बजारका ४५ प्रतिशत स्यानिटाइजरले ब्याक्टेरिया पनि मार्न सकेन
स्यानिटाइजर किन्दा ध्यान दिनैपर्ने तीन कुरा
काठमाडौं । कोरोनाभाइरस महामारी सुरु भएयता विश्वभरि यो रोगसँग जुध्न तीनवटा सामान्य विधि विश्व स्वास्थ्य सङ्गठन र धेरै देशका सरकारहरूले अघि सारिरहेका छन् । नेपाल सरकारले पनि एसएमएस भनेर सामाजिक दूरी, मास्कको प्रयोग अनि बेलाबेला साबुन वा स्यानिटाइजरले हात सफा गर्न आह्वान गरिरहेको छ।
व्यक्तिगत सरसफाइलाई कोरोनाभाइरसबाट जोगिने उत्तम उपाय मानिएको छ। त्यसका लागि घरभित्र बस्दा साबुनपानीको प्रयोग बढी प्रभावकारी र किफायती मानिन्छ । तर बाहिर निस्किँदा साबुनपानी प्रयोग गर्न सम्भव नहुने हुँदा तत्काल हात सफा गर्न स्यानिटाइजर उचित मानिन्छ।
कसरी चिन्ने उपयुक्त स्यानिटाइजर ? तर के बजारमा पाइने जुनसुकै स्यानिटाइजर प्रभावकारी छन् त ?
हातकाे सरसफाइ

यसबारे नेपालमा कुनै विस्तृत अनुसन्धान त भएको छैन तर मुख्य नियामक निकाय औषधि व्यवस्था विभागले गर्दै आएको निरीक्षण अनुगमनमा कतिपय स्यानिटाइजर गुणस्तरहीन हुनसक्ने पाइएको छ।
"यो महामारी सुरु भएपछि चैत ९ गते हामीले स्यानिटाइजरको गुणस्तरसम्बन्धी मापदण्ड बनायौँ र त्यसबमोजिम बजार अनुगमन गर्दै आएका छौँ । केही समयअगाडि १५० वटा नमुनामा परीक्षण गर्दा ३० वटा जति फेल पनि भएका पायौँ। त्यसैले सचेत भएर यसको प्रयोग गर्न जरुरी देखिन्छ," विभागका महानिर्देशक नारायण ढकालले बताउनुभयाे ।
उहाँले खासगरी तीनवटा विषयमा ध्यान दिएर मात्र स्यानिटाइजर किन्न सुझाव दिनुभएकाे छ :
- अल्कोहलको मात्रा: कुनै पनि स्यानिटाइजर किन्दा त्यसको लेबल हेरेर त्यसमा अल्कोहलको मात्रा ७०-८० प्रतिशत भएको खण्डमा मात्र किन्नुपर्छ
- दर्ता: नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भए वा नभएको पहिल्याउनुपर्छ
- रङ्गरूप: झट्ट हेर्दा खेरि नै त्यसमा अन्य मिसावट भए वा नभएको निर्क्योल गर्नुपर्छ

कस्तो कारबाही ?
चैतमा मापदण्ड लागु गरेपछि बेलाबखत विभागले निरीक्षण अनुगमन गर्दै आएको आधारमा अब भने गुणस्तरहीन स्यानिटाइजर उत्पादकहरूविरुद्ध कारबाही गर्ने तयारी भइरहेको ढकालले बताउनुभयाे "मापदण्ड पालना नगरेकाहरूलाई सार्वजनिक गर्ने तयारीमा हामी छौँ," उहाँले भन्नुभयाे।
यसैबीच नेपाल विज्ञान प्रविधि प्रतिष्ठानकी वैज्ञानिक डा. टिस्टा प्रसाईँ जोशीले पनि आफूहरूले गरेको प्रारम्भिक जाँचमा कतिपय स्यानिटाइजर प्रभावकारी नभएको हुनसक्ने पाइएको बताउनुभयाे ।
"महामारी सुरु भएपछि नास्टकै पहलमा स्यानिटाइजर उत्पादनबारे तालिम पनि दिइएको थियो। त्यसैको पनि प्रभावकारिता हेर्नुपर्ने हुँदा हामीले ती अनि बजारका सहित कुल २१ वटा नमुना जाँच गरेका थियौँ," उहाँले भन्नुभयाे।
कीटाणुविरुद्ध कति प्रभावकारी ?
तर ती स्यानिटाइजरहरू सूक्ष्मजीव मार्न कति उपयोगी छन् त ?
डा. टिस्टा प्रसाईँ जोशी भन्नुहुन्छ, "स्यानिटाइजरले ब्याक्टेरियालाई कत्तिको मारेको छ भनेर हेर्दा ४५ प्रतिशत (नमुना)हरू प्रभावकारी देखिएनन्।" हुन त त्यो जाँचमा ब्याक्टेरियाको मात्र कल्चर गरेर परीक्षण गरिएको थियो। भाइरस जाँच गर्ने सुविधा भने नभएको उहाँले बताउनुभयाे ।
उहाँका अनुसार बजारमा अहिले उपलब्ध स्यानिटाइजर कोरोनाभाइरस मार्न कति प्रभावकारी छन् भन्ने जान्न विस्तृत अध्ययन आवश्यक छ । एउटा अध्ययनमा अहिले बजारमा उपलब्ध ४५ प्रतिशत स्यानिटाइजरले स्ट्याफाइलोकोकस अरिअस र इ. कोलाई नामक ब्याक्टेरिया मार्न नसकेको पाइयो ।
एउटा अध्ययनमा अहिले बजारमा उपलब्ध ४५ प्रतिशत स्यानिटाइजरले स्ट्याफाइलोकोकस अरिअस र ई. कोलाई नामक ब्याक्टेरिया मार्न नसकेको पाइयो । अमेरिकी नियामक निकायहरूले भाइरस मार्न सक्ने मापदण्डबारे स्पष्ट जानकारी दिइसकेको हुनाले तिनमै आधारित भएर बनाइएका मापदण्ड पालना भए/नभएको निरन्तर हेरिरहनुपर्ने उहाँको भनाइ छ।
"अहिलेको अवस्थामा सरसफाइबारे विशेष ध्यान दिनुपर्ने हुनाले स्यानिटाइजरको महत्त्व अत्यधिक बढिरहेको छ। यसको प्रयोगलाई प्रोत्साहन दिनैपर्छ। साथै हाम्रा नियामक निकायहरूले यसको गुणस्तर र प्रभावकारिताबारे पनि ध्यान दिइरहनुपर्छ भन्ने यसले देखाउँछ," उहाँले भन्नुभयाे । बीबीसी ।
हेल्थपाटी
तपाईँको अभिमत