५ डाक्टरलाई प्रश्न : नेपालको स्वास्थ्य क्षेत्रमा तत्काल गर्नुपर्ने काम के?
नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजबाट सुरु भएको छ । काठमाडौंको माइतीघरस्थित कार्की बैंक्वेटमा जारी सम्मेलन भोलिसम्म हुनेछ।
सम्मेलन नेपालको स्वास्थ्य क्षेत्रका समस्या, सम्भावना, अवसर, आगामी दिनमा आवश्यक रणनीति आदि विषयमा केन्द्रीत हुने संघले जानकारी दिएको छ।
चिकित्सक संघका अनुसार सम्मेलनमा देशभरबाट ५०० बढी डाक्टरहरुको सहभागिता रहेको छ।
मंगलबार सम्मेलनस्थलमा भेटिनुभएका ५ जना चिकित्सकलाई हामीले प्रश्न गरेका छौँ। नेपालको स्वास्थ्य क्षेत्रमा अहिले गर्नेपर्ने कुरा, समस्या उपलब्धी, यस सम्मेलनको लक्ष्य आदि विषयमा आधारित भएर गरिएको प्रश्नमा उहाँहरुको भनाइ तल प्रस्तुत गरेका छौँ।
मेडिकल टुरिजमबारे सोच्न सुरु गर्नुपर्छ
डा.चन्दा कार्की, स्त्रीरोग विशेषज्ञ एवं सम्मेलनको वैज्ञानिक टिम संयोजक
स्वास्थ्य क्षेत्रको समग्रमा भन्नुपर्यो भने धेरै कुरा गर्नुपर्ने हुन्छ । दोस्रो स्वास्थ्य सम्मेलनमा सबैभन्दा ठूलो कुरा सस्तो र सुलभ स्वास्थ्य सेवाको पहुँचमा आम जनतालाई कसर पुर्याउन सकिन्छ भन्ने हो ।
अहिले कोभिड, डेंगु जस्ता महामारीसँग कसरी सामान गर्ने भन्नेमा पनि सम्मेलन केन्द्रीत हुन्छ ।
कोरोना महामारी आउँदा हामीलाई केही थाहा थिएन् । केही क्षतिका बाबजुद हामी त्यससँग लड्यौँ । भौतिक पूर्वाधारको राम्रो व्यवस्थापन र स्वास्थ्यकर्मीको परिचालनमा अझै ध्यान दिएको भए क्षति कम हुन्थ्यो भन्ने विश्वास गर्न सकिन्छ ।
राम्रो नीति ल्याउनु पर्यो । सरकारले ल्याएका नीतिमा अडेर नै स्वास्थ्य प्रणाली अघि बढ्ने हो । नीतिका लागि सरकारलाई घच्घच्याउने काम यो सम्मेलनले गर्छ भन्ने विश्वास छ।
मुख्य कुरा त नेपालमा स्वास्थ्यकर्मीलाई नेपालमा राख्नु नै ठूलो कुरा हो । नर्सलगायत धेरै स्वास्थ्यकर्मीहरु विदेश पलायन भइरहेका छन् । महामारीमा स्वास्थ्यकर्मीलाई उत्प्रेरणाको आवश्यकता हुन्छ।
अर्काे कुरा नेपालमा मेडिकल टुरिजम बढाउनेमा लाग्नुपर्यो । मेडिकल टुरिजम भारतमा कति राम्रोसँग विकास भएको छ । नेपालले त्यसबारे सोच्न सुरु त गर्नुपर्यो नी । अरु देशमा के छ त्यो बुझ्नु पर्यो । यहाँ के गर्न सकिन्छ त्यसमा बहस हुनुपर्यो ।
यहाँ स्कुल नजिक, अस्पताल नजिक पनि सूर्तीजन्य पदार्थ विक्रिवितरण भइरहेको छ । जबकी सबैलाई थाहा छ त्यसले स्वास्थ्यमा नकारात्मक असर पार्छ ।
यस्तो कुरालाई कसरी राक्ने भन्ने छ । महत्वपूर्ण कुरा धेरै उठाउन सकिन्छ ।तर एउटा सम्मेलनमा सबै कुरा समेट्न गाह्रो छ । अघिल्लो सम्मेलनका उपलब्धिका बारेमा पनि समीक्षा हुन्छ ।
उपचारको शैली ठिक भएन
डा.पुष्पमणि खराल, जनरल प्राक्टिसनर
नेपालमा धेरै अस्पताल बने स्वास्थ्य संस्थाहरु बढे तर नेपालमा प्राथमिक स्वास्थ्यको उपचार गर्न शैली विकास हुन सकेको छैन । जस्तो कि सामान्य रोग लाग्यो भने । सुरुमा जीपी(जनरल प्राक्टिसनर) डाक्टरलाई देखाएर त्यसपछि रेफर हुने सिस्टम भयो भने सजिलो हुन्छ ।
मैले भन्नु खोजेको के हो भने । जस्तो सामान्य टाउनको दुखेको मान्छे अस्पताल गयो भने त्यहाँ बढी भीडभाड हुन्छ । गम्भीर बिरामीको उपचारमा समस्या हुन्छ ।
सुरुमा जीपी डाक्टरहरुलाई समस्या देखाउने । धेरै कुरा उहाँहरुले नै समाधान गर्न सक्नुहुन्छ । समाधान गर्न नसकेका केसलाई सम्बिन्धित अस्पतालमा सिफारिस गर्यो भने उहाँहरुले राम्रो उपचार पाउनुहुन्छ । अस्पतालमा विशेषज्ञ डाक्टरले दिने सेवामा डिस्टर्ब पनि हुँदैन
नेपालको स्वास्थ्य क्षेत्रका २० वर्ष पूरानो दरबन्दी छ । तत्काललाई दरबन्दी बढाउनु पर्ने छ । चिकित्सक स्वास्थ्यकर्मीको दरबन्दी बढाउनु पर्ने माग उठेको धेरै भयो । सरकारले विभिन्न स्वास्थ्य संस्था, अस्पताल खोलियो, खोल्दैछौँभनेर प्रचार गरिरहेको देखिन्छ । यसमा उहाँहरुको बुझाइमा कमी छ जस्तो लाग्छ ।
धेरै अस्पताल खोल्दैमा हुँदैन त्यहाँ चाहिने सरसामान, कर्मचारी, डाक्टर, नर्सहरु नपुगीकन, आवश्यक औजार नपुगीकन अस्पताले सेवा दिन सक्दैनन् । पूर्वाधारले मात्रै हुँदैन । त्यहाँ चाहिने जनशक्तिमा पनि ध्यान दिनु आवश्यक छ।
सम्मेलनले नेपालको स्वास्थ्यमा नयाँ आयाम थप्छ
डा.बद्री रिजाल, महासचिव, नेपाल चिकित्सक संघ
भर्खरै कोरोना महामारी सकिएको छ । यसले स्वास्थ्यमा के–के समस्या छ र कहाँ–कहाँ सुधारको आवश्यकता छ भनेर देखाएको छ ।
तीन तहको सरकार छ। सहकार्यको कुरा हुन्छ । खोपको भण्डारणको कुरा छ । अत्यावश्यक औषधि ढुवानीको कुरा छ । औषधि उत्पादनको कुराहरु छन् ।
चिकित्सा क्षेत्रका जनशक्तिलाई कसरी देशमै व्यवस्थापन गर्ने त्यसका लागि कस्तो नीति चाहिन्छ । मेडिकल पर्यटन कसरी विकास गर्ने भन्ने हो । नेपालबाट भारतमा उपचारका लागि धेरै जना जाने गर्छन् । नेपालमा धेरै किन नभित्र्याउने भन्ने छ ।
सूर्तीजन्य पदार्थले स्वास्थ्यमा ठूलो समस्या निम्त्याएको छ । त्यसबाट कसरी बाहिर आउने भन्ने छ ।
दरबन्दीका कुरा छन् । १५–२० वर्ष भइसक्यो पूरानै दरबन्दी छ । यी विषयमा सरोकारवाला, विज्ञलगायतलाई एकै ठाउँ राखेर छलफल गरेर अब कसरी अगाडि जाने त भन्ने बहस हुन्छ ।
कसरी स्वास्थ्य क्षेत्रलाई सबैको पहुँचमा पुर्याउन सकिन्छ भन्ने कुराको छलफल हुन्छ ।
यी छलफल, बहसबाट हामी एउटा निष्कर्ष निकाल्छौँ । त्यो निष्कर्षलाई हामी नीति निर्माण गर्ने सम्बन्धित, मन्त्रालय विभाग कहाँ हुन्छ पेस गर्छौैँ । आफैँ उपस्थित भएर पनि जानकारी दिन्छौँ ।
यसले नेपालको स्वास्थ्यमा नयाँ आयाम थप्छ । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ भन्ने विश्वास छ ।
तत्काल गर्नै पर्ने काम जनशक्ति व्यवस्थापन हो
डा.विकास देवकोटा, सचिव लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालय
स्वास्थ्य क्षेत्रमा सबैभन्दा पहिले गर्नुपर्ने काम भनेको जनशक्ति व्यवस्थापन हो । हरेक पालिकामा ५, १०, १५ शैय्याका अस्पतालहरु बनिरहेका छन् । कतिपय बनिसकेका छन् । तिनिहरुको लागि जनशक्ति व्यवस्थापन गर्नुपरेको छ । साविकका जिल्ला अस्पताललाई अपग्रेड गरेर जनशक्ति व्यवस्थापन गर्नु आवश्यक छ । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक छैनन्। तिनीहरुको व्यवस्थापन गर्नुपर्या छ ।
यसो हेर्दाखेरी कोभिड महामारीपछि केही हिसाबले उपकरणहरु व्यवस्था गरिएको छ । तिनलाई चलाउने जनशक्ति चाहिएको छ ।
आधारभूत स्वास्थ्य सेवा र बीमाबीचको तादम्यता मिलाउनु पर्नेछ।
आधारभूत स्वास्थ्य सेवाको जिम्मेवारी स्थानीय तहको हो । आधारभूत स्वास्थ्य सेवाका सबै अवयव पूरा भएपछि मात्रै स्वास्थ्यका एड्भान्स सेवा सुरु गर्नु राम्रो हुन्छ ।
पूर्वाधार नभएका ठाउँमा एडभान्स सेवा दिनुपर्दा समस्या हुन्छ ।
अहिले जनताको १०० रुपैयाँ मध्ये ५७ रुपैयाँ स्वास्थ्यमा खर्च भइरहेको छ । यो घटाउन बीमा कार्यक्रम प्रभावकारी हो। त्यसलाई लागू गर्नका लागि सेवा विस्तार गर्नु आवश्यक देखिन्छ।
अहिलेको प्राथमिकता डेंगु हो
डा.सुधा शर्मा, पूर्वस्वास्थ्य सचिव
स्वास्थ्यमा गनैपर्ने अहिलेको काम भनेको डेंगु नियन्त्रणमा लाग्नु हो । यसमा स्थानीय सरकारहरुले गनहन जिम्मवारी लिएर डेंगु रोकथामलाई प्राथमिकतामा राख्नुपर्छ । उपचारका लागि तल्लोस्तरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधि उपलब्ध होस् भनेर त्यसको तयारी गर्नुपर्यो ।
नेपाल सरकारले नयाँ स्वास्थ्य रणनीति बनाएको छ । त्यो कार्यान्वयनका लागि के–के आवश्यक पर्छ तीनै तहका सरकार कसलाई के जिम्मेवारी दिएको छ सोही अनुसार तयारी गर्नुपर्ने हुन्छ ।
यो रणनीतिले ५ वर्षका आवश्यकताहरु सम्बोधन गर्छ । त्यसमा स्वास्थ्य क्षेत्रको जनशक्ति, भौतिक पूर्वाधार, औषधि, उपकरणका कुरा, सामुदायिक जिम्मेवारीका कुरा पर्छन् । यिनलाई क्रमशः कार्ययोजना बनाएर लागू गर्नुपर्छ ।
भिडियो
हेल्थपाटी
तपाईँको अभिमत