
म एकान्तमा ती दिन सम्झन्छु २४ सै घण्टा इर्मेजेन्सीमा महामारीमा काम गर्दा एम्बुलेन्सभित्र कोभिडका सिकिस्त बिरामीलाई राखेर एक ठाउँबाट अर्काे ठाउँमा सार्दा संक्रमण आफूमा सर्छ कि भन्ने डर निकै थियो । सावधानी अपनाउँदा अपनाउँदै आफैलाई संक्रमण भयो।
संक्रमण भएर अस्पताल बस्नुपर्यो । घरमा पीर गर्छन् भनेर ढाँटेर बसियो । अहिले म संक्रमणमुक्त भइसकेको छु । समुदायमा संक्रमितलाई लिन जाँदा कोरोना भाइरस आयो भनेर मानिसहरु भाग्दथे । पीपीई लगाएर जाँदा मानिसहरु डराउँथे । कसैले नचिन्ने गरी स्वास्थ्यकर्मी यस्तो भेषमा जाँदा यसअघि त्यस्तो नदेखेका मानिसहरु डराउनु स्वभाविक पनि थियो । अहिले विगतलाई सम्झँदा अहो !कसरी काम गरिएछ जस्तो लाग्छ । अहिले मानिसहरूले कोरोनालाई सामान्यरुपमा लिन थालिसके ।
कोरोना बिरामीको उपचार गर्छ भनेर मानिसहरू मबाट टाढा-टाढा भाग्थे । महामारीको सुरुवाती समयमा समाजको तिरस्कार, रोगको डरसँगै संक्रमितको उपचार गर्नुपरेको ती दिन पार भएर अहिले दशैं मनाउन पाउँदा भित्रै मनदेखि आनन्द लागिरहेको छ । मन फुरुङ्ग भइरहेको छ । दुर्गा माताले कोभिड सधैंलाई अन्त्य गरिदिउन, खोप समयमै सबैले पाऊन, मास्कबिना निर्धक्क हिँड्न पाइने समय छिट्टै आओस् भनेर प्रार्थना गरिरहेको छु । सबै जनालाई विजया दशमीको शुभकामना ।
(लेखक दिपक पाण्डे पारामेडिक हुनहुन्छ, हाल उहाँ नेपाल मेडिसिटि अस्पताल र एम्वुलेन्स सर्भिसमा कार्यरत हुनहुन्छ । )
हेल्थपाटी
तपाईँको अभिमत