'रिजल्ट आएपछि सपना पो होकि लाग्यो, दिनभर आफैँलाई चिमोटिरहेँ'
सपना पूरा गर्नका लागि प्रयास गर्नुपर्छ। अधिकांशले प्रयास गर्छन् पनि। प्रयासहरू सफल हुँदैनन्। अझै भनौ चानचुने प्रयासले एकाधबाहेकको सपना पूरा हुँदैन।
सपना पूरा हुनु र नहुनुमा सपनाप्रति हामीमा कति लगाब छ र त्यसका पछाडि कति दौडिन्छौँ भन्ने कुराले निर्धारण गर्छ।
अन्य परिस्थिति पनि यसमा कारक हुन्छन्।
तर सबै बाधालाई पन्छाएर कोही पागल भएर सपनाका पछाडि लाग्छ भने त्यो मान्छे 'मुक्तिनाथ दाहाल' बन्छ ।
जसका अगाडि असफलता नै थाकेर हार खायो। निराशाहरू निरन्तर पछि लागिरहे तर उसलाई गलाउन सकेनन्।
एउटै परीक्षामा ४०औँ पटक असफल हुँदा पनि हार खाएन, विकल्प खोजेन, मात्रै फेरि दिइरह्यो, फेरि दिइरह्यो डेढ दशकसम्म। एकदिन सफलता पाइन्छ भन्ने विश्वासका साथ।
२०७९ चैत १ गते साँच्चै उसले मिठो स्वाद पायो। जुन स्वादको लागि वर्षौँ भोकै दौडिएको थियो। हो ! ऊ एमबीबीएस प्रवेश परीक्षामा सफल भयो । छात्रवृत्तिमा डाक्टर पढ्ने वर्षौँदेखिको सपना पूरा भयो ।
धुम्बाराही जोर कुवामा रहेछ मुक्तिको डेरा । हामीलाई सडकसम्म लिन आउनुभएका मुक्ति सडक पेटीमा उभिनुभएको थियो । उहाँका अगाडि पुगेर हामी रोकिनेविक्तिकै खिस्स हाँस्दै प्रश्न गर्नुभयो -‘मलाई यो बुढेसकालमा के आइलाग्यो यार ?’
कुराकानी गर्दै गल्लीभित्र छिरेर उहाँको डेरा भएको घरको छतमा पुगियो अनि सुरु बल्ल सुरुभयो कथा ।
बुबाको मजदुरीसँगै काठमाडौँ
मोरङका मुक्तिनाथ दाहाललाई गार्मेन्टमा मजदुरी गर्ने बुबाले सानैमा काठमाडौं लिएर आउनुभयो । मुक्तिलाई थाहा हुँदा उहाँको परिवार हाँडीगाउँमा बस्थ्यो।
करिब २५ वर्ष त्यही ठाउँमा एउटा कोटामा उहाँको परिवारले गुजार गर्यो।
मुक्क्तिको स्कुले पढाइ नक्सालको टंगाल मावि र नन्दी माविबाट भयो । एसएसली नन्दी माविबाट पास गर्नुभयो।
पहिले औषत विद्यार्थीको रुपमा रहनुभएका मुक्ति ९ कक्षाबाट १० कक्षामा जाँदा पहिलो हुनुभयो। त्यसपछि आफू पनि अब्बल विद्यार्थी रहेको महसुुस भयो उहाँलाई।
२०५९ चैतमा एसएलसी दिनुभभो। २०६० को असारतिर नतिजा आयो। मुक्ति ‘फर्स्ट डिभिजन’ मा पास हुनुभयो । त्यो समय ‘फर्स्ट डिभिजन’ आउनु निकै राम्रो मानिन्थ्यो । ‘फर्स्ट डिभिजन’ मा पास हुनेले प्रायगरी विज्ञान विषय पढ्ने ट्रेण्ड थियो।
त्यही ट्रेण्ड समातेर मुक्ति अमृत साइन्स क्याम्पसमा आइएसीमा भर्ना हुनुभयो।
सरकारी स्कुलमा ८ विषयमा जम्मा एउटा विषय अंग्रेजी पढे पुग्थ्यो। यहाँ त सबै विषय अंग्रेजीमा पढ्नु पर्ने । पढ्न नसकेर, केही नबुझेर हैरान भयो।
तर हरेस नखाइकन धेरै मेहनत गर्नुभयो । आइएसीमा निकै राम्रो नतिजा आयो । आइएसीमा राम्रो नतिजा आएपछि डाक्टर पढ्ने ट्रेण्ड थियो।
डाक्टर पढ्न त्यति सलिजो कहाँ हुन्छ र ? त्यो पनि पैसा तिरेर डाक्टर पढाउने हैसियत उहाँको परिवारको थिएन छात्रवृत्तिमा नाम निकालेर पढ्न ठूलो प्रतिस्पर्धा थियो र अहिले पनि छ।
प्रवेश परीक्षा दिन ठूलै तयारी चाहियो । त्यसका लागि कक्षा लिनुपर्थ्यो । इन्स्टिच्युटमा पढ्ने खर्च जुटाउन पनि मुस्किल थियो। आफूसँगै आइएसी गरेका अरू साथीहरू न्यु प्लाजाको नेम इन्स्टिच्युटमा गएर पढिरहेका थिए । मुक्ति पनि त्यहाँ जानुभयो।
निशुल्क पढ्न पाइन्छ कि भनेर।
मुक्तिले आफ्नो पारिवारिक समस्या र आफ्नो सपना नेमका डाइरेक्टर नवीन शर्मालाई सुनाएपछि नि:शुल्क तयारी कक्षा लिने अवसर मिल्यो।
अब एमबीबीएस प्रवेश परीक्षा दिनसक्छु भन्ने आत्मविश्वास आउनै २ वर्ष लाग्यो।
आइएसी पास भएको २ वर्षपछि २०६५–६६ सालतिरबाट एमबीबीएसका लागि प्रेवश परीक्षा दिन थाल्नुभएका मुक्तिको त्यो क्रम बल्ल अहिले सार्थक भयो।
बीचमा बिचलित पनि बनायो
पहिला एमबीबीएस पढ्न शिक्षा मन्त्रालय, चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट छात्रवृत्ति पाइन्थ्यो।
तीनवटैमा लगातर प्रवेश परीक्षा दिनुभयो । उहाँको मुख्य लक्ष्य आइओएममा नाम निकाल्ने थियो । शिक्षा मन्त्रालय र धरानको परीक्षा दिँदा चाँही खासै तयारी नगरीकन दिएको उहाँ सुनाउनुहुन्छ।
धरानको एक–दुई वर्ष छुटाए पनि आइओएम र मन्त्रालयका सबै परीक्षा दिनुभयो । आइओएम, मन्त्रालय र धरानको गरी उहाँले ४० पटक भन्दा बढी प्रवेश परीक्षा दिनुभयो।
'सबै पढेको छ । सबै थाहा छ । तर परीक्षा हलमा छिरेपछि कहाँ के चिप्लिन्छ थाहै हुँदैन। १–२ नम्बरले नाम निस्किदैनथ्यो' मुक्ति भन्नुहुन्छ, 'मेरो पनि पालो आउँछ भन्दै दिइरहेँ, कुरिरहेँ।'
गरिब परिवार, अरु विकल्प पनि खासै देखिएन । अभिभावकबाट यो गर् त्यो नगर् भनेर कुनै दवाव भएन । तर विस्तारै उमेर घर्किँदै थियो । जिम्मेवारी बढ्दै थिए । परिस्थितिले दवाव बनाइरह्यो । होम ट्युसन पढाएर केही आय-आर्जन गर्न थाल्नुभयो ।
४-५ वर्षमा पनि छात्रवृत्तिमा नाम निकाल्न नसकेपछि बीचमा केही समय मुक्तिलाई बिचलित केही बिचलित । त्यो बेला नेम इन्स्टिच्युटका डाइरेक्टर शर्मासहित अरुले पनि भरोसा दिए।
'बीचमा अलिकति विचलित भएँ । अब डाक्टर पढ्ने सपना छाडेर अरु क्षेत्रमा लागौँ भन्ने सोच पनि आयो । हैन यसैमा धेरै दुःख,संघर्ष गरेर, भावनामा फसेर मानसिक रुपमा उठाउँदै अगाडि बढेको हुनाले आशक्ति यति भएछ कि यसलाई कसैगरी पनि छोड्नै सकिएन' मुक्ति सुनाउनुहुन्छ।
आफूसँगै पढेका साथीभाइले धेरै उपलब्धl हासिल गरिसकेका थिए । आफू जहाँको त्यहीँ । आँखा अगाडि उमेर गइरहेको देख्दा बेलाबेला मनलाई सम्हाल्नै कठिन हुन्थ्यो।
'धेरैले प्रेरणा दिए । यसमा नवीन सर(नेमका डाइरेक्टर) को पनि ठूलो भरोसा थियो। उमेरले केही फरक पार्दैन । लक्ष्य ठूलो कुरा हो भनेर सम्झाए' मुक्ति भन्नुहुन्छु, 'यसमा कन्भिन्स भइरहेँ । लक्ष्यमा टिकिरहेँ।'
२०७२ को भूकम्पको ठिक १ दिनअगाडि उहाँको बिहे भयो । 'एमबीबीएस पढ्ने कुरा पो रोकियो त जिन्दगीका अरु कुरा त किन रोक्नु भन्ने ठानेर बिहे गरेँ' मुक्ति भन्नुहुन्छ।
अहिले उहाँकाे साढे ३ वर्षको छोरा छ।
नतिजा आएको दिन खुसी लागेन
चिकित्सा शिक्षा आयोग बनेर २०७७ देखि एकीकृत प्रवेश परीक्षा हुनथाल्यो । पहिलो परीक्षामा म्याटमा राम्रो तयारी थिएन । नाम निस्किएन । दोस्रोमा राम्रो गर्नुभएको थियो । तर नेगेटिभ मार्किङले गर्दा कम नम्बर आएको उहाँको अनुमान छ।
आयोगले एकीकृत प्रवेश परीक्षा लिएको तेस्रो पटकमा उहाँ सफल हुनुभयो।
चैत १ गते राति प्रवेश परीक्षाको नतिजा आयो । २ गते बिहान मुक्तिले थाहा पाउनुभयो। ३२३ नम्बरमा नाम थियो ।
मुक्तिलाई विश्वासै लागेन । दिनभरि खुसीको अनुभव नै भएन सधैँ नतिजा आउँदा छात्रवृत्तिमा आफ्नो नाम निस्किदैन भन्ने परिसकेको थियो। यसपाली पनि पर्दैन भन्ने नै लागेको थियो।
'रिजल्ट आयो हेदैँ जाँदा आफ्नो नाम ३२३ र्याङ्कमा देखेँ' मुक्ति सुनाउनुहुन्छ, '४३० सम्मको कोटा छात्रवृत्ति हो । यो भनेको धेरै राम्रो वरियताक्रम हो। सामान्य अवस्थामै पनि पाउने हो । त्यसमाथि सरकारी स्कुल पढ्नेको आरक्षण कोटा हुन्छ ।'
मुक्तिले आफूमाथि वरियातामा रहेकोको सरकारी स्कुल हेर्दै जानुभयो । खसआर्यमा परिएको निष्कर्ष निकाल्नुभयो।
पहिलेको असफलताले गर्दा नतिजाले उहाँलाई तत्काल खुसी दिन सकेन ।
'अचानक खुसी हुन सकिएन । दिनभरिजस्तो पत्यार नै लागेन । सपनामा यसरी नाम निस्किएको धेरै पटक देखेको थिएँ। यो पनि सपना नै होकि जस्तो लागिरह्यो' मुक्ति सुनाउनुहुन्छ, 'दिनभर कयौँ पटक आफैँले आफूलाई चिमोटिरहेँ । म सुतेको छुकि, कतै ब्यूझि पो हाल्ने होकि जस्तो लागिरह्यो ।'
त्यो दिनभरी उहाँलाई कुनै उमंग भएन । भोलि, पर्सिपल्टदेखि विस्तारै उमंग आउँदै गयो । अनि ढुक्क हुँदै गयो साँच्चै म सफल भएँछु।
सफलतासँगै नयाँ चुनौती
मुक्तिलाई निकै ढिलो गरी सफलता त मिल्यो तर अनेकौँ चुनौती सामुन्ने उभिएका छन् । 'उतिबेला नाम निस्किनु र अहिले निस्कनुमा व्यवहारिक पक्ष निकै फरक छ' मुक्ति भन्नुहुन्छ ।
बच्चा हुर्किँदै छ । स्कुल भर्खर सुरु गर्दैछ ।
'जीवनको सबैभन्दा सक्रिय उमेर यसकै पर्खाइमा बिताएँ । अरु कुनै विकल्पमा प्रयास पनि गरिएन । अब कसरी अघि बढ्ने योजना बनेको छैन' उहाँ भन्नुहुन्छ।
छात्रवृत्तिमा पढ्ने भनेपनि पढाइमा अनेक खर्च हुन्छन् । त्यसको जोहो कसरी गर्ने त्यो चिन्ता छ अहिले मुक्तिलाई। 'होस्टल बस्नु परे होस्टलको फी होला, किताब कापीका कुरा हुन्छ । अप्ठेरो नमानी भन्नुपर्दा त्यही जुटाउन पनि कठिन अवस्था छ' उहाँ भन्नुहुन्छ।
अहिले पनि एक दुई ठाउँ होम ट्युसन पढाइरहनुभएको छ। पढ्न सुरु गरेपछि त्यो सम्भव हुँदैन।
भन्न त मुक्तिले भन्नुभयो–भर्खर १२ पास गरेको विद्यार्थी र म म मा कुनै फरक छैन । उस्तै सोच र जोस छ । 'त्यो उहाँको भावना हो, उत्साह हो । तर वास्तविकतामा त फरक छ नि' मुक्ति भन्नुहुन्छ।
१२ पास गरेको विद्यार्थीलाई जस्तो पढाइ मात्रै सबै मानेर त्यसमै केन्द्रीत हुने अवस्था कहाँ छर ? परिवार छ । सानो छोरा छ । बुबाआमा हुनुहुन्छ । धेरै जिम्मेवारी उहाँको काँधमा छ ।
छात्रवृत्तिमा नाम ननिकाली नमर्ने प्रण
भावनामा फसेर आफू यति लामाे समय एउटै सपनाको पछाडि दौडिएको मुक्ति बताउनुहुन्छ । अहिले सोच्न थाल्नुभएको छ । यत्ति धेरै परीक्षा कसरी दिँए होला।
'यत्रो पटक जाँच दिँदा मैले कसरी हिम्मत हारिन। मैले सबै परीक्षामा उत्तिकै बल लगाएको थिएँ। उत्तिकै मेहनत गरेको थिएँ । यतिधेरै पटक असफल हुँदा फेरि अर्काे परीक्षाको तयारीका लागि उत्तिकै जाँगर ल्याउन कठिन नै हुन्छ' मुक्ति भन्नुहुन्छ ।'
असफल हुँदा दुख: मान्ने, तनाव लिन गर्न छोडिसक्नुभएको थियो मुक्तिले।
'नाम ननिस्किएपछि घरमा आएर हास्थेँ । होइन किन निस्किएन मेरो ? तयारी पनि राम्रो हो । किताब पल्टाउँदा सबै आउँछ। अभ्यास परीक्षा दिँदा निकै राम्रो स्कोर आउँछ । यहाँ चाँही भयो के?'
यसको चित्तबुझ्दो जवाफ नपाउँदा नपाउँदै डेढ दशक बित्यो ।
मेरो पालो नआएको होला भन्दै मुक्तिले चित्त बुझाइरहनुभयो । छात्रवृत्तिमा नाम ननिकाली मर्दिन भन्ने उहाँको प्रण थियो । अहिले पूरा भयो।
मुक्तिले पहिलो पटक एमबीबीएसका लागि प्रवेश परीक्षा दिँदा भर्खर जन्मिएका धेरै भाइबहिनीहरू अहिले मुक्तिका प्रतिस्पर्धी थिए ।
कतिले उहाँलाई टपे, कति पछि परे।
छिट्टै हतास नहुन र राम्रो तयारी गरेर निरन्तर प्रयास गर्न उहाँको सुझाव छ । मेहनत गरे पालो अवश्य आउने भएकाले त्यसका लागि पर्खनु पर्ने मुक्ति बताउनुहुन्छ।
मुक्तिको टिप्स छ 'सुरुमा आफूले नाम निकाल्न सक्छु कि सक्दिन आफैँले आफैँलाई मूल्यांकन गर्नुहोस्। सबैलाई नाम निकाल्न मन हुन्छ। सबै म नाम निकाल्छु भनेर आएको हुन्छन् । त्यो मै हुनुपर्छ भन्ने छैन। एकदिन आफ्नो पालो अवस्थ आउँछ । मात्र महेनत गर्न र कुर्न छोड्नु भएन। आत्तिनु हुँदैन ।'
खोजेको स्वाद मिल्यो
लामो समयको पर्खाइमा भएपनि आफूले स्वाद भएको अर्थमा मुक्तिले यसलाई बुझ्नुभएको छ। बीचैमा हरेक खाएर बाटो नबदलेकोको गर्व लागेको छ।
'म एउटा स्वादको प्रतीक्षामा थिएँ। निराश भएर बीचैमा छाडेर अन्त लागेको भए मैले चाहेको वास्तविक स्वाद लिने अवसर जिन्दगीभर पाउँदिन थिएँ' मुक्ति भन्नुहुन्छ, 'धेरै ढिलो भयो तर मैले यही जिन्दगीमा आफूले खोजेको वास्तविक स्वाद चाख्न पाएँ । यसैमा खुसी छु ।'
मुक्तिसँग डाक्टर बनेर यो गर्छु वा यसरी अगाडि बढ्छु भन्ने कुनै लक्ष्य छैन । पढ्दै जाँदा थाहा होला भन्ने लागेको छ।
'जसरी म अचाकन ९ बाट म १० मा जाँदा अचानक फर्स्ट भएँ । त्यसपछि साइन्स पढ्ने भनेर निर्णय लिएँ । साइन्समा राम्रो गरेँ । अब डाक्टर पढ्नु पर्नेरहेछ भनेर त्यसमा बल गरेँ । अब पढाइमा कस्तो गर्छु त्यही अनुसार अघि बढ्ने सोच छ' मुक्ति योजना सुनाउनुहुन्छ, 'हिड्दै जाँदा अगाडिको बाटो आफैँ बन्दै जानेरहेछ ।'
अरु विकल्प सोच्दा तनाव
धेरै फटक असफल हुँदा मुक्तिले अरु विकल्पबारे सोच्नुभयो । तर त्यो लामो समय मनमा टिकेन। बीएससीमा भर्ना भएर एमएसी गरेर राम्रो कलेजमा पढाउने वा अमेरिका जान प्रयास गर्ने पो होकि ? भन्ने सोच आयो । सीए(चार्टर अकाउन्ट) पढ्ने पनि सोच आयो । तर त्यता लाग्नै सक्नुभएन ।
'दिनभरी यस्ता विकल्पबारे योजना बनाउँथे । राति सुतेपछि तनाव भइहाल्थ्यो । सोच्दै गयो । फेरि अरु योजना क्यान्सिल हुन्थ्यो ।' उहाँ भन्नुहुन्छ .
मुक्तिको एमबीबीएस पढ्ने सपनालाई अरु कुनै विकल्पले विस्थापित गर्नै सकेन ।
'गरिबी र अभावका बीच एसएलसी र आइएसी गर्दैगर्दा देखेको सपनालाई कसैगरी मार्न सकिँन । खासमा त्यो बेलाको 'म' लाई अहिलेको 'म' ले सम्बोधन गरेको मात्रै हो' मुक्तिको निष्कर्ष छ।
समय खेर गएको भनेर खासै पीर छैन उहाँलाई । 'समय खेर गयो भन्ने त लाग्छ तर यो बीचको पूरै जिन्दगी खेर गयो भन्ने पनि होइन । यो बीचमा पनि म बाँचेकै हो। खाएकै हो । जिन्दगी भोगेकै हो। मैले आफ्नो लक्ष्य छोडिन त्यति मात्रै । आफ्नो पालगपनलाई निको बनाएँ इगोलाई जितेँ । आफ्नो नजरमा उठ्नु नै ठूलो कुरा हो ।'
जसरी पनि डाक्टर पढ्ने भन्दा पनि छात्रवृत्तिमा डाक्टर पढ्ने भूत आफूमा सवार भएको मुक्ति सुनाउनुहुन्छ।
'एक हिसाबले भन्नुपर्दा छात्रवृत्तिको भूत चढेको थियो। म पूर्णरुपमा तयार छु । म मेहनती हो । म गर्न सक्छु भन्ने भावनाले बढी प्रेरित गरेको हो।'
'भावनामा डुबेर मान्छेले ज्यानै त फालेको हुन्छ मैले त समय खेर फालेँ, त्यो पनि आफ्नो सपनाका लागि । ज्यूँदै छु । केही त गर्छु नी' यसरी सोच्दा मुक्तिलाई छुट्टै उर्जा मिल्छ ।
औपचारिक कुराकानी सकेर उठिसकेपछि छतबाट तल झर्दै गर्दा ठठ्यौली पारामा मुक्तिले भन्नुभयो, 'यत्रो वर्ष मलाई उल्लु बनाएकोमा ती परीक्षा र प्रश्नहरूलाई मेरो सलाम छ भनेर पनि राखिदिनु है। '
कुराकानीको भिडियो
तपाईँको अभिमत