कोरोनाकाे तेस्राे लहरमा बालबालिका किन बढी जोखिममा ?
काठमाडौं । कोरोनाको तेस्रो र चौथो लहर बालबालिकाका लागि बढी घातक हुने चर्चा भइरहेको छ । सरकारले संक्रमित बालबालिकाको उपचारका लागि सबै अस्पतालहरुलाई २० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ ।
कोरोनाको यसअघिका लहरमा प्रौढ र युवा बढी संक्रमित भएकाले नियन्त्रणको तयारी पनि त्यता लक्षित भएको भन्दै सरकारले अब तेस्रो र चौथो लहरमा बालबालिका केन्द्रित हुनुपर्ने सुझाएको छ । मन्त्रालयले वैकल्पिक प्राणवायुको रुपमा रहेको अक्सिजनको व्यवस्थापन गर्न समेत अस्पतालहरुलाई निर्देशन दिएको हो ।
बालबालिकामा थोरै मात्र संक्रमण हुने तर्क गरिरहँदा पछिल्ला लहरहरुले उनीहरु मात्र नभई सबै उमेर समूह उत्तिकै खतरामा छन् । आउँदा लहरहरु झन् बालबालिका लक्षित हुने आकंलनले त्रास बढाएको छ । यसै सन्दर्भमा सहकर्मी शोभा घिमिरेले इशान बाल अस्पतालका निर्देशक प्राध्यापक डाक्टर आरपी चौधरीसँग कुरा गर्नुभएको छ ।
कोरोनाको तेस्रो चौथो लहरमा बालबालिका सङ्क्रमणको जोखिममा किन छन् ?
कोरोनाका पछिल्ला लहरहरुसम्म आइपुग्दा बालबालिकामो संक्रमण दर बढ्दै गएको छ । पहिलो लहरमा विश्वमा नै संक्रमण दर कम भएपनि पछिल्ला लहरहरुमा यो संख्यामा बृद्धि भएको छ । कोरोनाजस्ता सरुवा रोगहरुको इतिहास हेर्ने हो भने यसका लहरहरु पटक पटक आइरहन सक्छन् । त्यसैले आउँदा लहरहरुमा बालबालिका बढी जोखिममा छन् भन्नुको मतलब उनीहरुका लागि अहिलेसम्म खोप विकास भएकै छैन ।
अहिले विकसित केही राष्ट्रहरुले १२ वर्षदेखि माथिका २० वर्षसम्मका वयस्कहरुमा खोप परीक्षण गरेता पनि नवजातदेखि १२ वर्ष मुनिकामा खोपको परीक्षण हुन सकेको देखिदैन । आम नागरिकहरुमा त कोरोना खोपको अभाव छ भने बालबालिका यसै पनि पछाडि पर्छन् । खोपको विकास र विस्तार नहुञ्जेल बालबालिका जोखिममा रहन्छन् । सरकारले उनीहरु जोखिममा छन् भनेर भनिरहँदा उनीहरुका लागि केही पहल र सोच बनाएको देखिँदैन । सरकारी तथा नीजि अस्पतालहरुलाई आफ्नो कोटामा २० प्रतिशत बेड छुट्याउन आग्रह गर्नु सकारात्मक भए पनि त्यसका लागि सरकारले लागतमा दिने सहुलियततर्फ पनि ध्यान दिनु जरुरी छ ।
हालको अवस्था के छ ?
विगतमा बालबालिकाहरू सङ्क्रमण हुने परिस्थितिबाट टाढा रहन्छन् वा उनीहरूमा कडा सङ्क्रमण हुँदैन भन्ने थियो । हाल आएर यो सबै फेल खाएको अवस्था छ । नेपालमा मात्र हेर्ने हो भने कोरोनाको दोस्रो लहर चलिरहँदा कूल संक्रमितमा करिब ११ प्रतिशत बालबालिका संक्रमित भइसकेका छन् ।
यसको अर्थ बालबालिकाहरू उच्च खतरामा छन् र हुँदै जाने हुनसक्छ । तसर्थ सरकारी पहलमा नै बढी जोड दिनुपर्छ । कम्तीमा पनि देशका सातवटै प्रदेशमा उनीहरुका लागि छुट्टै अस्पतालको स्थापना गर्नु आधारभूत कुरा हो । नेपालमा कोरोना बाहेकको अन्य सामान्य अवस्थामा पनि बालबालिकाका लागि त्यस्तो विशेष व्यवस्था छैन । सरकारी अस्पताल कान्ति बाल अस्पतालमा पनि कोरोनाका बिरामीको चाप बढेर अन्यत्र पठाउनुपर्ने अवस्था छ । नेपालको कूल जनसंख्याको करिब ४२ देखि ४५ प्रतिशत वयस्कहरुले ओगटेका छन् भने पछि उनीहरुका लागि त्यही अनुसारको व्यवस्था हुनुपर् यो ।
धेरैको परीक्षण नै भएको छैन ?
यो नै सबैभन्दा बढी चुनौतीपूर्ण कुरा छ । परीक्षण नहुनाले कोरोना समुदायमा फैलिएको हो । हाल दूरदराजका गाउँ गाउँमा कोरोना फैलिएको छ । बालबालिकाले झन् कोरोना सार्न सक्ने सम्भावना उच्च रहन्छ । उनीहरुले भनेको नबुझ्ने र नमान्ने हुन्छ । कोरोनाको शंका लाग्ने बित्तिकै र घरका सदस्य कोही संक्रमित छ भने सबैले अनिवार्य रुपमा परीक्षण गर्नुपर्छ । सरकारले यसको लागि पहलकदमी लिनुपर्छ । यसले परीक्षण दर पनि बढाउने र फैलावटमा पनि कमी आउँछ ।
बालबालिकाका लागि अहिले अस्पतालहरुमा के व्यवस्था छ ?
केही अस्पतालहरुले बालबालिकाका लागि भनेर छुट्टै वार्ड छुट्याए पनि त्यो पर्याप्त छैन । कान्ति बाल अस्पतालमा पनि संक्रमितको चाप हेरेर शय्याहरु बढाउने योजना छ । पाटन अस्पतालमा बालबालिकाका लागि छुट्टै वार्ड छुट्याए पनि त्यो पर्याप्त छैन । यदि संक्रमितको दर बढ्दै गएमा धेग्न गाह्रो हुनेछ । पाटन अस्पतालमा हाल १३ वटा बेड बालबालिकाका लागि छुट्याइएको छ । नीजि अस्पतालहरुमा पनि थोरै मात्रामा मात्रै व्यवस्था गरिएको छ । टेकु अस्पतालले त बालबालिका लिने गरेकै छैन । कतिपय बालबालिका आफ्ना संक्रमित अभिभावकसँगै अस्पतालहरुमा भर्ना भएर बसेका छन् । यसले गर्दा उपचारमा समस्या हुने गरेको छ । आज इशान बाल अस्पतालमा कोरोनाका दुई जना बिरामी भर्ना भएर उपचार गराई रहेका छन् । दुई जनामध्ये १ जनालाई आइसियुमा राखिएको छ । यो तथ्यांक हेर्दा बालबालिकाहरु पनि उत्तिकै जोखिममा छन् ।
कस्ता किसिमका शैय्याहरु उनीहरुका लागि चाहिन्छ ?
कोरोना संक्रमित बालबालिकाहरुका लागि पनि अक्सिजनको आवश्यकता छ । उनीहरुलाई आईसियु, भेन्टिलेर र हाइफ्लो अक्सिजन पनि दिनुपरेका केशहरु छन् । नवजात शिशुहरुका लागि एनआइसियु, आइसियु, भेन्टिलेरको पनि आवश्यकता पर्छ । ठूला मानिसका लागि भेन्टिलेरमा जोडिएका मेशिनहरुले सानाका लागि उपयुक्त हुँदैन, यसले उपचारमा नै असर पार्न सक्छ । उनीहरुको लागि छुट्टै सुविधाका बेडहरुको आवश्यकता रहन्छ । कोरोनाले बालबालिकामा श्वासप्रश्वासमा समस्या हुने र निमोनिया गराउने र त्यसले ज्यान लिने गरेको छ ।
हाल १० वर्ष मुनिका बालबालिकमा कोरोनाको कस्ता लक्षण देखिएका छन् ?
अहिले प्रायमा झाडापखालाको समस्या देखिएको छ । अन्य लक्षणहरु चाँही ठूला मानिसहरुसँग नै मिल्छ । ज्वरो आउने, वाकवाकी लाग्ने, खानामा अरुची हुने, स्वाद हराउने इत्यादि । यदि बच्चालाई सुरुमा नै कोरोनाको लक्षण रहेको थाहा लाग्यो भने खानपानमा विशेष ध्यान दिनुपर्छ । झोलिलो पौष्टिक आहारा खुवाउने, प्रटिनयुक्त खानामा जोड दिने र दूध चुस्ने बालक छ भने स्वास्थ्य मापदण्ड अपनाएर दूध चुसाउने । यसले गर्दा उनीहरुलाई छिटो तन्दु्रस्त हुन सहयोग पुग्छ । कोरोना भाइरसले शरीरलाई गलाउने हुँदा खानपानमा नै विशेष ध्यान दिनुपर्छ । बच्चाहरुलाइ जिंकयुक्त खानामा जोड दिनुपर्छ ।
सरकारले के गर्नुपर्छ ?
सरकारले आफ्नो पपुलारिटीमा भन्दा पनि वास्तविकतालाई ध्यान दिनुपर्छ । जतिसक्दो चाँडो सबै नागरिकमा खोपको पहूँच पुर्याउनु पर्यो । अस्पतालहरुमा बेड शैय्या छुट्याउन अर्डर दिइरहँदा त्यसको लागि कर छुटको व्यवस्था र सहुलियत तर्फ ध्यान दिनुपर्छ । प्राणवायु अक्सिजन, आइसियु बेड, भेन्टिलेटर आयातमा विशेष जोड दिनुपर्छ । अक्सिजन अभावमा कसैको ज्यान जानुभएन । पहिलो र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगे । अब बालबालिका फोकस हुनुपर्छ । सरकारको भनाई र गराईमा मेल खानुपर्छ ।
तपाईँको अभिमत