नेपालमा मंकीपक्स आउटब्रेक भए प्रकोपको रुप लिनसक्ने, नियन्त्रणको पूर्वतयारी

हालसम्म विश्वका ८० भदा बढी देशमा मंकीपक्सका २४ हजार बढी बिरामी भेटिएका छन् । दक्षिणपूर्वी एसियामा भारत र थाइल्याण्डमा मंकीपक्स संक्रमण देखिसकेको छ । नेपालमा भने अहिलेसम्म मंकीपक्स रोगको संक्रमण देखिएको छैन । यद्यपी छिमेकी देश भारतमा केस देखिसकेकाले नेपाल पनि यसको जोखिममा रहेको विज्ञहरुले बताएका छन् ।
यसै हप्ता भारतमा मंकीपक्स संक्रमणका कारण पहिलो पटक एक संक्रमितको मृत्यु भइसकेको छ ।मंकीपक्स काटिएको, बिमिरा वा घाउको आलो दाग, आँखा, नाक वा मुख र श्वासनलीबाट भाइरस शरीरमा प्रवेश गर्छ । ज्वरो आउनु,सामान्यतय ज्वरो सुरु भएको १ देखि ३ दिन भित्र छाला, अनुहार, हत्केला र पैतलाबाट डाबर देखा पर्नु, डाबर परिवर्तन भई फोका हुँदै प्रापा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थीहरु बढ्नु मंकीपक्स रोगको लक्षणहरु हुन् ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ र स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कोभिड १९ महामारी तथा मंकीपक्सको वर्तमान अवस्था र तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले मंकीपक्स संक्रमणको जोखिम नेपालमा पनि रहेको बताएका हुन् ।
कार्यक्रममा नेपालस्थित डब्ल्यूएचओको कार्यालयका स्वास्थ्य आपत्काल कार्यक्रम प्रमुख डा.एलिसन गोकोटानोले मंकीपक्स संक्रामक रोग रहेकाले नेपालमा एउटा केसमात्रै आउटब्रेक भए यसले प्रकोपको रुप लिने जोखिम रहेको बताउनुभयो ।
उहाँले मंकीपक्स मानिसबाट मानिस, जनावरबाट मानिसमा सर्न सक्ने भन्दै यो रोगका शंकास्पद व्यक्तिहरु आइसोलेसनमा बस्नपर्ने बताउनुभयो ।
इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा.खगेश्वर गेलालले मंकीपक्स संक्रमण नियन्त्रणका लागि प्रतिकार्य गतिविधि सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
उहाँले प्रतिकार्य गतिविधि अन्तर्गत मंकीपक्सको केस अनुसन्धान गर्न देशभरी १४ जना फोकल डाक्टर तोकिएको बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंकीपक्स परीक्षण गर्ने किट उपलव्ध भइसक्नुका साथै नमुना ढुवानी र परीक्षण गर्ने व्यवस्था भएको उहाँले जानकारी दिनुभयो । भारतमा मंकीपक्सको केस देखिएपछि त्रिभुवन विमानस्थलमा निगरानी बढाएको उहाँको भनाइ छ ।
नेपालमा हालसम्म मंकीपक्सका ४ शंकास्पद बिरामी देखि परीक्षण गरिएको थियो । तर उनीहरुलाई मंकीपक्स नभएको पुष्टि भयो । कार्यक्रममा डब्ल्यूएचओ नेपालका प्रमुख डा.राजेश संभाजीराव पाण्डेले नेपालमा अहिलेसम्म मंकीपक्स संक्रमण नदेखिए पनि यसलाई नजिकबाट नियाल्दै पूर्वतयारीको काम थालिएको बताउनुभयो ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा मंकीपक्सका लागि फोकल पर्सन वा विषय विज्ञहरु नियुक्त गरिएको तथा संक्रमणको शैली, सर्ने तरिका, लक्षणहरु, जटिलता, प्रोगशालामा परीक्षण तथा निदानम्बिन्धी रणनीतिबारे अभिमुखीकरणहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
यसैगरी डब्ल्यूएचओले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई मंकीपक्स निदानका लागि किटहरु हस्तान्तरण गरेकाले नेपाललाई देशभित्रै मंकीपक्स संक्रमण पत्ता लगाउन सक्षम बनाएकोमा खुशी व्यक्त गर्नुभयो । सही रिपोर्टिङलेनै अफवाह र गलत जानकारीहरुलाई चिर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले रोगको पहिचान, रोकथाम र नियन्त्रणमा सही जानकारी र स्वास्थ्य सल्लाह प्रदान गर्न पत्रकारको मुख्य भुमिका हुने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालमा अध्यक्ष रामप्रसाद न्यौपानेले पत्रकारहरु आपतकालिन र प्रकोपको समयमा सधै अग्रपंक्तिमा रहेर जनतालाई सुसुचित गराइरहेको बताउनुभयो । यसैगरी क्लिनकल स्पेसलिष्ट डा.शितल अधिकारीले संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा मंकीपक्स सर्नसक्ने बताउनुभयो । उहाँले संक्रमित व्यक्तिको घाउ खटिरा बिमिरा थुक, र्यालको सम्पर्कबाट मंकीपक्स फैलने भन्दै सचेत गराउनुभयो ।
यस्तै भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्क, संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट यो भाइरस सर्ने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपालस्थित डब्ल्यूएचओको कार्यालयमा कार्यरत मेडिकल अफिसर डा.बिनोद बुराले नेपालमा ७० प्रतिशत लक्षित जनसंख्याले कोरोना विरुद्धको खोप पाइसकेको र अब बुस्टर डोजतर्फ ध्यान दिनपर्ने बताउनुभयो । उहाँले विश्वव्यापी रुपमै केही सातादेखि कोरोना संक्रमण बढिरहेकाले संक्रमणबाट जोगिन बुस्टर डोज लगाउने तर्फ सचेतना फैलाउनपर्ने आवश्यक देखिएको बताउनुभयो ।
नेपालस्थित डब्ल्यूएचओको कार्यालयमा आवद्ध हेल्थ इमरजेन्सी इन्टरभेन्सन अफिसर प्रतीक्षा आचार्यले अफ्रिकाबाहेक सबै क्षेत्रमा संक्रमण बढिरहेको बताउनुभयो । नेपालस्थित डब्ल्यूएचओको कार्यालयमा आवद्ध एन्टीमाइक्रोयिबल रेसिस्टेन्स एण्ड ल्याब्रोटोरी नेशनल प्रोफेसनल अफिसर पल्लपसा तुलाधार कंसाकारले कोरोना भाइरस व्यापक रुपमा फैलदैं जाने क्रममा नयाँ र खतरनाक भेरियन्टहरु देखा परिहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गर्नुभयो ।
तपाईँको अभिमत