बिरामीले नछाडेपछि परिवारसहित काठमाडौंमा पकाएको खाना चितवन लगेर दशैं मनाएँ
हाम्रो पर्वततिर दशैंमा नयाँ लुगा नभई नहुने भन्ने थिएन । तीजको बेलामा चाँही अनिवार्य नयाँ–लुगा चाहिन्थ्यो । तीजको दिनमा हाम्रोमा ठूलो मेला लाग्ने भएकाले पनि विशेष महत्व थियो ।
पक्का बाहुनको छोरा भएकाले घटस्थापनाको दिन देखिनै घरमा चण्डी पाठ गर्नुपर्ने हुन्थ्यो। हाम्रोमा जमरा घटस्थापनाको भोलिपल्ट राख्ने चलन छ। घस्थापनाको दिन जमराका लागि जौ, मकै भिजाउने र द्वितीयाको दिन जमरा राख्ने गरिन्छ ।
दशैंमा धनी गरिब जे भएपनि च्याङ्ग्राको मासु खाने चलन हुन्थ्यो । सक्नेले घरमा सिंगै काट्थे खान्थे । हाम्रो परिवार चाँही त्यो हैसियत राख्दैनथ्यो । तीन–चार घर मिलेर एउटा च्याङ्गा काट्ने चलन थियो । म निकै सानो हुँदा एकपटक हजुरबाको पछि लागेर धान्द्रुकमा च्याङ्ग्रा किन्न गएको याद छ ।
मेरो मामाघर निकै टाढा थियो । हामी बूढा मावली(आमाको मामाघर) चाँही आफ्नो मामाघर जस्तै गरी जाने, बस्ने गर्थ्यौँ । त्यो पर्वतकै खौला भन्ने ठाउँमा थियो । त्यहाँ दशैंमा ठूलो मेला लाग्थ्यो । नाचगान सहित धेरै रमाइलो हुन्थ्यो । त्यो कुराले पनि दशैंमा बूढा मावली जाने भनेपछि हामी फुरुङ्गै हु्न्थ्यौँ ।
अर्काे खुसीको कुरा दशैंमा १५ दिन स्कुल बिदा हुन्थ्यो ।
हाम्रो घरमा कालरात्रीको पूजा खसी सी काटेर गरिँदैनथ्यो । खान चाँही खाने तर पूजा गर्ने ठाउँमा चाँही घिरौँला, फर्सीको खसी बनाएर काट्ने चलन थियो । दशैं भनेर एकदिन मात्रै मनाइन्थ्यो ।
अर्काे रमाइलो कुरा के थियो भने–दशैंको टीका लगाइसकेपछि रोटी दिने चलन थियो । त्यो जम्मा गरेर पछिसम्म राखेर खाइन्थ्यो । भान्जा–भान्जीको रुपमा जाने ठाउँमा चाँही नछाडी दशैंमा जान्थ्यौँ दक्षिणाको लोभले। दक्षिणा चाँही, १ रुपैयाँ, २ रुपैयाँ, ५० पैसा पाइन्थ्यो । धेरै दिनेले ५ रुपैयाँसम्म दिन्थे । कुनै–कुनै वर्ष १०० रुपैयाँसम्म दक्षिणा जम्मा हुन्थ्यो । त्यो बेलाको १०० रुयैयाँ भनेको धेरै पैसा हो । मैले २०३६ सालमा एसएलसी पास गरेर स्कुल पढाउने जागिर खाँदा तलब महिनाको २०० रुपैयाँ थियो ।
दशैं मनाउने फुर्सद पाउनै गाह्रो
अघिल्लो वर्षको तुलनामा यसवर्ष दशैं अलि फुर्ददिलो होइन्छ की भन्ने छ । फुलपातीदेखि दिनदेखि नियमति सेडुअल नभए पनि त्यो बीचमा पनि इमरजेन्सी बिरामी आएर फुर्सद नपाउने सम्भावना धेरै छ ।
काठमाडौं आएपछि लामो समय म थापाथली अस्पतालको निर्देशक रहेँ । त्यस क्रममा अलि सजिलो भयो । कामकै कारण दशैं मनाउन नपाएका धेरै घटना चितवन रहँदा थियो ।
चितवन बस्दा म परिवार सबैलाई षष्ठीको दिन गाडी रिजर्भ गरेर काठमाडौं पठाउँथे । म चाँही प्राय अस्ष्टमीको दिन आउने कार्यक्रम हुन्थ्यो । त्यो पनि बिरामीले घरेर आउनै पाउँदैन्थ्यो । त्यो दिन त्यतिकै बसेर, नवमीको दिन पनि दिनभर बिरामी हेरेर, अपरेसन गरेर राति आफैँ गाडी चलाएर काठमाडौं आउथेँ ।
१२ वर्ष अगाडिको कुरा हो । परिवारलाई काठमाडौं पठाइसकेको थिएँ । काठमाडौं आउन प्लेनको टिकट थियो मेरो । एयरपोर्ट हिड्न ठिक्क परेको थिएँ । अस्पतालमा एकजना बोल्न नसक्ने बिरामी आइन् । उनले मलाई समातेर कतै जानै दिइनन् । के गर्ने कसो गर्ने भयो । अनि परिवारलाई ल्याउन गाडीलाई काठमाडौं पठाएँ । गाडीले श्रीमती, छोरी र पकाएका खानेकुरासहित बेलुका चितवन नै पुग्यो । अनि चितवनमै दशैं मनायौँ । त्यस्ता एमर्जेन्सी केस परेर दशैंमा अस्पतालमै अड्किएका घटना धेरै छन् । चितवन हुँदा दशैंका बेला ३ पटक यसरी प्लेन नै छुटेको छ ।
सिरियस बिरामी छाडेर हिड्ने खालको डाक्टर म परिन । अरु कर्मचारीहरुको पनि विदा मैले मिलाउनु पर्थ्यो । अरुको दशैं हुन्थ्यो मेरो हुँदैन्थ्यो । ७–८ वर्ष नै त्यस्तो परेको छ ।
प्रा.डा. जागेश्वर गौतम
तपाईँको अभिमत