'छोराले एमबीबीएस तयारी गर्दैछु भन्थ्यो, त्यो के हो भन्ने पनि थाहा थिएन'(भिडियो)
काभ्रे नमोबुद्ध नगरपालिका–१० का बिष्णुप्रसाद गौतम उमेरले ५ दशक पार गरिसके । स्कुल जाने अवसर नपाएका उनले काम गर्न सक्ने भएदेखि नै खेतीपाती र गाईवस्तुको हेरचाहमै समय बिताए । अहिले पनि सामान्य खेतीपाती गरेर परिवारको गुजारा चलिरहेको छ । उनका तीन सन्तानमध्ये दुई छोरा छन् । ती दुवै छोरा अहिले एमबीबीएस (डाक्टर) पढ्दैछन् । जेठो तेस्रो र कान्छो दोस्रो वर्षको परीक्षाको तयारीमा छन् ।
दुवै छोराले छात्रवृत्तिमा नाम निकालेर पढ्ने अवसर पाएका हुन् । पैसा तिरेर डाक्टर पढाउने हैसियत आफ्नो परिवारको नभएको गौतमले सुनाए । उनका अनुसार छात्रवृत्तिमै नाम निकाल्दा समेत २ जनालाई गरेर वर्षमा करिब ५ लाख खर्च लाग्छ। आफूले कृषि पेशा गरेर त्यति खर्च पनि जोहो गर्न नसकेको उनको गुनासो छ ।
छोराले एमबीबीएसको तयारी गर्दैछु भन्दा त्यो भनेको केहो भन्ने पनि थाहा नभएको गौतम सुनाउँछन् । पछिपछि उनले बुझ्दै गए, एमबीबीएस भनेको डाक्टर बन्नका लागि पढ्ने विषय रहेछ । छोराहरूले राम्रो बाटो समातेको ठानेर गौतम निकै खुसी छन् । पछि पैसा कमाउन सके भने आफ्ना लागि मात्रै नथुपारुन भन्ने चाहना उनको छ । अहिले आफूलाई जस्तै पढ्न इच्छा भएर पनि खर्च नभएर पढ्न नसक्ने गरिबका छोराछोरीलाई छोराहरूले सहयोग गरुन् भन्ने इच्छा रहेको गौतमले सुनाए ।
उनै गौतमसँग हेल्थपाटीले छोटो कुराकानी गरेको छ
सामान्य किसान गर्ने, एक–दुई वटा बाख्रा पालेको छु । भैंसी पनि पालेको छु । त्यस्तो ठूलो कृषि पनि होइन । निवार्हमुखी मात्रै हो । किसानी गरेर डाक्टर पढाउन गाह्रै हुने रैछ । मलाई त ११, १२ पढे जस्तै होला भन्ने ठानेको थिएँ । एमबीबीएस पढ्ने तयारी गर्दैछु भन्थे त्यो भनेको के भन्ने थाहा पनि थिएन । पछि थाहा भयो एमबीबीएस भनेको त डाक्टर पढ्ने रैछ ।
पैसा लाग्ने रैछ जेठाले पढ्न थाल्यो कान्छा पनि त्यही लाइनमा लाग्यो । अनि कान्छाले गरेपछि अलिअलि थाहा भयो । मलाई त लागेको थियो त्यही ९–१० पढेको जस्तो त होला नि । म्यानेजमेन्टहरू जस्तै होला त्यस्तै खर्च लाग्छ होला भन्ने लागेको थियो ।
छात्रवृत्ति त पाएको हो । त्यति गर्दा पनि हामी सामान्य किसानलाई गाह्रो नै हुँदो रैछ । पैसा हुनेका लागि त यस्तो छैन होला । पैसा हुनेका छोराछोरीले नपढ्ने , पढ्नेका बाबु, आमाले खर्च गर्न नसक्ने हुँदोरैछ ।
वर्षमा ५०–६० हजार, १ लाख जस्तो पठाउँछु । दुवै जनालाई अलिअलि मिलाएर दिइरहेको छु । के गरी बाँचेका छन्। के गरी पढेका छन् भनेका छैनन् ।
छोरी एउटी छोरा २ भाइ । घर आउँदा घाँस काट्नेदेखि सबै काम सघाउने गर्छन् । मैले गरेको सबै काम जानेका छन् । काम गरेर सानो हुँइदैन भन्ने मनसाय छ । छोराहरू घाँस काट्न चाहिँ अलि गाह्रो मान्छन् । छोरी चाहिँ घाँस काट्न पनि गइहाल्छिन् ।
भित्रभित्रै खुसी छु । छोराहरूले राम्रो बाटो समातेका छन्। मलाई त सुख नहोला पछि उनीहरूको गरिखाने बाटो सजिलो होला ।
छोराछोरीले पैसाको बिटो दिन नसके पनि गरिब दु:खीलाई सहयोग गरुन् भन्ने लाग्छ । पढ्दै गर्दा पनि उत्साह दिनू हामी पनि यस्तो सामान्य परिवारको मान्छे यसरी पढ्यौँ भनेर हौसला दिनू । पढ्न सक्ने खर्च गर्न नसक्नेलाई सहयोग गर्नू भनेको छु । हामी जस्ता किसानका छोराछोरीलाई त्यति हुँदा पनि बल पुग्छ ।

सन्तोष निरा राई
तपाईँको अभिमत