हे भगवान ! मलाई मात्र यस्तो हो कि अरुलाई पनि हुन्छ ?
कठै कब्जियतको कथा
'हे भगवान ! मलाई मात्र यस्तो भएको हो कि अरुलाई पनि हुन्छ ? हैरान पार्यो मलाई, लौ न यो समस्याबाट मुक्ति पाउने उपाय कसैले भनिदिए हुन्थ्यो' भनेर कतिजनाले भनेको पक्कै सुनिएको छ होला ।
'कब्जियत भएर मलाई खाना खानै मन लागेको छैन, जिउ भारी भइरहेको, टाउको दुखिरहेको छ' भन्नेहरु त कति हुन्छन् कति । 'मल खलाँस गर्ने औषधि दिनुस्न' भनेर औषधि पसलमा आउने कति हुन्छन्, डाक्टरकहाँ धाउने कति हुन्छन्, अनेक थरीका उपायको खोजीमा कता-कता पुगेका हुन्छन् मानिसहरू । अमेरिकामा त वर्षमा करोडौँ डलर कब्जियतको समस्याबाट मुक्ति पाउने औषधिका लागि मात्रै खर्च हुन्छ ।
अहिलेको दौडधुपको जीवन, समयमा कुनै कार्य नमिल्दाको चिन्ता, पढाई वा कामको चिन्ता । कसैलाई चाहीँ सिरियल छुट्ला भन्ने चिन्ता, बाटोमा हिँड्दा खाना खाने तरिका नमिल्नु आदि कब्जियतका कारण हुन् । एकदम बढी मैदायुक्त र विशेषगरी रेशादार पदार्थरहित भोजनको प्रयोग पनि कब्जियतको कारण हो ।
कहिले कहीँ गर्भिणी महिलालाई शरीरमा भइरहेका भित्री रासायनिक परिवर्तनको कारणले पनि कब्जियत हुन्छ । कुनै-कुनै औषधिको प्रयोगले पनि कब्जियत हुन्छ. जुन औषधि छोडेपछि आफैँ ठिक हुन्छ । यस्तो बेलामा प्रायः औषधी दिने डाक्टरले त्यसको बारेमा भन्छन् र सकेसम्म बढी पानी पिउने र हरियो सागपात खाने सल्लाह दिन्छन् ।
कब्जियत गराउन सक्ने केही औषधी एन्टासिड, एल्मोनियम, क्याल्सियम, निद्रा लाग्ने औषधी, मानसिक रोगका लागि प्रयोग गरिने औषधी आदि हुन् । तर धेरैजसो कब्जियत हुने कारण चाँहि गलत जीवनशैली र खानपिन नै हो । विभिन्न कारणवश कतिपय व्यक्तिहरु बिहान उठ्नेबित्तिकै नित्य क्रिया गर्दैनन् । कामको चाप, हतार, ढिलो उठ्ने बानी आदिले गर्दा उठेर काममा दौडन्छन् ।
दिसा लाग्दा - लाग्दै पनि रोकेर दौडिन्छन् । यस्तो बानीले गर्दा पछि कब्जियत हुनजान्छ । बिहान उठ्नेबित्तिकै दिसा गर्ने बानीले कब्जियतबाट बचाउँछ । कब्जियत थुप्रै समस्याको कारण हुन्छ । दिसा बस्दा सानैमा कन्ने बानी हुन्छ र त्यसपछि धेरै समस्या सिर्जना हुन्छन् । बालबालिकालाई कब्जियत भएर जीवन भरका लागि अनेक थरीका समस्या हुन्छन् ।
भोक नलाग्ने, मुख गन्हाउने, पेट फुल्ने, टाउको दुख्ने, बान्ता र वाकवाक हुने, दिसा साह्रो भएर हर्षा हुने आदि समस्या कब्जियतले ल्याउँछ ।
हाम्रो खानामा रेसादार पदार्थको सट्टा रेसा नभएको पदार्थ जस्तो–मैदा, बिस्कुट, चाउचाउ, केक आदि पदार्थहरूको बढी प्रयोगले गर्दा कब्जियत हुन्छ ।
साथै हिँडडुलको कमीले गर्दा पनि कब्जियत हुने र तौल बढ्ने हुन्छ । झोल पदार्थको नाममा आजकल कफी, कोकाकोला, फ्यान्टाजस्ता पदार्थहरू पिइन्छ । यस्ता वस्तुहरू पनि कब्जियतका लागि जिम्मेवार छन् । मध्यमवर्गीय परिवारको भोजनबाट रेसादार पदार्थ झण्डै–झण्डै हराइसकेको छ । त्यसमाथि पनि बच्चाहरूको खानाबाट हरियो तरकारी, मकै, भटमास, गाजरजस्ता रेसादार पदार्थ भएका खानेकुरा हटेर चिजबल, चाउचाउ, बिस्कुट आदि पदार्थ बढेका छन् ।
कब्जियत हटाउनका लागि दैनिक भोजन र खाजाबाट यस्ता खाना हटाएर विशेष गरी बोक्रा सहितका तरकारीहरू जस्तो :—गाजर, काँक्रो, मुला र त्यस्तै प्रकारले चना, भटमास, क्वाँटी आदि पदार्थको प्रयोग बढाउनु पर्छ । त्यसैगरी आँटा, नफलेको चामल, मकै, बोक्रा सहितको आलु, फापर र कोदोमा पनि रेसादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ ।
कब्जियत यस्तो समस्या हो जुन आधुनिकीकरणसँगै आएको हो र यसलाई सहजै निराकरण गर्न सकिन्छ । तर जीवनशैली र भोजनको त परिवर्तन गर्नैपर्छ र एक ठाउँमा बसिरहेर काम गर्ने जस्तो –कम्प्युटर इन्जिनियर, डाक्टर, अफिसमा कार्यरत व्यक्तिहरुको हिँडाइ र व्यायाम झण्डै शून्य हुन्छ । एक ठाउँबाट अर्को ठाउँमा जान मोटरको सुविधा भएकाले हिँडाइ पनि धेरै कम हुँदै जान्छ ।
बालबालिकाहरू पनि खेलकुदभन्दा टिभीअगाडि बस्न बढी रुचाउँछन् । व्यायाम मुटुका लागि मात्र होइन, शरीरको आन्द्राको चालका लागि पनि चाहिन्छ । व्यायामले पाचन शक्ति बढाउन मद्दत गर्दछ । अन्य शारीरिक व्यायाम गर्न सकिँदैन भने हिँडाइ त जसले, जहाँ पनि गर्नसक्छ । हरेक दिन २०–२५ मिनटको छिटोछिटो हिँडाइ एउटा राम्रो व्यायाम हो ।
बालबालिकाहरूलाई पनि विहान उठ्नेबित्तिकै दिसा गर्न जाने बानी बसाल्न लगाउनु पर्छ । यदि घरमा दिसा गर्न गएनन् भने स्कुलमा डरले शिक्षकलाई भन्न नसकी उनीहरू च्यापेर बस्छन् । यसले गर्दा कब्जियतको समस्या हुन्छ । जसको कारण जीवनभर स्वास्थ्य समस्या आउन सक्छ ।
खानेकुरा र व्यायामको अभाव मात्र होइन, लगातारको मानसिक चिन्ता र डर पनि कब्जियतको कारण बन्न सक्छ । चिन्ता र तनाव हटाउन ध्यान, योग, हिँडाइ र जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ ।
कब्जियत हटाउन विभिन्न विज्ञापनमा देखाइएका जुलाव चक्कीहरूको प्रयोग सकेसम्म नगर्नुहोस् । जुलावले एकचोटि त कब्जियतबाट आराम दिन्छ तर बारम्बारको प्रयोगले चाहिँ आन्द्रालाई तिनको बानी लाग्छ र कब्जियत झन् खराब हुनसक्छ ।
दिसा बस्दा दिसा आएन भने कतिपय व्यक्तिहरू बल निकालेर कन्छन् । यसले गर्दा गुद्वारमा दवाव पर्न जान्छ र मलद्वारमा घाउ हुने हुन्छ । त्यसैले कन्नु सट्टा दैनिक जीवनको भोजन, व्यायाम आदिबाट नै कब्जियतबाट मुक्ति पाउनु उचित हुन्छ । कब्जियत हुनेले राती सुत्दा मनतातो पानी पिउनु राम्रो हुन्छ ।
योगासनका केही उपाय पनि कब्जियत हटाउनमा सहायक हुन्छ । जस्तो पवन मुक्तासन भरमा पलेर घुँडा छातीमा राखेर चिउँडोले घुँडा छुने प्रयत्न गरिन्छ ।
साथै बज्रासनमा बस्नु पनि एउटा राम्रो उपाय हो । जाऊ सिरासन बसेर, खुट्टा सिधा राखेर टाउकोले घुँडा छुनसक्ने प्रयास पनि कब्जियतबाट केहि मुक्ति पाउन सकिन्छ । तर यी आसन मात्र गरेर जीवनशैली, खानपिन, तनाव आदि चाहीँ जस्ताको तस्तै राखेर कब्जियतबाट मुक्ति पाउँछु भन्न चाहिँ नसकिएला।
डा. अरुणा उप्रेती
तपाईँको अभिमत