फरच्युना हेल्थ केयरले सुरु गर्यो नेपालमै सिरिन्ज उत्पादन
नेपालमै सिरिन्ज उत्पादनका लागि फरच्युना हेल्थ केयर प्रा.लि. स्थापना भएको छ । बिहीबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको उपस्थितिमा उद्योगको उद्घान गरिएको छ । ललितपुरको चुनीखेलमा स्थापना भएको उद्योगले अन्तर्राष्ट्रिय स्तरको सिरिन्ज लगायतका मेडिकल सामग्री उत्पादन सुरु गरेको कम्पनीका प्रबन्ध सञ्चालक डा. इश्वर जिसीले जानकारी दिनुभयो ।
उद्योगको परिकल्पना गरेको ६ वर्षपछि सुरु गर्न सकेको जिसीको भनाइ छ । उहाँका अनुसार एक साताअघिबाट उत्पादन सुरु गरिएको छ ।
औद्योगिक क्षेत्रमा निराशा छाएका बेला केही सकारात्मक प्रयास गरिएको जिसीले बताउनुभयो । छिट्टै नेपाललाई सिरिन्जमा आत्मनिर्भरको बाटोमा लैजाने उहाँको दाबी छ ।
उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नयाँ उद्योग स्थापनाले मुलुकको अर्थव्यवस्थामा टेवा दिने बताउनुभयो। लगानीका लागि उत्साह कम भएका बेला उद्योग स्थापना भएको भनी खुसी व्यक्त गर्नुभयो । 'यो उद्योगले लगानीका क्षेत्रमा भएको नैराश्यतालाई ब्रेक गर्ने काम गरेको छ', उहाँले भन्नुभयो ।
नेपालमा सिरिन्जको उत्पादन गर्ने अन्य उद्योग नभएकाले यस कम्पनी आफ्नो पृथक पहिचान स्वास्थ्य क्षेत्रमा बनाउन सक्ने उहाँले बताउनुभयो ।
आयात भएका सिरिन्जहरूको गुणस्तरमा ढुक्क हुने अवस्था नरहेको उहाँको भनाइ छ । कम गुणस्तरको हुँदा पनि नियमन गर्न कठिन हुने गरेको मन्त्री यादवले सुनाउनुभयो । ‘बाहिरबाट ल्याएको सिरिन्ज २ वर्षको वारेन्टी लेख्छ भित्र हेर्दा काम गर्दैन’, मन्त्ती यादवले भन्नुभयो, ‘नियमन गर्न पनि बाहिरको कम्पनीलाई सकिँदैन।’
नेपालमा लगानी गर्ने राम्रो अवस्था रहेको कुरा यस उद्योगको स्थापनाले पुष्टि गरेको मन्त्री यादवको दाबी छ ।
औषधि उत्पादनमा ५० प्रतिशत आत्मनिर्भर भइसकेकाले गुणस्तर दिन सक्दा उत्पादन बढाउन सकिने र प्रशस्त सम्भावना रहेको उहाँको भनाइ छ । गुणस्तरीय उत्पादन गर्न सके बाहिरी उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिने र निर्यात गर्न पनि सकिने उहाँको भनाइ छ ।
उद्योग स्थापनाले मुलुकको औद्योगिक क्षेत्रमा एउटा इँटा थपिएको कम्पनीकी अध्यक्ष भवानी राणाले बताउनुभयो । गुणस्तरीय समाग्री उत्पादन गर्ने र मुलुकको आयात प्रतिस्थापन गर्ने लक्ष्य रहेको राणाको भनाइ छ ।
हाल १७ मुलुकबाट सिरिन्जको आयात गर्ने गरिएको भन्नुहुँदै अध्यक्ष राणाले यो हरेक व्यक्तिलाई सिरिन्ज आवश्यक पर्ने बताउनुभयो ।
उहाँले डब्लूएचओको जीएमपी मापदण्ड पूरा गरेर सिरिन्ज उत्पादन थालिएको बताउनुभयो । 'हामीले डब्लूएचओको जीएमपी मापदण्ड पूरा गरेर उच्च स्तरको कच्चा पदार्थ ल्याएर गुणस्तरीय मेडिकल सामग्री उत्पादन गर्न थालेका छौँ', उहाँले भन्नुभयो । सरकारले कमसल वस्तु आयातमा प्रतिबन्ध लगाउनुपर्ने माग समेत उहाँको छ । उहाँले सरकारले आगामी बजेटदेखि यस्ता उद्योगलाई प्रोत्साहनको नीति लिए आयातलाई प्रतिस्थापन गर्न सकिने उल्लेख गर्नुभयो ।हाल उद्योगहरूले ३० देखि ४० प्रतिशतको क्षमतामा मात्र उत्पादन गरिरहेकाले राज्यले तिनको संरक्षण गर्नुपर्ने बताउनुभयो । यसो गर्न सके युवाहरूलाई विदेशिनबाट रोक्न सकिने पनि बताउनुभयो ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी बजेटमा यस किसिमका उत्पादनलाई संरक्षण गर्ने नीति आउनुपर्नेमा जोड दिनुभयो । 'बजेटमा यस्ता उत्पादनलाई सहुलियत दिइयोस्', उहाँले भन्नुभयो, 'अहिले निजी क्षेत्रको मनोबल गिरेको बेला यो उद्योग आयो, यसलाई संरक्षण गर्ने राज्यको दायित्व हो । यसो भएमा निजी क्षेत्रको मनोबल उच्च हुनेछ ।'
कुनै पनि क्षेत्रको निजी क्षेत्रको लगानीबिन पूर्ण हुन नसक्ने भन्दै मेडिकल क्षेत्रको पूर्वाधार निर्माणमा पनि निजी क्षेत्रले ठूलो हिस्सा रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष ढकालले फरक प्रसङ्गमा स्वास्थ्य क्षेत्रको जनशक्ति निर्माण गर्ने स्वास्थ्य संस्थाको सङ्ख्यामा कडाइ गर्न नहुने बताउनुभयो । सीटीभीटीबाट मान्यता प्राप्त सबै शैक्षिक संस्थाहरू १०० शैय्याको अस्पताल हुन नसक्ने भन्नुहुँदै संस्था सञ्चालनमा कडाइ गर्न नहुने बताउनुभएको हो । 'काठमाडौं जस्तो सहरमा त ठिकै होला तर दार्चुला जस्तो जिल्लामा सीटीभीटीबाट मान्यता प्राप्त संस्था कसरी १०० बजेडको हुन सक्छ', उहाँले भन्नुभयो, 'त्यस्ता ठाउँमा चल्न दिऔँ । बरु गुणस्तरमा कडाइ गरौँ, नियमन गरौँ ।'
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले यस उद्योगमार्फत सिरिन्ज आयात प्रतिस्थापन भएर विदेश निर्यातको सुरुवात होस् भन्ने कामना गर्नुभयो । उहाँले यस किसिमका उद्योगहरूले हुर्किन र फस्टाउन पाउनुपर्ने बताउनुभयो । लगानी सम्मेलनको पूर्वसन्ध्यामा यस किसिमको उद्योगको सुरुवात हुनुले सकारात्मक सन्देश प्रवाह गरेको पनि उहाँको भनाइ थियो ।
हाल फरच्युना उद्योगमा प्रत्यक्ष रूपमा १०० जनाले रोजगारी पाएका छन् । लगभग ८० करोडको लगानीमा उद्योग स्थापना भएको हो ।
तपाईँको अभिमत