माघे संक्रान्तिका विशेष परिकार : पोषणका लागि कति उपयोगी ?
मकर संक्रान्ति, माघे संक्रान्ति, माघी आदि नामले परिचित यस दिनदेखि सूर्यले आफ्नो स्थान फेर्दछ। यस दिनबाट सूर्य उत्तरायणमा रहन्छ। त्यसैले यस दिनबाट न्यानो मौसम सुरु हुने तथ्य चन्द्रमा केन्द्रित पात्रोलाई अपनाउनेहरू मान्दछन्।
यो दिनलाई थारु समुदायले माघी पर्वको रुपमा मनाउँछन्। यो अवसरमा चामलको पीठोको रोटी ढिकुर खाने चलन छ। माघे संक्रान्तिको दिन बिहानै नदी, तलाउ, ढुंगेधारा जस्ता पवित्र स्थानमा नुहाउने गरिन्छ।
यो दिन सफा र स्वच्छ भएर उसिनेको तरुल, पालुङ्गो साग, फुरौला, ध्यू,चाकु, अचार, तिलको लड्डु तथा मांशहारी समाजमा मासुको परिकारसमेत खाइन्छ। यस दिन कालो मास पड्काएको तेल आगोमा होमेर घरका मान्यजन महिला आमा हुनेले आमाको हातबाट आशीर्वाद स्वरुप तेल लगाउने चलन पनि छ। तालुमा मनतातो तेल लगाउँदा चिसो लाग्दैन।
माघीको दिन उसिनेको तरुल, पालुङ्गो, साग, फुरौला, ध्यूचाकु, अचार, तिलको लड्डुले शरीर न्यानो पार्नुका साथै ऊर्जा र पोेषण प्रदान गर्छ।
तिलको लड्डु
आयुर्वेदले तिललाई शरीरमा पित्त (उष्मा तथा रगत) बढाउने मानेको छ ।यसलाई दहीजस्तै स्तम्भक (स्रोतहरूलाई बन्द गर्ने) मानेको छ । यसको स्थान आन्द्राको पित्त संवाहक स्थान मानिन्छ । फलस्वरूप यो शरीरमा लामो समयसम्म रहिरहन्छ । चाकु आइरनको प्राकृतिक स्रोत हो, जसले शरीरमा पोषण, उष्मा प्रदान गर्दछ । चाकु तिलसँग मिसाएपछि चाकुको उष्णता शरीरमा लामो समयसम्म रहिरहन्छ, जसले गर्दा चिसो लाग्न पाउँदैन र चिसो लागेका व्यक्तिलाई उष्णता प्रदान गर्दछ । साथै, चिसो बढ्न र फैलनबाट बचाउँछ।
तिलमा phytoestrogen हुने हुँदा यो महिलाका लागि विशेष हितकारी हुन्छ । यसले महिनावारीमा हुने अनियमितता तथा त्यससँग सम्बन्धित पेट दुख्न कम गर्दछ । आयुर्वेदमा महिला रोगमा तिलको लड्डु लाभदायी हुने उल्लेख छ ।
तिलमा क्याल्सियम पाइन्छ । यसले प्राकृतिक रूपमा पुरुष र महिलामा पोषण दिन्छ र हाडलाई मजबूत पार्दछ । मल बाँध्ने भएकाले पातलो दिसा हुनेहरूलाई यसको सेवन उपयोगी हुन्छ । तिलको लड्डुमा तिल र चाकुको सम्मिश्रणले दुवैको समष्टि गुण पाइन्छ । तर, उच्च रक्तचाप भएका व्यक्तिले खाँदा मात्रा सीमित गर्नुपर्दछ ।
तरुल, गिठ्ठा, भ्याकुर
तरुल, गिठ्ठा र भ्याकुरलाई 'गरीबले खाने पोषिलो खाना' भनिएको छ। माघे सङ्क्रान्तिको दिन तरुल उसिनेर खाने प्रचलन छ। अघिल्लो दिन तरुल उसिनेर माघे सङ्क्रान्तिको दिन घ्यू वा तेलमा भुटेर अथवा बोक्रा ताछेर त्यत्तिकै खाने गरिन्छ।
तरुल काँचोमा चिल्लो (ऱ्याल्ल परेको) हुन्छ। उसिनेपछि सुक्खा हुन्छ। अतः उसिन्दा यसको विषाक्तता र केही पोषक गुणसमेत हराउँछ।
तरुल पोषणले परिपूर्ण हुन्छ। यसमा खनिज तत्व धेरै हुन्छ। तरुल र सख्खरखण्डमा प्राकृतिक रूपमा इष्ट्रोजन प्रोजेस्ट्रोन पाइन्छ। अहिले विदेशमा तरुल र सख्खरखण्डको धेरै माग छ। यिनैबाट कतिपय प्रजनन हर्मोन औषधिहरू बन्छन्।
विशेषगरी महिलाका लागि यो लाभदायक छ। शरीरमा धेरै समय रहने हुँदा यो मधुमेहका रोगीले पनि खान हुने खाना हो।
यसमा घुलनशील रेसा र खनिज धेरै हुन्छ। यद्यपी, यसको पाचनमा समय लाग्छ। अतः मधुमेह, आन्द्रा र महिलाको महिनावारीको समस्यामा यसको प्रयोग गरिन्छ। ज्येष्ठ नागरिकका लागि तरुल पोषिलो खाना हो।
आजभोलि पश्चिमी मुलुकका प्रौढ महिलाले तरुलबाट बनेको Cream लगाउने चलन बढेको छ। विभिन्न अनुसन्धानका अनुसार यसमा पाइने प्रोजेस्ट्रोन (Progesterone) हर्मोन र इस्ट्रोजन हर्मोनले महिनावारी रोकिएपछि हुने विभिन्न यौन तथा स्वास्थ्य समस्या कम गर्दछ। एन्ड्रोजन हर्मोनसमेत पाइने यो शक्तिवर्द्धक खाना हो।
तरुलको उपभोग वैदिक कालदेखि नै हुँदै आएको देखिन्छ। विभिन्न देशहरूमा यसलाई आदिवासीहरूले विशेष रूपमा खाने गर्दछन्। हाम्रो देशमा पनि चेपाङ समुदायहरू मुख्यतया यही खाएर जीवनयापन गर्दछन्। भियतनाममा युद्धताका त्यहाँका क्रान्तिकारीहरू यही खाएर बाँचेका थिए।
आयुर्वेद सिद्धान्तले तरुललाई शरीरमा गर्मी उत्पन्न गर्ने खाद्य मानेको छ। स्वादका दृष्टिले यो मिठव हुन्छ भने सजिलै पाचन हुने यसको विशेषता हो। यसको सेवनले शरीरलाई कोमल र छालालाई नरम पार्दछ। साथै, वायुलाई साम्य पार्छ। जाडो महिनामा चिसोको कारण वायु बढ्ने हुँदा छाला फुट्ने, फुस्रो र सुक्खा हुने गर्दछ। त्यसैले, शरीरमा स्नेह दिने, नरम गर्ने र उष्मा दिने खाना खानु आवश्यक छ।
तरुलमा माड (Starch) चिनी केही मात्रामा पाइन्छ। फलफूलमा पाइने चिनी सुक्रोज (Sucrose) बढी पाइन्छ। साथै, डायोसबुलबिन (Diasbulbin) भन्ने टर्रो पदार्थ, भिटामिन बी, सी, आयोडिन र सेपोनिन पाइन्छ। आयोडिनको कारण गलगाँड जस्ता समस्यामा यसको प्रयोग राम्रो मानिन्छ। यसले गर्भाशय (पाठेघर)बाट रक्तश्राव रोक्न सहयोग गर्दछ।
गर्भरोधक प्रयोजनमा पनि डायसोजेनिन उपयोगी हुने विभिन्न तथ्य र अनुसन्धानले देखाएको छ। तरुलमा पाइने एण्टीअक्सिडेण्ट, स्टेरोइड, हर्मोन आदिले घाउखटिरामा सङ्क्रमण हुनबाट बचाउँछ। यीबाहेक यसमा हुने अल्कालाइड, ग्लाइकोसाइड, कर्टिकोस्टेरोइड तथा इसेन्सियल आयलले स्वास्थ्यमा कुनै न कुनै रूपमा सकारात्मक र औषधीय लाभ पुयाउँछ।
यसमा फाइटोस्टेरोल र स्टार्च प्रशस्त मात्रामा पाइन्छ। यस्तै, भिटामिन सी, खरानी, भिटामिन बी, बिटा केरोटिन, क्याल्सियम, क्रोमिएम, कोबाल्ट, फलाम, म्याग्नेसियम, मेगनिज, नियासिन, पोटासियम, फोस्फोरस, प्रोटिन, सेलिनियम, सिलिकन, जिङ्क आदि खनिज, लवण र पोषक तत्वले शरीरलाई स्वस्थ राख्न सघाउँछ। चाडपर्वको अवसरमा यो गुणकारी खाद्यवस्तुलाई गाउँ, शहर सबै ठाउँका मानिसले खाएर लाभान्वित हुन्छन्। त्यसैले, नेपाली जीवनशैलीको यस्तो संस्कार तथा चाडलाई रुढीवादी र अवैज्ञानिक कदापि भन्न सकिन्न।
घ्यू
नेपालीहरूको भान्सामा घ्यूको धेरै प्रयोग हुने गर्दछ। अध्ययन-अनुसन्धानबाट समेत घ्यूको चिल्लोले हृदयाघात नहुने प्रमाणित भइसकेको छ। हिन्दू समाज तथा भारतवर्ष (Sub indian continent)मा घ्यू अति पौष्टिक खाद्य तथा पूजाको सामग्रीको रूपमा समेत प्रयोग हुने गर्दछ।
घ्यूलाई आयुर्वेद विद्यामा सर्वश्रेष्ठ स्नेह (fat) मानिएको छ। पश्चिमी देशहरूमा भएका अनुसन्धानले अहिले आएर घ्यूलाई Best butter भनेको छ। आयुर्वेदमा घ्यू गुलियो, टर्रो र नुनिलो स्वाद भएको, पाचन प्रणालीलाई सुदृढ बनाउने, अग्नि (Digestion) बढाउने खाना भनिएको छ। गाईको घ्यू धार्मिक कार्यहरूमा विशेष पवित्र मानिन्छ। Food for brain तथा Food for neuropsychogenic •condition नामक पुस्तक तथा चलचित्रहरूमा मस्तिष्कका लागि घ्य प्रयोग गरिनुपर्ने उल्लेख छ। अतः पश्चिमी मुलुकमा यसको आकर्षण बढ्दो छ।
आयुर्वेदमा घ्यूलाई मेधा अर्थात् बुद्धि, स्मृति (सम्झना शक्ति, धी धृति, स्मृति) पाचन शक्ति, छालाको वर्ण र चमक बढाउने, नरम बनाउने र मोटोपन घटाउने खाना मानिन्छ। यसले पित्तशमन गर्ने, जलेको पोलेकोमा शीतलता दिने र निको पार्ने गर्दछ। हालैका अनुसन्धानबाट यसले नराम्रो कोलेस्टेरोल घटाउने, उच्च रक्तचाप नियन्त्रण गर्ने नतिजा आएको छ।
साथै, यसले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ। यसमा सेच्युरेटेड फ्याट (Saturated fat, monounsaturated fat तथा polyunsaturated fat) तथा केही मात्रामा राम्रो कोलेस्टेरोल (good cholesterol) पाइन्छ।
घ्यू दूधबाट बन्छ। तर, दूध पचाउन नसक्ने (Lactose Intoleranace) व्यक्तिले पनि यसलाई पचाउन सक्दछ। यसमा भिटामिन (Vitamin) ए, डी, ई, र के पाउने हुँदा हाड, मस्तिष्कलाई विशेष पोषण प्रदान गर्दछ। साथै, आन्द्रामा रहेको खाद्य रेसाहरूलाई ब्युटिरिक एसिड (Butyric acid)मा परिणत गर्दछ। फलस्वरूप आन्द्रामा हुने हितैषी जीवाणु (Friendly bacteria)को मात्रा बढेर पाचन शक्ति बलियो बन्दछ।
टाइम्स अफ इन्डियाले पित्तथैली र कलेजोमा पाइने पाचन शक्तिलाई बढाएर यसले राम्रो (HDL) कोलेस्टेरोलको मात्रा बढाउने उल्लेख गरेको छ। घ्यूले धेरै तापक्रम (250p c/482pf) थेग्न सक्छ। अतः यसमा तारेको खाना स्वास्थ्यकर हुन्छ। तिनले क्यान्सर पैदा गर्ने free radical हरू उत्पन्न गर्दैनन्। यसैगरी शरीर, आन्द्रामा रहेको मललाई नरम पारेर शरीरबाट बाहिर निकाल्न सघाउँछ।
यसो हुँदा कब्जियत (Constipation)को समस्या हुन पाउँदैन। घाँस खुवाएको गाईको घ्यूमा क्यान्सर (Cancer) रोगबाट लड्ने क्षमता हुन्छ। साथै, ग्रहणी (IBS) रोगमा राम्रो काम गर्दछ। यसमा पाइने A2 vita, lactoalumin, arginin ले कम्प, छारेरोग तथा मस्तिष्कजन्य मानसिक समस्याबाट बचाउँदछ। आजभोलि यसको हितकारी गुणका कारण यसलाई नरिवल तेलसँग तुलना गरिएको छ। वास्तवमा यो नरिवलको तेलभन्दा पनि गुणिलो छ। नरिवलको तेलमा पाइने ओमेगा तत्वले हाल नरिवल चर्चामा भएको हो।
२०१४ को Huffington post क्यानडाले घ्यूमा दूधको मात्रा न्यूनतम पाइने र त्यसमा पाइने प्रोटिन न्यून हुने भएकाले दूध पचाउन नसक्ने (lactore intolerance) व्यक्तिलाई पनि पाच्य हुने लेखेको छ। यसैगरी पोलेको, सुन्निएको र पीडामा यसको प्रयोग लाभदायी छ।
यसमा पाइने लिनोलेनिक एसिड (linolenic acid) र ब्युटाइरिक (Butyric acid) एसिडले क्यान्सर रोग, विशेषगरी स्तन क्यान्सर ((Breast cancer)सँग लड्ने क्षमता बढाउँछ परिश्रमको थकाइ वा लामो समयसम्म पैदल हिँडेर छाला (Blister)मा फोका उठ्दा वा आँखाको समस्यामा पानीले सफा गरी पाइतालामा घ्यू मालिस गर्दा विशेष लाभ र स्फूर्ति दिन्छ। आँखालाई पनि आराम दिन्छ। घरमा गाजल बनाउँदा घ्यू, कपुर आदि राखेमा आँखालाई शीतल, सफा र तेजिलो बनाउँछ।
चाकु
चाकु सख्खरलाई उमालेर थिचेर बनाइने पोषणयुक्त खाद्य हो। नेपाली समाजमा जाडो याममा चाकु खाने प्रचलन छ। सुत्केरीलाई पनि चाकु र घ्यू खुवाउने चलन छ। मकर सङ्क्रान्तिलाई घ्यूचाकू सङ्क्रान्ति पनि भनिन्छ। यस दिनमा नेपालका अधिकांश हिन्दूहरूको घरमा घ्यूचाकु खाइन्छ। चाकु निकै पोषिलो हुन्छ र शरीरमा ऊर्जा र उष्मा प्रदान गर्दछ।
चाकु विशेष शक्ति प्रदायक मिठाई हो। यसले शरीरमा बल दिन्छ। यसलाई Bitter tonic पनि भनिन्छ। यसमा म्याग्नेसियम, क्याल्सियम, फलाम र ओलिगोसेकेहाराइड (Oligosacaharide) नामक गुलियो चिनी पाइन्छ, जसले हाडलाई बलिया बनाउँछ। रगतमा रक्तकण (हेमोग्लोबिन) बढाउने र चिनी कमयुक्त गुलियो हुने भएकाले मधुमेहमा पनि यसको सेवन उपयुक्त मानिन्छ। रक्तअल्पता (Anaemia)मा समेत यसले लाभ पुऱ्याउँछ। जाडो याममा यसको सेवन बढी गरिन्छ। तिलको लड्डु र योमरी पनि यसैको साथ बनाइन्छ। यसको लेसिलोपन प्राकृतिक रूपमा जोड्ने तत्व (Binding agent) मानिन्छ। यसमा प्रशस्त फलाम तत्व पाइन्छ। त्यसैले, शरीरबाट रगत धेरै बगेर रक्तअल्पता हुँदा वा अन्य कारणले रगतको कमी भएमा चाकु लाभदायक हुन्छ।
चाकू गमीकारक हुन्छ। फलामको मात्रा बढी पाइने हुँदा यसको बढी प्रयोगले कब्जियत (Constipation)को सम्भावना हुन्छ। त्यसैले, यसलाई घ्यूसँग खाइन्छ। घ्यू र चाकु मकै-भटमासझै एकअर्काको पूरक खाना पनि हो। पहिले गाउँघरमा घ्यू नकिनेरै पनि खान पाइन्थ्यो। तर, आजभोलि घ्यू महँगो खानामा दर्जिएको छ। प्रसवको समयमा शरीरबाट धेरै रगत बग्ने हुँदा चाकु र यसको परिकार बनाएर खुवाउने चलन छ।
आयुर्वेद चिकित्सक डा.सरिता श्रेष्ठद्वारा लिखित स्वास्थ्यमा नेपाली सांस्कृतिक आहारको प्रभाव किताबबाट साभार ।
हेल्थपाटी
तपाईँको अभिमत