एक खर्बको कबाडी खानाले सयौँ खर्बको नोक्सानी पुुर्याउँछ
‘खराब बोसो’ मीठो छैन र ?
केहीअघि शिक्षा मन्त्रालय/स्वास्थ्य मन्त्रालयले स्कूलमा ५ कक्षासम्म 'दिवा खाजा दिँदा, पत्रु खाना नदिनू' अर्थात ‘खराब बोसो’ भएको खाना बालबालिकालाई नदिनू भन्ने नीति बनाए ।
‘पत्रु खाना नखाने’ भनेर त तपाई भन्नुहुन्छ तर के खाने भनेर सिकाउनु हुन्न केही व्यत्तिले मलाई गनगन गर्छन् । त्यसैले मैले यो विषय अर्थात स्वस्थकर खाजा, खाना के हो ? कसरी बनाउने ? भन्ने किताब लेख्न शुरु गरेकी छु ।
'खराब बोसो' नभएको, ‘पत्रु खाना’ नभएको खाजा बनाउन सिकाउने प्रयत्न गर्दैछु । एक वर्षपछि शायद किताब आउँछ । ‘खराब बोसो’ भन्ने कुरा बाहिरबाट हेर्दा कालो, फोहोर देखिने वस्तु होइन । ‘खराब बोसो’ भएका खानेकुरा शरीरभित्र गएपछि यसले बिस्तारै ‘शरीरलाई खोक्रो’ पार्दै लग्छ । खराब बोसो अर्थात ‘ट्रान्स फ्याट’ आज खाएर भोलि नै शरीरमा असर पर्दैन, धमिराले भित्रभित्रै काठ खाएझैँ यसले खराबी गर्छ । सबभन्दा दुःख त तब हुन्छ जब आमा बाले सन्तानलाई माया गरेर 'ट्रान्स फ्याट' भएको वस्तु कोच्याउँछन् र थाहै नपाएर बच्चाको स्वास्थ्य खराब पार्न योगदान दिइरहेका हुन्छन् ।
पत्रु खानामा धेरै नुन, चिनी, बढी बोसो र रसायनहरू हालेको हुनाले तिनले स्वास्थ्यमा हानी गर्छ भन्ने कसै-कसैले बुझ्न थालेका छन् । तर रक्सीको कुलत छोड्न नसकेझैँ पत्रु खानाको कुलत पनि छोड्न सक्दैनन् ।
'ट्रान्स फ्याट' भएका खानेकुराहरूले मुटुको धमनीलाई अस्वस्थ बनाउँछ, माशंपेशी कमजोर बनाउँछ, र ४० वर्षको उमेर नपुग्दै मधुमेह र मुटुको रोग दिन्छ । ट्रान्स फ्याट (यसलाई ट्रान्स फ्याटी एसिड पनि भनिन्छ) स्वास्थ्यका लागि अति नै हानिकारक चिल्लो पदार्थ हो । खानेकुरालाई लामो समय सुरक्षित राख्न र स्वाद बढाउन यो खराब बोसो प्रयोग गरिन्छ ।
केही अघि म स्वास्थ्य मन्त्रालय पुुग्दा त्यहाँका पदाधिकारीहरू कोठामा बसेर ‘चाउचाउको सुप’ तानिरहेका थिए । मलाई देखेर , केही मजाक गरे जस्तो गरेर भने 'हत्तेरिका तपाई नै आइपुुग्नु भएछ । यसको बारेमा नलेखिदिनुुस् है' भने । मैले कसले खाएको भनेर उच्च पदाधिकारीले चाउचाउ खाएको भनेर त लेख्नै पर्छ । तपाईहरू खाना खाँदा, स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा स्वस्थकर खाना छैन र ?” हाँसेर नै सोधें ।
उत्तर आयो-छ नी , क्यान्टिनमा रोटी, चिउरा, अण्डा, चना तरकारी । तर त्यो खाँदा वाक्क भइयो अनि यसो स्वादिलो खाउँ भनेर चाउचाउ खाएको। अर्थात स्वास्थ्य मन्त्रालयका विज्ञहरूलाई पनि ‘ट्रान्स फ्याट’ खाने लत छ ।
यो भनाइले अहिले स्वास्थ्य मन्त्रालयका कति युवा पदाधिकारीहरू मधुमेह, उच्च रक्तचापका शिकार भएर औषधि खाइरहेका छन् होला भन्ने प्रश्न मनमा उठ्यो। उनीहरुको परिवारमा बालबालिकाले पनि पक्कै पनि त्यही देखासिकी गर्छन् । अनि पत्रु खाना र खराब बोसो भएको खाना नखाऔं भनेर जनस्वास्थ्य विज्ञले बोले पनि न त कर्मचारीले वास्ता गर्छन्, न उनका परिवारले । जो अगुवा, उनैले बाटो बिराउने भयो।
नियम नै पालना गर्ने हो भने त स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा त यस्ता कबाडी, पत्रु, खराब बोसो भएका खाना राख्न नै नदिनुपर्ने हो । तर त्यसरी नीति बनाउने सरकारका पदाधिकारीहरू आफैँ नै कबाडी र खराब बोसोयुक्त खाना आफ्नो कोठामा बसेर मज्जासँग खान्छन् भने यस्ता व्यक्तिले बालबालिकालाई लौ तिमीहरू चाँही कबाडी खाना नखानू कसरी भन्ने ?”
स्कूल वरिपरि पत्रु खाना रोक्ने, अनि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य चौकीमा धमाधम खराब बोसो पत्रुु खाना प्रयोग गर्ने हो भने अभिभावकलाई बच्चालाई पत्रु खाना नदिनु है भन्न त सकिन्न । अनि बच्चाहरू सानैदेखि खराब बोसो भएको खाना खाएर हुर्किन्छन् ।
त्यसैगरी खराब बोसो भएको कबाडी, पत्रुु, ‘जंक भोजनलाई स्वास्थ्य चौकी, अस्पताल र स्कुलबाट हटाउन सके पो हुन्छ नत्र त खराब
बोसो’ भएको खाना खाएर कसरी हाम्रा युवा युवती स्वस्थ मुटु, स्वस्थ मृगौल लिएर हुर्केलान् त ? सानैदेखि यस्तो खानाको कुलत लागेपछि ३५–४० वर्षको उमेरमा मधुमेह, मुटुरोग भएपछि देश विकासमा उनीहरूले के योगदान देलान ?
पछिल्लो दश वर्षमा नेपालमा १ खर्ब २९ अर्बको ठोस पत्रुु खाना आयात भएको सरकारी तथ्यांक भन्छ । ती सबै भोजन खराब बोसो मा नै बनाइन्छन् । यसरी एक खर्बको कबाडी खानाले भविष्यमा सयौँ खर्बको नोक्सानी पुुर्याउँछ भन्ने कुरा सरकारले विचार गर्दैन । किनभने सरकारी मान्छे पनि पत्रु खाना नै खान्छन् स्वाद लिएर।
अहिले त लोकप्रिय हुने धुनमा विभिन्न प्रदेशका सरकार मुटु, मृगौला बिग्रेकालाई सितैमा उपचार गर्ने, कुनै प्रदेशले फोक्सो, क्यान्सर आदिका बिरामीलाई दुई-दुई लाख दिने नीति ल्याइरहेको छ।
तर यस्ता समस्या सकेसम्म कम होस् पोषणरहित पत्रु खाना जनताले नखाउन भनेर के कार्यक्रम भएको छ ? यस्तो पत्रु खानाको विज्ञापन सकेसम्म कम गर्ने, गलत विज्ञापन नगराउने र स्वास्थ्य मन्त्रालयका कर्मचारीले, सरकारी कार्यक्रममा स्वस्थकर खाना खाने प्रेरणा दिने नीति नल्याएसम्म मुटु, मृगौलाका बिरामी बढी नै रहने छन् ।
अनि सरकारको बजेटले कहिलेसम्म बिरामीलाई पैसा दिइरहने ? के यस्तो समस्या न्युनीकरण होस् भनेर सरकारले कुनै कदम चलाउन सक्दैनन ?
जनस्वास्थ्यलाई ध्यानमा राखेर खराब बोसो भएको, पत्रु खाना नखाने भनेर सरकारले प्रचार गर्न सक्छ नि ।
तर अपशोच, स्कूलका शिक्षकले केटाकेटीकै अघि 'लौ त साहुुजी चाउचाउ छिटो बनाउँ, समोसा ल्याउँ, दुनोट देउ, भनेर अर्डर गर्छन् । यी सबै खानामा धेरै नराम्रो बोसो हुन्छ । शिक्षकलाई थाहा छैन ।
समोसा र डोनट पकाउँदा एउटै तेल बारम्बार प्रयोग गरिन्छ, त्यो खराब चिल्लो पदार्थ बन्छ । जिब्रोमा स्वाद त दिन्छ, तर मुटुको धमनीमा बोसो जमाउँछ । त्यो पनि उनीहरूलाई थाहा छैन ।
आफू कपाकप कबाडी/पत्रु/खराब चिल्लो हालेको खाने शिक्षकले कसरी बच्चाको स्वास्थ्य राम्रो बनाउन सिकाउँछ ? उनीहरू त आफ्नो परिवारलाई पनि खराब बोसो भएको खाना दिन्छन् । विभिन्न मन्त्रालयsf मिटिङहरुमा खाजा राख्दा केक, कुकिज, सेतो पाउरोटी, बट्टाको जुस राख्छन् । स्वस्थ पोषणको विषयमा छलफल, बहस गरेर निस्कँदा खाजा चाँही यस्तो राखिएको हुन्छ ।
नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा छुट्याउने करोडौँ बजेट नसर्ने रोगको उपचार गर्नमै जान्छ । स्कूल र अस्पताल वरिपरि कबाडी खाना बेच्न नदिने, उपभोक्तालाई जागरुक गराउने कार्यक्रम गर्ने र त्यस्तो नीति ल्याएर आम सञ्चार माध्यमबाट जनतालाई जागरुक गराउने हो भने नसर्ने रोगको समस्या जन्मने सम्भावना निकै कम हुन्छ।
यदि गर्भवतीले ‘ट्रान्स फ्याट’ भएको खाना खाएर मधुमेहको शिकार बनिन् भने बच्चा जन्मिदैँ मधुमेह भएको जन्मिन सक्छ । अनि सानैदेखि शिशुको उपचार शुरु हुन्छ। अपशोच यसरी खराब ‘बोसो’ भएको खाना खाने समस्या शहरमा मात्र होइन, गाउँमा पनि बढ्दो छ । त्यसैले जनता जागरुक बन्नुपर्छ भनेर जनस्वास्थ्य विज्ञहरूले भनिरहेका कुरामा, के स्वास्थ्य मन्त्रालयले बोल्ला ?
डा. अरुणा उप्रेती
तपाईँको अभिमत