भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु, एकैदिन दुई जनाको प्रत्यारोपण
नेपालगञ्जस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ । मंगलबार (हिजो) दुई जना पुरुषको मिर्गौला प्रत्यारोपण गरेर सेवा सुरुवात गरिएको अस्पताल प्रमुख डा. निराजन सुवेदीले जानकारी दिनुभयो ।
दुवै जना पुरुषलाई आफ्ना श्रीमतीले मिर्गौला दान गरेपछि प्रत्यारोपण गरिएको हो । ‘एक जना बर्दियाको हुनुहुन्छ । यहीँ डायलासिस गराइरहनुभएको थियो । अर्को व्यक्ति चाहिँ पूर्वको हुनुहुन्छ’, डा. सुवेदीले भन्नुभयो, ‘दुवैलाई श्रीमतीले मिर्गौला दिनुभएको छ । एक जना ४० वर्ष श्रीमान्लाई ४० वर्षकै श्रीमतीले दिनुभएको छ, अर्को ३७ वर्षको श्रीमान्लाई २६ वर्षीय श्रीमतीले दिनुभएको छ ।’ हाल सबैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
मिर्गौला प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोली भेरी अस्पताल पुग्नुभएको थियो । अस्पतालका यूरोलोजी विशेषज्ञ डा. दिपेश गुप्ता, एनेस्थेसिया डा. पारस पाण्डे, नेफ्रोलोजीतर्फ डा. शौरभ हमाल, यूरोलोजीका डा. अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा. पारस श्रेष्ठलगायतको टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो ।
डा. सुवेदीले लुम्बिनी प्रदेशमै पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको भन्नुहुँदै अस्पतालको क्षमता बढाउँदै लगेपछि मिर्गौला प्रत्यारोपण गर्न टाढा जानुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । उहाँका अनुसार अब महिनामा कम्तिमा एक जनाको मिर्गौला प्रत्यारोपण हुने र अस्पतालको जनशक्ति बढाउँदै लगिने छ ।
अस्पतालमा हाल दैनिक २० देखि २५ जना मिर्गौलाका बिरामीले डायलासिस गर्दै आएका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत