प्रत्यारोपण केन्द्रमा एकै महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै महिनामा ३० जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । असार महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण गरिएको हो ।
छोटो समयावधिमा यति सङ्ख्याको प्रत्यारोपण संसारमै विरलै मानिन्छ ।
केन्द्रका कार्यकारी निर्देशकसमेत रहनुभएका प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वको टोलीले सफलतापूर्वक प्रत्यारोपण गरेको हो ।
केन्द्रले आर्थिक वर्ष २०८१/०८२ मा १८६ जनाको मिर्गौला र कलेजो प्रत्यारोपण गरेको थियो । यही आर्थिक वर्षमा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट लिइएको अङ्गहरू दुई व्यक्तिमा एकैपटक केन्द्रमा पहिलोपटक नेपाली चिकित्सक मात्रको टोलीले प्रत्यारोपण गरिएको थियो ।
मिर्गौला प्रत्यारोपित २० देखि ४९ वर्षका धेरै
उमेरअनुसार १४ देखि ७१ वर्षका व्यक्तिहरूमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसमध्ये १५५ जना २० देखि ४९ वर्ष उमेरका रहेको केन्द्रले जनाएको छ ।
त्यस्तै १५ देखि १९ वर्षका ६ जनाले प्रत्यारोपण सेवा पाएका थिए । २० देखि २९ वर्षसम्मका ४७ जना रहेका थिए भने ३० देखि ३९ वर्षका ५८ जना रहेको केन्द्रको तथ्याङ्क छ । ४० देखि ४९ वर्ष उमेरका प्रत्यारोपितहरू ४५ जना, ५० देखि ५९ वर्षका २६ र ६० देखि ६९ वर्षका ३ जना रहेका थिए ।
मिर्गौला ग्रहणकर्ता ७३ प्रतिशत पुरुष
मिर्गौला ग्रहणकर्तामा पुरुषहरूको सङ्ख्या बढी रहेको देखिएको छ । १३६ जना पुरुषले केन्द्रमा एक वर्षभित्र मिर्गौला प्रत्यारोण सेवा पाएका हुन् । ५० जना महिलाको मिर्गौला प्रत्यारोपण भएको छ ।
मिर्गौला दानकर्तामा महिलाको सङ्ख्या बढी रहेको छ । १३० जनाले मिर्गौला दान गर्दा ५५ जना पुरुषले मिर्गौला दान गरेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत