तरकारीमा प्रयोग हुने विषादीले स्वास्थ्यमा प्रतिकूल असर
घुम्ने क्रममा एकदिन साथीको घर पुम्दीमा पुगियो । जुन ठाउँ पोखराको पर्यटकीय गन्तव्यसँगै अर्गानिक खानाको लागि प्रख्यात छ । साथीको घरमा गएर थकाइ मार्यौँ । गाउँको चिसो पानी पिएएर यसो बारीतिर आँखा लगाएको त हरियो सागसब्जीहरु टन्नै देखिए ।त्यसमाथि लोभलाग्दो काक्रो झुण्डिएको देखेर त मन थाम्नै सकिएन ।
साथीकी आमाले छोरीकी साथी भनेर टन्नै काँक्रो, साग र अचार खानका लागि पुदीना टिपेर प्याक गर्दिनुभयो । ह्ड्निे वेलामा भन्नुभयो-त्यो काक्रोसँग पखालेर मात्र खानु, कीरा लाग्छ भनेर त्यसमा कडा खाले विषदी राखेको छ । अनि यसो सोचेँ काँक्राको लोभमा झाडीबाटै टिपेर नपखालीकन खाएको भए के हुन्थ्यो ?
यो बालीमा कीरा लाग्ने डरले मात्र विषादी प्रयोग गरिएको थियो । तर कही कतै समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरुमा देखिन थालेको छ।
किसानले कृषि प्रविधिज्ञको सल्लाह नलिई आफूखुसी विषादीको प्रयोग गर्दा उपभोक्ताको भान्सामा तरकारीसँगै विषादी पनि पाकिरहेको छ।
कास्कीमा छिमेकी जिल्ला पर्वत र तराईका विभिन्न क्षेत्रहरुबाट भित्रिने तरकारी र फलफूलको परीक्षण हुन नसक्दा विषादीसमेत मानिसको पेटमा पुगिरहेको सरोकारवालाहरुले बताएका छन् ।
सरकारका नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा नेपालीहरुको भान्सामा विषादी र तरकारी एकैचोटि पाकिरहेको कृषि वैज्ञानिकहरू बताउँछन्।
गाउँ र तराईबाट बजारमा आउने तरकारीको परीक्षण गरिँदैन। उपभोक्ताको स्वास्थ्यमा यस्ता तरकारीले कस्तो असर गरेको छ, कसैको ध्यान पुगेको छैन। यस्ता तरकारी खुलेआम बेच्न दिँदा जनस्वास्थ्यप्रति खेलबाड भइरहेको उपभोक्ताको गुनासो छ।
तरकारीमा नदेखिने विषको प्रयोग हुने कृषि विशेषज्ञहरुले बताएका छन् । विषादीको दुई किसिमबाट प्रयोग गरिने उनीहरुको भनाइ छ । पहिलो चरणमा बिरुवा रोप्दै गर्दा विषादी हालिन्छ । फल फलिसकेपछि तरकारी छिटो बजारमा पुर्याउन पनि कृषकले विषादी हाल्ने गरेको कृषकहरुले बताएका छन्।
नेपालमा सन् १९५० देखि डिडिटी र पाइरेथ्रम नामका दुई विषादी औलो रोगको रोकथामका लागि लामखुट्टे मार्न भनेर नेपालमा ल्याउन शुरु गरिएको थियो। सरकारी तवरबाट भने सन् १९५६ बाट आयात गर्न शुरु गरिएको अभिलेख छ।
विस्तारै यसको खपत बढ्दै गएपछि कृषि क्षेत्रमा पनि यसको प्रयोगमा व्यापकता आउँदै गएको हो। हाल नेपालमा वार्षिक ७४ करोड ७८ लाख मूल्यका ६ लाख ३५ हजार किलोग्राम विषादी खपत हुने गरेको छ।
नेपालमा पंजीकृत विषादीको सङ्ख्या (व्यापारिक नाम) २ हजार ५७६ रहेको छ भने १३९ सामान्य पंजीकृत कृत विषादी रहेका छन् । सरकारी तथ्याङ्कअनुसार विषादीका १२ हजार ८८७ खुद्रा विक्रेता र ११ हजार ९०८ तालिम प्राप्त बिक्रेता छन् । अनुमतिपत्र लिएका संश्लेषण कर्ताको सङ्ख्या भने जम्मा ५ रहेको छ।
विषादी प्रयोग गरिएका तरकारी, फलफूल तथा खाद्यान्नले दीर्घकालीन असर निम्त्याइरहेका छन् । क्यान्सर, वंशाणुगत परिवर्तन, विकृत बच्चाको जन्म, कलेजो तथा मिर्गौला बिग्रनु, प्रजननमा विकृति, स्नायुसम्बन्धी रोग, एजर्ली, दम, अन्धोपन लगायतका समस्याहरु बढ्दै जानाको पछाडि विषादी प्रयोग गरिएको तरकारी र फलफूलको सेवन नै प्रमुख रहेको छ ।
नेपालमा वर्षेनी रु ३६ करोड ६० मूल्य बराबरको १ लाख ६९ हजार किलोग्राम कीटनाशक विषादी, रु २५ करोड ७० लाख मूल्य बराबरका ३ लाख ४८ हजार किलोग्राम रोगनाशक विषादी, रु ९ करोड ८४ लाख मूल्य बराबरका १ लाख ६ हजार किलोग्राम झारपात नाशक विषादी र रु २ करोड ३६ लाख मूल्य बराबरका १३ हजार २०९ किलोग्राम अन्य विषादी गरी कुल रु ७४ करोड ७८ लाख मूल्य बराबरका ६ लाख ३५ हजार किलोग्राम विषादी खपत हुने गरेको छ।
ज्ञानको अभावमा किसानहरुले कडा भन्दा कडा विषादी तरकारीमा हाल्ने गरेका छन् । विषादीरहित अग्र्या्निक तरकारी खेतीका लागि कृषकहरुलाई जागरुक बनाउनुपर्ने अहिलेको आवश्यकता हो । किसानहरुलाई विषादीरहित तरकारी खेतीका लागि प्रोत्साहन गर्न सरकारले अग्र्या्निक उत्पादनका लागि अनुदान र उपभोक्ताले पनि उचित मूल्य दिन आवश्यक छ । विषादीयुक्त तरकारी खाँदा मानिसलाई विभिन्न किसिमका रोग लाग्ने चिकित्सकहरुले बताएका छन्।
मानिसको वंशाणुगत क्षमतामै असर, गर्भवतीले बढी खाएमा बच्चा अस्वस्थ जन्मिने, लुलो लङ्गडो हुने र क्यान्सरले समेत सताउने चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार तरकारीलाई तीनरचार पटक राम्ररी पखालेर पकाउनुपर्छ।
पर्याप्त जानकारी हुँदाहुँदै पनि बाध्यतावश उपभोक्ताले सेवन गरिरहेका छन् । सरकारले विषादी प्रयोग गर्नेलाई कडा कार्वाहीको कानूनी व्यवस्था नगर्दासम्म यस्तो समस्या रहिरहने उपभोक्ताहरुले बताएका छन्।
उमा आलेमगर
तपाईँको अभिमत