फोक्सोको क्यान्सरका यस्ता छन् सुरुवाती लक्षण
क्यान्सरलाई एक खतरनाक रोगहरूमध्ये लिइन्छ । समयमा पहिचान हुन नसक्दा यसबाट मुक्त हुन कठिन छ । क्यान्सरमध्ये फोक्सोको क्यान्सर एक जटिल क्यान्सर हो । बर्षेनी क्यान्सरका कारण मृत्यु हुनेमध्ये १९ प्रतिशत यसैबाट मृत्यु हुने गरेको तथ्यांक छ ।
क्यान्सर समयमै पहिचान गर्न सके सही उपचार अवलम्बनबाट खतरामुक्त हुन सकिन्छ । फोक्सोको क्यान्सरबाट बच्ने उत्तम उपाय पनि समयमै यसको पहिचान हो । यसका केही सुरुवाती लक्षण यहाँ प्रस्तुत गरिएको छ ।
लामो समयसम्म लगातार खोकी
खोकी चिसो तथा फ्लूले गर्दा पनि लाग्न सक्छ । तर यी दुवै अवस्थामा खोकी बढीमा एक साता वा दस दिनभित्र निको हुन्छ । फोक्सोको क्यान्सर भए लामो समसम्म लगातार खोकी लाग्छ । कुनै कारणबिना नै लगातार वर्षदिन सम्म पनि खोकी लाग्नसक्छ ।
सास फेर्न गाह्रो हुने
फोक्सोको क्यान्सर भएमा श्वास लिन गाह्रो हुने हुन्छ । क्यान्सरयुक्त कोषहरू फोक्सोमा तीव्र गतिमा फैलिएमा यिनले श्वास लिने नली साँघुरो हुन्छ । यसले आवश्यक मात्रामा अक्सिजन प्राप्त गर्न कठिन हुन्छ । त्यस्तै क्यान्सरका कोषहरू बढ्दै गएमा थोरै उकालो चढ्दा पनि सास फेर्न निकै मुस्किल हुने र रोकिए जस्तो हुनेगर्छ ।
आवाजमा परिवर्तन
फोक्सोको क्यान्सर भएका व्यक्तिमा आवजमा परिवर्तन पनि हुनसक्छ । क्यान्सरका कोषहरूका कारण आवाजमा कर्कशता आउन सक्छ । यस्तो महसुस भएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ ।
शरीर दुख्ने
शरीरको दुखाइ हामी बेलाबेला महसुस गरिरहेका हुन्छौँ । तर यसले दैनिक कार्यमा असर पर्न थालेपछि मात्र अलि गम्भीर हुन्छौँ । शरीर दुखाइ धेरै शारीरिक व्यायाम, एउटै आसनमा लामो समयसम्म बस्ने लगायतका कारण हुने गर्छ । फोक्सो क्यान्सर भएमा छाती, काँध तथा ढाड दुख्ने समस्या देखिन्छ । यसो भएमा विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्छ ।
अप्रत्याशित तौल घट्ने
अप्रत्याशित रूपमा तौल घटेमा त्यो फोक्सोको कारण हुनसक्ने विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार धेरै छोटो समयमा चार किलोग्राम भन्दा माथि वजन घटेमा त्यो फोक्सोको क्यान्सर पनि हुनसक्छ । कुनै पनि किसिमका क्यान्सर कोषहरूले खानाबाट प्राप्त हुने ऊर्जा खपत गर्ने भएकाले शरीरको वजनमा परिवर्तन आउन सक्छ । बिना कारण वजन घटेमा यसलाई बेवास्ता गर्न हुँदैन ।
तपाईँको अभिमत