अस्ट्रेलियामा गएर फिजियोथेरापिस्टका रूपमा काम गर्न कत्तिको सहज छ ? (भिडियो)
सर्लाहीका निर्मल कार्कीले सन् २०११ मा फिजियोथेरापिस्टको पढाइ सकेर नेपालमा दुई वर्ष फिजियोथेरापिस्टका रूपमा काम गर्नुभयो । त्यसपछि थप सुनौलो भविष्यको खोजी गर्दै अस्ट्रेलिया पुग्नुभयो । केही वर्षको पर्खाइपछि उहाँले अस्ट्रेलियामा फिजियोथेरापिस्टका रूपमा दर्ता भई सन् २०१७ देखि फिजियोथेरापिस्टको रूपमा काम गर्न थाल्नुभयो ।
फिजियोथेरापीको अभ्यासको हिसाबले अस्ट्रेलिया र नेपालमा खासै भिन्नता देख्नुहुन्न उहाँ । यद्यपि नेपालले पूर्वाधारमा भने त्यहाँबाट सिक्नुपर्ने र नेपालबाट पनि अस्ट्रेलियाले केही कुरा सिक्नुपर्ने उहाँ बताउनुहुन्छ । अस्ट्रेलियामा फिजियोथेरापीको अभ्यास, नेपालको अवस्थालगायतका विषयमा केन्द्रित भएर हेल्थपाटीका लागि केदार गौतमले संवाद गर्नुभएको छ । प्रस्तुत छ, उक्त संवादको अंश :
कति वर्ष भयो अस्ट्रेलियामा रहेर काम गर्न थाल्नुभएको ?
२०११ मा पास भएर नेपालमा २ वर्ष काम गरेपछि अस्ट्रेलिया गएँ । त्यहाँ गएर फिजियोथेरापिस्टको काम गर्न थालेको २०१७ देखि हो ।
नेपाल र अस्ट्रेलियाको फिजियोथेरापी क्षेत्रमा के फरक ?
नेपालमा फिजियोथेरापी विद्या नै नयाँ हो । अस्ट्रेलियामा यो निकै स्थापित विद्या हो । क्लिनिकल रुपमा फिजियोथेरापिस्टले बिरामी हेर्ने भन्ने कुरामा लगभग उस्तै हो उता र नेपालमा । कतिपय कल्चरल प्राक्टिसमा फरक देखिन्छ । जस्तो कि नेपालमा अझै पनि बिरामी फिजियोथेरापी चाहिछ भनेर सिधै खासै जाँदैनन् । अरु डाक्टरकोमा गएर सिफारिसपछि बल्ल आउनुहुन्छ । अस्ट्रेलियामा सिधै आउने धेरै हुन्छन् ।
बिरामीको प्रकृति कस्ता-कस्ता हुन्छन् ?
नेपालमा ढाड दुखेको, जोर्नी दुखेको बिरामी धेरै आउनुहुन्छ । वार्डमा हेर्ने अधिकांश बिरामी भनेको पक्षघातको हो । अस्ट्रेलियामा पनि यस्तै हो लगभाग बढी चाहिँ वृद्ध अवस्थासँग सम्बन्धित समस्या धेरै हुन्छ ।
अस्ट्रेलियाबाट नेपालले सिक्नुपर्ने र सिक्न नहुने कुरा धेरै के के छन् ?
अस्ट्रेलियाबाट नेपालले मात्रै नभएर नेपालबाट अस्ट्रेलियाले पनि सिक्ने कुरा धेरै छन् । क्लिनिकल प्राक्टिस भनेको ज्ञान लिनदिने कुरा हो।
अस्ट्रेलियाबाट सिक्ने भनेको प्राक्टिस कल्चर हो । नेपालमा काम गर्दा हामीले बिरामीको चापलाई त्यत्ति राम्रो व्यवस्थापन गर्न सक्दैनथ्यौँ । बिरामीको चाप धेरै भएर समय मिलाउन चुनौती थियो । अहिले ठ्याक्कै के छ थाहा छैन ।
उता पनि चाप हुन्छ तर समय व्यवस्थापन गर्छौँ त्यसको लागि पर्याप्त जनशत्तिल हुन्छ ।
नेपालबाट अस्ट्रेलियाले सिक्ने भनेको नेपाली सँस्कृति हो । बिरामी र सेवा सेवा प्रदायक बीच नेपालीमा जुन खालको आत्मिय सँस्कृति हुन्छ त्यो अन्त अलि कम नै हुन्छ । यो खालको सँस्कृति अस्ट्रेलियाले मात्रै होइन दुनियाँले नेपालबाट सिक्नुपर्छ जस्तो लाग्छ ।
पेशा परिवर्तनको समस्या छनि होइन ?
नेपालबाट अस्ट्रेलिया जाने फिजियोथेरापिस्ट मात्रै नभएर स्वास्थ्यका अन्य विधाका व्यक्तिले पनि पेशा परिवर्तन गर्ने भनेको भिसा प्रक्रियाको समस्याले हो । अहिले फिजियोथेरापी या यस्तो खालको पेशाका लागि भनेर भिसा पाइँदैन । अधिकांश त्यहाँ जाने भनेको विद्यार्थी भिसामा हो । विद्यार्थी भिसामा गएपछि सम्बन्धित पेशामा दर्ता प्रक्रिया अलि लामो र असहज भएकाले पनि अन्य पेशामा संलग्न हुने गरेको हो । तर पहिलाको तुलनामा अलि सहज भएको छ । यदि कोही फिजियोथेरापीको रुपमा त्यहाँ गएर दर्ता गर्नु प¥यो भने सरासर गर्दा पनि ४ देखि ६ महिना लाग्छ । त्यसमा पनि खर्चिलो हुन्छ । सजिलो र खर्चिलो नहोस् भनेर विधा परिवर्तन गर्ने हो ।
फिजियोथेरापीपिस्ट नेपालबाट गएर अस्ट्रेलियामा अभ्यास गर्न के के प्रक्रिया पुर्याउनुपर्छ ?
त्यहाँ गएर फिजियोथेरापी काउन्सिलमा दर्ता गर्नुपर्ने हुन्छ । त्यो सरकार निकाय हो । उसले बाहिर बसेर आएको फिजियोथेपिस्ट अस्ट्रेलियामा अभ्यास गर्न योग्य छकि छैन भनेर काउन्सिलले जाँच गर्छ । त्यसपछि निश्चित प्रक्रिया पास गरेपछि त्यो प्रक्रिया पास भएपछि । एफ्रो भन्ने अर्काे सरकारी निकाय छ यसले दर्ता दिन्छ ।
सुरुमा हाम्रो कागजात हेर्ने हुन्छ । त्यसपछि लिखित परीक्षा हुन्छ । जुन वर्षको ४ पटक हुन्छ । अनि क्लिनिक परीक्षा हुन्छ । यो ३ वटा प्रक्रिया पूरा गरेपछि कुनैपनि फिजियोथेरापिस्टले काम गर्न पाउँछ ।
काम पाउने सम्भावना कत्ति ?
अझै पनि अस्ट्रेलियामा फिजियोथेरापिस्टको संख्या कम नै छ । दर्ता प्रक्रिया पूरा गरेपछि काम पाउन सजिलै छ । कहिले कँही केही समय कुर्नुपर्ने हुनसक्छ । तर त्यस्तो गाह्रो छैन ।
अस्ट्रेलियाको जस्तो यो पेशालाई नेपालका विकास गर्न के के गर्नुपर्छ ?
पहिलो जुन खालको मैले अभ्यास गर्थे अहिले धेरै फरक देखेको छु । फिजियोथेरापिस्टको गुणस्तर, संख्या, दिने सेवा त्यो सबै उच्च दर्जाका छन् ।
तर यो सेवा सहर तथा राजधानी केन्द्रित छन् । अहिले फिजियोथेरापी विषय पढाउने कलेज पनि धेरै खोलेको रहेछ जसले आउँदा दिनहरुमा यो सेवा शहर केन्द्रीत नभएर गाउँ समाजमा पनि उपलब्ध हुन्छ जस्तो लाग्छ । गाउँमा पु¥याउनु नै मुख्य चुनौती हो ।
फिजियोथेरापी सेवा लिन हुने खर्चको आधारमा नेपाल र अस्ट्रेलियामा के फरक छ ?
अस्ट्रेलियामा हामीले अभ्यास गर्ने क्रममा खल्तीबाट सिधै पैसा तिरेर सेवा लिन आउनेको संख्या ज्यादै कम छ । उहाँहरुलाई कतै न कतैबाट फण्ड भएको हुन्छ । सरकारी तथा निजी बीमा तथा अन्य विभिन्न प्याकेज हुन्छन् त्यो मार्फत गराउनुहुन्छ ।
नेपालमा बीमाको आइडिया लागू भइरहेको छ तर पनि अहिलेसम्म बिरामीहरुले खल्तीबाट तिर्नुपर्ने भएकाले खर्चिलो छ । जस्तै कुनै अस्पतालमा सेवा लिन्छु भन्दा एउटा भिजिटले हुँदैन धेरै पटक जानुपर्छ त्यो भएर पनि खर्चिलो छ । बीमा प्रक्रिया लागू हुँदै गएपछि सहज हुन्छ कि ।
नियमित काम गर्दा पाउँदा एउटा फिजियोथेरापिस्टले कत्ति कमाउँछ ?
यो मलाई धेरैले सोधिरहने प्र्रश्न हो । जति पनि अस्ट्रेलियामा अभ्यास गरिरहनुभएको छ उहाँहरुलाई यो पटक–पटक सोधिने प्रश्न हो ।
अस्ट्रेलियामा एक सामान्य फिजियोले ७० देखि ८० हजार डरल वर्षका कमाइरहेका छन् । यो सरकारी तथांक नै हो । त्यो चाहिँ तपाई कस्तो खालको संस्थामा काम गर्नुहुन्छ वा निजी रुपमै अभ्यास गरिरहनुभएको छ वा दिनमा कति समय काम गर्नुहुन्छ भन्ने कुराले निर्धारण गर्छ ।
नेपालबाट विदेश जान चाहने फिजियाथेरापिस्टलाई के भन्नुहुन्छ ?
मलाई व्यक्तिगत रुपमा सोध्ने हो भने कुनैपनि फिजियोथेरापिस्टलाई नेपाल छाडेर कतै पनि जान प्रत्साहित गर्दैगर्दिन । यही जनशक्ति चाहिएको छ । साथीभाइसँग कुरा गर्ने क्रममा पनि थाहा पाएँ यहाँ फिजियोथेरापिस्ट भएको भन्दा घटिरहनुभएको छ । धेरै जना बाहिर गइरहनुभएको छ । त्यो मानेमा कसैलाई बाहिर जान्छु भन्ने लाग्यो भने नजा नै भन्ने होइन । नेपालमा पनि फिजियोथेरापीलाई पहिलेको तुलनामा निकै राम्रो भएको रहेछ ।

हेल्थपाटी
तपाईँको अभिमत