‘सिकिस्त हुँदा खानुपर्ने औषधि सामान्य बिरामी पर्दा खाइरहेका छौँ’ (भिडियो)
नेपालमा पनि एन्टिबायोटिक औषधिको अनावश्यक प्रयोग बढिरहेको छ। स्वास्थ्य परीक्षण नगरी औषधिको नामका आधारमा मनलाग्दी आफैं किनेर खाँने प्रचलन धेरै छ । चिकित्सक समेतले जथाभावी प्रिस्क्राइब गर्दा एन्टिबायोटिकको दुरुपयोग बढेको छ ।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा धेरै मात्रामा नेपालमा एन्टिबायोटिकको प्रयोग भइरहेको अनुसन्धानले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एन्टिबायोटिक औषधिको प्रयोग र यसको प्रतिरोधको अवस्थाबारे हालै एक अनुसन्धान गरेको थियो।अनुसन्धानले डाक्टरले प्रिस्क्राइव गरिएका औषधिमध्ये ३८ प्रतिशत अर्थात् एक तिहाई औषधि एन्टिबायोटिक रहेको देखाएको छ । जुन विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी हो ।
एन्टिबायोटिकको दुरुपयोग र अतिप्रयोगमा प्रयोगकर्ताको मात्रै नभई स्वास्थ्यकर्मीको पनि कमजोरी रहेको माइक्रोबायोलोजी विज्ञ ज्योति आचार्य बताउनुहुन्छ ।
ल्याब टेस्ट नगराइ एन्टिबायोटिक औषधिको प्रिस्क्राइब गरिदिँदा एन्टिमाइक्रोबियल रेसिस्टेन्सलाई सघाइरहेको आचार्यको भनाइ छ ।
हेल्थपाटीसँगको कुराकानीमा आचार्य भन्नुहुन्छ, ‘सामान्य समस्या लिएर ओपिडीमा पुगेका बिरामीलाई कतिपय चिकित्सकहरूले कल्चर नै नगरी सुरुमै एन्टिबायोटिक लेखिदिने गरेको पनि पाइन्छ।’
विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिकलाई ३ समूहमा वर्गीकरण गरेको छ । पहिलो एक्सेस, दोस्रो वाच र तेस्रो रिजर्भड । सहजै पहुँचमा रहेको एन्टिबायोटिकलाई एक्सेस समूहमा राखिएको छ । वाच समूहका एन्टिबायोटिकलाई रोगको प्रकृति हेरेर दिनुपर्छ । एक्सेस ग्रुपको एन्टिबायोटिकले काम गर्ने अवस्थामा वाच ग्रुपको एन्टियोटिक दिनुहुँदैन । आचार्यका अनुसार एक्सेस र वाच गु्रपको औषधिले काम गरेन भने अन्तिममा रिजर्भड ग्रुपको औषधि दिनुपर्ने मापदण्ड छ ।
एन्टीबायोटिक प्रयोग मापदण्ड
‘मैले एन्टिबायोटिक औषधि कतिबेला खाने भन्ने कुरा बुझ्नपर्छ । रगत, दिसा-पिसावमा व्याक्टेरिया देखिएको छ भने एन्टिबायोटिक खाने हो, यसको अर्थ परीक्षण बिना एन्टिबायोटिक खानुहुदैन।’ उहाँले भन्नुभयाे, 'ल्याब टेस्टको रिपोर्टका आधारमा डाक्टरले एन्टlबायोटिक प्रिस्क्राइब गर्नुपर्छ ।'
डाक्टरले प्रिस्क्राइब गरेबमोजिम पुरा समय एन्टlबायोटिक खान उहाँको सुझाव छ । आचार्यका अनुसार बीचमा औषधि छाड्दा जीवाणुले औषधिलाई चिन्छ र औषधिविरुद्ध प्रतिरोध बढाउँछ । त्यसैले प्रिस्क्राइव गरेभन्दा धेरै या थोरै खान हुँदैन ।
जथाभावी एन्टिबायोटिक औषधि खाँदा पनि औषधिलाई जिवाणुहरुले चिन्छन्। उनीहरुले औषधिलाई शरीरबाट फाल्न खोज्छन् । जीवाणुहरुले औषधिलाई फुटाएर निष्प्रभावी बनाउँछन् ।
रेसिस्टेन्सको बारेमा गम्भीर रुपमा नसोचे नेपालमा पनि औषधिले कामै नगर्ने अवस्था आउने चेतावनी आचार्यले दिनुभयो।
दीर्घरोगको रोकथाम र उपचारमा लगानी बढाइरहँदा एन्टिमाइक्रोबियल रेसिस्टेन्सबारे अनुसन्धानमा लगानी हुन सकेको छैन । नेपालमा एन्टिबायोटिकको प्रयोग कति भइरहेको छ भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने उहाँको जोड छ ।
आज हामीले एन्टिबायोटिकको प्रयोग, यसको रेसिस्टेन्स अवस्थाबारे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट माइक्रोबायोलोजी विज्ञ प्राविधिक ज्योति आचार्यसँग कुरा गरेका छौँ । आचार्य जनस्वास्थ्य प्रयोगशालामा माइक्रोबियल रेसिस्टेन्सबारे अध्ययन गर्न बनेटको टीमको फोकलपर्सन पनि हुनुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत