पहिला ममी व्यस्त पछि म व्यस्त, खासै सँगै बस्नै पाइएन
९० सालको भुइँचालो जाँदा आफू ६ महिनाको रहेको डा. विमला जोशी सुनाउनुहुन्थ्यो । त्यो हिसाब गर्दा अहिले डा.विमला ९० वर्ष पुगिसक्नुभयो ।
उहाँका बुबा नगल(इन्द्रचोक भन्दा भित्र) का राजभण्डारी हुनुहुन्थ्यो। नगलमै विमला जन्मनुभएको हो।
उहाँ जन्मिए, हुर्किएको समयमा देशमा लेखपढ गर्ने पुरुषहरू समेत निकै कम थिए । महिलाले पढ्ने, डाक्टर बन्ने कुरा चानचुने थिएन ।
राणाकाल हुँदै, प्रजातन्त्र, पञ्चायत, बहुदलकाल, गणतान्त्रिक व्यवस्थासम्म गुजार्नुभएकी डा.जाेशी इतिहासको एक पुस्तक नै हुनुहुन्छ।
अहिलेका पुस्ताका लागि उहाँसँग चाखलाग्दा अनुभव, भोगाइ कति थिए कति ? तर केही वर्षदेखि डा. जाेशीकाे स्मरण क्षमतामा कमी आएकाे छ । एकाध कुरा बाहेक केही याद छैन उहाँलाई।
अहिलेका पुस्ताका लागि उहाँसँग चाखलाग्दा अनुभव, भोगाइ कति थिए कति ? तर केही वर्षदेखि डा. जाेशीकाे स्मरण क्षमतामा कमी आएकाे छ । एकाध कुरा बाहेक केही याद छैन उहाँलाई।
छोरी प्राडा.पलेस्वाँ जोशी लाखेले आमा डा.विमलाका बारेमा आफूलाई थाहा भएका केही कुरा कनीकुथी सुनाउनुभयाे ।
तुलसी मेहर श्रेष्ठले विमलासहित ५–६ जनालाई पढ्नका लागि भारतको वार्धास्थित गान्धी आश्रम लिएर जानुभएको थियो । विमलाले छोरी डा. पलेस्वाँलाई सुनाएअनुसार त्यो टिममा एक जना भद्रकुमारी घले पनि हुनुहुन्थ्यो।
वार्धाबाट छुट्टिमा फर्किएर आउँदा यहाँ बहिनीहरूले अंग्रेजी पढेको देखेपछि विमलालाई यहीँ बसेर अंग्रेजी पढ्न मन भयो । उहाँ वार्धा फर्किन मान्नुभएन । यति कुरा भने डा. जाेशी (विमला)लाई सम्झना छ । गान्धी आश्रममा हिन्दीमा मात्रै पढाइ हुन्थ्यो।
नेपालमै बसेर पद्मकन्या स्कुल पढ्नुभयो । अंग्रेजीको ट्युुसन पढ्नुभयो । एसएसली पास गरेपछि उहाँ आइएसी पढ्न कलकत्ता जानुभयो । नेपालमा आइएसी पढाइ हुँदैनथ्यो । त्यसपछि उहाँले कोलकत्ताकै निलरतन सरकार मेडिकल कलेजबाट एमबीबीएस पास गर्नुभयो।
त्यो बेला पनि पढ्न पाउने, डाक्टर बन्न पाउने विमला निकै 'लक्की' हुनुुहन्थ्यो । सेनामा कर्णेल रहनुभएका दाजुको निकै ठूलो हौसला रहेको विमलाले छोरी पलेस्वाँलाई बेलाबेला सुनाउनुहुन्थ्यो। बहिनी क्षमतावान् र मेहनती देखेर उहाँले विमलालाई डाक्टर पढ्ने बाटो देखाउनुभएको थियो।
त्यसपछि डा.विमला नेपाल फर्कनुभयो । नेपाल फर्किएर सुरुमा महोत्तरीको जलेश्वर अस्पतालमा काम गरेको भनेर आमाले सुनाउनुभएको जस्तो लाग्छ छोरी पलेस्वाँलाई ।
सरकारले डा. विमलालाई एमआरसिओजी(गाइनोलोजीमा स्नातकोत्तर) पढ्न बेलायत पठाएको थियो । तर के कारण हो कुन्नी उहाँले त्यहाँ डिआरसिओजी (गाइनोलोजीमा डिप्लोमा) मात्रै गरेर फर्कनुभयो।
डा.पलेस्वाँले थाहा पाउने हुँदा डा.विमला बुटवलको लुम्बिनी अस्पतालमा काम गर्नुहुन्थ्यो । उहाँ त्यहाँ मेसु समेत हुनुभयो। पलेस्वाँ १ कक्षा देखि ६ कक्षा हुँदासम्म त्यहीँ हुनुहुन्थ्यो । त्यसपछि वीरगन्जको नारायणी अञ्चल अस्पताल सरुवा हुनुभयो।
डा.पलेस्वाँले कक्षा ६ मा पढ्दादेखि आइएसी पढ्दासम्म डा.विमला नारायणी अस्पतालमै हुनुहुन्थ्यो । त्यहाँ पनि मेसुसम्मको जिम्मेवारी पाउनुभएको थियो ।

डा.विमलाकै अगुवाइमा नारायणी अस्पतालसँगै श्री ५ ऐश्वर्या प्रसूति गृह स्थापना गरिएको थियो । त्यो बेला राजा वीरेन्द्र र रानी ऐश्वर्या गएर प्रसूति गृह उद्घाटन गर्नुभएको थियो।
वीरगन्जमा डा.विमलाको पहिचान निकै ठूलो थियो । वीरगन्जबासीले निकै सम्मान गर्थे ।
१० वर्षको उमेर नहुँदै 'छोरीको बिहे गर्न बित्यो' बन्ने बेला थियो त्यो । तर डा.विमलाको बिहे ३५ वर्षको उमेरमा धनकुटाका भरतराज जोशीसँग भयो ।
भरतराज त्यो समय कम्युनिष्ट पार्टीसँग नजिक रहेर पञ्चायत विरोधी अयिभानमा सामेल हुुनुहुन्थ्यो । पञ्चायती सत्ताले त्यो सुइँको पाइसकेको थियो । त्यही कुराले गर्दा पञ्चायती सरकारले डा.विमलालाई किनारामा पारिरह्यो । त्यो बेलाको स्त्रीरोग विशेषज्ञ डा.विमलाले अनुभव र दक्षताका आधारमा काठमाडौंको प्रसूतिगृहमा काम गर्ने अवसर नपाउने कुरै हुँदैनथ्यो । तर कम्युनिष्टकी श्रीमती भन्ने थाहा पाएको पञ्चायती सरकारले काठमाडौंमा आउने अवसर नै दिएन ।
यसै कारणले पनि विमला सधैँ बाहिरको बाहिरै रहनुभयो। विमलाले छारीहरूलाई सुनाएअनुसार पञ्चायती समर्थकले कयौँ पटक थर्काउने, धम्क्याउने समेत गर्थे । पनि तर उहाँ निकै निडर रहेको छोरी डा.पलेस्वाँ बताउनुहुन्छ।
‘हामीलाई थाहा भएअनुसार उहाँ कसैसँग नडराउने नझुक्ने खालको हुुनुहुन्थ्यो' छोरी पलेस्वाँ भन्नुहुन्छ, ‘म राजासँग पनि डराउँदिन प्रधानमन्त्रीसँग पनि डराउँदिन भन्नुहुन्थ्यो।'
त्यो बेला डाक्टरको छोराछोरी भन्दा निकै सान हुन्थ्यो । डा.पलेस्वाँलाई सम्झना भएअनुसार उहाँको परिवार ओमबहालमा डेरामा बस्थ्यो। डा.विमला परिवारमा एक मात्रै कमाउने व्यक्ति हुनुहुन्थ्यो । विमलाको जागिरमा असर पर्ला भनेरै भरतराज पनि कुनै पार्टीमा खुलेर लाग्नुभएन ।
पछि उहाँलाई काठमाडौं सुरुवा त गरियो तर प्रसूति सेवा नै नभएको वीर अस्पतालमा । उहाँको अनुभव र दक्षताका आधारमा प्रसूतिगृहको प्रमुख भएर जानुपर्ने हो तर पठाइएन।
उहाँको अनुभव र दक्षताका आधारमा प्रसूतिगृहको प्रमुख भएर जानुपर्ने हो तर पठाइएन।
आफूलाई किनारा लगाएर सीपअनुसार अभ्यास गर्न नदिएको कुरामा विमलाले सधैँ गुनासो गरिरहनुुहन्थ्यो।
क्षमता ज्ञान हुँदाहुँदै पनि, काम गर्ने ठाउँ हुँदाहुदै पनि लामो समय बाहिरको बाहिरै राखेर परिवारसँग बस्न नदिएको, क्षमतालाई थप परिस्कृत हुन नदिएको कुराले उहाँको मन दुखेको थियो।
बुहारी सलिनाका अनुसार अवकास भइसकेपछि पनि २०६६-०६७ सालसम्म विमला चिकित्सा पेशामै सक्रिय हुनुहुन्थ्यो ।
आमासँग रहर पुग्ने गरी सँगै बस्ने अवसर नै नपाएको डा.पलेस्वाँ सुनाउहुन्छ । थाहा हुँदादेखि नै जागिर बाहिरै । स्कुलको अलि लामो छुट्टी भए केही दिन गएर आमासँग बस्न पाइन्थ्यो।
डा.पलेस्वाँ ४ कक्षादेखि नै होस्टेलमा बसेर पढ्नुभयो । आइएसी पढ्दा पनि होस्टलमै बस्नुभयो। डा.विमला सरुवा भएर काठमाडौं आउँदा डा.पलेस्वाँ एमबीबीएस पढ्न पाकिस्तानको लाहोर पुगिसक्नुभएको थियो।
एमबीबीएस सकेर आउँदा डा.विमला जागिरबाट अवकास भइसक्नुभएको थियो । तर डा.पलेस्वाँ आफ्नो करिअर बनाउन व्यस्त हुनुपर्यो । त्यसपछि आमालाई दिने समय उहाँसँग भएन ।
अहिले पनि डा.पलेस्वाँलाई आमासँग भेटिरहने, धेरैसमय सँगै बस्ने फुर्सद हुँदैन । त्रिवि शिक्षण अस्पतालको सर्जिकल ग्यास्ट्रोलोजी विभागकी प्रमुख डा.पलेस्वाँलाई जहिले दौडधूप छ।
उहाँ आमा विमलालाई एक महेनती, अनुशासित र कुरा मिलाएर भन्न नजान्ने व्यक्तिका रुपमा अर्थ्याउनुहुन्छ ।
‘काम आफैँ गर्नुपर्छ, महिलाहरू आर्मनिर्भर बन्नुपर्छ भन्नुहुन्थ्यो । आत्मनिर्भर भयो भने शोषण हुँदैन भन्ने उहाँको धारणा थियो । अनुशासित, मेहनती हुनुहुन्थ्यो । जे मनमा लाग्यो फ्याट्टै भनिहाल्ने स्वभाव थियो। मिलाएर बोल्न जान्नुुहुन्थ्यो' डा.पलेस्वाँ आमा विमलाको बारेमा सुनाउनुहुन्छ।
पलेस्वाँले पाकिस्तानको छात्रवृत्तिमा डाक्टर पढ्न नाम निकाल्नुभयो । छोरीलाई लाहोर पुर्याउन आउनुभएकी डा.विमलाले लाहोर जाने अघिल्लो दिन पलेस्वाँलाई नजाउ, डाक्टर नपढ भन्नुभयो ।
‘मैयाँ मैले त डाक्टर बनेर धेरै दुखः पाएँ तिमी डाक्टर नपढ यही बसेर माइक्रोबायोलोजी पढ भन्नुभयो’ पलेस्वाँ सुनाउनुहुन्छ, ‘मलाई पाकिस्तानमा पुर्याउन चाहीँ जानुभयो।’
एमबीबीस पास गरेपछि मेडिकल अफिसरको रुपमा शिक्षण अस्पतालमा काम गर्न जाँदा, नर्सिङ भएर जाँदा नर्सिङ स्टाफ भनेको सफलतामा साथ दिने मुख्य सहयोगी हुन् । कुनैपनि कुरा गर्न टिम चाहिन्छ उनीहरूलाई हातमा लिनु भन्ने कुरा विमलाले छोरीलाई सिकाउनु हुन्थ्यो।
डा.पलेस्वाँले शिक्षण अस्पतालमा काम गर्दागर्दै त्यही एमएस पढ्ने अवसर पाउनुभयो । त्यहीँ सर्जनका रुपमा काम गर्न थाल्नुभयो। त्यो बेला नेपालमा जनरल सर्जरी पढ्ने कोही महिला थिएन । सर्जरीमा पुरुष मात्रै हुन्थे।
मैले अप्रेसन गरेर आएँ भनेर छोरीले सुनाउँदा विमलाले विश्वास नै गर्नुहुन्नथ्यो। ‘मैले आज एपेन्डिक्सको अप्रेसन गरेर आएँ ममी भनेर सुनाउँथे होइन होला भन्नुहुन्थ्यो’ डा.पलेस्वाँ भन्नुहुन्छ।
आमा विमलाले त्यो समयमा डाक्टर बनेर गरेको योगदान सम्झिँदा, उति बेलाकी डाक्टर आमाकी छोरी भनेर सुनाउन, चिनाउन पाउँदा निकै गर्व महसुस हुने डा.पलेस्वाँ बताउनुहुन्छ ।
उहाँकाे नजरमा आमा विमला एक निडर, सक्षम, कसैलाई विभेद नगर्ने, आत्मनिर्भर बन्नुपर्छ भन्ने साेचकी महिला हुन् । आमाकाे यही गुणले डा. पलेस्वाँ जाेशीलाई पनि सघर्षसँगै अघि बढ्नुपर्छ भन्ने प्रेरणा मिल्याे अनि त्याे प्रेरणाले आफ्नाे लक्ष्यमा सफल पनि हुनुभयाे ।
उहाँकाे नजरमा आमा विमला एक निडर, सक्षम, कसैलाई विभेद नगर्ने, आत्मनिर्भर बन्नुपर्छ भन्ने साेचकी महिला हुन् । आमाकाे यही गुणले डा. पलेस्वाँ जाेशीलाई पनि सघर्षसँगै अघि बढ्नुपर्छ भन्ने प्रेरणा मिल्याे अनि त्याे प्रेरणाले आफ्नाे लक्ष्यमा सफल पनि हुनुभयाे ।
डा.विमला पनि जेठी छोरी डा.पलेस्वाँको सफलतामा निकै गर्व महसुस गर्नुहुन्थ्यो । अरु कुरा नसम्झिए पनि छोरी पलेस्वाँको नाम लिने वित्तिकै अहिले पनि निकै खुसी हुने बुहारी सलिना सुनाउनुहुन्छ।
तुलसा घिमिरे
तपाईँको अभिमत