काेराेना उपचारमा स्वास्थ्यकर्मीको अभाव, डाक्टर-नर्सको विजाेग !
काठमाडौं । दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहँदा उपचारका लागि बेड मात्रै होइन, स्वास्थ्यकर्मीको समेत अभाव हुन थालेको छ । देशका विभिन्न अस्पतालहरुले संक्रमितको चापको तुलनामा स्वास्थ्यकर्मी कम हुँदा उपचारमा कठिनाइ झेल्नु परिरहेको छ ।
पहिलेदेखि नै स्वास्थ्यकर्मी कम भएका तथा कतै उपचारमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि उपचारमा समस्या देखिएको हो ।
भेरी अस्पतालमा अधिकांस स्वास्थ्यकर्मी संक्रमित
बाँकेस्थित भेरी अस्पताल जहाँ १४० वटा बेड छन् । त्यहाँ अहिले पनि २०० भन्दा बढी संक्रमित अस्पतालमा छन् । बेड अभावका कारण यस अस्पतालले अक्सिजन नचाहिने संक्रमितलाई भर्ना लिएको छैन । केही संक्रमितलाई आकस्मिक कक्ष बाहिर बेड राखेर भएपनि उपचारको व्यवस्था मिलाइएको छ ।
अस्पतालका कोभिड वार्ड नर्सिङ इन्चार्ज ईश्वरी केसीका अनुसार बिरामीलाई हेर्ने स्वास्थ्यकर्मीहरु नै संक्रमित हुन थालेपछि अस्पतालमा उपचारमा समस्या भएको छ । अस्पतालका आधा स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् जसमा ३२ जना नर्स मात्रै छन् । ६२ जना अस्पतालका पुरानै नर्स र कोभिडका लागि थप ३९ नयाँ नर्स गरि १०१ जना नर्स कार्यरत छन् ।
२ हप्ताको बीचमा डाक्टर, नर्स, पारामेडिक्स, कार्यालय सहयोगी गरि ७५ जना संक्रमित भएका छन् । अरु धेरैलाई कोरोनाको लक्षण देखिएको छ । यस्तो अवस्थामा एक जना नर्सले १५ जना बिरामीसम्म हेर्न परिरहेको बाध्यता सुनाउनुहन्छ इन्चार्ज केसी ।
एकदमै गाह्रो छ । एक जना स्वास्थ्यकर्मी बिरामीलाई हेर्न भित्र छिरेपछि ५ घण्टासम्म बाहिर निस्कन पाउनुहुन्न । आइसियुमा खटिएका स्वास्थ्यकर्मीहरुलाई अझ धेरै सकस छ । आइसियुका बिरामीहरुको रगत परीक्षण,अक्सिजन नाप्ने लगायतका थप जाँचहरु गर्नुपर्ने भएकाले घण्टौं सम्म बाहिर निस्कन पाइदैन । केसीले भन्नुभयो,‘दोस्रो लहर सुरु भएपछि ह्वात्तै संक्रमित बढेपछि सुरुको हप्तामा स्वास्थ्यकर्मीहरुले खानासमेत खान पाउनु भएन ।’
अस्पतालले हालै मात्र मेडिकल अधिकृत १०, स्टाफ नर्स ४० सहित ६० जना जनशक्ति मागेको छ । उहाँहरु आउनुभएपछि उपचारमा केही सहज हुने आशा उहाँ गर्नुहुन्छ ।
स्वास्थ्यकर्मी,सहयोगी तथा अन्य कर्मचारीहरुलाई छुट्टै राखिएको छ । उहाँहरुलाई एक आपसमा संक्रमित स्वास्थ्यकर्मीहरुले नै हेरिरहेको उहाँले बताउनुभयो । संक्रमितको उपचारमा खटिनुभएकी केसीलाई पनि २ हप्ता अघि मात्रै संक्रमण भयो ।
अहिले उहाँ संक्रमितको उपचारमा नै हुनुहुन्छ । उहाँलाई लाग्छ, सबैको हेल्चक्रयाइका कारण यस्तो भयावह स्थिति आयो । पहिलो लहरमा मानिसहरु निकै डराउथे तर अहिले मानिसमा कोरोनाप्रति डर नभएको महसुस उहाँले गर्नुभएको छ ।
पहिला संक्रमितको उमेर समूह ५० वर्षभन्दा माथि हुन्थे भने अहिले ३०/४० वर्षका धेरै रहेको उहाँले जानकारी दिनुभयो ।
वीरमा एक नर्सले २८ जना संक्रमित सम्म हेर्नपर्ने बाध्यता
जनशक्तिको चरम अभाव वीर अस्पतालले पनि झेलिरहेको छ । वीर अस्पतालमा अहिले एक जना नर्सले २८ जनासम्म संक्रमित हेर्नपरिरहेको छ । २८ बेडको आइसोलेसन वार्डको लागि ८ जना स्टाफ नर्स रहेको कोभिड युनिट सुशिला श्रेष्ठले जानकारी दिनुभयो ।
आइसोलेसन वार्डमा लक्षण भएका संक्रमितहरु भर्ना भएकाले वार्डमा नर्सको कमी भएको श्रेष्ठले बताउनुभयो । बिरामीको चापलाई अहिले भएको जनशक्तिले थेग्नै नसक्ने स्थिति आएकाले आफुहरुले नर्सको संख्या माग गरेको उहाँले बताउनुभयो ।
त्रिवि शिक्षण अस्पतालमा कोभिडका बिरामी हेर्न छुट्टै नर्स छैनन्
यसैगरी त्रिवि शिक्षण अस्पतालमा पनि स्वास्थ्यकर्मीको अभाव छ । ७०० भन्दा बढी नर्स रहेको यस अस्पतालमा कोभिडका बिरामी हेर्न छुट्टै नर्स खटाइएको छैन । अस्पतालका नर्सिङ डाइरेक्टर कविता देवकोटाले भैपरि आउदा जो कोही नर्सले जो कोही बिरामी हेर्नपर्ने बाध्यता रहेको बताउनुभयो ।
शनिवारसम्म त्रिवि शिक्षण अस्पतालमा १४५ जना संक्रमितको उपचार भइरहेको थियो । जसमध्ये १५ जना आइसियु र ५ जना भेन्टिलेटरमा थिए । अस्पतालको बेड क्षमता भने १२९ रहेको छ ।
ढोकैमा बेड कुरेर बस्छन् संक्रमितहरु
संक्रमितहरु बेड नपाएर रातभर अस्पतालको ढोकैमा बेड कुरेर बस्ने गरेका छन् । अस्पताल पुग्ने अधिकांश संक्रमितको मुखमा अक्सिजनको पाइप जोडिएको हुन्छ, उनीहरु अक्सिजन लगाइदेऊ भन्दै अस्पताल आउने गरेको त्रिवि शिक्षण अस्पतालमा कार्यरत अर्की नर्सले जानकारी दिनुभयो । फोक्सोमा गम्भिर असर पुरयाइसकेको र अक्सिजनको मात्रा एकदमै तल झरिसकेको अवस्थामा संक्रमित अस्पताल पुग्ने गरेको उहाँले बताउनुभयो ।
संक्रमित बढेको बढेई गर्दा बेडको मात्रै नभई उपचारमा नर्स लगायत स्वास्थ्यकर्मीको कमी हुन थालेको छ । उपचारमा कठिनाई हुन थालेपछि अस्पतालले थप ९० जना नर्स माग भइसकेको छ ।
दोस्रो लहर सुरु भएयता शिक्षण अस्पतालका १५ जना नर्स संक्रमित भइसकेका छन् । अहिले यस अस्पतालमा एचडीयु वार्डमा २ जना बिरामीलाई एक नर्स, आइसियु वार्डमा एक संक्रमित,एक नर्स छुट्याइएको छ भने आइसोलेसन वार्डमा एक नर्सले ५ जनासम्म हेर्ने गरि कार्य तालिका मिलाइएको देवकोटाले बताउनुभयो ।

क्वारेन्टिन र आइसोलेसनमा बसेको अवधिमा नर्सले कोभिड भत्ता पाउदैनन्
उपत्यकाको एक सरकारी अस्पतालमा कार्यरत एक जना नर्सले आफुहरुले क्वारेन्टिन र आइसोलेसनमा बस्दाको अवधिको कोभिड भत्ता नपाएको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो १२ घण्टा काम गरिरहनु परेको छ तर भत्ता हामीले ८ घण्टाको मात्रै पाएका छौ ।
यसैगरी अस्पतालले पहिलाको जस्तो क्वारेन्टिनको व्यवस्था नगर्दा आफुहरुबाटै घरका अन्य सदस्यहरुलाई संक्रमण सार्न सक्ने त्रास आफुहरुमा रहेको ती नर्सले दुखेसो गर्नुभयो ।
सरकारी अस्पताहरुमा नर्सको अवस्था बिजोग, सरकारी नर्सिङ संघ
सरकारी नर्सिङ संघकी अध्यक्ष कल्पना श्रेष्ठले सरकारी अस्पतालहरुमा बिरामीको तुलनामा नर्सहरु अत्यन्तै कम भएकाले अहिले नर्सहरुको अवस्था दयनिय रहेको दुखेसो गर्नुहुन्छ । उसै पनि सरकारी अस्पतालमा पहिला देखि नै कम नर्स छन् त्यसमा पनि संक्रमित थपिँदा झनै भार थपिएको छ । श्रेष्ठले भन्नुभयो, ‘अहिले एक नर्सले २८ देखि ३५ जना संक्रमितलाई हेर्न पर्ने दयनिय अवस्था छ ।’
उहाँले सरकारले संक्रमितको उपचारका लागि जनशक्तिमा ध्यान नदिएको बताउनुभयो । स्वास्थ्य संस्थाहरुमा नर्सहरुको आवश्यक धेरै हुने भएपनि जनशक्ति माग गर्दा नर्सको संख्या अत्यन्तै न्यून हुने गरेको उहाँको भनाइ छ । कोभिडको वर्तमान अवस्थामा नर्सहरु फ्रन्टलाइनमा छन् तर जनशक्ति माग भएका स्थानमा नर्सको माग गरिदैन । हालै कर्णालीमा जनशक्ति माग गरियो तर नर्स मागिएन । उहाँले प्रश्न गर्नुभयो, के कर्णालीमा नर्स आवश्यक छैन ?
‘गुणस्तरीय सेवाका लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार आइसियुमा दुई जना बिरामी बराबर एक नर्स र वार्डमा ८ जना बिरामी बराबर एक नर्स हुनुपर्छ तर नेपालमा सामान्य अवस्थामा पनि मापदण्ड अनुसार नर्स छैनन्, ’श्रेष्ठले भन्नुभयो । अहिले सरकारी अस्पतालहरुमा करिव ७ हजार नर्स आवद्ध छन् ।
संक्रमण अहिलेसम्मकै उच्च बिन्दुमा
नेपालमा कोरोना भाइरस संक्रमण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । शनिवार ५७ सय ६३ जनालाई संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा कोरोना भित्रिएयताकै अत्याधिक हो ।
पहिलो लहरमा कार्तिक ५ गते २० हजार ११८ जनाको पीसीआर परीक्षण हुँदा ५७ सय ४३ जनालाई पोजेटिभ देखिएको थियो । अहिले दोस्रो लहरमा पीसीआर र एन्टीजेन गरि १४ हजार ९६९ जनाको कोरोना परीक्षण हुँदा ५७ सय ६३ लाई संक्रमण पुष्टि भएको छ । यसबाट के प्रष्ट हुन्छ भने जति परीक्षण बढायो उति नै संक्रमित पत्ता लाग्न सक्छ ।
दिनानुदिन तिव्र गतिमा संक्रमित बढिरहँदा आफुसँग भएको संरचनाले अब धान्न नसक्ने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनिसकेको छ । संरचना मात्रै होइन अहिले जनशक्तिको अभाव देखिसकेको छ अवस्था थप जटिल बन्दै गएको छ । यस्तो अवस्थामा स्वयम् आफु सचेत नभए उपचार नपाएर मर्नपर्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले अनावश्यक घर बाहिर ननस्किन र स्वास्थ्यका मापदण्ड पालना गर्न विज्ञहरुले अपिल गरिरहेका छन् ।
तुलसा घिमिरे
तपाईँको अभिमत