बी एन्ड बी अस्पतालमा कृत्रिम हातखुट्टा जडान केन्द्र स्थापना, स्वदेशमै सस्तो सेवा पाइने दाबी
बी एन्ड बी अस्पतालमा कृत्रिम हातखुट्टा जडान केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । अस्पतालका अनुसार नेपालमै पहिलो कृत्रिम हातखुट्टा जडान केन्द्र स्थापना गरिएको हो ।
नेपालमै जडान केन्द्र स्थापना भएपछि कृत्रिम हात वा खुट्टा जडान गर्नुपर्ने सेवाग्राहीले सस्तोमै सेवा पाउने भएको अस्पतालले जनाएको छ । यसका लागि विदेशमा २५ देखि ३० हजार डलरसम्म खर्च लाग्ने गरेकोमा अब धेरै सस्तोमा सेवा पाइने अस्पतालको भनाइ छ ।
‘एकेबी लिम्ब फिटिङ सेन्टर’ नाम दिइएको केन्द्रले कृत्रिम हातखुट्टा मात्र जडान नगरी अपाङ्गता भएका व्यक्तिको आत्मसम्मान र आशा जगाउने काम गर्ने डा. विवेक बास्कोटाले बताउनुभयो ।
‘केवल कृत्रिम अंग जडान गर्ने केन्द्र मात्र नभई अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान, गतिशीलता र आशा पुनःस्थापना गर्ने उद्देश्यले स्थापना गरिएको हो’, उहाँले भन्नुभयो ।
यसैगरी उहाँले बी एन्ड बीमा स्थापित केन्द्र अर्थोपेडिक तथा कृत्रिम हातखुट्टाका लागि रिफरल केन्द्र हुने विश्वास व्यक्त गर्नुभयो ।
कृत्रिम हातखुट्टा जडानपछि जीवनयापन धेरै सहज हुने चिकित्सकहरूको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत