आज ५ प्रदेशका पहाडी भू–भागमा हुनेछ भारी वर्षा
आज सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र ५ प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
तपाईँको अभिमत