जाँचले देखाउँदैन, तर 'मलाई क्यान्सर भएकै छ' भन्दै अस्पताल चाहार्छिन् जुना(भिडियो)
बाजुरामा जन्मिएकी जुना लोहार र उनको परिवारका नाममा कतै एक पाइला पनि जमिन छैन। एक सुरले बोलिरहने, बर्बराइरहने उनी मानसिक रुपमा विचलित देखिन्छिन्। ‘म धेरै बिरामी छु, म गरिब छु, बोलिदिने मान्छे कोही नभएकाले अस्पतालमा मेरो राम्रो उपचार भएन’, उनी दुखेसो गर्छिन्।
उनको मनमा यो कुरा बेस्सरी गडेर बसेको छ। तर उनको मनमा बसेको यो कुरा केही सत्य र बढी भ्रम हो भनेर कसैले बुझाउन सकिरहेको छैन। आफूलाई क्यान्सर भएको तर डाक्टरले नभनेको, राम्ररी हेरेर पत्ता नलगाएको भनिरहन्छिन् जुना।
अस्पतालको कुनैपनि परीक्षण रिपोर्टले उनलाई क्यान्सर भएको पुष्टि गरेको छैन। पछिल्ला रिपोर्टमा पाठेघरमा संक्रमण भएको भन्ने देखाउँछ।
त्यो निको पार्न भनेर डाक्टरले दिएको औषधि पनि उनी खान मान्दिनन्। 'औषधि खायो कि मलाई गाह्रो हुन्छ, त्यसले निको हुँदैन, मलाई क्यान्सर भएको छ, डाक्टरले नभनेको मात्रै हो', यही भनिरहन्छिन् उनी।
विभिन्न अस्पतालमा जाँदा लिएको दुई पोलिथिन भरी औषधि छन्। तर जुना फिट्टिकै खान मान्दिनन्। डाक्टरले मेरो अप्रेसन गरिदिएनन् भन्दै बर्बराउँछिन् बेला-बेला। औषधि खाँदा झन गाह्रो हुने उनी सुनाउँछिन्।
नागरिकता प्रमाणपत्रअनुसार बाजुरा हिमाली गाउँपालिका–७ उनीहरूको स्थायी ठेगाना हो। तर त्यहाँ उनीहरूको न घर छ न एक टुक्रा जमिन। त्यो जुनाका पति विष्णु लोहार हुर्किएको ठाउँ हो। साहुकोमा हलो जोतेर जीविका गर्दै आएका थिए विष्णु। उनका बुबा, हजुरबाले पनि साहुकोमै हलो जोत्थे। नेपालमा हलिया प्रथा उन्मुलन भएपनि उनले साहुको हलोबाट मुक्ति पाएका थिएनन्। किनभने जीवन धान्ने अरू कुनै विकल्प थिएन।
जुनालाई उनकी आमाले बताएअनुसार उनी १ वर्षको जति हुँदै आमालाई बुबाले घरबाट निकालिदिए। अनि जुनासँगै लिएर घरबाट निस्किएकी उनले अर्कैसँग बिहे गरिन्।
जुनालाई आफ्नो बुबा को हुन् थाहा छैन। २–३ वर्षको हुँदा आँखा फुलो परेर बिग्रिएको उनी सुनाउँछिन्। ७–८ वर्षको हुँदा आमाले पनि सांसार छाडिन्। त्यसपछि साह्रो दु:ख पाएकी उनले नजिकैको गाउँका विष्णुलाई भेटिन्। जुना १५ वर्षकी हुँदा उनीहरूले बिहे गरे।
गाउँमा गुजारा गर्न निकै कठिन थियो। विष्णुले बताएअनुसार हलो जोतेबापत एक वर्षमा एक बोरा २ धान र १ बोरा कोदो मात्रै दिन्थे। त्यतिले खान के पुग्थ्यो। पाएसम्म ज्याला मजदुरीमा जान्थे, त्यो पनि सधैँ पाइँदैनथ्यो।
एक छोरा र २ छोरी गरी ३ सन्तान भइसकेका थिए। कयौँ दिन भोकभोकै बस्ने गरेको दम्पती सुनाउँछन्। काठमाडौं बस्दै आएकी जुनाले चिनेकी एक महिला (जसलाई जुना जुम्लाकी आमा भन्छिन् ) ले उनीहरूलाई गाउँमा भोकभोकै किन बस्नु उहाँ यता आयो भने केही काम पाइन्छ भनेर बोलाइन्।
छ वर्षअघि यता आएका उनीहरू काठमाडौंको चाल्नाखेल मुनि बागमतीको किनारमा रहेको एक गाई गोठमा काम गर्न बसे ।
उनीहरु गोठसँगै टहरो बनाएर बकेका थिए। त्यहीँ उनीहरूकी कान्छी छोरी जन्मिइन्। बागमतीमा समान्य बाढी आउँदा पनि टहरोभरि पानी पसेर जलाम्य हुन्थ्यो। उनीहरुको विजोग देखेर चाल्नाखेलकै एक व्यक्तिले अहिले बसिरहेको ठाउँमा बस्ने प्रबन्ध गरिदिए।
सानो चाल्नाखेलमा त्यहाँका एक स्थानीयले बस्ने ठाउँ दिएका छन् । त्यहाँ जस्ताको टहरो बनाएर ओत लागिरहेका छन्।
उनीहरूका १४ वर्षको छोरा छन्। ११ वर्ष, ९ वर्ष र ५ वर्षका तीन छोरीहरू छन्। सबै जना खोकनाकै रुद्रायणी माविमा पढ्छन्।
भारी बोक्ने, ज्यामी काम यस्तै गरेर उनीहरूले जसोतसो जीवन गुजारीरहेका थिए।
करिब एक वर्षअगाडि जुनालाई पेट धेरै दुख्ने समस्या भयो। त्यसपछि उनी थापाथली अस्पताल गइन्। उनको पाठेघरमा घाउ रहेको र केही समस्या भएको ठहर चिकित्सकले गरे। जाँच गर्ने डाक्टरले के भने कुन्नी जुनालाई लाग्न थाल्यो-मलाई क्यान्सर भएको छ। थापाथली अस्पतालले राम्रो उपचार नगरेको लापरवाही गरेको, गरिब भएर नहेरको भन्दै उनी भुतभुताइ रहन्छिन्-'त्यो अस्पताल कोही पनि नजाओस्, मेरो जस्तो लापरवाही कसैको नहोस्।' उनको स्वास्थ्य समस्याबारे कसैले केही सोध्ने वित्तिकै पटक-पटक जुना त्यही कुरा भनिरहन्छिन्।
त्यो पछि उनी कहिले वीर अस्पताल, कहिले पाटन अस्पताल, कहिले त्रिवि शिक्षण अस्पताल, कहिले फेरि त्यही थापाथली अस्पताल धाएको धायै गर्न थालिन्।
कतै ज्वाला मजदुरी गरेर अलिअलि पैसा जम्मा हुनेवित्तिकै अस्तपाल दौडिहाल्ने गरेको उनलाई चिन्नेहरु बताउँछन्। मलाई क्यान्सर भइसकेको छ, डाक्टरले नभनेको मात्रै हो, गरिब भएर उपचार नै राम्रो गरिदिएनन्’ यही भनिरहिन्छन् उनी छिन्छिनमा।
बिल तथा उपचार पुर्जी हेर्दा अस्पतालमा कहिले निशुल्क त कहिले शुल्क तिरेर उपचार गरेको देखिन्छ। केही दिनअघि मात्रै पनि उनको थापाथली अस्पतालमा बायोप्सी गरेको देखिन्छ। तर उनी त्यो पछि पनि उनी कहिले शिक्षण अस्पताल, कहिले पाटन अस्पताल धाइरहेकी छिन्।
डाक्टरले उनलाई भएको समस्याबारे चित्र बनाएर समेत जानकारी दिएको पुर्जीमा देखिन्छ तर उनी मलाई क्यान्सर नै भएको छ भन्ने जिद्दी गरिरहन्छिन् ।
आफूलाई क्यान्सर भएको, छिट्टै मर्ने, छोराछोरीको बिजोग हुने पीर उनको मनमा देखिन्छ। मेरा छोराछोरीको बिजोग हुन्छ भन्दै उनी एकैछिनमा आँसु झारिहाल्छिन्। यही पीरले राम्रोसँग नसुत्ने, खाना समेत नखाने गरेको उनका पति विष्णु बताउँछन्।
उनमा मानसिक समस्या रहेको हुनसक्ने जुनालाई नजिकबाट चिन्ने एक महिलाले बताइन्। ती व्यक्तिका अनुसार गत जेठमा जुनाले आफूलाई सर्पले टोकेको भनेर हारगुहार गरिन्। सर्पले तत्काल टेकु अस्तपाल लगियो। सर्पले टोकेको नेर पाखुरामा बाँधेका कारण हात सुन्निएछ। परीक्षण गर्दा सर्पले टोकेको देखिएन।
जुनाका पति विष्णुलाई पनि गत पुसमा एपेण्डिक्सको अप्रेसन गर्नुपर्यो। ठूला भारी बोक्ने काम गर्न सक्दैनन् अहिलेसम्म। जुना पनि बिरामी र बिरामी भएँ भन्ने पीरले काम गर्न नसक्ने अवस्थामा छिन्। गुजारा गर्न निकै समस्या भएको उनीहरु बताउँछन्। बच्चाहरुलाई कापी कलम किन्ने पैसा समेत नहुने जुनाको गुनासो छ।
उनलाई चिन्नेहरुले क्यान्सर भएको छैन। समान्य समस्या हो भनेर सम्झाउँदा समेत उनी मान्न तयार हुन्नन्। मानसिक अस्पतालमा उपचार गराउनु पो पर्छकी भनेर वरपरका केहीले लैजान खोज्दा उनी जान मान्दिनन्। उनलाई चिन्नेहरु पनि कसरी उनको मनबाट क्यान्सरको त्रास हटाउने, कसरी सामान्य अवस्थामा ल्याउने भनेर चिन्ता गरिरहेका छन्।
डाक्टरले, अस्पतालले त्यस्तो लापरवाही गरेका छैनन्। त्यस्तो लागेको मात्रै हो भनेर जति सम्झाएपनि जुना मान्न तयार हुन्नन।
जुनाले कसैले आफूलाई सहयोग गरे स्विकार गर्ने बताएकी छन् । 'सहयोग गर्नेले सिधै बैंक खातामा गरुन्' भनेर छिमेकीले भनेपछि उनले बैंकमा खाता पनि खोलेकी छन् ।

हेर्नुहोस् भिडियो :

सन्तोष निरा राई
तपाईँको अभिमत