मस्तिष्क मृत्युबाट प्राप्त कलेजो र मिर्गौला एकै व्यक्तिमा नेपाली चिकित्सकबाटै सफलतापूर्वक प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएको डोनरबाट एउटै बिरामीमा मिर्गौला र कलेजो प्रत्यारोपण गरेर ऐतिहासिक सफलता हासिल गरेको छ। यो नेपालमा पहिलो पटक एकै व्यक्तिबाट दुई वटा महत्त्वपूर्ण अङ्ग (मिर्गौला र कलेजो) लिएर प्रत्यारोपण गरिएको हो ।
मिर्गौला र कलेजो दुवै निष्क्रिय भएका एक पुरुषलाई यी दुवै अङ्ग एकैसाथ प्रत्यारोपण गरिएको छ भने अर्का ४२ वर्षीय महिलामा मिर्गौला प्रत्यारोपण गरिएको छ । यसअघि नेपालमा यस्तो जटिल प्रत्यारोपण विदेशी विशेषज्ञको सहयोगमा मात्र सम्भव थियो, तर यसपटक नेपाली चिकित्सक टोलीले नै यो जटिल प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।
नौ दिनअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वको टोलीले यस्तो सफलता हात पारेको हो । डा. श्रेष्ठले यो प्रत्यारोपण नेपाली चिकित्सकहरूको टोलीले नै गरेको बताउँदै यसलाई ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । प्रत्यारोपण गरिएका दुवै बिरामीको चाँडै डिस्चार्ज गरिने उहाँले जानकारी दिनुभयो ।
प्रत्यारोपणमा कलेजोतर्फ डा. रोशन घिमिरे र डा. प्रविण महर्जनले साथ दिनुभएको डा. श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँका अनुसार मिर्गौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रुपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारीले सहयोग गर्नुभएको थियो । त्यस्तै प्रत्यारोपण टोलीमा डा. विकास खड्कालगायत हुनुहुन्थ्यो । त्यस्तै नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्यलगायत संलग्न हुनुहुन्थ्यो ।
यस प्रत्यारोपणका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारक्रममा रहनुभएका १८ वर्षीय युवक (धादिङ निवासी) को अङ्ग प्रयोग गरिएको हो। उहाँ सवारी दुर्घटनामा परी गम्भीर घाइते भएपछि मस्तिष्क मृत्युको भएको घोषणा गरिएको थियो । उहाँका परिवारले अङ्गदान गर्न सहमति जनाएपछि उहाँको कलेजो र मिर्गौला प्रत्यारोपणका लागि निकालिएको थियो।
यो नेपालमा ब्रेनडेथ डोनरबाट गरिएको चौथो कलेजो प्रत्यारोपण हो भने मिर्गौला प्रत्यारोपण गरिएका बिरामीको संख्या १२ पुगेको छ। डा. श्रेष्ठले भन्नुभयो, 'मस्तिष्क मृत्यु भएका डोनरबाट अङ्ग प्रत्यारोपण नेपालमा बढ्दै गएको छ। यसले गर्दा धेरै ज्यान बच्न सक्ने सम्भावना छ।'


तपाईँको अभिमत